जसरी मृत्यु छ र त जीवनको महत्व हुन्छ त्यसैगरी शिक्षकको महत्व पनि विद्यार्थी भए मात्र हुन्छ। जब विद्यार्थी नै हुन्नन् तब शिक्षकको कुनै मूल्य हुँदैन। शिक्षक विद्यार्थीलाई पढाउनका लागि सिर्जना गरिएका हुन्छन्। त्यसैले विद्यार्थी अभावमा उनीहरूको अस्तित्व नै समाप्त हुनु नौलो कुरा भएन। यसरी हेर्दा शिक्षक र विद्यार्थी नङ र मासु जस्तै अन्तरसम्बन्धित छन् भन्नुमा अनर्थ हुँदैन।
नेपालका धेरै सामुदायिक विद्यालयमा यतिबेला विद्यार्थी संख्या घट्दो छ। तर विद्यार्थी घटे पनि शिक्षक भने कायमै छन्। यही कारण कतिपय विद्यालय एकापसमा गाभिएका छन् भने कतिपयचाहिँ विभिन्न कारणले गाभिन पनि सकेका छैनन्। गाभिन पनि नसकेका र विद्यार्थी अभावमा पठनपाठन पनि हुन नसकेका विद्यालयमा पनि स्थानीय सरकारले तलव र सुविधा भने पठाइरहेको छ। जसका कारण जनताले तिरेका करको दुरूपयोग भइरहेको छ।
महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले सबै स्थानीय तहले शिक्षक दरबन्दी मिलान गर्नुपर्नेमा ६९ वटा तहले मात्र यस्तो काम गरेको उल्लेख गरेको छ। यसबाट पनि विद्यालय तहको शिक्षा व्यवस्थापन गर्ने अधिकार पाएको स्थानीय तह शिक्षक मिलानप्रति संवेदनशील नभएको देखिन्छ। यस्तो अवस्थाले एकातिर शिक्षाका लागि बजेट खर्च भइरहेको देखिने तर वास्तविक शिक्षामा भने खर्च नभएको अवस्था प्रष्ट हुन्छ। तर पनि स्थानीय तहहरू यस्तो महत्वपूर्ण विषयमा संवेदनहीन हुनु चिन्ताको विषय हो।
निजी विद्यालयमा कार्यरत शिक्षकहरू जागिर जोगाउने एक मात्र उद्देश्यले इमानदारीपूर्वक पढाउँछन्। मेहनत बढी गर्छन्। त्यहाँ नियुक्त गर्ने र बर्खास्त गर्ने प्रक्रिया कार्यसम्पादनमा आधारित हुन्छ। त्यसैले यस्ता विद्यालयको शैक्षिक अवस्था उन्नत देखिन्छ। तर यसको ठीक विपरित सामुदायिक विद्यालयका शिक्षकहरू भने नपढाउँदा पनि तलव सुविधा पाउँछन्। उनीहरू कसैप्रति उत्तरदायी हुनु पर्दैन। सरकारी तलव खाएर सरकारकै विरुद्ध आन्दोलन गर्ने सुविधासमेत उनीहरूलाई उपलब्ध छ। दुनियामा नभएको यही सुविधाका कारण सरकारी विद्यालयहरू क्रमश: गाभ्नुपर्ने अवस्थामा पुगिरहेका छन्। यस्तो अवस्थामा विद्यार्थीभन्दा शिक्षक बढी हुनु कुनै अनौठो हुँदैन।
एकाध साताअघि मात्र देशभरका शिक्षकले आन्दोलन गरे। पठनपाठन बन्द गरे। उनीहरूका मागमा आफ्नो सुविधा बढाउनुपर्ने, पदोन्नति हुनुपर्ने, एकपन्ने निवेदन दिएर चाकडीका भरमा विद्यालय छिरेका र प्रतिस्पर्धामा पटक–पटक अनुत्तीर्ण भएकालाई पनि स्वत: वा नाम मात्रको प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने जस्ता विषय उल्लेख थिए। तर गिर्दो शैक्षिक अवस्था सुधार्न गर्नुपर्ने कार्यभारबारे मागपत्र मौन थियो। न उनीहरूले शैक्षिक गुणस्तर सुधार्न सरकारले गर्नुपर्ने कामबारे सवाल उठाए न त माग पूरा गरे शैक्षिक उन्नयनका लागि आफूहरू यतिसम्म गर्न तयार छौँ भन्ने प्रतिबद्धता नै जनाए। सित्तैमा विद्यार्थीको एकाध महिनाको पढ्न पाउने अधिकार मात्र हनन गरे। अनि विद्यार्थीलाई अनुशासनहीन बन्न प्रेरित गरे।
