माटोले बाटो बिराएको छैन। बिराएको हामीले हो। हामीले माटोलाई श्रममा बाँध्यौं, बुद्धिलाई कार्यालयमा र विश्वविद्यालयलाई प्रमाणपत्रमा। त्यसपछि विकास खोज्न निस्कियौं। एक किसिमको विकास त आयो– गाउँ रित्तिनेगरी, सहरको रहर बढाउनेगरी, खेत बाँझिनेगरी। विश्वविद्यालय पनि कुनै समय भरिए तर राष्ट्रको आत्मविश्वास भरिएन। किन ? कारण जगजाहेर छ। विश्वविद्यालयले डिग्री दियो। डिग्रीले जागिर खोज्यो। जागिरले विदेश भेट्यो। विदेशले रेमिट्यान्स पठायो। रेमिट्यान्सले सिमेन्ट र बालुवाको बजार त बनायो तर देशलाई बलियो बनाउन सकेन। देशको आत्मविश्वास निर्माण भएन। त्यसैले प्रश्न फेरि विश्वविद्यालयमा ठोकिन्छ।
विश्वविद्यालय आखिर के हो ? कक्षा ? भवन ? पाठ्यक्रम ? परीक्षा ? प्रमाणपत्र ? वा ती सबैको समग्रता ? वा एउटा यस्तो चौतारो, जहाँ राष्ट्रले आफ्ना अप्ठ्यारा प्रश्नहरू बिसाउँछ?
हामी विश्वविद्यालयमा भविष्य पढाउँछौं तर भविष्य नै आयातित छ। अनुसन्धान सिकाउँछौं, जसको उज्यालो आलीसम्म पुग्दैन। नवप्रवर्तनका ब्यानर टाँस्छौं तर एक युवाले उद्यम सुरु गर्ने बाटो देख्दैन। सुशासनमाथि बहस गर्छौं, गोठमा गाई पाल्ने अर्थशास्त्र पढाउँदैनौं अनि विश्वविद्यालयकै प्रतिनिधि बनेर सोध्छौं– देश किन बनेन ? यो हामीतिरै फर्कने प्रश्न हो।
देश बन्ने आधार के हो ? केवल नीति ? बजेट ? सुशासन ? यी आवश्यक हुन् तर पर्याप्त होइनन्। यी साधन हुन् तर साध्य होइनन्। त्यसो भए केले बन्छ देश ? उत्पादन र नवप्रवर्तनले ? सायद यिनको सन्तुलनले। उत्पादन, नवप्रवर्तन र सन्तुलनका आधार हुन्– माटो, मस्तिष्क र मध्यममार्ग। माटोले उत्पादन गर्छ। मस्तिष्कले नवप्रवर्तन गर्छ र उत्पादनलाई मूल्यमा रूपान्तरण गर्छ। मध्यममार्गले उत्पादन र नवप्रवर्तनलाई सन्तुलित राख्दै न्यायोचित वितरण सुनिश्चित गर्छ। मानव सभ्यताले भोक जित्न यही सूत्र सिकेको छ।
हामीले उत्पादन किसानको जिम्मा लगायौं। नवप्रवर्तन विश्वविद्यालयको, नीति सरकारको, बजार व्यापारीको तर यी चारबिच संवाद हुनुपर्छ भन्ने कुरा बिर्सियौं। परिणामतः माटो छुट्टियो, मस्तिष्क छुट्टियो र मध्यममार्ग पुरियो। विकासले गतिको आवाज त पायो तर बाटो बिरायो। त्यसैले अधुरै रह्यो राष्ट्रनिर्माणको कथा।
यहींनेर विश्वविद्यालयको वास्तविक भूमिका सुरु हुन्छ। विश्वविद्यालयले खेत जोत्नुपर्दैन तर खेत किन बाँझो भयो भन्ने प्रश्न जोत्नैपर्छ। विश्वविद्यालयले कारखाना चलाउनुपर्दैन तर हामी किन अरूका ग्राहक मात्र भयौं भन्ने प्रश्न उठाउनैपर्छ। विश्वविद्यालयले बजार खोल्नुपर्दैन तर हामी किन मूल्य सिर्जना नगरी मूल्य तिर्ने राष्ट्र भयौं भन्ने प्रश्नको ढोका खोल्नैपर्छ। यी प्रश्न विश्वविद्यालयका हुन् भने विश्वविद्यालयको वास्तविक मूल्यांकन किसानको खेतमा, उद्योगको मेसिनमा, अस्पतालको शड्ढयामा, गाउँको विद्यालयमा, युवाको आशामा हुनुपर्छ, दीक्षान्त समारोहका सहभागीको संख्यामा होइन।
