सुनसरी–सिरहाका घटना अत्यन्तै दुःखद हुन्। सुरक्षाकर्मीका असावधानीका नतिजा थिए ती। मृत्युसंख्या र परिस्थिति फरक थिए तर चैत्र १५ को तीनकुने र भदौ २३–२४ का हत्या, आगजनी र लुटपाटका प्रकृति उस्तै हुन्। सरकार, व्यापारी प्रतिष्ठान र निजी सम्पत्ति तारो बने। कम्मरमाथि गोली चले। राहत र दोषीलाई उन्मुक्ति दिएर दिगो शान्ति हुँदैन। ‘संक्रमणकालीन न्याय’लाई सम्बोधन नगरेबाट देश ‘दण्डहीनताको स्वर्गभूमि’ बनेको नकार्न पनि मिल्दैन।
असन्तुष्टि चुलिएपछि पटक–पटक मुलुकमा क्रान्ति र आन्दोलन भए। राज्यको अकर्मण्यताले नागरिकले ज्यान गुमाए। सहिद र क्षतिपूर्ति घोषणा, उपचार र रोजगारीका आश्वासन बाँडिए। छानबिन आयोग बन्ने, प्रतिवेदन बुझाउने तर सार्वजनिक नहुने रोग लागिरह्यो। भइहाले पनि सिफारिस लागु हुँदैनन्। यो कुचक्र तीन दशकदेखि चलेको छ। सम्भवतः कप्तानगन्ज घटनाले पनि यही नियति भोग्ला। दोषी व्यक्ति प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुख र उच्च सरकारी ओहदामा पुगे। पीडितलाई गिज्याइरहे।
साउन १० गते सुनसरीको कप्तानगन्जबाट सल्किएको हिंसा विभिन्न जिल्लामा फैलियो। प्रत्यक्षदर्शीअनुसार मुस्लिम र हिन्दुबिच केही विवाद भयो तर मुठभेड भएको थिएन। यस क्षेत्रमा हिन्दु र मुसलमानबिच कहिल्यै दंगा भएको थिएन।
प्रहरी र बोलबम पक्षबिच झडप भयो। सुरक्षाकर्मीको असावधानीबाट अवस्था भयावह बन्यो। चार निर्दोष नागरिकले ज्यान गुमाए। एक दर्जनभन्दा बढी घाइते भए तर यस घटनालाई हिन्दु–मुस्लिमबिचको दंगा भनी दुष्प्रचार गरियो। सेनासमेत परिचालित भए।
गृहमन्त्रालयले छानबिन समिति बनायो। हुलदंगा नरोकिएपछि ‘मौन प्रधानमन्त्री’ले राष्ट्रका नाममा सम्बोधन गरे। राष्ट्रपतिलाई भेटेर घटनाको जानकारी दिए। चार दिनदेखि बेखबर गृहमन्त्रीलाई संवादबाट निकास खोज्न तराई झारे। दल, नागरिक समाज, धार्मिक गुरु तथा अन्य संघ–संस्थासित सहयोगको अपिल गरे। दमनको बाटो छाडी संवाद र सद्भावको मार्ग रोजे। सरकार एक्लिएर समाधान ननिस्कने देखे। बल प्रयोगबाट राजनीति नचल्ने बुझे।
२०६४ भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मुस्लिमका अगुवा अब्दुल मोइद खाँको अज्ञात समूहबाट हत्या भएको थियो। साम्प्रदायिक हिंसा भड्कियो र १४ जनाले ज्यान गुमाए। आगजनी, लुटपाट र बलात्कारजस्ता जघन्य अपराध भए। न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजनमा न्यायिक छानबिन समिति बन्यो, प्रतिवेदन पनि बुझायो तर त्यो न सार्वजनिक भयो, न त लागु।
यसको करिब नौ महिनाअघि (२०६३ पुस ८–१२) नेपालगन्जमा सद्भावना पार्टीको ‘बन्द’ साम्प्रदायिक दंगामा बदलियो। मधेसी–पहाडे झडपमा परिणत भयो। त्यसबेला पनि प्रहरी प्रशासनका लापरबाहीबाट एक युवाको हत्या भएपछि सहर हिंसाको चपेटामा पर्यो। आगजनी, लुटपाटसहित कैयौं व्यक्ति घाइते भए। पछि नागरिक समाजको सहजीकरणबाट दुवै घटना तत्कालका लागि शान्त भयो। तथापि कुनै पनि दोषीले आजसम्म सजाय पाएका छैनन्।
