जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!
०७ चैत्र २०८०
१२ मिनेट पाठ
संग्रह
Email
ईमेल
जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

२०६३ चैत ७ गते रौतहटको सदरमुकाम अवस्थित राइस मिल मैदानमा माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चा र मधेसी जनाधिकार फोरमका कार्यकर्ताबीच सुरु भएको झडपको परिणामस्वरूप २७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सयौँ घाइते भएका थिए। प्रशासनले तत्कालीन समयमा मधेसमा चलिरहेको आन्दोलनका बेला फोरम र मोर्चाले राइस मिलको मैदानमा एकैचोटि, एकैदिन, एकै समयमा मैदानको उत्तर र दक्षिणमा आ–आफ्नो मञ्च बनाइ कार्यक्रम गर्दा हुन सक्ने घटनाको परिणाम पूर्वमूल्यांकन नगर्दा यस्तो घटना हुन गएको थियो।

यस्तो अति गम्भीर घटनाका पीडित १७ वर्षपछि आजसम्म पनि न्याय नपाउँदा आक्रोश व्यक्त गरिरहेका छन्। अन्तर्राष्ट्रियस्तरमा देशको न्यायिक व्यवस्थाको बदनामी भइरहेको छ। यस्तो जघन्य घटना हुँदा किंकर्तव्यविमुढ जिम्मेवार सरकारी पदाधिकारीहरूलाई कारबाही भयो/भएन, दुवै पक्षका भिडन्तमा संलग्न खासगरी जिम्मेवार नेताहरू पछिका दिनहरूमा उच्च राजनीतिक पद ग्रहण गर्न पुगेका अवस्था छ।

तत्कालीन मधेस आन्दोलन चर्केको अवस्था थियो। नेपालमा जातीय, सामाजिक, धार्मिक र क्षेत्रीय विभेद अझै कायम छ भन्ने सरोकारवालाहरूको मान्यता छ। भ्रष्ट राजनीतिक प्रणालीका कारण नातावाद र कृपावाद निर्मूल हुन सकेको छैन, राजनीतिक नेतृत्वले चाहने हो भने अधिकांश कार्यालयहरूमा हुने दैनिक भ्रष्टाचार एकै आदेश वा परिपत्रमा २४ घण्टामै नियन्त्रण गर्न सकिन्छ। तर जसको नियत नै खोटो छ त्यसबाट यस्ता कुराको अपेक्षा राख्नु व्यर्थ हो। 

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

न्याय र कानुनले चलेको देशमा जनता सन्तुष्ट हुन्छ, त्यहाँ विष्फोट हुँदैन। भारत र पश्चिमा शक्तिहरूको अदृश्य हात रहेको भन्ने विश्लेषण सुनिने र पढिने गरिन्छ। नेपाल र अहिले मधेसको मामिलामा भारतको चासो रहेको भन्ने कुरा विज्ञ मात्र हैन, आमनेपालीले पनि बुझेको छ। यसका साथै नेपालमा पश्चिमा शक्तिको समेत चासो रहेको हुँदा यहाँ हुने राजनीतिक उथलपुथलमा विदेशी शक्तिहरू पर्दापछाडिका खेलाडी रहेका हुन्छन् भन्ने विगत अनुभवबाट बुझिएकै छ। 

न्याय र सुशासनको अभाव रहेको हाम्रो देशमा भविष्यमा समेत हुन सक्ने द्वन्द्वका लागि अनुकूल वातावरण आज पनि कायम छ। वर्तमान भूराजनीतिक द्वन्द्वको असर नेपालमा आगामी दिनहरूमा झन चर्कोरूपमा देखिन सक्छ र आगामी दशकभर संसारमा उथलपुथल र टकरावको स्थिति रहने हुँदा नेपाल अछूतो रहन सक्दैन। त्यसकारण देशको आन्तरिक संयन्त्रहरू बलियो र भरपर्दो हुन जरुरी छ।

चैत ७ मा फोरमले उक्त राइस मिलमा आफ्नो जनसभा गर्ने कार्यक्रम राखेको थियो र यसका लागि प्रशासनसँग अनुमतिसमेत लिएको थियो। उक्त कार्यक्रमको प्रमुख संयोजक उपेन्द्र यादव हुनुहुन्थ्यो र त्यही ठाउँमा कार्यक्रम गर्न पाउनुपर्ने अनुमति माओवादी संबद्ध पार्टीले समेत मागेको हुँदा उक्त पार्टीलाई पनि प्रशासनले अनुमति दिएछ। तत्कालीन संघर्षमय अवस्थामा यस्तो गम्भीर घटना हुन सक्ने पुर्वानुमान नगरी कसरी एकै दिन एकै ठाउँमा यस्तो कार्यक्रम गर्ने अनुमति दुईवटा विरोधी पक्षलाई दिइयो भन्ने कुरा लापरबाहीको पराकाष्ठा हो।

