एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्। प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरूपणमा भने सशक्त रूपमा उत्रिन सकेका छैनन्।
पार्टीको आन्तरिक विवाद निरूपण गर्न आफूनिकट नेताहरूसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रूपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन्। तर अझै मिलनबिन्दु भेटिएको छैन। पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन। नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन्। सुझावप्रति नेपाल लचिलो देखिएका छन्।
ओली अहिले राष्ट्रिय अजेन्डामा कमजोर भएको र त्यसमा आफ्नो पक्षको जित भएको दाबीसहित नेपाल पक्षधर केन्द्रीय सदस्यले अन्तिम अवस्थासम्म पनि सम्मानजनक एकताको पक्षमा उभिनुपर्ने बताएका छन्। बिहीबार र शुक्रबार चलेको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यले पार्टीभित्र सम्मानजनक एकताको मत राख्नुपर्ने बताएपछि वरिष्ठ नेता नेपालले सम्बोधनका क्रममा आफू निकै जिम्मेवार भएको उल्लेख गर्दै केन्द्रीय सदस्य तथा अन्य नेताहरूलाई पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। उनले त्यसक्रममा संयमित भएर अभिव्यक्ति दिन पनि सबै नेतालाई आग्रह गरेका थिए। उनले अध्यक्ष ओली सुध्रनेवाला नभए पनि अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहने बताएका थिए।
‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारविरुद्ध हामीले संघर्ष गर्दै आएका छौं। यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ वरिष्ठ नेता नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमै छु। एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहनेछ।’ नेपाल पक्षका नेताहरूले एकताको टुंगो नलाग्दासम्म ओली पक्षद्वारा अघि सारिएका संगठन निर्माणका काम रोक्नुपर्नेमा जोड दिएका छन्। तर ओली पक्षका नेता एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संगठन निर्माण र पार्टी गतिविधि रोक्न नमिल्ने बताइसकेका छन्।
ओली पक्षले केन्द्रीय कमिटीको बैठक रोक्न अस्वीकार गरिरहेका बेला वरिष्ठ नेता नेपालले पार्टी एकताको विषय आफ्नो एक्लो प्रयासले मात्रै सम्भव नहुने अभिव्यक्तिसमेत दिएका छन्। शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो चाहना पार्टी विभाजन होस् भन्ने नरहेको तर आफूले मात्रै सो प्रयास गरेर सम्भव नहुने देखिएको बताएका हुन्। आफू पक्षका केन्द्रीय सदस्यहरूले पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपालको यो अभिव्यक्तिले उनी नरम बन्दै गएको संकेत गर्छ।
नेपालनिकट केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार अधिकांश नेताहरूको मत आत्मसम्मानसहितको एकता आफूहरूले चाहेको रह्यो। ‘पार्टी विभाजन गर्नुहुँदैन भन्ने अधिकांश नेताको मत थियो तर एकता गर्दा आत्मसम्मान गुमाउनुहुँदैन भन्ने मत पनि बलियो छ,’ उनले भने। उनका अनुसार नेता नेपालले चाँडै एकता प्रक्रिया टुंग्याउनुपर्ने पनि बताएका थिए। साउन २४ गतेभित्रै एकताको विषय टुंग्याउनुपर्ने र त्यस दिन बोलाइएको बैठक २०७५ जेठ २ अघिको हुनुपर्ने धारणा नेता नेपालको रहेको ठाकुरको भनाइ थियो। ओली पक्षले भने सो विषयमा पुनर्विचार नहुने बताउँदै आएको छ। यसमा अध्यक्ष ओली भने मौन छन्।
नेता नेपालले आफू निकै लचकदार भएको पनि बताउँदै आएका छन्। उनले अहिलेको विधानअनुरूप ७० वर्षे प्रावधानलाई कार्यान्वयन गर्ने र सबै नेताल दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्ने विषयमा आफू तयार रहेको बताउन थालेका छन्। आन्तरिक विवादमा आफ्नो अजेन्डालाई राष्ट्रिय रूपमा जितेका नेपालले ओलीको विकल्पमा दोस्रो पुस्ता आए स्विकार्न तयार रहेको बताएका हुन्। ‘केन्द्रीय कमिटीका बहुमत सदस्य, स्थायी कमिटीका पनि बहुमत सदस्यले नै सम्माजनक पार्टी एकताको पक्षमा कुरा राखे। उनीहरूले माओवादी केन्द्रसँगको गठबन्धन भरपर्दो नहुने बताए। त्यसकारण पनि पछिल्लोपटक नेपाल बढी नै दबाबमा परे,’ नेपालनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘त्यस किसिमको दबाबपछि नेपालले अध्यक्ष ओली तयार भए आफू विधानमा भएको ७० वर्षे प्रावधानअनुरूप दोस्रो पुस्तामा पार्टी हस्तान्तरण गर्नसमेत तयार भएको बताएका हुन्।’
