नेपालका चर्चित कोरियोग्राफर मध्येका एक केशव थापा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधिमा चासो राख्ने उनलाई क्वारेन्टिनमा बसिरहेकाहरुको कष्टकर दैनिकीसँग नजिक हुन मन लाग्यो । भारतलगायत स्वदेशकै जोखिमयुक्त जिल्लाहरुबाट आएर क्वारेन्टिनमा राखिएकाहरु भागेर घर पुगेको, क्वारेन्टिनमै आत्महत्या गरेकोलगायतका समाचारले केशवलाई क्वारेन्टिनसम्म डोर्यायो । नेपालका चर्चित कलाकारलाई आफ्नो इसारामा नचाउने उनी अहिले तिनै क्वारेन्टिनमा दिन बिताइरहेकाहरुका ‘गुरु’ बनेका छन् ।
नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु भएसँगै केशव कर्मथलो काठमाडौंबाट जन्मथलो सुर्खेत आइपुगे । कर्णालीका अधिकांस नागरिकहरु रोजगारीका लागि कालापहाड (भारत)मा हुन्छन् । लकडाउनसँगै उनीहरु आउन सुरु भयो । स्थानीय र प्रदेश सरकारको अव्यस्थित क्वारेन्टिन बाहिरबाट आउने नागरिकहरुका लागि सजाय भोग्ने ‘यातना गृह’ बने । क्वारेन्टिनमा १४ दिनसम्म बस्नेहरुमा मानसिक तथा शारीरिक समस्याहरु देखा पर्न थाले । केशवले तिनै क्वारेन्टिनमा बसेर मानसिक तथा शारीरिक समस्या भोगिरहेकाहरुका लागि जुम्बासँगै सकारात्मक सोच सम्बन्धी कक्षा सञ्चालन गर्न थाले ।
‘क्वारेन्टिनबाट भागेका, आत्महत्या गरेका, दिनदिनै आन्दोलन गरिरहेकालगायतका समाचार सुनेपछि आफूसँग भएको सीप प्रयोग गरौं भन्ने लाग्यो,’ केशवले सुनाए, ‘अहिले नियमित जुम्बा र सकारात्मक सोच सम्बन्धी कक्षा दिँदै आएका छौं ।’ बन्दाबन्दी सुरु भएयता उनी सुर्खेतसहित सल्यान जिल्लाका क्वारेन्टिनमा पुगेका छन् । कालापहाड र जोखिमयुक्त जिल्लाहरुबाट फर्किएकाहरुसँग उनीहरुका अनुभव सुनेका छन् । परदेसीएकाहरुको अनुभव केशवका लागि निकै पीडादायि छन् । ‘परिवार र सन्तानको पेट भर्न र एकसरो कपडा फेर्नका लागि घर छोडेर परदेसीएकाहरुलाई अहिले कोरोना ल्यायो भनेर आरोप लाग्ने गरेको छ,’ उनीहरुका अनुभव र पीडा सुनेका केशवले भने, ‘त्यसैले पनि क्वारेन्टिनमा रहेकाहरुमा मानसिक समस्याहरु बढ्दै गएको प्रष्टै हुन्छ ।’
कालापहाडेहरु आफ्नै ठाउँमा आएर पनि आफ्नो घरमा बस्न पाएका छैनन् । छिमेकी त परको कुरा सात जुनीको कसम आएका जीवनसाथी पनि कोरोनात्रासले नजिक हुँदैनन् । ‘बन्दाबन्दीको समयमा हप्तौं दुःख गरेर, भोकभोकै कालापहाडबाट घर फर्कनुको एउटै उद्देश्य आफ्नो घर, गाउँ र समाजसँगै दैनिकी विताउँला भन्ने हुन्छ, तर यहाँ आएपछि उहाँहरुले त्यो व्यवहार पाउनु हुँदैन,’ केशवले भने, ‘त्यसपछि उहाँहरुमा मानसिक समस्या देखापर्न थाल्दछ ।’
लकडाउन सुरु हुँदा अघिसम्म केशव बीबीसी स्टुडियोजको नेपाली डान्सिङ फ्रेन्चाइज ‘डान्सिङ स्टार’मा ब्यस्त थिए । हिमालयन टेलिभिजनबाट प्रसारण हुने यो फ्रेन्चाइजमा उनले चर्चित सेलिब्रेटीलाई कोरोग्राफ गरिरहेका थिए । नेपालका चर्चित नायक–नायिकालाई फिल्ममा कोरियाग्राफ गरिसकेका केशव सुर्खेत आउनुको एउटै उद्देश्य थियो, केही समय आराम गरेर घरमै बस्ने ।
क्वारेन्टिन र त्यहाँ बसिरहेकाहरुको अवस्था देखेपछि आरामले घरमै बसिरहन उनको मनले मानेन् । विहान पाँच बजेदेखि बेलुकासम्म उनी क्वारेन्टिनमा बसेका नागरिकहरुसँगै हुन्छन् । नृत्यसँगै प्रेरणादायि कक्षाहरु लिन्छन् । क्वारेन्टिनमा रहेकाहरुसँग गफिन्छन् । नायिका स्वस्तिमा खड्का, श्रृष्टी कार्की, पूर्व मिस नेपाल नीति शाह, अनुष्का श्रेष्ठ, महिमा सिंह, मलिना जोशी, नग्मा श्रेष्ठ, सुरक्षा खड्का, श्रृष्टी श्रेष्ठले उपलब्ध गराएका सामाग्रीहरु वितरण गर्छन् ।