साधारणतया दुई राजनीतिक पार्टीलाई एकै ठाउँमा राजनीतिक कार्यक्रम आयोजना गर्न दिइन्न। सबै ठाउँमा राम्रा र शान्तिप्रिय व्यक्तिहरू पनि हुन्छन्। त्यसकारण झडप नहोस् भनेर प्रशासनलाई पूर्वजानकारी र रोक्न अनुरोधसमेत गरिएछ। 

माओवादीतर्फका संयोजक मातृकाप्रसाद यादव र मधेसी फोरमका संयोजक उपेन्द्र यादवबीच समन्वय गराएपछि दुवैजनाबीच सकारात्मक पहल पनि भएको रहेछ तर माओवादी संबद्ध पार्टीका अर्का नेता प्रभु साहले मान्नुभएन र सोही ठाउँमा कार्यक्रम गर्ने अडान कायम राख्नुभयो।

उक्त समयसम्म रौतहट जिल्लामा माओवादी समूहको प्रभाव र डर व्यापक थियो र प्रभु साहलाई यस कारण केही फरक पर्दैन भन्ने आत्मविश्वास रहेछ तर मधेसी फोरमको कार्यक्रम सुरु भएपछि माओवादी समूहको प्रभाव घट्दै गएको थियो। फटाहा र उग्र कार्यकर्ताहरूले बेलाबेलामा सताएका हुँदा जन/जनमा आक्रोश व्याप्त थियो। कसैबाट फोकटमा सियो पनि नलिनू भन्ने माओको सिद्धान्तको बर्खिलाफ गर्दै गाउँ/गाउँमा जनता सताइएका हुँदा जन–जनमा घृणा भरिएको रहेछ।

घर–घरमा लाठी डण्डा, बासँलाई बीचबाट काटेर धारिलो हतियारका रूपमा प्रयोग गर्न सकिने गरी फाटा तयार गरिएछ। बन्दूक, पिस्तोल झिकाइएछ। उक्त दिन राइस मिलको चौरको दक्षिणतिर मञ्च बनाइ मधेसी फोरमले कार्यक्रम सुरु गर्दै थियो र माओवादी सम्बद्ध समूह नगर परिक्रमा गरिसकेर राइस मिलको चौरमा प्रवेश गर्नेबित्तिकै झडप सुरु भयो। अहंकारमा मस्त माओवादी नेताहरूलाई कुनै अनुमान थिएन। हिजो जस्तै तह लगाइन्छ भन्ने लागेको रहेछ। उता मधेशी फोरममा लागेको र केही उग्र आक्रोशित व्यक्तिहरू पूर्वतयारीमा थिए, सीमापारिबाट पनि आएका रहेछन्, तयारी तगडा रहेछ।

गोली चलेपछि माओवादी कार्यकर्ताको भगदौड सुरु भयो । अधिकांश बाहिरबाट ल्याइएका र पहाडी समुदायका थिए। लाठी, डण्डा र फाटा चल्न लाग्यो, भागाभाग सुरु भयो, जो जता पायो, बाटो देख्यो, उतै भाग्यो। घृणा यति रहेछ कि स्थानीयहरूले पनि केही बचाउ गरेनन्। चारैतिर मारामार सुरु भयो। 

लाठी फाटा जे भेटिन्छ, त्यही प्रयोग भयो र २७ जना भाग्दाभाग्दै जता भेटिए, त्यहीँ विभत्स तरिकाले मारिए । यहाँ माओवादी सम्बद्ध पार्टीप्रति आक्रोश छँदै थियो भने मनभित्र रहेको साम्प्रदायिक घृणा पनि मिश्रित थियो किनभने मधेसी जनाधिकार फोरमले सुरु गरेको जनआन्दोलनका क्रममा पहाडी समुदायका धेरैजना घरबार बेचेर वा छाडेर राजमार्गतिर आएर बसेका थिए।