यतिबेला रास्वपाका वरिष्ठ नेता तथा मधेसीमूलका बालेन्द्र शाह मुलुकका प्रधानमन्त्री छन्। सत्ता सम्हालेको चार महिना पुग्दा नपुग्दै मधेसमा हिंसा भड्कियो। आगजनी तथा लुटपाटले आक्रान्त भयो। मुस्लिम समुदाय सन्त्रासमा छन्। सदियौंदेखि मिलिजुली बसेका समुदायबिच घृणा फैलाइएको छ। भ्रामक सूचनाले मानसिक तनाव बढाएको छ। ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक कुण्ठित छ। तथापि एकता, सहिष्णुता, सद्भावबाट मात्र समाज अघि बढ्ने नागरिक समाजका प्रयासले काम गर्यो। प्रधानमन्त्रीको सम्बोधन र गृहमन्त्रीका पीडितसँगको भेटघाटले वातावरण सहज बन्दै छ।
विडम्बना, प्रधानमन्त्री बालेन्द्र शाह लोकतन्त्रका पहरेदार देखिएनन्। संसद्प्रति जवाफदेही भएका छैनन्। तराईमा भएका जनधनको क्षति, आगजनी, लुटपाट तथा विध्वंसका घटनाबारे संसद्लाई जानकारी दिएका छैनन्। अध्यक्ष रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा न आफू गए, न त गृहमन्त्रीलाई पठाए। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गरे, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाने हो ?’
प्रधानमन्त्री शाह ‘नियन्त्रित लोकतन्त्र’का शैलीबाट अघि बढेका छन्। न्यायालय र संवैधानिक अंगलाई नियन्त्रणमा राख्ने चेष्टामा छन्। निजी मिडियालाई आर्थिक नाकाबन्दीमा पारेका छन्। अध्यादेशबाट संवैधानिक परिषद् ऐन संशोधन गरी सिफारिसका चौथो व्यक्तिलाई प्रधानन्यायाधीश बनाए। निर्वाचन आयोगमा अनुकूल व्यक्ति पठाए। देखावटी प्रतिस्पर्धामा सरकारी नियुक्ति गरे। संसद् र संसदीय समितिलाई सरकारी छाया बनाए। ओली सरकारलाई मात दिने गरी शासन चलाए तर रास्वपा भने ‘मौन’ छ।
विष्णु पौडेल विशेष अदालतको आदेशमा छुटेपछि ‘बालेन’ले न्यायाधीशलाई थर्काउने अशोभनीय ‘स्टेटस’ लेखे। यसअघि पनि सरकारविरुद्धका फैसलामा न्यायाधीशमाथि आक्रोश पोखेर यस क्षेत्रमा त्रास फैलाएका छन्। केही हप्ताअघि एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आइसिजे अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले अदालतको स्वतन्त्रता र निष्पक्षतामाथि आँच पुर्याउने कार्यप्रति विश्वको ध्यानाकर्षण गराए। प्रधानन्यायाधीशको नियुक्तिमा रोलक्रम मिचिएको, तीन न्यायाधीशमाथि राजीनामा र महाभियोगका दबाब विश्वसनीय रिपोर्टबाट प्राप्त भएको एक विज्ञप्ति सार्वजनिक गरेका थिए।