यी र यस्तै कारण हुन् कि सरकारी विद्यालयहरू क्रमश: रित्तिने क्रम जारी छ। आफ्ना सन्तान निजीमा पढाउने, आफू पनि निजीमै लगानी गर्ने तर सरकारी विद्यालयको शिक्षकका रूपमा राष्ट्रको दोहन गर्न भने छाड्दै नछाड्ने कसम खाएर लागेका उनीहरूको व्यवहारले प्रष्ट पार्छ। यस्तो अवस्थामा शिक्षक र विद्यार्थी बराबर हुनु, शिक्षकभन्दा विद्यार्थी कम हुनु वा एकजना शिक्षकले चार–पाँच जना विद्यार्थीलाई मात्र पढाउनुपर्ने अवस्था आइलाग्नु र अन्तिममा त्यो पनि घट्दै गएर गाभिने अर्को विद्यालयको खोजीमा भौतारिनुपर्ने अवस्थाले हाम्रो सामुदायिक विद्यालयको बढ्दो गतिछाडा प्रवृत्ति उजागर गर्छ।
यस्तो अवस्थाको मूल उपचार भनेको शिक्षकलाई जिम्मेवार बनाउने नै हो। जबसम्म उनीहरूलाई दलीय आबद्धताबाट अवकाश दिलाउन सकिन्न तबसम्म उनीहरू शैक्षिक क्षेत्रप्रति हैन, आफूले आस्था राख्ने दलप्रति उत्तरदायी हुन्छन्। शिक्षककै प्राथमिकता शिक्षामा नपरेपछि यो क्षेत्र कसरी उभो लाग्छ? त्यसैगरी जबसम्म शिक्षकको नियुक्ति, पदोन्नति, ग्रेडलगायतका सुविधा वृद्धिको आधार नतिजालाई बनाइन्न तबसम्म यो क्षेत्र गिर्ने मात्र भइरहन्छ। सन्तोषजनक नतिजा हासिल गर्न नसक्ने शिक्षकहरूलाई बर्खास्तीसम्मको व्यवस्था त्यसैले अपरिहार्य छ।
मध्यबर्खासम्म आइपुग्दा पनि पानी नपरेकाले पूर्वी तराई र मधेस प्रदेशको ठूलो क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। साउनको पहिलो सातासम्ममा मधेस प्रदेशमा ५० प्रतिशतभन्दा कम र कोसी प्रदेशमा पनि ६० प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ। सिँचाइका लागि मात्रै होइन पिउने पानीको समेत हाहाकार भएको समाचार सार्वजनिक भएका छन्।
सिँचाइ सुविधा नभएको तथा आकासे पानीको भर पर्नुपर्ने क्षेत्रमा खेतमा लगाएको बिउ पनि छिप्पिन लागेको छ। समय घर्केको धानको बिउले उत्पादनमा समेत कमी आउने निश्चित छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सबैमा रोपाइँको अवस्था राम्रो भए पनि अन्न भण्डार समेत मानिने कोसी र मधेस प्रदेशमा रोपाइँ हुन नसक्दा यसका बहुआयामिक प्रभाव पर्ने निश्चित छ। यसले एकातिर समग्र खाद्यान्न संकट निम्त्याउन सक्ने देखिएको छ भने यो संकट गहिरिँदै गए यसले सर्वसाधारण मधेसबाट पलायन हुने लगायतका अनेकन सामाजिक तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्या पनि सिर्जना हुन सक्छ। पानी नपर्दा हुने उखर्माउलो गर्मीको पीडा त छँदैछ। मधेस क्षेत्रमा भइरहेको बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएको प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भएको कतिपय अध्ययनले देखाएका छन्।
विश्वव्यापी रूपमा भएको तापमान वृद्धिले मौसम र जलवायुका चक्रलाई बिथोलेको छ। विश्वभर अतिवृष्टि, अनावृष्टि, तातो लहर, खडेरी लगायत संकट बढ्दो क्रममा छन्। हालै सार्वजनिक विश्व जल अनुगमन प्रतिवेदन अर्थात् ‘वल्र्ड वाटर मोनिटर रिपोर्ट २०२४’ ले जलवायु परिवर्तनका कारण पृथ्वीको जलचक्रमा गम्भीर अवरोध देखापरेको, जमिन, महासागर र वायुमण्डलबीच पानीको प्रवाहमा असन्तुलन सिर्जना भएको देखाएको छ। प्रतिवेदनले सन् २०२५ मा विशेषगरी उत्तरी–दक्षिण अमेरिका, दक्षिणी अफ्रिका र एसियाका केही भागमा खडेरी बढ्ने सम्भावनालाई संकेत गरेको छ।
