नेपालको सडक पूर्वाधार विकासले पछिल्ला वर्षहरूमा नयाँ गति लिएको छ। पुल, राजमार्ग र द्रुतमार्गसँगै अब सडक सुरुङमार्ग निर्माण र सञ्चालनको युगमा देश प्रवेश गरेको छ। काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य प्रवेशद्वार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग विधिवत् सञ्चालनमा आउनु यसैको प्रतीकात्मक उपलब्धि हो। सोमबार यो सुरुङ मार्गको शुभारम्भ भएको छ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक वर्षौंदेखि ट्राफिक जाम, दुर्घटना र पहिरोको समस्याले ग्रसित रहँदै आएको थियो। विशेषगरी वर्षायाममा सवारी साधन घण्टौं जाममा बस्नुपर्ने, मालवाहक गाडी ढिलो पुग्ने र यात्रुले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था सामान्यजस्तै बनिसकेको थियो। यस्तो परिस्थितिमा सिस्नेखोला–बलम्बु जोड्ने आधुनिक सुरुङमार्ग सञ्चालनमा आउनु केवल एउटा पूर्वाधार परियोजनाको सम्पन्न मात्र होइन, सडक यातायात व्यवस्थापनमा गुणात्मक परिवर्तनको सुरुवात पनि हो।
सुरुङमार्गको सबैभन्दा ठुलो उपलब्धि समयको बचत होसमय आफैंमा आर्थिक स्रोत हो। यात्रुको समय बचत हुनुका साथै सार्वजनिक यातायात, मालवाहक ट्रक, व्यावसायिक सवारी र अत्यावश्यक सेवाका साधनले एकै दिनमा बढी यात्रा गर्न सक्छन्। यसले इन्धन मात्र होइन, श्रम, सञ्चालन खर्च र उत्पादनशील समयसमेत जोगाउँछ। सुरुङमार्ग सञ्चालनसँगै उठेको मुख्य प्रश्न टोल शुल्कको हो। हलुका सवारीका लागि ६० देखि ६५ रुपैयाँ तथा ठुला मालवाहक सवारीका लागि ६ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। विशेषगरी ढुवानी व्यवसायीले यो शुल्कलाई महँगो भएको टिप्पणी भएको छ। सुरुङमार्गको उपयोगितालाई केवल टोल शुल्कसँग तुलना गरेर निष्कर्ष निकाल्न मिल्दैन। शुल्कलाई लागत विश्लेषणका आधारमा घटाउन सकिन्छ।
सुरुङमार्गको अर्को महत्त्वपूर्ण पक्ष सडक सुरक्षा हो। नागढुंगा खण्ड पहिरो, तीव्र घुम्ती, उकालो–ओरालो र अत्यधिक सवारी चापका कारण दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा परिचित छ। आधुनिक सुरुङमार्गमा अत्याधुनिक भेन्टिलेसन प्रणाली, आपत्कालीन सुरुङ, नियमित दुरीमा क्रस–प्यासेज, अग्नि सुरक्षा, निगरानी प्रणाली र उद्धार व्यवस्थाको प्रबन्ध गरिएको छ। यी संरचनाले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
नागढुंगा सुरुङमार्ग नेपालको पहिलो आधुनिक सडक सुरुङ भए पनि यो अन्तिम परियोजना भने होइन। विश्वका विकसित मुलुकहरू धेरै पहिला नै सडक मार्गलाई सुरुङ युगमा प्रवेश गराएर विकास र निर्माणको नयाँ चरणमा प्रवेश गरिसकेका छन्। तर, हामी बल्ल यो चरणमा प्रवेश गरेका छौं। यससँगै सरकारले देशका विभिन्न स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाएको छ। सिद्धबाबा सुरुङ निर्माणाधीन अवस्थामा छ भने काठमाडौं–तराई÷मधेस द्रुतमार्गअन्तर्गत तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
टोखा–छहरे–गुर्जेभन्ज्याङ, दोलालघाट–चर्नावती, हात्तीसार–बबई, खुर्कोट–चियाबारी, शिवपुर–भालुबाङ, रानीघाट–भुरीगाउँ तथा सुर्खेत–बर्दिया खण्डमा समेत सुरुङमार्गको अध्ययन गरिएको छ। काठमाडौं उपत्यकाभित्रका केही व्यस्त सडकमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ। यी योजनाले नेपाल क्रमशः आधुनिक सडक सञ्जालतर्फ अघि बढिरहेको संकेत गर्छन्। जुन सुखद पक्ष हो। नागढुंगा–सिस्नेखोला सुरुङमार्गकै जस लिने होडमा राजनीतिक नेतृत्व र सरकार लाग्नु सुखद पक्ष होइन। झलनाथ खनाल नेतृत्वमा गठन भएको सरकारले नागढुंगा–नौबिसे खण्डमा सुरुङमार्ग निर्माण गर्ने पहिलो निर्णय गरेको हो। केपी ओली नेतृत्व सरकारले त्यसको जग हालेको हो र अहिले त्यसले पूर्णता पाएको छ।