हाम्रो सबैभन्दा ठुलो समस्या स्रोतको अभाव होइन, उत्पादन र प्रविधिबिचको खाडल हो। प्रविधि प्रयोगशालामा बन्द छ। उत्पादन खेतमा एक्लै पसिना बगाइरहेछ। ती दुईबिच सेतु बन्नुपर्ने विश्वविद्यालय विशिष्टताका नाममा आफै विभाजित छ। त्यसैले विश्वविद्यालय र विकासबिच, शिक्षा र समाजबिच, उपभोग र नैतिकताबिच खाडल बढ्दै गएको छ। त्यो खाडल पुर्ने सेतु नै मध्यममार्ग हो। माटो र मस्तिष्कबिच हराएको पुल पनि त्यही हो।
विश्वविद्यालयलाई राज्यको साझा मष्तिष्क मानौं। मान्नका लागि केही उदाहरणहरू लिऔं। इतिहासको गर्भमा सुन्दर सत्यहरू भेटिन्छन्। विश्वविद्यालयहरू भवनले प्रसिद्ध बनेनन्। बरु समाजका सबैभन्दा कठिन प्रश्नलाई आफ्नै प्रश्न बनाएर प्रसिद्ध बने। समाजले भोकको प्रश्न सोध्यो, विश्वविद्यालयले कृषि अनुसन्धान जन्मायो। समाजले रोगको प्रश्न सोध्यो, विश्वविद्यालयले चिकित्सा विज्ञान जन्मायो। समाजले उद्योगको प्रश्न सोध्यो, विश्वविद्यालयले इन्जिनियरिङ जन्मायो। समाजले सूचना र सञ्चारमा तीव्रता माग्यो, विश्वविद्यालयले डिजिटल प्रविधि अपनायो। अर्थात्, विश्वविद्यालयले ज्ञानबाट समाजतिर यात्रा गरेन, समाजका प्रश्नबाट ज्ञानतिर यात्रा गर्यो।
त्यसैले संसारका सफल विश्वविद्यालयहरू पुस्तकालयभित्र सीमित छैनन्। ती खेतमा छन्, कारखानामा छन्, नदी किनारमा छन्, अस्पतालमा छन्, उद्योगका डिजाइन केन्द्रमा छन्, गाउँका सहकारीमा छन्। तिनले अनुसन्धानलाई जीवनको विस्तार बनाएका छन्, जीवनबाट पलायन होइन।
अमेरिकाले उन्नाइसौं शताब्दीमा एउटा असाधारण निर्णय गर्यो। विश्वविद्यालयलाई केवल पढाउने संस्था मानिएन। बरु ठानियो, विश्वविद्यालय किसानको साथी हुनुपर्छ। फलतः अगाडि आयो, ल्यान्ड ग्रान्ट युनिभर्सिटीको अवधारणा। शिक्षणसँगै अनुसन्धान र ज्ञानलाई समुदायसम्म विस्तार गर्न यो पहल महत्त्वपूर्ण साबित भयो। यसरी विश्वविद्यालयको ढोका बाहिरतिर खुल्यो। प्रयोगशालामा बनेको ज्ञान खेतसम्म पुग्न थाल्यो। यहीं मस्तिष्क माटोसँग जोडियो। किसानको समस्या अनुसन्धानको विषय बन्न थाल्यो। विश्वविद्यालय र समाजबिचको दुरी घट्न थाल्यो। यही सम्बन्धले अमेरिकाको कृषि, उद्योग र प्रविधिलाई असाधारण गति दियो।
नेदरल्यान्डले बुझ्यो– माटो एक्लैले उत्पादनमा चमत्कार गर्दैन, माटोसँग संवाद गर्ने मस्तिष्कले उत्पादन बढाउँछ। त्यसैले त्यहाँ विश्वविद्यालय, अनुसन्धान संस्था, किसान र उद्योग एउटै वृत्तका सदस्य भए। त्यहाँको वागेनिंगेन विश्वको उत्कृष्ट कृषि विश्वविद्यालयका रूपमा चिनिन्छ। झन्डै १३८ बिलियन युरो बराबरको कृषि निर्यातको आधारका रूपमा त्यही विश्वविद्यालय देखिन्छ। क्षेत्रफलले सानो राष्ट्रको कृषि निर्यातमा यत्रो चमत्कार ? विश्वका ठुला अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सक्नुको रहस्य उर्वर माटोभन्दा धेरै उर्वर मस्तिष्क हो भन्ने कुराको बलियो प्रमाण हो।