यी संस्था कुनै पनि देशको संसद्प्रति जवाफदेही हुँदैनन् तर न्याय, कानुन तथा मानव अधिकार संसदीय समिति सक्रिय भयो। यस विषयमा सरकारसँग सत्यतथ्य र जवाफ माग्नुपर्नेमा उल्टै सूचना सार्वजनिक गर्ने संस्थाहरूमाथि कारबाहीको मनसायले सम्बन्धित निकायलाई हास्यास्पद र गैरजिम्मेवार निर्देशन दिने निर्णय गर्यो। हेक्का रहोस्, न्याय तथा मानव अधिकार घरेलु मामला मात्र हुँदैनन्, अन्तर्राष्ट्रिय चासो र चिन्ताका विषय पनि हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएर थुन्न र मुद्दा चलाउन दिएका दबाब खुलिसकेको छ। पाँच घण्टा त के, पाँच वर्ष अख्तियारलाई नछोड्ने चितवन महाधिवेशनबाट उद्घोष गरेबाट यसको पुष्टि हुन्छ। यसबाट अन्य संवैधानिक आयोग पनि दबाबमा छन्। लोकतन्त्रका आधारभूत मर्म शक्तिपृथकीकरण ध्वस्त पारिँदै छ। ‘एक्सप्रेस वे’मा अन्तर्राष्ट्रिय प्रतिबद्धता, संविधान र कानुन मिचेर अघि बढ्ने संकेत गरेका छन् तर यो सम्भव छैन। सिंगो नागरिक समाजसमेत यसका विरुद्धमा खरो गरी उत्रनेछ।
भ्रष्टाचारीलाई कारबाही गर्न शाह जति दृढ छन्, अपराधीका सजायमा उति नै उदासीन। गौरीबहादुर कार्की प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस बेवास्ता यसको प्रमाण हो। थाती रहेको संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई ‘बाइपास’ गरेर अघि बढ्ने ढाँचा ‘जुन जोगी आए पनि कानै चिरेको’ हुनु हो। यसर्थ दिगो शान्ति र दण्डहीनता अन्त्यका पूर्वसर्त, पीडित केन्द्रित प्रक्रियालाई अघि बढाउनु हो।
सद्भाव तथा भाइचाराका प्रेरणाका स्रोत प्रधानमन्त्री र मन्त्री पनि हुन् तर तिनका ‘स्टेटस’ तथा अभिव्यक्तिबाट त्यस्तो देखिन्न। विशेषगरी ‘देश बनाउने टिम’का अभिव्यक्ति आपत्तिजनक छन्। लामो समयदेखि ‘बालेन्द्र’को एकाउन्टबाट आउने स्टेटस प्रायः विगतका नेतृत्व, विपक्षी सांसद, न्यायाधीश तथा कर्मचारीप्रति घृणाका भाव हुन्छन्। यसबाट सर्वसाधारणमा कस्तो प्रभाव पर्ला ? नागरिकबिच विभाजन र द्वेष फैलाउने कारक बन्छ÷बन्दैन ? ३५ वर्षे शासनकालमा भएका असल कार्यको प्रशंसा गर्दा आपसी सम्मान र सौहार्द नै बढाउँछ।
‘बालेन’ यतिबेला प्रधानमन्त्री बालेन्द्र शाह भएका छन्। उनका अनुशासित व्यवहारले राष्ट्रको मान र प्रतिष्ठा बढ्ने हो। ‘एक्लो बालेन भर्सेस अल’ सोच इतिहास भएको छ।
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय। राज्यको परिकल्पना नै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार कायम गर्ने अवधारणाबाट भएको मानिन्छ। नागरिकको सुरक्षाकै लागि नागरिकद्वारा निर्माण गरिएको संयन्त्र विशेषलाई नै विशेष आधिकारयुक्त राज्य मानिँदै आएको छ। प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालनको प्रतिनिधि सरकारले जनतालाई अधिकार दिने नभई जनताका अधिकारलाई संरक्षण गर्ने भूमिका बहन गरेको हुन्छ। यही परिपाटी प्रजातान्त्रिक मुलुकका हरेक एकाइमा लागु हुने भएकाले परिवारमा नयाँ सदस्यको आगमन नै उसको अधिकार सिर्जनाको कारक तत्त्व बन्छ।