आज एउटा सुरुङ मार्गको जस लिने होडभन्दा त्यसबाट पार गरेर जाने वा आउने राजमार्गको दुरवस्थाको जिम्मा लिने र त्यसलाई छिटो सहज बनाउन लाग्नुपर्छ। नेपालको भौगोलिक बनोट र कठिनाइलाई समेत केन्द्रमा राखेर सडक सञ्जालमा यसको अधिकतम प्रयोगमा लाग्नुपर्छ। हिमाल र पहाड छिचोल्दै सडक निर्माण गर्दा लामो दुरी, तीव्र घुम्ती, पहिरो र वातावरणीय क्षतिको समस्या छ।
सुरुङमार्गले यात्रा छोट्याउनुका साथै वन क्षेत्रको संरक्षण, पहाड कटानमा कमी, वर्षायाममा सडक अवरुद्ध हुने समस्यासमेत कम गर्न सक्छ, साथै यात्रालाई सुरक्षित बनाउनेछ। नागढुंगा सुरुङमार्गले नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गरेको छ। यसको सफलता केवल २.७ किलोमिटर लामो सुरुङ निर्माणमा सीमित छैन, यसले देशलाई आधुनिक, सुरक्षित र द्रुत यातायात प्रणालीतर्फ उन्मुख गराएको छ।
सुरुवाती चरणमा शुल्क, सञ्चालन र व्यवस्थापनका विषयमा केही बहस र चुनौती देखिन सक्छन् तर समय, इन्धन, मर्मत खर्च, दुर्घटना न्यूनीकरण, वातावरणीय लाभ र आर्थिक उत्पादकत्वलाई समग्र रूपमा मूल्यांकन गर्दा सुरुङमार्गको दीर्घकालीन लाभ स्पष्ट देखिन्छ। सुरुङ मार्गजस्ता पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै देशका अन्य जोखिमयुक्त सडक खण्डमा पनि आधुनिक सुरुङमार्ग निर्माणलाई तीव्रता दिनुपर्छ।
पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको बताए पनि काठमाडौं उपत्यकालगायत देशभर ग्यास अभाव कायमै रहनु गम्भीर चिन्ताको विषय हो। साउनको झरी र चर्को घामको पर्वाह नगरी घण्टौं लाइनमा बसेर पनि एक सिलिन्डर ग्यास नपाउने अवस्था सामान्य आपूर्ति व्यवस्थाको संकेत होइन। अझ ग्यास अभावसँगै बढ्दो बजार महँगीले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनाएको छ।
खाना पकाउने ग्यास नेपाली घरपरिवारका लागि विलासिताको वस्तु होइन, आधारभूत आवश्यकताको इन्धन हो। त्यसैले यसको अभावलाई सामान्य बजार उतारचढावका रूपमा मात्र हेर्न मिल्दैन। आपूर्ति प्रणालीमा देखिएको कमजोरी, वितरणमा हुने असमानता, कृत्रिम अभावको सम्भावना र बजार अनुगमनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो।
अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा एक सिलिन्डर ग्यास लिन उपभोक्ताले लामो समय लाममा बस्नुपर्ने अवस्था छ। डिलर तथा पसलमा पुग्दा पनि ग्यास नपाएर खाली हात फर्किनुपर्ने, कतिपय अवस्थामा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने र डेलिभरीका नाममा अतिरिक्त शुल्क असुलिनेजस्ता गुनासा सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालदेखि प्रत्यक्ष बजारसम्म देखिएका यस्ता दृश्यले आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारको वास्तविक अवस्थाबिच ठुलो अन्तर रहेको देखाउँछन्।
आपूर्ति व्यवस्थाको नियामक निकाय नेपाल आयल निगमले पर्याप्त आपूर्ति रहेको वा अवस्था सुधारोन्मुख रहेको दाबी गर्दै आएको छ। बजारमा उपभोक्ताको लामो लाइन छ भने त्यस्तो दाबीको विश्वसनीयता आफैं कमजोर हुन्छ। आपूर्ति पर्याप्त छ भने उपभोक्ताले ग्यास पाउन किन दिनभर लाइन बस्नुपर्छ ? पर्याप्त मौज्दात छ भने डिलरमा पुग्दा उपभोक्ता किन खाली हात फर्कनुपर्छ ? र सरकारी मूल्य कायम छ भने कतिपय उपभोक्ताले किन अतिरिक्त रकम तिर्नुपर्छ ? यी प्रश्नको जवाफ तथ्य र पारदर्शिताका आधारमा दिनुपर्ने समय आएको छ। नेपालमा एलपी ग्यासको आपूर्ति ठुलो मात्रामा छिमेकी मुलुक भारतबाट हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र क्षेत्रीय आपूर्ति संकटको प्रत्यक्ष असर नेपाली बजारमा पर्न सक्छ।