इजरायलसँग मरुभूमि धेरै छ, पानी थोरै छ। प्रकृतिले उदारता देखाएको छैन तर मस्तिष्कले हार मानेन। ब्लास र हात्जेरिमले प्रश्न फेरिदिए। ‘हामीसँग पानी किन छैन ?’ भन्दा ठुलो प्रश्न उनीहरूले सोधे– जति पानी छ, त्यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने ? यही प्रश्नबाट थोपा–थोपा सिँचाइ, मरुभूमिमा खेती र पानीको कुशल व्यवस्थापनका नयाँ प्रविधिहरू जन्मिए। विश्वविद्यालयहरूले त्यस नवप्रवर्तनलाई विज्ञानको बल दिए।
युद्धपछि कोरियासँग धेरै कुरा थिएन। एउटा निर्णय थियो– ज्ञानमा लगानी गर्ने। विश्वविद्यालय प्रयोगशालामा कैदी बनेनन्, उद्योगसँग हातेमालो गरे। अनुसन्धान कारखाना पुग्यो। विद्यार्थीलाई जागिर मात्र खोज्ने कला होइन, उद्योग खोल्ने साहस सिकाइयो। केही दशकभित्रै कोरियाले आफ्नो उत्पादन संसारभर पठाउन थाल्यो।
नेपालको समस्या के हो ? हामीसँग माटो छैन ? छ, पानी छैन ? छ, युवा छैनन् ? छन्, विश्वविद्यालय छैनन् ? छन्। अनि किन हामी अझै पनि उत्पादनभन्दा आयातमा, नवप्रवर्तनभन्दा उपभोगमा र अनुसन्धानभन्दा प्रतिवेदनमा बढी परिचित छौं ? त्यसैले अबको प्रश्न विश्वविद्यालयले परीक्षाको नतिजा कति छिटो प्रकाशन गर्छ भन्ने होइन, विश्वविद्यालयलाई कता जोड्ने भन्ने हो। समाजसँग, माटोसँग, उत्पादनसँग किनकि समाजका समस्या पढ्न छोडेको दिनदेखि विश्वविद्यालयले विश्वास गुमाउन थाल्छ र समाजको विश्वास गुमाएको विश्वविद्यालयले राष्ट्रको भविष्य दिन सक्दैन।
एउटा कल्पना गरौं– के कृषि केवल कृषि विश्वविद्यालयको विषय हो ? हो भने खाद्य सुरक्षा कसको विषय हो ? किसान मात्र माटोसँग सम्बन्धित हो भने जलवायु परिवर्तनसँग कसको सम्बन्ध छ ? पोषणसँग ? स्वास्थ्यसँग ? कृत्रिम बुद्धिमत्तासँग ? अर्थतन्त्रसँग ? राष्ट्रिय सुरक्षासँग ? वास्तवमा हामीले विषयहरू छुट्याउने क्रममा जीवनलाई नै टुक्य्राइदियौं।
खेत एक ठाउँमा रह्यो, प्रयोगशाला अर्को ठाउँमा, बजार तेस्रो ठाउँमा, नीति चौथो ठाउँमा, विश्वविद्यालय पाँचौं ठाउँमा तर बिउ उमार्न यी सबै एकैचोटि चाहिन्छन्। सायद यही कारणले विश्वविद्यालयहरू विशिष्ट त बने तर समाजका जटिल प्रश्न समाधान गर्ने क्षमतामा क्रमशः कमजोर हुँदै गए।
कृषि कृषि विश्वविद्यालयकै विशिष्टताको क्षेत्र हुन सक्यो। तर उत्पादन कुनै एक विश्वविद्यालयको मात्र विषय हुन सक्दैन। उत्पादन साझा विषय हो। त्यसैले उत्पादनसँग जोडिने जिम्मेवारी पनि सबै विश्वविद्यालयको साझा जिम्मेवारी हो।
कुनै प्राविधिक विश्वविद्यालय किसानका लागि सस्तो र दिगो प्रविधि बनाउन किन केन्द्रित नहुने ? सूचना प्रविधि माटो, मौसम र बजारलाई कृत्रिम बुद्धिमत्तासँग किन नजोड्ने ? व्यवस्थापन संकायले मूल्य सिर्जना गर्न किन नसिकाउने ? चिकित्सा विज्ञानले रोग र औषधिभन्दा पोषण र खाद्य सुरक्षालाई प्राथमिकतामा किन नराख्ने ? पर्यावरण विज्ञानले माटोको स्वास्थ्यलाई राष्ट्रिय सम्पत्तिको रूपमा किन नहेर्ने ? मानविकी तथा सामाजिक शास्त्रले श्रमको गरिमा, ग्रामीण जीवन र सामुदायिक अर्थतन्त्रलाई विकासको मूल भाष्य किन नबनाउने ?