सरकारी व्यवहार र कर्मचारीहरूको हेपाहा र भ्रष्ट व्यवहारले पनि कुनै समुदायविशेषमा घृणाको बिउ रोपण गर्न सक्छ। सुशासनको अनुभूति गराउनमा राम्रा र कर्तव्यनिष्ट कर्मचारीहरूको ठूलो भूमिका हुन् सक्छ, त्यसकारण हाम्रो शिक्षा प्रणाली र दिइने तालिमहरूमा आवश्यक सुधार हुन जरुरी छ। नेपाल बहुरंगी समाज भएको देश हो भन्ने कुरा खासगरी यहाँ सरकार चलाउनेहरूले बुझ्न जरुरी छ। गौर अवस्थित बिपी शालिक भत्काइनु र एमालेका नेता माधवकुमार नेपालको घर तोडफोड गरिनु जस्ता काम सरकारी साम्प्रदायिक व्यवहारलाई कुनै समुदायले दिएको यस्तैखाले जवाफ थियो। पहाडी समुदायलाई जगाउन यसले काम गर्‍यो, मधेस आन्दोलनको उपजस्वरूप देशको मूलधारमा मधेसी समुदायको सशक्तीकरण भयो।

यस्तो भयानक घटना भइरहेको थियो, तोडफोड, आगजनी जारी थियो भने प्रशासन किंकर्तव्यविमुढ अवस्थामा थियो। यस्तो अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट तत्कालीन प्रहरी निरीक्षक होमजंग चौहानले निर्वाह गरेको भूमिका अत्यन्त सराहनीय थियो। एक ठाउँमा १०–१२ जना घाइतेलाई एकमाथि अर्को थाक लगाएर पेट्रोल छर्किने काम हुँदै रहेछ। होमजंग चौहान हवाई फायर गर्दै तत्काल उक्त ठाउँमा पुगी ती घाइतेहरूलाई ठेलामा राखेर अस्पताल पुर्‍याउनुभयो। 

अत्यधिक घाइते भएको हुँदा केही मरे भने समयमै अस्पताल पुर्‍याउन सकेका कारण धेरैजनालाई बचाउन सकियो। प्रहरी निरीक्षक चौहान र उहाँको टिम समयमै परिचालित नभएको अवस्थामा हताहतको संख्या धेरै बढी हुन् सक्थ्यो भन्ने जानकारी मैले पछि उक्त जिल्लामा प्रहरी कमान्डरको हैसियतले अभिभारा ग्रहण गरिसकेपछि थाहा पाएँ। 

यस्ता हिरोहरूको उचित सम्मान र पुरस्कारका लागि मैले आफ्ना माथिल्ला कार्यालयहरूमा जानकारी पनि गराएँ। उहाँ पुरस्कृत पनि हुनुभयो तर थोकको भाउमा पुरस्कार बाँडिने हाम्रो व्यवस्थामा बाघको शिकार गर्ने र झिंगा मार्नेबीच तुलना गरिने चलन छैन।

घटनापछि त्रासको वातावरण कैयौँ दिनसम्म कायम रह्यो। सरकारी कार्यालयहरू, केही नेताको घरलगायत तोडफोड गरिएछ। मैले घटनाको अर्को दिन तत्कालीन प्रहरी महानिरीक्षकज्यूबाट फोन रिसिभ गरेँ, त्यतिबेला म पोखरा प्रहरी गणमा गणपतिको हैसियतले कार्यरत थिए र उक्त ठाउँमा गएको मात्र तीन महिना भएको थियो। 

म पोखराको रमणीय वातावरण र फेवातालको पूर्वतिर अवस्थित अत्यन्त सुन्दर कार्यालयमा एक वर्ष बस्न चाहन्थेँ । प्रहरी महानिरीक्षकज्यूबाट मलाई आवश्यक तयारी गरी तत्काल रौतहट जिल्लामा जानू र जिल्लाको पदभार ग्रहण गरी शान्ति सुव्यवस्था कायम गर्नू भनी निर्देशन भयो। म बिदाइ लिइ काठमाडौँ प्रहरी प्रधान कार्यालयमा समेत पुगेर प्रशासन विभागको चैत १६ गतेको पत्र लिएर जिल्ला प्रहरी कार्यालय रौतहट, गौरको पदभार ग्रहण गर्न पुगेँ। त्यसपछिको दिनहरूमा अत्यन्त चुनौतीपूर्ण अवस्थाहरूलाई सामान्य अवस्थामा ल्याउन सफल भएँ। गौर, रौतहट जिल्लावासीहरू, बुद्धिजीवीहरू, स्थानीय विभिन्न राजनीतिक दलका नेताहरूबाट धेरै सहयोग पाएँ।