बालबालिकाको पालनपोषण, शिक्षादीक्षालगायत कुरामा अभिभावककै लगानी हुने भए पनि यी नवजातका मौलिक हकका रूपमा स्थापित भएका हुन्छन्। सामान्य सोचाइमा गोपनीयतासित सम्बन्धित कुराहरू बालिग नागरिकका मात्र विषय हुन् भन्ने सोचिन्छ तर वैयक्तिक गोपनीयताका विषय पारिवारिक सम्बन्धभन्दा पनि विशिष्ट रहने गर्छन्।
बालबालिकालाई दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय तत्काल अभिभावकका लागि लाभदायक भए पनि सार्वजनिक गर्न मिल्दैन। मुलुकको संविधान र कानुनले बालबालिकाका यसप्रकारका नैसर्गिक एवं गोपनीयतासम्बन्धी हकलाई सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धसमेत गरेको हुन्छ।
पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै अभिभावक आफ्ना बालबालिका नितान्त वैयक्तिक एवं वयस्क बन्दा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई मनोरञ्जनका साधनकै रूपमा सञ्जालमा सार्वजनिक गर्ने गरेको देखिन्छ। केही बालबालिका आफ्ना अभिभावकले आफ्ना शिशु अथवा बाल्यअवस्थामै सार्वजनिक गरेका तस्बिर एवं भिडियोका कारण किशोरावस्थामा विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका घटना सार्वजनिक गर्न थालेका छन्। सामाजिक सञ्जालको प्रयोग र वैयक्तिक गोपनीयताको विषयमा विद्यार्थी र शिक्षकलाई मात्र नभएर आमअभिभावकलाई शिक्षा दिनु अति आवश्यक हुँदै गएको छ।
नेपालको संविधान २०७२ को धारा २८ मा मौलिक हकअन्तर्गत गोपनीयताको हकसम्बन्धी व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक र पत्राचारसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ।
संविधानअन्तर्गत बनेका अन्य कानुनहरूमा पनि व्यक्तिका गोपनीयतासम्बन्धी कुरालाई सम्बन्धित व्यक्तिकै अधिकारका रूपमा व्याख्या गरिएको छ। बालबालिकाका सन्दर्भमा उनीहरूका प्रथम र सबैभन्दा नजिकका संरक्षक अभिभावक नै हुन्। बालबालिकासँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्ने सन्दर्भमा होस् वा उनीहरूलाई दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै पनि विषयमा निर्णय गर्ने सन्दर्भमा अभिभावकको मञ्जुरी आवश्यक पर्ने कुरा कानुनमा उल्लेख छ। यसको आशय पनि अपरिपक्व अवस्थाका बालबालिकाका अधिकारको संरक्षण उसका अभिभावक र राज्यले गर्नुपर्छ भन्ने मान्यतासँग सम्बन्धित छ।
बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालबालिकालाई के कस्ता काममा लगाउने र उनीहरूसित सम्बन्धित निर्णय प्रक्रिया कस्तो हुने भन्नेबारे व्यवस्था छ। यसमा अभिभावक नै बालबालिकाको पहिलो संरक्षणकर्ताका रूपमा रहने र असमर्थ अभिभावकका सन्दर्भमा राज्यले नै सो भूमिका बहन गर्नुपर्ने व्यवस्था गरिएको छ।