सारतः हलो चलाउने सिपको नाम मात्र कृषि होइन। यही कारणले एउटा प्रस्ताव अघि सार्नु वाञ्छनीय देखिन्छ– प्रत्येक नागरिकले माटो छुनुपर्छ। वैज्ञानिकले अनुसन्धानद्वारा, इन्जिनियरले प्रविधिद्वारा, चिकित्सकले पोषणद्वारा, कलाकारले संवेदनाद्वारा, शिक्षकले चेतनाद्वारा र किसानले हातद्वारा। माटो सबैको हो। त्यसैले माटोप्रतिको उत्तरदायित्व पनि सबैको हो।
बुद्धले मध्यममार्गको कुरा आध्यात्मिक जीवनका लागि गरेका थिए, सुखसयल र आत्मदमन दुवैमा अतिबाट बच्ने मार्गका रूपमा। आज त्यही कुरा विकासको प्रश्नमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ। माटो र मस्तिष्कको असन्तुलन घातक हुन्छ। त्यसैले कृत्रिम बुद्धिमत्ताको उडानमा केवल शीर्षासन या प्रकृतिप्रेमको नाममा फगत् हलासनले जीवनको योग पूर्ण हुँदैन। त्यसैले विश्वविद्यालयलाई उही प्रश्न होइन– कति विद्यार्थी उत्तीर्ण भए ? प्रश्न यो हो– कति जीवन बदलिए ? यस्तो प्रश्न गर्नेहरूले समवेत स्वरमा अवश्य भन्नेछन्– ‘हामीले विश्वविद्यालयलाई ज्ञानको भण्डार बनायौं। अब त्यसलाई ज्ञानको प्रवाह बनाऔं।’
हरेक विश्वविद्यालयसँग एउटा जागरुक समुदाय जोडिएको हुनुपर्छ। हरेक विभागसँग एउटा ज्वलन्त समस्या जोडिएको हुनुपर्छ। हरेक अनुसन्धानसँग एउटा सटिक समाधान जोडिएको हुनुपर्छ र हरेक विद्यार्थीले उत्पादनप्रतिको दायित्व बोध गरेको हुनुपर्छ।
माटो छुनु भनेको केवल धुलोमा हात राख्नु होइन। माटो छुनु भनेको आफ्नो अस्तित्वलाई उत्पादनसँग जोड्नु हो, राष्ट्रले खाने अन्नसँग जोड्नु हो, श्रमलाई समाजको आवश्यकतासँग जोड्नु हो, ज्ञानलाई जीवनसँग जोड्नु हो। त्यसैले प्रत्येक नागरिकले माटो छुनुपर्छ। कसैले हातले, कसैले बुद्धिले, कसैले प्रविधिले, कसैले कलाले, कसैले नीतिले तर सबैले कुनै न कुनै रूपमा। किनकि उत्पादनमा सहभागी नभएको ज्ञान अन्ततः उपभोगको दास बन्छ।
फेरि शीर्षकतिर फर्कौं। माटोले उमार्छ, मस्तिष्कले हामीलाई उकास्छ, मध्यममार्गले विवेक दिन्छ। माटोले अन्न दिन्छ। मस्तिष्कले आविष्कार र अर्थ दिन्छ। मध्यममार्गले आगामी भविष्य दिन्छ। हामीलाई केवल धेरै उत्पादन गर्ने राष्ट्र बन्नुछैन, पहिला आफूलाई पुग्ने गरी उत्पादन गर्ने राष्ट्र बन्नु छ। हामीलाई केवल धेरै प्रविधि सिर्जना गर्ने राष्ट्र पनि बन्नुछैन, उत्पादन र आविष्कारमा सम्यक् दृष्टि राख्ने राष्ट्र बन्नु छ।
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय। राज्यको परिकल्पना नै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार कायम गर्ने अवधारणाबाट भएको मानिन्छ। नागरिकको सुरक्षाकै लागि नागरिकद्वारा निर्माण गरिएको संयन्त्र विशेषलाई नै विशेष आधिकारयुक्त राज्य मानिँदै आएको छ। प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालनको प्रतिनिधि सरकारले जनतालाई अधिकार दिने नभई जनताका अधिकारलाई संरक्षण गर्ने भूमिका बहन गरेको हुन्छ। यही परिपाटी प्रजातान्त्रिक मुलुकका हरेक एकाइमा लागु हुने भएकाले परिवारमा नयाँ सदस्यको आगमन नै उसको अधिकार सिर्जनाको कारक तत्त्व बन्छ।