उनका अनुसार नेताहरूले ओलीबाट सबै विकल्पमा ढोका बन्द गरे मात्रै अर्को कदम चाल्नुपर्ने सुझाएका थिए। ‘एमालेमा अन्तरसंघर्ष पहिला पनि थियो, अहिले विवाद बढेको मात्रै हा, अन्तरसंघर्ष गर्नुपर्छ, एकतामा ओलीले ढोका नै बन्द गरे मात्रै विकल्प खोज्ने हो भन्ने कुरा आयो,’ स्रोतले भन्यो, ‘पार्टी फुटाएर जाँदा अजेन्डा स्थापित हुँदैन। कांग्रेसलाई सरकार बनाउन पार्टी फुटाएको ठहर्छ भन्ने मत बलियो भयो।’ तर नेता नेपालले शनिबार दिउँसो एक कार्यकर्ता भेलामा भने आजसम्म लक्षण राम्रो नभएको भन्दै निराशा पनि व्यक्त गरेका छन्। ‘आजसम्म हेर्दा लक्षण राम्रो छैन, त्यहाँ गएर टाउको ठोक्काउने, चिच्याउने होइन, सम्मानजनक अवस्था भएन भने फेरि पनि उही पुरानै अवस्था सिर्जना हुन्छ,’ निकट कार्यकर्ताहरूलाई जुम बैठकमा नेता नेपालले भनेका थिए। तर यति हुँदाहँुदै पनि उनले अर्को पार्टी खोल्ने चाहना नभएको र एमालेलाई नै क्रान्तिकारी धारको पार्टी बनाउने बताएका थिए।
वरिष्ठ नेता नेपाल र उनको पक्षले क्रमशः लचकता अपनाउन थालेपछि महासचिव ईश्वर पोखरेललगायत केही नेता पार्टी मिलाउनेभन्दा पनि भड्काउने गतिविधिमा लागेको नेपाल पक्षको दाबी छ। महासचिव पोखरेलले दोस्रो अध्यक्ष मान्न सकिन्नँ भन्ने गरेको, विवाद निरूपणमा सक्रिय रहेको कार्यदलका सदस्यहरूलाई बराबरी अधिकार दिनुहुँदैन भनेर लबिङ गरेको जस्ता आरोप नेपाल पक्षले लगाएको छ। ‘ओली बराबरी अधिकार दिन सहमत भइसक्दा महासचिव पोखरेलले आफैं ओलीको अगाडि बसेर यस्ता विषयमा सहमत हुन सकिँदैन भन्न थालेका थिए,’ नेपाल पक्षका एक नेताले भने। महासचिव पोखरेलकै कारण पार्टी एकता नहुने खतरा पनि बढ्दै गएको दाबी उनले गरे।
पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।
विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। सोमबार बिहान ओलीसहित मध्यमार्गी नेताहरूबीच भएको संवादपछि विवाद सुल्झाउन २०७५ जेठ २ अघिका सबै कमिटी ब्युँताइने भएको हो।
सुरुमा सबै कमिटी ब्युँताउने र त्यसपछि सबैको जिम्मेवारी बाँडफाँड गरी अघि बढ्ने सहमति भएको छ। त्यसका लागि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन भएको हो। यो कमिटीले मंगलबारको स्थायी समिति बैठकअघि प्रस्ताव तयार गर्ने भएको छ।
एमाले अध्यक्ष ओलीले पार्टीभित्र कुनै पनि स्थान नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेन दिए पनि दोस्रो पुस्ताका नेताहरू भने पार्टी एकताकै पहलमा लागिरहेका थिए। नेपाल नयाँ दल दर्ता गर्न जाँदा असहमत रहेका नेताहरूले गत बिहीबार सामूहिक छलफल गरेर पार्टी विभाजन गर्न नहुने भन्दै ओलीलाई १० बुँदे कार्यान्वयनको ग्यारेन्टी गर्न र नेपाललाई निर्णय सच्याउन आग्रह गरेका थिए। तर नेपाल दल दर्ताबाट फिर्ता नहुनेगरी केन्द्रीय सदस्यहरूको भेलामा लागेका छन्। उनले दुई दिनसम्म चन्द्रागिरिमा आफू निकट केन्द्रीय सदस्य र सांसदलाई राखेर प्रशिक्षण दिइरहेका छन्।
मध्यमार्गी धारमा रहेका नेताहरूले भने असार २७ गते गरिएको १० बुँदे कार्यान्वयन भएमा पार्टी विभाजन गर्नुको औचित्य नभएकाले नेपाललाई दल दर्ताबाट पछि हट्न आग्रह गरेको बताएका छन्। भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त तथा योगेश भट्टराईले १० बुँदे सहमति अक्षरशः पालना र कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका थिए। गत बुधबार नेपाल समूहका स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै दल दर्तामा सहमति जनाएका थिए।अन्य सदस्य पार्टी विभाजन गलत भएको जनाउँदै सो निर्णय प्रकृयामा सहभागी भएका थिएनन्।
गत शुक्रबार स्थायी कमिटी सदस्यहरूले केन्द्रीय सदस्यहरूको भेला बोलाएर ओलीलाई १० बुँदे कार्यान्वयन गर्न थप दबाब दिएका थिए। बालकोटमा ओलीसँगको छलफलपछि पार्टीका सचिव योगेश भट्टराईले अलग्गै दल निर्माण गर्दा नेपाललाई आफूहरूले साथ नदिने भनेर धेरै अघि नै जानकारी गराएको बताएका थिए। उनले १० बुँदे कार्यान्वयन भए सबैलाई न्याय हुने समेत बताएका थिए। ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ। पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ। कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ भन्नुभएको छ। अब सबै साथीलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु’, सचिव भट्टराईले भने।
माधव नेपाललाई ३८ जना केन्द्रीय सदस्यले पार्टी विभाजनका लागि साथ दिएका थिएनन्। नेपाल समूहमा रहेर ओलीलाई चर्को गाली गर्नेहरूले नै अन्तिम समयमा दल विभाजन हँुदा साथ दिएनन्। भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, परशुराम मेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जिवन घिमिरे, निरज आचार्य, माधव अर्याल, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, केदार न्यौपाने, धर्मराज निरौला, रचना खड्का, नरेश खरेल, श्रीप्रसाद साहलगायतका केन्द्रीय सदस्यले नेता नेपाललाई पार्टी मिलाउन दबाब दिए पनि नेपालले नयाँ दल गठनको प्रकृया अघि बढेकाले पछाडि नहट्ने जवाफ दिएका थिए।
उनले सहज लागे एमालेमै रहन सुझावसमेत दिएका थिए। यति बेला आएर ओलीले असार २७ गते गरिएको १० बुँदे कार्यान्वयन नगरी पार्टी विभाजन भएपछि मात्रै कार्यान्वयन गर्न अग्रसर हुनुलाई माधव नेपाल समूहले नेपाललाई पार्टीबाट निकाल्न गरिएको हर्कतका रूपमा लिएको छ। त्यसकारण पनि अहिले नेपाल अघि बढेपछि पछाडि फर्कने सम्भावना नभएको नेपाल निकट रहेका नेताहरू बताउँछन्। नेपालसँग काम गरिरहेका राजेन्द्र राईले १०बुँदेमा आफूहरूको सहमति नभएको बताइसकेका छन्। उनले बालकोटमा ओलीसँग भएको छलफलको अर्थ नभएको समेत बताएका छन्।
एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने भएपछि नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता नेपालले आफूसँग भएका केन्द्रीय सदस्यलाई कसैले पनि भड्काउन नसकून् भनेर सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा प्रशिक्षण छ भन्दै लगेका थिए। रिसोर्टमा विधान, राजनीतिक प्रतिवेदन र नेताहरूको सनाखत गर्ने प्रकृया सकेर फर्कने योजना बनेको छ। सोमबार साँझ नेपालले रिसोर्टमा भेला भएका केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भोलिका दिनमा एमालेसँगको सहकार्य कायमै रहनसक्ने तर अहिले दल दर्ताको प्रकृयाबाट पछि नहट्ने बताएका थिए।
ओलीले १० बुँदे सहमति कार्यान्वयन मात्र होइन, नेपाल पनि पार्टीमा रहने भए १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिने आश्वासन पनि दिएका छन्। ‘ओलीले पार्टीभित्रको विवाद मिलाउने कोसिस गरेको देखाउन कारबाही फुकुवा गरिदिन पनि सक्छन्’, एक नेताले भने, ‘सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र माधव नेपालबीचको भेटघाट पनि यसैका लागि हो।’
यति बेला आएर ओली एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि तयार भएका छन्। ‘उहाँले एमाले राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सबै साथीलाई जिम्मेवारी दिने भन्नुभएको छ’, छलफलमा सहभागी एमाले सचिव भट्टराईले भने। आफूहरूले ओलीलाई एमाले एकता बचाइराख्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्छ भन्नेमा जोड दिएको भट्टराईको भनाइ थियो। तर निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका नेपाल फर्केर एमालेमा आउने सम्भावना सकिएको छ। निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ।
आइतबार दुवै पक्षका नेताको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा विष्णु पौडेल र शंकर पोखरेलले लिएका थिए। पोखरेल, सुवास नेम्वाङ, पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरूको वार्ता भएको थियो। १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरूसहितको बैठक बस्ने बताइएको छ। १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भएको थियो। १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।