पश्चिमी समाजमा निर्वाध र निःसर्त अभिभावकलाई बालबालिकाको संरक्षक र सर्वोपरि हित सुरक्षित गर्ने व्यक्तिका रूपमा नलिए पनि हाम्रो समाजमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवती अर्थात् सन्तान खराब भए पनि उसका अभिभावक खराब हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरी प्रथम र अन्तिम संरक्षणकर्ता अभिभावकलाई निःसर्त रूपमा मानिएको छ।
अभिभावकले आफ्नो इज्जत र औकातअनुसार बालबालिकाको स्वास्थ्य, शिक्षा र आवश्यकता पूरा गर्ने सन्दर्भमा भूमिका बहन गर्नुपर्छ। कथाकथंचित सो व्यवस्था हुन नसकेमा स्थानीय तहले अधिकार क्षेत्र ग्रहण गरी बालबालिकाको सर्वांगीण हितका लागि उपयुक्त कदम चाल्नुपर्ने कानुनी व्यवस्था छ।
समाजमा भित्रँदै गएको पाश्चात्य संस्कार, संस्कृति र आधुनिक जीवन पद्धतिका कारण पारिवारिक संरचनामा आएको विचलनले पछिल्लो समय बालबालिका बिचल्लीमा पर्ने घटना पनि बढ्दै गएका छन्। खास गरी अभिभावकको पारिवारिक सम्बन्धमा आएको विचलनका कारण सम्बन्धविच्छेद र नयाँ सम्बन्ध स्थापनाका घटनाले बालबालिका उपेक्षामा पर्ने, दुव्र्यवहारको सिकार हुने एवं अन्य मनोसामाजिक समस्याबाट पीडित हुने घटना पनि बढ्दै गएका छन्। परिस्थितिजन्य कारणबाट सिर्जना भएका असामान्य अवस्थाले बालबालिका समस्यामा पर्ने कुरा एकातिर छ भने अर्कातिर अभिभावकको असावधानीका कारण पनि धेरै बालबालिका मनोसामाजिक समस्याबाट ग्रसित हुने गरेका छन्।
गत हप्ता केही सञ्चारका माध्यममा १२ वर्षकी बालिका शिक्षण संस्थामा प्रताडित भएको भनी समाचार सार्वजनिक भयो। उक्त समाचारको आशय बालिकालाई न्याय दिलाउने भनिए पनि बालिकाको तस्बिर, उनमा बढ्दै गएको मानसिक समस्या र सोसँग सम्बन्धित सम्पूर्ण चिकित्सकीय रिपोर्टहरूसमेत सार्वजनिक गरिए। घटनालाई सनसनीपूर्ण बनाउने नाममा बालिकाको वैयक्तिक गोपनीयताको हकका बारेमा न अभिभावक सचेत हुन सके न त संसार माध्यम नै।
बालिकाका बारेमा छरपस्ट पारिएका नितान्त वैयक्तिक विषय उनको मानसिक स्वास्थ्य समस्याबारे प्रमाणका रूपमा चिकित्सकीय रिपोर्टसमेत पहिचानसहित प्रकाशन गरियो। यसले आगामी दिनमा बालिकाको स्वस्थ विकासका लागि अवरोध नै पु¥याउने प्रस्ट छ।
समाचारमा बालिकाको मौलिक हकअन्तर्गत गोप्य रहनुपर्ने वैयक्तिक विवरणको प्रकाशनले उनलाई सामाजिक रूपमा लाञ्छनाको सिकार बनाउने सम्भावना बढायो। अभिभावक आफ्नै सन्तानबारे प्रस्तुत गरेका विवरणले पु¥याउने सामाजिक क्षति आँकलन गर्न नसकेकै देखिन्छ। अर्कातिर सम्बन्धित विषयकै बारेमा विद्यालयले जारी गरेको विज्ञप्तिमा बालिकाको नाम, वतन र पहिचानका कुनै पनि विषयवस्तु उल्लेख भएका थिएनन्। संस्थामाथि लगाइएका आरोपका खण्डनमा विद्यालयको संवेदनशीलता र बालमैत्री व्यवहार उक्त विज्ञप्तिबाटै स्पष्ट छर्लंगिन्छ। बालिका अहिले अभिभावकले भनेअनुसार असामान्य अवस्थामा रहेकी र नाबालक नै भएकाले अभिभावकविरुद्ध कानुनी वा अन्य उपचारमा जान सक्ने अवस्था देखिँदैन तर उनी वयस्क हुनासाथ अभिभावक विरुद्ध नै कानुनी उपचारको खोजी गरिन् भने अनौठो मान्नुपर्दैन।
केही विद्यालयले पौडी वा खेलकुदका अन्य यस्तै क्रियाकलापका फोटो र भिडियो सार्वजनिक गरी आफ्ना विद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार पनि गर्ने गरेका छन्। यसप्रकारका चित्र र भिडियो सार्वजनिक गर्ने क्रममा बालबालिकाको गोपनीयता तथा प्रसारित सामग्रीको दुरुपयोग हुन सक्ने विषयमा विचार गरिएको देखिँदैन। यसले बालबालिकामा सिर्जना गरेको भय र मानसिक तनावलाई आधार मानेर सचेत अभिभावकले बालबालिकाका वैयक्तिक विवरण सार्वजनिक गर्ने विषयमा विद्यालयहरू पनि सावधान हुनुपर्ने भनी आवाज उठाउन थालेका छन्।
अभिभावक र स्वयं बालबालिकाकै हितमा सक्रिय शैक्षिक संस्थाले समेत असावधानीवश बालबालिकालाई राम्रो देखाउन गर्ने गरेको प्रचारप्रसारको सामग्रीले उल्टै बालबालिका पीडित भएका कुरामा सतर्क हुनु आवश्यक छ। यस्तै घटनाका कारण मनोवैज्ञानिक परामर्शमा आउने किशोर किशोरीको संख्यासमेत बढ्न थालेको छ। बालबालिका सम्बन्धी ऐन २०७५ बालबालिका सम्बन्धी नियमावली २०७७ तथा स्थानीय तहहरूले बालबालिकाको संरक्षण र उनीहरूमाथि हुनसक्ने दुव्र्यवहार न्यूनीकरणका लागि कानुनहरू तर्जुमा गरेका छन्। यी कानुनमा विद्यालय र घरपरिवारलाई निःसर्त रूपमा बालबालिकाका अभिभावक ग्रहण गरिएको छ।
सामाजिक सञ्जाल तथा अन्य सूचनाका माध्यमका कारण बालबालिकाको परिधि विश्वव्यापीकरण भएको छ। यस सन्दर्भमा स्थानीय वा राष्ट्रिय संस्कार र संस्कृतिले मात्र बालबालिकाको आचरण र व्यवहार निर्धारण हुन सक्ने अवस्था देखिँदैन। विश्वव्यापीकरणको प्रभावसँगै पश्चिमा समाजमा विकसित घटनाक्रमले बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्न थालेका छन्।
विश्वव्यापीकरणसँगै बालबालिकाको सुरक्षाको दृष्टिले घरपरिवार, आफन्त र विद्यालयलाई पनि निःसर्त रूपमा संरक्षणकर्ता मान्न सकिने अवस्था बिगँ्रदै गएको छ। अभिभावकको असावधानी र भाइरल हुने मोहले वैयक्तिक गोपनीयताको हकको ठाडो उल्लंघन भएको पनि देखिन्छ।
सामान्य घटनामा पारिवारिक विषय भनेर कसैले औंला नउठाए पनि यस प्रकारको विकृतिले अन्ततः आगामी पुस्तालाई स्वस्थ रूपमा हुर्कन असहयोग गर्ने भएकाले बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी कानुन निर्माण हुनु आवश्यक छ। तीनै तहका सरकारले यस विषयमा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक विद्यालयले विद्यार्थी स्वयंलाई साइबर संसारमा प्रकाशित सामग्रीले भविष्यमा पार्न सक्ने प्रभावबारे सचेत बनाउनु आवश्यक छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।