विगतमा मध्यपूर्वमा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारको अस्थिरतालाई ध्यानमा राख्दै नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनका लागि ७.१ केजीका आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। तत्कालीन संकट व्यवस्थापनका लागि गरिएको उक्त निर्णयले केही हदसम्म आपूर्ति व्यवस्थापन गर्न खोजे पनि उपभोक्ताले आफ्नो आवश्यकताअनुसार ग्यास पाउन नसकेको गुनासो गरेका थिए।
पछि अन्तर्राष्ट्रिय परिस्थितिमा केही सुधार आएको र भारतबाट ग्यासको आपूर्ति सहज भएको दाबी गर्दै निगमले १४.२ केजीको पूर्ण सिलिन्डर पुनः बजारमा पठाउने निर्णय गर्यो। गत महिनादेखि पूर्ण सिलिन्डर बिक्री सुरु गर्दै निगमले यसको खुद्रा मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ तोकेको थियो तर पूर्ण सिलिन्डर बजारमा आएको भनिए पनि उपभोक्ताको लाइन घटेको छैन। बरु कतिपय स्थानमा एक सिलिन्डरका लागि कैयौं दिन कुर्नुपर्ने अवस्था देखिएको छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– समस्या आयातमा मात्र हो कि वितरण प्रणालीमै छ? भारतबाट पर्याप्त ग्यास आइरहेको छ भने आयातित ग्यास उपभोक्तासम्म पुग्ने क्रममा कहाँ अवरोध भइरहेको छ? निगम, ग्यास उद्योगी, वितरक र डिलर तहबिचको आपूर्ति शृंखलामा कतै समस्या छ कि छैन ? मौज्दात, आयात, ढुवानी र बिक्रीको वास्तविक तथ्यांक सार्वजनिक नगरी केवल ‘आपूर्ति पर्याप्त छ’ भन्ने दाबीले समस्या समाधान हुँदैन।
अहिलेको समस्या केवल ग्यासको अभावमा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव महँगीमा समेत पर्न थालेको छ। ग्यास महँगो वा दुर्लभ हुँदा होटल, रेस्टुरेन्ट, चिया पसल तथा साना व्यवसायको सञ्चालन लागत बढ्छ। व्यवसायीले बढेको लागत उपभोक्ताबाट असुल्न थालेपछि खाना, खाजा र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत त्यसको असर पर्छ। यसरी एउटा इन्धनको आपूर्ति समस्या अन्ततः समग्र उपभोक्ता मूल्यवृद्धिको कारक बन्न सक्छ। त्यसैले सरकारले तत्काल प्रभावकारी बजार अनुगमन गर्नुपर्छ। कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक सञ्चय गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढी असुल्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ। स्थानीय तह, जिल्ला प्रशासन, उपभोक्ता अधिकारसम्बन्धी निकाय र नेपाल आयल निगमबिच समन्वय गरी अनुगमनलाई परिणाममुखी बनाउन आवश्यक छ। अनुगमन केवल सञ्चारमाध्यममा देखाउनका लागि गरिने औपचारिक अभ्यास बन्नु हुँदैन।
त्यससँगै आयात, भण्डारण र वितरण प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउनुपर्ने आवश्यकता छ। संकट उत्पन्न भएपछि मात्र आधा सिलिन्डर बेच्ने, वितरणको समय र मात्रा घटाउने वा अन्य अस्थायी उपाय अपनाउने प्रवृत्तिले दीर्घकालीन समाधान दिँदैन। पर्याप्त भण्डारण क्षमता निर्माण, आपूर्ति शृंखलाको डिजिटल निगरानी, डिलर तहको नियमित अनुगमन र मौज्दात तथा वितरणसम्बन्धी तथ्यांकमा पारदर्शिता कायम गर्नु आवश्यक छ। सरकारसँग पर्याप्त ग्यास छ भने त्यो कहाँ छ, कुन डिलरलाई कति पठाइयो र उपभोक्तासम्म कति पुग्यो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।