आज पनि म रौतहटबासीहरूसँग निरन्तर सम्पर्कमा छु। सेवा भाव, समभाव र सौहार्दपूर्ण व्यवहार प्रदर्शन गर्न सकेको खण्डमा आफ्नो सहकर्मी र स्थानीय जनताको सहयोग नपाउने प्रश्न नै आउँदैन। टिममा तालमेल हुँदा कुनै पनि चुनौती पार गर्न सकिन्छ।

नेपालमा प्रहरी संगठनलाई स्वतन्त्र तरिकाले काम गर्न दिने चलन छैन। राजनीतिक दबाब र प्रभावमा पार्न कोसिस गर्ने र अपजस प्रहरी संगठनको टाउकोमा थोपार्ने चलन छ। त्यो घटनापछि शान्ति सुव्यवस्था कायम गर्ने र घटनाको अनुसन्धान र दोषीहरूलाई कारबाही गराउने जिम्मेवारी छँदै थियो। एकातिर पीडित पक्ष माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाले जाहेरी दरखास्त दर्ता गराउनका लागि दबाब दिँदै थिए । 

भएभरका विरोधीहरूलाई त्यस घटनामा जोडेर जिल्ला प्रहरी कार्यालयमा कारबाही गराउने दुःख दिने मनसाय थियो। मैले असंलग्न मानिसको नाम नहाल्नोस्, वास्तविक घटनासँग सम्बद्धहरूको मात्र नाम राख्नोस् भनेर सुझाव दिएँ। अर्कोतर्फ तत्कालीन प्रधानमन्त्रीले आफैँले मलाई फोन गरी कुनै पनि हालतमा जाहेरी दरखास्त (फस्र्ट इन्फर्मेसन रिपोर्ट) नलिनू भनी निर्देशन दिनेसमेत काम गर्नुभयो।

तत्कालीन समयमा नेपाल अवस्थित संयुक्त राष्ट्र संघको मिसन र मानव अधिकार संबद्ध संस्थाहरूबाट जाहेरी दर्ता किन नगरेको भनेर निरन्तर दबाब छँदै थियो। यत्रो घटना भइसकेपछि दर्ता नगर्ने सवाल पनि थिएन र यसका लागि मलाई सबै पक्षसँग बारम्बार समन्वय, छलफल गर्नुपर्‍यो र अन्ततः मैले दर्ता गरेँ। तत्कालीन समयमा सामाजिक सौहार्द कायम गर्नु र शान्ति स्थापना गर्नु प्राथमिक विषय थियो। सामाजिक सद्भाव खलबलिएको अवस्था थियो। मर्ने माओवादी संबद्धहरूमा पहाडी समुदायका बढी थिए।

कांग्रेसी, एमाले जस्ता राजनीतिक पार्टीहरूबाट निस्कने जमातहरूको संख्या पनि धेरै थियो। राज्य वा सरकारविहीनताको अवस्था थियो। यस्तो अवस्थामा प्रहरी प्रशासनले कसरी शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने कुराको महत्त्व गैरजिम्मेवार राजनीतिक नेतृत्वहरूलाई हुँदैन रहेछ भन्ने मेरो अनुभव छ।

२०८० जेठ २१ गतेको रेडियो समाचारहरूमा उक्त घटना हुँदा आफ्नो पदीय जिम्मेवारी निर्वाह नगर्नेहरूमा मेरोसमेत नाम परेको खबर आयो। मानव अधिकार आयोगले अनुसन्धान गरी प्रकाशित गरेको निर्णयमा भनिएको थियो– पीडित निरन्तर पीडित भइरहने, अनुसन्धान र अभियोजन गर्ने निकाय नेपाल प्रहरी र सरकारी वकिल कार्यालय निष्क्रिय रही दण्डहीनताले निरन्तरता पाइरहँदा पनि सरकार आफैँले गठन गरेको आयोगको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन नसक्दा पीडितको न्याय पाउने अधिकार प्रभावित भइरहेको देखिन्छ।

... एकातर्फ जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुनु र अर्कोतर्फ त्यही आयोगले छानबिन र कारबाहीका लागि जघन्य अपराधको घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही हुन नसक्दा दोषीहरूले निर्धक्कताका साथ समाजमा उपस्थिति देखाइरहने अवस्थालाई दण्डहीनताको पराकाष्ठाका रूपमा लिन सकिन्छ।’

