निषेधाज्ञाको मौका छोपी कालोबजारी गर्ने व्यापारीलाई सरकारले धमाधम कारबाही गर्न थालेको छ। कोभिड–१९ महामारीको बेला कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिएर कालोबजारी गर्ने, मूल्यवृद्धि जस्ता अवाञ्छित गतिविधि गर्ने व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय लगायत निकायले कारबाही गरेका हुन्।
उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत अनुचित क्रियाकलाप गरेको पाइएकोले धमाधम कारबाही गरेको वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। बजारमा बेथिति बढेपछि वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन गरेका छन्। ‘विभिन्न टोली बनाएर बजार अनुगमन गर्दा फेला परेका गलत क्रियाकलाप गर्नेलाई पाँच हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना गरेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘केहीलाई सचेत गराएर स्पष्टीकरण पनि सोधिएको छ।’
बजार अनुगमन गरेर कसूर अनुसार जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। उनका अनुसार बजारबाट आएका सूचनाका आधारमा अुनगमन गरेर कानुनी दायरामा ल्याइएको छ। विभागले आफ्ना निकायमार्फत उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा सघन अनुगमन गरेर कैफियत भेटिएको ठाउँमा कारबाही गरेको जनाएको छ।
उपत्यकाको जोरपाटी क्षेत्रका तीन मासु पसललाई सोमबार कारबाही गरेको छ। अली मासु पसल र जय मिसेन मिट सपलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (घ) बमोजिमको कसूरमा दफा ३९(१) बमोजिम पाँच हजारका दरले जरिवाना गरेको प्रवक्ता सेढाईंले बताए। त्यसैगरी, सोही स्थानको आले मासु पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(ड) बमोजिम २० हजार जरिवाना गरिएको छ।
अखाद्य वस्तु बिक्रीवितरण गर्ने पसललाई पनि दण्डित गरेको विभागको भनाइ छ। आमुस खाद्य पसल र चन्द्रलोक किराना पसललाई पाँच हजार जरिवाना गरेको छ। गलत बिलबिजक जारी गर्ने काठमाडौं बौद्धको नेपा मेड्स औषधि पसल र महालक्ष्मी नगरपालिका–४, ललितपुरको ओम आरोग्य फार्मेसीलाई २० हजार रूपैयाँ जरिवाना गरिएको छ।
विभागले उपत्यका मात्र नभएर मुलुकभर अनुगमनलाई तीव्रता दिएको दाबी गरेको छ। विरानगरका दुई फार्मेसी पसललाई २० हजार जरिवाना गरेको छ। विराटनगर महानगरपालिका वडा नं २ मा रहेको यश फार्मेसी र बिनु फार्मेसीले मास्क र स्यानिटाइजर बिलबिजकबिना खरिद गरेर बिक्री गरेको पाइएकाले जरिवाना गरेको हो।
त्यसैगरी, मोरङको बूढीगंगा नगरपालिकाको विनुका फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको रब क्लिन ब्रान्डको एक सय २० एमएलको सेनिटाइजरलाई ८० रूपैयाँमा खरिद गरी एक सय ६ प्रतिशत अनुचित नाफा राखेर एक सय ७५ रूपैयाँमा बिक्री गरेको पाइएकाले २० हजार जरिवाना गरेको छ। बिनाबिलको रेम्डेसिभिर बिक्री गरेर कालोबजारी गर्ने गौतम बुद्ध फार्मेसी, नेपालगन्जलाई दुई लाख रूपैयाँ जरिवाना गरिएको छ।
यसैबीच, ठूला नाम चलेका व्यापारिक घरानाले सञ्चालन गरेका उद्योगबाट पनि उपभोक्ता ठगिएको भेटिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको लगानी रहेको नेपाल वेलहोप एग्रिटेक प्रालिले कम तौलको कुखुराको दाना बिक्री गरेको पाइएको छ। चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको दानाका बोरामा ४६ किलो मात्र दाना पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। विभागको मातहतको कार्यालयले १० बोरा दाना जफत गरेको छ।
बजारमा कालोबजारी र मूल्यवृद्धि भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। व्यापारीले खानेतेल, चिनी, चामल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशनमा सोमबार कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। देउवाले बजारमा खाद्य वस्तु मिसावट गरेर बिक्री गरेको, मूल्य वृद्धि र कालोबजारी भएको बताए। ‘खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, खाद्य सामग्री र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनता कष्टमा छन्,’ देउवाले संसदमा भने, ‘यस्तो बेलामा सरकार जनताको अभिभावक बन्न सकेको छैन।’
निषेधाज्ञाको मौका पारेर पसले तथा व्यवसायीले अनावश्यक गतिविधि गरेको पाइए खबर गर्न वाणिज्य विभागले सार्वजनिक अपिल गरेको छ। त्यसका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल–फ्री नम्बर ११३७ मा उजुरी दिन भनेको छ। बजारमा तीन महिनालाई पुग्ने दैनिक उपभोग्य वस्तु लगायत खाद्यान्न रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको विभागका महानिर्देशक पौडेलले बताए। ‘चर्को मूल्य लिने, सामान अभाव देखाउने गरेको थाहा पाए आम उपभोक्ताले टोल फ्री नम्बरमा टिपाउन सक्छन्,’ उनले भने, ‘सूचना पाउनासाथ विभागको टोलीले अनुमगन गरेर कारबाही गर्छ।’
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १०० का दरले जरिवाना गरेको हो।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।
उनीहरूलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो। यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो। साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।