कतिपयले जलवायु संकटलाई ‘अति धेरै पानी–अति थोरै पानी’ अर्थात् ‘टु मेनी वाटर, टु लिट्ल वाटर’ भनेर चित्रण गरिरहेका छन्। नेपालको मधेस प्रदेशमा अहिले देखिएको खडेरी ‘अति थोरै पानी’को अवस्था हो। विशेषगरी केही दशक अघिसम्म पाइला पाइलामा पानी हुन्थ्यो। अहिले पानीका मुहान सुकेका छन्, मधेसका नदी सुकेका छन्, भूमिगत पानीको स्रोत सुकेको छ। मधेसको उत्तरी भूभागमा रहने चुरे क्षेत्रबाट निस्कने नदी सुकेका छन्। गत वर्ष धनुषाको हंशपुर नगरपालिकाका बासिन्दालाई चार महिनासम्म ट्यांकरको पानी उपलब्ध गराएको विषय समाचार शीर्षक बनेको थियो। यो वर्ष पनि त्यही कथा दोहोरिएको छ। कतिपय स्थानमा सर्वसाधारण ट्यांकरको पानीमा निर्भर हुन बाध्य छन्।
मधेसका कैयन स्थानमा पहिला–पहिला १०० फिट गहिराइबाट ट्युववेलमा पानी आउने गरेको थियो तर अहिले ४०० फिटको गहिराइमा पुग्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन्। यसैगरी मधेसमा पानीको मुख्य स्रोत रहेका नदी र खोलानाला वरपर अवैध उत्खनन जारी छ। मधेसका लागि पानीको मुहान मानिने चुरे क्षेत्रको संरक्षणका प्रयास पनि सार्थक हुन सकेका छैनन्। यसले मधेसमा पानीको बहावलाई विथोलेको छ। यसरी यो संकटका केही हदसम्म लागि हाम्रा आफ्नै गतिविधि जिम्मेवार छन्। त्यसलाई रोक्न हामीले के कति प्रयास गरेका छौँ भन्ने विषयमा समीक्षा जरुरी छ। हरेक वर्ष खडेरीको पीडा खेप्न सर्वसाधारणको क्षमता हुँदैन र छैन पनि। यो सन्दर्भमा खडेरीले के सन्देश दिएको छ भने भविष्यमा मधेस प्रदेश पानीविहीन हुनबाट बचाउन हामीले गर्न सक्ने कुरा आफैँले गर्नुपर्छ।
तत्कालको आपतकालीन अवस्थामा खानेपानीको लागि पानीको आपूर्ति व्यवस्था गर्न अतिआवश्यक छ भने सिँचाइ, निरन्तर खानेपानी आपूर्ति र समग्र जलसुरक्षाका लागि मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न आवश्यक छ। भूमिगत पानीको स्रोतलाई संरक्षण गर्न हरेक घरले पानी पुनर्भरणको व्यवस्था गर्नुपर्छ। त्यसका लागि आवश्यक प्रविधि र वित्तीय सहयोग सरकारले उपलब्ध गराउन सक्छ। खडेरीको अवस्थामा जलवायु स्मार्ट खेती अर्को उपाय हो। ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्नु आवश्यक छ भने वर्षाको पानीलाई पोखरी बनाएर र खहरे खोलामा समेत स–साना बाँध बनाएर पुनर्भरण गर्न सकिन्छ।
यसमा सरकार र समुदायको सक्रियता उत्तिकै आवश्यक छ। यसैगरी अहिले थोरै पानीले पनि हुने धान खेतीको विकास भइसकेकाले यस प्रकारको धानखेतीको अवलम्बन गर्न जरुरी छ। एकातिर वृक्षारोपण गरी पानीको संकटबारे सर्वसाधारणलाई बुझाउन जरुरी छ भने अर्कोतिर यो साझा चुनौती सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच हातेमालो आवश्यक छ। समयमै प्रयास नगरिएका खण्डमा यो संकट झन् गहिरिँदै जानसक्ने भएकाले यो विषयमा सबै पक्षले तत्काल पहल गर्न आवश्यक देखिएको छ। यसमा हेलचेक्र्याइँ भइरहेमा भविष्यमा झन् ठुलो संकट भोग्नुपर्ने छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।