यसका साथै उक्त घटनामा जिम्मेवार प्रहरी प्रमुखका रूपमा मसमेतको नाम उल्लेख गर्दै राज्यको तर्फबाट आगामी दिनमा कुनै अवसर प्रदान नगर्न भनी सिफारिससमेत गरेको समाचार विभिन्न पत्रपत्रिकामा अर्को दिन २२ जेठ २०८० मा प्रकाशित भयो। उक्त घटना हुँदा आफू रौतहट जिल्लामा कार्यरत नहुँदा पनि यस्तो समाचार मानव अधिकार आयोगबाट प्रकाशित भएको देख्दा म छक्क परेँ।

यस सन्दर्भमा २४ जेठ मा मैले मानव अधिकार आयोगको सचिवलाई भेटेर आवश्यक जानकारी दिएँ र लिखित निवेदनसमेत दर्ता गरेँ। त्यसपछि मानव अधिकार आयोगबाट अनुसन्धान अधिकृतले मलाई फोन गर्नुभयो र र २८ जेठमा मैले उहाँलाई भेटेर सबै तथ्यको जानकारी दिँदै प्रहरी प्रशासन विभागले काज खटाएको मिति २०६३ चैत १६ गतेको पत्रसहित आवश्यक अरू कागजात बुझाएर आएँ। 

अनि चूप लागेर बसेँ लगभग आठ महिनापछि माघ १६ गते पुनः यस्तै समाचार विभिन्न सञ्चार माध्यमहरूलाई मानव अधिकार आयोगबाट जानकारी गराइएको र कारबाहीका लागि सिफारिस गरिएकाहरूमा मेरो नामसमेत उल्लेख भएको देखेँ। १९ माघ २०८० मा पुनः आफैँ सबैखाले प्रमाणसहित मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर प्रस्तुत गरी लिखित निवेदन छाडेर फिर्ता भएँ। उक्त दिनपछि मलाई कुनै जानकारी आएको छैन र त्रुटि सच्याएर आवश्यक संशोधन नगरेको अवस्थामा प्रेस मिट गर्ने र यस्तो हेलचेक्र्याइँ गर्नेहरूविरुद्ध कानुनीरूपमा प्रस्तुत हुने सोच बनाएको छु।

त्यो घटनाले माओवादी सम्बद्ध पार्टी जसले दश वर्षे ‘जनयुद्ध’मा देशको धेरै ठाउँ र पूर्व–पश्चिम राजमार्गको दक्षिण भारतीय सिमानासम्मको जनतालाई प्रभाव पारेको थियो । मधेसी जनाधिकार फोरमको बढ्दो प्रभावले गर्दा खासगरी हालको मधेस प्रदेशको राजमार्गदेखि दक्षिण स्वात्तै प्रभाव घटाइदियो। माओवादीको प्रभाव राजमार्गभन्दा दक्षिण बढ्न नदिने विदेशी रणनीतिसमेतका कारण यो सबै भएको थियो भन्ने विश्लेषण छ।जे होस्, देशभित्र विकास, सुशासन र न्याय जिउँदो रहेको अवस्थामा कुनै बाहिरी तत्त्वले बिगार्न सक्दैन, रोग प्रतिरोधक क्षमता आफूभित्र विकसित गर्नुपर्छ। यस घटना भएको दिनदेखि वर्तमान अवस्थासम्म पनि दण्डहीनताको प्रवृत्ति घटेको छैन भन्ने कुरा पटक–पटकका घटनाले देखाएका छन्।

सरकार प्रमुख वा राजनीतिक नेतृत्वमा विषयको गाम्भीर्यता बुझ्ने क्षमता नभएको र गैरजिम्मेवार तरिकाले हस्तक्षेप गर्ने, दबाब दिने र प्रहरी प्रशासनलाई आफ्नो काम गर्न नदिने चलनमा कमी आएको देखिन्न। राष्ट्रिय मानव अधिकार आयोग जस्तो जिम्मेवार र सम्मानित संस्थाले समेत हचुवाको भरमा निर्दोष प्रहरी कर्मचारीलाई आक्षेप लगाएर उसको मानव अधिकारको हनन गरेको स्पष्ट हुन्छ।

अनुसन्धान र बुझ्ने प्रक्रियामा मलाई सोध्ने कामसमेत गरिएन। सम्मानित न्यायिक संस्थाहरूबाट यस्तो गैरजिम्मेवार व्यवहार गरिनु कुनै पनि हालतमा सामान्य विषय होइन।