बालबालिकाको पालनपोषण, शिक्षादीक्षालगायत कुरामा अभिभावककै लगानी हुने भए पनि यी नवजातका मौलिक हकका रूपमा स्थापित भएका हुन्छन्। सामान्य सोचाइमा गोपनीयतासित सम्बन्धित कुराहरू बालिग नागरिकका मात्र विषय हुन् भन्ने सोचिन्छ तर वैयक्तिक गोपनीयताका विषय पारिवारिक सम्बन्धभन्दा पनि विशिष्ट रहने गर्छन्।
बालबालिकालाई दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय तत्काल अभिभावकका लागि लाभदायक भए पनि सार्वजनिक गर्न मिल्दैन। मुलुकको संविधान र कानुनले बालबालिकाका यसप्रकारका नैसर्गिक एवं गोपनीयतासम्बन्धी हकलाई सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धसमेत गरेको हुन्छ।
पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै अभिभावक आफ्ना बालबालिका नितान्त वैयक्तिक एवं वयस्क बन्दा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई मनोरञ्जनका साधनकै रूपमा सञ्जालमा सार्वजनिक गर्ने गरेको देखिन्छ। केही बालबालिका आफ्ना अभिभावकले आफ्ना शिशु अथवा बाल्यअवस्थामै सार्वजनिक गरेका तस्बिर एवं भिडियोका कारण किशोरावस्थामा विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका घटना सार्वजनिक गर्न थालेका छन्। सामाजिक सञ्जालको प्रयोग र वैयक्तिक गोपनीयताको विषयमा विद्यार्थी र शिक्षकलाई मात्र नभएर आमअभिभावकलाई शिक्षा दिनु अति आवश्यक हुँदै गएको छ।
नेपालको संविधान २०७२ को धारा २८ मा मौलिक हकअन्तर्गत गोपनीयताको हकसम्बन्धी व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक र पत्राचारसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ।
संविधानअन्तर्गत बनेका अन्य कानुनहरूमा पनि व्यक्तिका गोपनीयतासम्बन्धी कुरालाई सम्बन्धित व्यक्तिकै अधिकारका रूपमा व्याख्या गरिएको छ। बालबालिकाका सन्दर्भमा उनीहरूका प्रथम र सबैभन्दा नजिकका संरक्षक अभिभावक नै हुन्। बालबालिकासँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्ने सन्दर्भमा होस् वा उनीहरूलाई दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै पनि विषयमा निर्णय गर्ने सन्दर्भमा अभिभावकको मञ्जुरी आवश्यक पर्ने कुरा कानुनमा उल्लेख छ। यसको आशय पनि अपरिपक्व अवस्थाका बालबालिकाका अधिकारको संरक्षण उसका अभिभावक र राज्यले गर्नुपर्छ भन्ने मान्यतासँग सम्बन्धित छ।
बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालबालिकालाई के कस्ता काममा लगाउने र उनीहरूसित सम्बन्धित निर्णय प्रक्रिया कस्तो हुने भन्नेबारे व्यवस्था छ। यसमा अभिभावक नै बालबालिकाको पहिलो संरक्षणकर्ताका रूपमा रहने र असमर्थ अभिभावकका सन्दर्भमा राज्यले नै सो भूमिका बहन गर्नुपर्ने व्यवस्था गरिएको छ।
पश्चिमी समाजमा निर्वाध र निःसर्त अभिभावकलाई बालबालिकाको संरक्षक र सर्वोपरि हित सुरक्षित गर्ने व्यक्तिका रूपमा नलिए पनि हाम्रो समाजमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवती अर्थात् सन्तान खराब भए पनि उसका अभिभावक खराब हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरी प्रथम र अन्तिम संरक्षणकर्ता अभिभावकलाई निःसर्त रूपमा मानिएको छ।
अभिभावकले आफ्नो इज्जत र औकातअनुसार बालबालिकाको स्वास्थ्य, शिक्षा र आवश्यकता पूरा गर्ने सन्दर्भमा भूमिका बहन गर्नुपर्छ। कथाकथंचित सो व्यवस्था हुन नसकेमा स्थानीय तहले अधिकार क्षेत्र ग्रहण गरी बालबालिकाको सर्वांगीण हितका लागि उपयुक्त कदम चाल्नुपर्ने कानुनी व्यवस्था छ।
समाजमा भित्रँदै गएको पाश्चात्य संस्कार, संस्कृति र आधुनिक जीवन पद्धतिका कारण पारिवारिक संरचनामा आएको विचलनले पछिल्लो समय बालबालिका बिचल्लीमा पर्ने घटना पनि बढ्दै गएका छन्। खास गरी अभिभावकको पारिवारिक सम्बन्धमा आएको विचलनका कारण सम्बन्धविच्छेद र नयाँ सम्बन्ध स्थापनाका घटनाले बालबालिका उपेक्षामा पर्ने, दुव्र्यवहारको सिकार हुने एवं अन्य मनोसामाजिक समस्याबाट पीडित हुने घटना पनि बढ्दै गएका छन्। परिस्थितिजन्य कारणबाट सिर्जना भएका असामान्य अवस्थाले बालबालिका समस्यामा पर्ने कुरा एकातिर छ भने अर्कातिर अभिभावकको असावधानीका कारण पनि धेरै बालबालिका मनोसामाजिक समस्याबाट ग्रसित हुने गरेका छन्।
गत हप्ता केही सञ्चारका माध्यममा १२ वर्षकी बालिका शिक्षण संस्थामा प्रताडित भएको भनी समाचार सार्वजनिक भयो। उक्त समाचारको आशय बालिकालाई न्याय दिलाउने भनिए पनि बालिकाको तस्बिर, उनमा बढ्दै गएको मानसिक समस्या र सोसँग सम्बन्धित सम्पूर्ण चिकित्सकीय रिपोर्टहरूसमेत सार्वजनिक गरिए। घटनालाई सनसनीपूर्ण बनाउने नाममा बालिकाको वैयक्तिक गोपनीयताको हकका बारेमा न अभिभावक सचेत हुन सके न त संसार माध्यम नै।
बालिकाका बारेमा छरपस्ट पारिएका नितान्त वैयक्तिक विषय उनको मानसिक स्वास्थ्य समस्याबारे प्रमाणका रूपमा चिकित्सकीय रिपोर्टसमेत पहिचानसहित प्रकाशन गरियो। यसले आगामी दिनमा बालिकाको स्वस्थ विकासका लागि अवरोध नै पु¥याउने प्रस्ट छ।
समाचारमा बालिकाको मौलिक हकअन्तर्गत गोप्य रहनुपर्ने वैयक्तिक विवरणको प्रकाशनले उनलाई सामाजिक रूपमा लाञ्छनाको सिकार बनाउने सम्भावना बढायो। अभिभावक आफ्नै सन्तानबारे प्रस्तुत गरेका विवरणले पु¥याउने सामाजिक क्षति आँकलन गर्न नसकेकै देखिन्छ। अर्कातिर सम्बन्धित विषयकै बारेमा विद्यालयले जारी गरेको विज्ञप्तिमा बालिकाको नाम, वतन र पहिचानका कुनै पनि विषयवस्तु उल्लेख भएका थिएनन्। संस्थामाथि लगाइएका आरोपका खण्डनमा विद्यालयको संवेदनशीलता र बालमैत्री व्यवहार उक्त विज्ञप्तिबाटै स्पष्ट छर्लंगिन्छ। बालिका अहिले अभिभावकले भनेअनुसार असामान्य अवस्थामा रहेकी र नाबालक नै भएकाले अभिभावकविरुद्ध कानुनी वा अन्य उपचारमा जान सक्ने अवस्था देखिँदैन तर उनी वयस्क हुनासाथ अभिभावक विरुद्ध नै कानुनी उपचारको खोजी गरिन् भने अनौठो मान्नुपर्दैन।
केही विद्यालयले पौडी वा खेलकुदका अन्य यस्तै क्रियाकलापका फोटो र भिडियो सार्वजनिक गरी आफ्ना विद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार पनि गर्ने गरेका छन्। यसप्रकारका चित्र र भिडियो सार्वजनिक गर्ने क्रममा बालबालिकाको गोपनीयता तथा प्रसारित सामग्रीको दुरुपयोग हुन सक्ने विषयमा विचार गरिएको देखिँदैन। यसले बालबालिकामा सिर्जना गरेको भय र मानसिक तनावलाई आधार मानेर सचेत अभिभावकले बालबालिकाका वैयक्तिक विवरण सार्वजनिक गर्ने विषयमा विद्यालयहरू पनि सावधान हुनुपर्ने भनी आवाज उठाउन थालेका छन्।
अभिभावक र स्वयं बालबालिकाकै हितमा सक्रिय शैक्षिक संस्थाले समेत असावधानीवश बालबालिकालाई राम्रो देखाउन गर्ने गरेको प्रचारप्रसारको सामग्रीले उल्टै बालबालिका पीडित भएका कुरामा सतर्क हुनु आवश्यक छ। यस्तै घटनाका कारण मनोवैज्ञानिक परामर्शमा आउने किशोर किशोरीको संख्यासमेत बढ्न थालेको छ। बालबालिका सम्बन्धी ऐन २०७५ बालबालिका सम्बन्धी नियमावली २०७७ तथा स्थानीय तहहरूले बालबालिकाको संरक्षण र उनीहरूमाथि हुनसक्ने दुव्र्यवहार न्यूनीकरणका लागि कानुनहरू तर्जुमा गरेका छन्। यी कानुनमा विद्यालय र घरपरिवारलाई निःसर्त रूपमा बालबालिकाका अभिभावक ग्रहण गरिएको छ।
सामाजिक सञ्जाल तथा अन्य सूचनाका माध्यमका कारण बालबालिकाको परिधि विश्वव्यापीकरण भएको छ। यस सन्दर्भमा स्थानीय वा राष्ट्रिय संस्कार र संस्कृतिले मात्र बालबालिकाको आचरण र व्यवहार निर्धारण हुन सक्ने अवस्था देखिँदैन। विश्वव्यापीकरणको प्रभावसँगै पश्चिमा समाजमा विकसित घटनाक्रमले बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्न थालेका छन्।
विश्वव्यापीकरणसँगै बालबालिकाको सुरक्षाको दृष्टिले घरपरिवार, आफन्त र विद्यालयलाई पनि निःसर्त रूपमा संरक्षणकर्ता मान्न सकिने अवस्था बिगँ्रदै गएको छ। अभिभावकको असावधानी र भाइरल हुने मोहले वैयक्तिक गोपनीयताको हकको ठाडो उल्लंघन भएको पनि देखिन्छ।
सामान्य घटनामा पारिवारिक विषय भनेर कसैले औंला नउठाए पनि यस प्रकारको विकृतिले अन्ततः आगामी पुस्तालाई स्वस्थ रूपमा हुर्कन असहयोग गर्ने भएकाले बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी कानुन निर्माण हुनु आवश्यक छ। तीनै तहका सरकारले यस विषयमा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक विद्यालयले विद्यार्थी स्वयंलाई साइबर संसारमा प्रकाशित सामग्रीले भविष्यमा पार्न सक्ने प्रभावबारे सचेत बनाउनु आवश्यक छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।