‘बन्दाबन्दीको समयमा सुर्खेतसहित सल्यानका क्वारेन्टिनमा रहेका करिव पाँच हजार जनसम्म नृत्य, जीवनोपयोगी कक्षाहरु पुर्याएका छौं, यो अभियान निरन्तर चलिरहेको छ,’ केशवले भने, ‘योसँगै काठमाडौंबाट नायिका र पूर्व र वर्तमान मिस नेपालबाट प्राप्त जुस, पि–फर्म, ब्लाङ्केट, बेडसिट, फलफुल लगायतका सामाग्रीहरु पनि वितरण गछौं ।’ केशवले क्वारेन्टिनमा रहेकाहरुलाई आत्मवल, हौसला र उत्प्रेरणाको आवश्यकता रहेको बताए । ‘क्वारेन्टिनमा रहनु भएकाहरुलाई मानवताको दूरी, आत्मीयताको दूरी र भावनात्मक दूरी चाहिएको छैन्,’ केशवले आफ्नो अनुभव सुनाउँदै भने, ‘उहाँहरुलाई सहयोग, आत्मवल, हौसला र उत्प्रेरणाको आवश्यकता छ ।’
क्वारेन्टिनमा बसेकाहरुका लागि दीर्घकालसम्मका लागि प्रभाव पार्नेखालका सकारात्मक सोचको विकास हुने कक्षाहरुको आवश्यकता पनि औल्याए । ‘क्वारेन्टिनमा रहेकाहरुलाई हामी सबैले हेर्ने दृष्ट्रिकोणनै गलत छ, हाम्रो नकारात्मक दृष्ट्रिकोणका कारण उहाँहरुमा नकारात्मक सोचको विकास भइरहेको पाइन्छ,’ उनले भने, ‘आफूले आफूलाई चिन्ने, सोच परिवर्तन गर्ने, जहिल्यै राम्रो सोच्ने विषयमा कक्षाहरु सञ्चालन गर्न आवश्यक छ ।’
केशवसहितको टीमले ‘सुर्खेत नाङ्गो खुट्टा’ नामक अभियान चलाएको छ । यो अभियानका सदस्यसँगै उनी विभिन्न स्थानीय तहका क्वारेन्टिनमा पुग्छन् । ‘अहिलेको अवस्थामा यसरी जोखिमयुक्त ठाउँमा पुग्नु चुनौति भएपनि हाम्रो सानो प्रयासले उहाँहरुको अनुहारमा देखिएको खुशी ठूलो लाग्छ,’ केशवले सुनाए, ‘जहिलेसम्म कोरोना न्युनिकरण हुँदैन्, त्यो बेलासम्म अहिलेको अभियानलाई निरन्तरता दिन्छौं ।’ सुर्खेत नाङ्गो खुट्टा अभियानले दुःखमा परेका बालबालिकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्छ । अहिले त्यो अभियानलाई उनीहरुले कोरोना संक्रमणसँग जोडेका छन् । केशवसँगै अभियानका अभियन्ता एवम् जुम्बा प्रशिक्षक प्रिया केसी, पारु केसी, व्युटिसियन एसोसिएसनका अध्यक्ष यशोदा केसी, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष कृति शाक्य गुभाजु पनि हरेक दिन क्वारेन्टिन पुग्छन् ।
एक पटक क्वारेन्टिनमा पुगेपछि त्यहाँ रहेकाहरुले पटक–पटक केशवको टीमलाई बोलाउँछन् । ‘आफूसँग भएको सीप र क्षमता अरुलाई बाँड्न पाउँदाको खुसीनै बेग्दै हुँदो रहेछ,’ केशवले भने, ‘यस्तो संकटको बेला क्वारेन्टिनमा कष्टकर जीवन विताइरहेका, निसारा भोगिरहेकाहरुलाई आत्मवल र हौसला दिन पाउँदा आफैलाई भाग्यमानी सम्झने गरेको छु ।’
केशवले २०१७ देखि मिस नेपालका उत्कृष्ट पाँच जनालाई कोरियोग्राफ गर्दै आइरहेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेशनल, मिस सुपर नेशनललगायतका सहभागीलाई चार वर्षदेखि कोरियोग्राफ गरिरहेका छन् । दिलिप रायमाझी, निखिल उप्रेती, रेखा थापा, निशा अधिकारीदेखि नयाँ पुस्ताका अनमोल केसी, स्वस्तिमा खड्का, पल शाह, आयुष्मान देशराज, आना शर्मालगायतलाई पनि केशवले कोरियोग्राफ गरेका छन् ।