नेपाल जस्तो बहुरंगी समाजमा रहेको विभिन्नतालाई उचित तरिकाले सम्बोधन नगर्दा देशले धान्नै नसक्ने अवस्था आउन सक्छ। गौर घटनालाई दुई राजनीतिक पार्टीबीच भएको घटनाका रूपमा मात्र लिइनुहुन्न, यसमा साम्प्रदायिक घृणाको मिश्रण पनि थियो। घटनापछि काठमाडौँबाट गएको उच्चस्तरीय टिमलाई स्थानीयबासीमध्ये एकजनाले सोधेका थिए– भाइचारा र समान व्यवहार प्रजातन्त्रको मुटु हो तर नेपालमा खै?

लोकप्रिय
अर्को समाचार
मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत
०७ कार्तिक २०७९
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिटमा प्रतिस्पर्धा हुँदैछ। तीमध्ये सप्तरी २ को चर्चा उत्कर्षमा छ। कारण, यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर उम्मेदवार छन्।

उपेन्द्र २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। सिके पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। जयप्रकाशले २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तेस्रो स्थान प्राप्त गरेका थिए। गत निर्वाचनमा सहज जित हात पार्न सफल उपेन्द्रलाई यसपालि चुनाव जित्न पहिलेजस्तो सहज छैन। गत स्थानीय निर्वाचनमा प्राप्त मतको गणितले सत्ता गठबन्धनको पल्ला भारी देखाउँछ। स्थानीय निर्वाचनमा दलहरूले वडागत रूपमा प्राप्त गरेको नतिजाअनुसार सप्तरी २ मा जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि रहेको छ। सत्ता गठबन्धनसँग ३३ हजार १८४ मत रहेको तथ्यांकले देखाउँछ। जसपा–एमाले गठबन्धनसँग २० हजारभन्दा बढी मत छ।

संसदीय निर्वाचन २०७४ को मत परिणामले उपेन्द्रकै पल्ला भारी देखाउँछ। उपेन्द्र २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए। माओवादी केन्द्रका उमेशकुमार यादव ११ हजार ५८० मत ल्याएर दोस्रो, राजपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका जयप्रकाशले ९ हजार ४५८ र नेपाली कांग्रेसका सकलदेव सुतिहारले १ हजार १६९ मत ल्याएका थिए। यो चुनावमा उमेश प्रदेशसभा सदस्यका उम्मेदवार छन्।

राजनीतिज्ञ खुसीलाल मण्डलका अनुसार स्थानीय निर्वाचनको मतका आधारमा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई कमजोर वा बलियो रूपमा देखाउनु वैज्ञानिक नहुने बताउँछन्। ‘यस निर्वाचन क्षेत्रमा राजनीतिक व्यक्ति उम्मेदवार एकजना मात्रै छन्। ती उम्मेदवार उपेन्द्र हुन्। सिकेको संगठन र जनमत बलियो छैन। ठाकुरलाई जनताले राजनीतिक व्यक्तिभन्दा पनि व्यवसायी भनेर चिन्छन्। बलियो राजनीतिक व्यक्ति प्रतिस्पर्धामा उत्रिएको भए यसपालिको चुनाव यादवलाई भारी पथ्र्यो,’ मण्डल भन्छन् । उपेन्द्रसँग बलियो शक्तिको स्रोत भनेको मधेस विद्रोहको ‘लिगेसी’ रहेको, जसले काठमाडौं र मधेसबीचको सम्बन्धमा उथलपुथल ल्याइदिएको राजनीतिज्ञ मण्डलको भनाइ छ। ‘मधेस विद्रोहले नै राज्य पुनःसंरचनामा संघीयता थपिदियो। त्यही विद्रोहले मधेसी युवाहरूलाई कर्मचारीतन्त्रमा प्रवेशको बाटो सहज बनाइदियो, उच्च शिक्षालाई गरिब बालबालिकाको पहुँचमा पुर्‍याइदियो। यसको लिगेसी उपेन्द्रलाई जान्छ,’ राजनीतिज्ञ मण्डल भन्छन्।

उनका अनुसार मधेसमा फेसबुक र इन्स्टाग्रामको बलमा चुनाव जितिँदैन। यसका लागि निश्चित जातीय समूहमा बलियो पकड, बलियो संगठन, बलियो जनमत, जनताको बलियो भरोसा र निश्चित अजेन्डा चाहिन्छ। यो क्षेत्रमा उपेन्द्र अध्यक्ष रहेको जसपाको संगठन बलियो छ। ‘फेस भ्यालु’ पनि नघटेकाले उनलाई बलियो उम्मेदवारका रूपमा मान्ने धेरै छन्। सोहीमध्येका एक हुन्, महदेवा गाउँपालिका–२ का विन्देश्वर मण्डल। उनी भन्छन्, ‘उपेन्द्र यादव यस क्षेत्रबाट निर्वाचित भएपछि धेरै परिवर्तन देखिएका छन्। कृषि विश्वविद्यालय, मेडिकल कलेज, गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नतिले जनताको विश्वास र भरोसा बढाएको छ।’

‘प्रतिबद्धता जनाउने र लोभ देखाउनेहरू धेरै देखें, देख्दैछु,’ राजनीतिज्ञ मण्डल भन्छन्, ‘प्रतिबद्धतालाई सार्थक तुल्याउने प्रतिनिधि यस क्षेत्रका जनताले पहिलोपटक पाए।’ उपेन्द्रका प्रतिस्पर्धी सिके यस क्षेत्रका जनतामाझ पढेलेखेका व्यक्तिका रूपमा परिचित छन्। स्वतन्त्र मधेसको मुद्दा उचालेर जनमत बटुल्न खोजेका उनी चामत्कारिक रूपमा मूलधारको राजनीतिमा अवतरित भएपछि धेरैले उनीमाथि तत्कालै नेताका रूपमा विश्वास गर्न सकिरहेका छैनन्। उनलाई भविष्यको नेताका रूपमा भने जनताले देख्न चाहन्छन्।

सिके मतदातामाझ उपेन्द्रबारे भ्रम फैलाएर आफ्नो पक्षमा जनमत तयार पार्ने दाउमा छन्। उनले उपेन्द्रलाई ‘बाहिरिया’ भनेर प्रचार गर्दैछन्। सिकेले आफ्नो अजेन्डाभन्दा पनि उपेन्द्रको विरोधमा जनमत तयार पार्नमा बढी शक्ति खर्चिरहेका छन्। उपेन्द्रको विरोधमा जनमत तयार पारेर आफ्नो पक्षमा पार्न उनी सक्रिय छन्। ‘जनमत एक दुई दिनमै बन्दैन। यसका लागि समय लाग्छ। देश र जनताका लागि गरेको योगदान, उपलब्धि आदिबाट उनको पक्षमा जनमत तयार हुने हो,’ मण्डल भन्छन्, ‘संघीयता र मधेसीको पहिचानलाई संस्थागत गराउन सक्नु चानचुने कुरा होइन। यसको जस उपेन्द्रलाई जान्छ। उपेन्द्रको योगदान र मधेसले प्राप्त गरेको उपलब्धि वजनदार छन्।’ उपेन्द्रलाई यसै उपलब्धिको भर छ भने सिकेलाई उपेन्द्रको डर छ।

को हुन् उपेन्द्र यादव

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष हुन। उनको जन्म २०१६ मा सप्तरीको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनका दाजु डम्बर यादव खेती–किसानीमा संलग्न थिए। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन निमाविमा उनले प्रारम्भिक शिक्षा प्राप्त गरेका हुन्। त्यसपछि उनले जनता मावि मधुवन र वभवगमाकट्टी मावि सप्तरीमा माध्यमिक शिक्षा प्राप्त गरे। २०३२ मा एसएलसी उत्तीर्ण गरेपछि उपेन्द्र धरानको हात्तीसार क्याम्पसमा भर्ना भए। त्यहाँबाट आइएससी उत्तीर्ण गरेपछि उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर उत्तीर्ण गरेका हुन्।

विराटनगरमा विद्यार्थी हुँदादेखि नै वामपन्थी राजनीतिप्रति उपेन्द्रको झुकाव बढेको थियो। उनले कार्यकर्ताका रूपमा वामपन्थी राजनीतिमा सहयोग गरेका थिए। बहुदल प्राप्त भएपछि उनले एमालेको तर्फबाट चुनाव पनि लडे तर सफल भएनन्। उनले २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्था गठन गरे र नेतृत्व गरे। यो अन्तरपार्टी सञ्जालजस्तो थियो। त्यसैमार्फत मधेसका विविध समस्यामाथि विमर्श गर्दै समाधानका सूत्रहरू पहिल्याइरहेका थिए। उनले मधेसका धेरै बुद्धिजीवी र अभियन्ताहरूलाई पार्टीमा संगठित गरेका थिए। यही संस्थाको आवरणमा उनले माओवादी राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटकपटक दुःख दिएको थियो। माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ परेका थिए। पक्राउपछि उनी रिहा भएका थिए।