२०७७ वैशाख ४ गते मुगुको खत्याड गाउँपालिका खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो। यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केस थियो। पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो। स्थिति भयावह बन्यो। आरडिटी परीक्षणमै कोरोनाले कर्णालीमा पहिलो पटक प्रवेश पायो। कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो। उतिबेला कामको सिलसिलामा कालापहाड जाने कर्णालवासी फर्कने क्रम जारी थियो। भारत हुँदै आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीव्र खतरा बढ्यो।
खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो। त्यो टोलीको नेतृत्वमा थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी। उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सूचना अधिकारीका रुपमा तोकिएका थिए।
डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउँदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौती थियो। नयाँ रोग, नयाँ भूगोल र नयाँ अनुभूतिसहित डा. बुढाथोकीले टोली खत्याड पुर्याए। पहिलो पटक पोजेटिभ देखिएकाले मनमा त्रास थियो। तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापबारे जानकार भएकाले खासै समस्या थिएन। उनले भने, ‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो। मानवको अस्तित्व संकट पार्ने गरी सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौती थिएन। तर स्वास्थ्यकर्मीको सक्रियता, नागरिकको जागरुकता र सरकारको जिम्मेवारीका कारण खत्याडमा संक्रमण दर बढेन। ’
डा. बुढाथोकीको टोली २०७७ वैशाख ५ गते नै खत्याडतिर प्रस्थान गर्यो। जतिसक्दो आरडिटी परीक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो। टोलीले रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर संक्रमितलाई राख्यो। लक्षणअनुसार औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो। १४ दिनको आइसोलेसन बसाइपछि संक्रमितको रिपोर्ट नेगेटिभ आयो। विस्तारै गाउँबस्तीमा खुसियाली छाउन थाल्यो।
खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो र आरडिटी परीक्षण गर्न थाल्यो। त्यो समयमा स्थानीयमा निकै त्रास थियो। कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो। कोरोना के हो ? कोरोनाको पहिलो चरण के हो भन्ने विषयमा अन्योल थियो। जुम्लादेखि हिँडेको चिकित्सकको टोली देखेर बाटामा स्थानीय आत्तिन्थे।
डा. बुढाथोकीले भने, ‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौं। जनता आत्तिएका थिए। हरेक बस्तीमा त्रास फैलिएको थियो।’ टोलीले संक्रमितको पिसिआर गर्यो। रिपोर्ट नेगेटिभ आयो। गाउँमा पोजेटिभ देखिँदा फैलिएको त्रास कम भयो।’ झन्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो।
जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रित भयो। आफू पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो। चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो। आरडिटी नगर्दा त्रास थियो। कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभूति हुन्थ्यो। तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे। औषधि बोकेर टोली गएकाले खासै समस्या थिएन।
यो रोग नयाँ भएकाले मृत्युदर बढ्ने र संक्रमण भयावह हुने निश्चित थियो। औषधि उपचार र उच्च सतर्कता अपनाउन थालिएको थियो। खत्याडमा पुगेर टोली जुन हिसाबले प्रस्तुत भयो। त्यही हिसावको हार्दिकता स्थानीयले देखाए। संकटभित्रको खत्याड बसाइ निकै आनन्ददायी र उपलब्धिपूर्ण बन्यो। डा. बुढाथोकीले भने, ‘कोरोना मैदानमा सेता एप्रोनधारी लडाकुको रुपमा प्रस्तुत भएर जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु। सजिलोमा सबैले साथ दिन्छन् तर संकटमा साथ दिनुको मज्जा अर्कै रहेछ।’
डा. बुढाथोकीसँगै डा. विशाल पोखरेल, डा. कपिल गुरागाईं, निशान्त लामा, विष्णुदत्त आचार्य र नवराज खड्का पनि खटिएका थिए। मुगुको खत्याडबाट फर्किएको टोली १० दिन क्वारेन्टिनमा बस्यो। खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको समूहलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो।
त्यसलगत्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय ग¥यो। डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए। क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परीक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो। उनीसँगै फार्मेसिस्ट सूक्ष्मा काफ्ले थिइन्। तीन हप्ता तातोपानीमा खटिएका उनी हरेक बस्ती पुगे। गाउँबस्तीमा कोरोना संक्रमणविरुद्धको कार्यक्रम गर्न थाले। सचेतना फैलाउन थाले। उनले भने, ‘जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मूर्त रुप पाउँदैनन्। त्यही भएर पहिलो जोड नै सचेतना बन्यो।’
संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो। बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो। जब चिकित्सकको टोली भित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो। पछिल्लो समयमा नजिकै गएर खानापानी छोड्न थालियो। जसले संक्रमितको मनोबल बढ्यो। उनले भने, ‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्नेबित्तिकै संक्रमित निकै उत्साहित हुन्थे। कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाबारे चासो राख्थे।’
दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो। सबैलाई अस्पताल ल्याएर राख्न नसकिने अवस्था रह्यो। बिरामीको प्रकृतिअनुुसार निगरानी गर्नुपर्ने भयो। हरेक पालिकामा कोभिड अस्पताल बने। सामान्य लक्षण देखिएका र लक्षण नदेखिएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।
डा. बुढाथोकीले भने, ‘कोरोनाले मानिसमानिस बीचको भौतिक दुरी मात्र बढाएन, एक मानवले अर्को मानवलाई गर्ने व्यवहार र सहयोगबारे समेत राम्रो पाठ सिकायो। स्वास्थ्य शिक्षा दिलायो। स्वास्थ्यप्रति संवेदनशील हुन प्रेरित गर्यो।’ पछिल्लो समय कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकाले सचेत रहन आग्रह गरिएको छ। सामाजिक दुरी कायम नगर्नु, मास्कको प्रयोग नहुनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। विगत तीन वर्षदेखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएका छन्। दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ। उनले भने, ‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ।’ डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्न आग्रह गरेगरेर मात्र अघि बढ्न आग्रह गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।