२०६३ माघ २ मा अन्तरिम संविधानमा संघीयतासहति मधेसका अधिकार नलेखिएपछि उनी काठमाडौंमा संविधान चलाएर विद्रोहको उद्घोष गरे। संविधान जलाएपछि गिरफ्तार गरिएका यादवसहित २८ जनालाई रिहा गरिनुपर्ने भन्दै स्तस्फूर्त रूपमा मधेस आन्दोलित भयो। झन्डै एक महिना चलेको सो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक सातामा दुईपटक राष्ट्रका नाममा  सम्बोधन गर्नुपर्‍यो।

माघमा प्रधानमन्त्रीको दोस्रो सम्बोधन गरेपछि केही समयका लागि स्थगित मधेस आन्दोलन पुनः सुरु भयो। २०६४ भदौ १३ गते सरकार र मधेसी जनअधिकार फोरमबीच २२ बुँदे सहमति भयो। सरकारका तर्फबाट शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमका तर्फबाट उपेन्द्रले हस्ताक्षर गरेका थिए। ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ कै निरन्तरताका रूपमा भएको मधेसी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा नै लेखियो।

२०६४ फागुन १ देखि दोस्रो मधेस आन्दोलन सुरु भयो। समस्या समाधानका लागि आन्तरिक प्रयासहरू भए तर सफल भएनन्। फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिपछि आन्दोलन रोकियो। सहमतिमा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांश लेखियो। यही सहमतिले नै पहिलो संविधानसभाको चुनाव सुनिश्चित गर्‍यो।

२०६४ सालको पहिलो संविधानसभाको चुनावमा उपेन्द्र नेतृत्वको मधेसी जनाधिकार फोरमले संसद्मा बलियो उपस्थिति दर्ज गर्‍यो। प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जितेर संसद्को चौथो ठुलो शक्ति भयो। उपेन्द्र आफैंले मोरङ ५ र सुनसरी ५ बाट चुनाव जिते। त्यसपछि २०७० को दोस्रो संविधानसभामा मोरङ ५ र २०७४ को प्रतिनिधिसभामा सप्तरी २ बाट निर्वाचित यादव यसपटक पुनः सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

को हुन् सिके राउत

सप्तरीको महदेवा गाउँमा जन्मेका सिके राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। सन् २०११ को अन्त्यतिर त्यहाँ राजीनामा दिई उनी नेपाल फर्किए। उनी अमेरिकामा दर्ता गरिएका तथा मधेसी हकहितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैरआवासीय मधेसी संघका संस्थापक अध्यक्ष पनि हुन्। पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका उनले एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रूपमा काम पनि गरेका थिए। त्यहाँबाट राजीनामा दिएर हिँडेपछि जापान सरकारले दिने गरेको मोनबुसो स्कलरसिप पाए र जापान गए।

सन् २००६ को अगस्टमा सिके घर आउँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेस आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेसको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स फर राइट्स एन्ड इन्डिपेन्डेन्स अफ मधेसको स्थापना गर्‍यो। सन् २००९ मा उनी अमेरिका पुगे। त्यहाँ उनले इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाका रूपमा प्रख्यात बिबिएनमा वैज्ञानिकका रूपमा काम गरे। अमेरिकामा उनले मधेसीहरूको डायस्पोरा संगठन बनाउने योजनालाई कार्यान्वयन गरे।

अमेरिकाबाट उनी मेची–महाकाली यात्रा गर्न नेपाल फर्किएका थिए। त्यसपछि मधेसलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे। राउतले लुकीछिपी नभई घोषित रूपमै स्वतन्त्र मधेसको अभियान चलाउन थाले। त्यसक्रममा पक्राउ परेका उनले मुद्दाहरू खेपे। राज्यद्रोहको मुद्दामा जेलमै रहेका बेला २०७५ फागुन २४ गते केपी शर्मा ओली नेतृत्वको सरकार र सिके नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भयो। त्यसपछि सिके स्वतन्त्र मधेस, स्वराज र जनमतसंग्रहको आफ्नो मुद्दा बिसाएर जनमत पार्टीका नामबाट मूलधारको राजनीतिमा प्रवेश गरे। जनमत पार्टीको अध्यक्ष सिके पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस