अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?
१९ साउन २०८३
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?

यदि आत्महत्या नै समस्याको समाधान हो भने, हरेक दिन असंख्य मानिसहरू अनेकौँ पीडा, संघर्ष र अभावसँग जुध्दै पनि किन पुनः उठ्ने प्रयास गरिरहेका छन्? किन आफ्नो स्वासलाई अझै लामो बनाउने र हिम्मतलाई अझै बलियो बनाउने संकल्प गरिरहेका छन्?

रश्मी रिजालले किन यस्तो दुःखद निर्णय लिनुभयो भन्ने विषय अनुसन्धानले नै स्पष्ट पार्ला। तर उहाँको मृत्युले एउटा गम्भीर प्रश्न भने उठाएको छ—के हाम्रो कर्पोरेट कार्यसंस्कृतिले कर्मचारीहरूलाई असह्य मानसिक दबाबमा त धकेलिरहेको छैन?

आज पनि धेरै कर्मचारीहरू आफ्नो श्रमको उचित मूल्याङ्कन नपाएर, आफ्नो क्षमता बेवास्ता भएको महसुस गर्दै, 'एक दिन मेरो पनि पालो आउला' भन्ने आशामा वर्षौँदेखि इमानदारीपूर्वक काम गरिरहेका छन्। सानिमा क्यापिटलमा कार्यरत रश्मी रिजालको दुःखद निधनपछि यस्तै प्रश्नहरूले मेरो मनलाई निरन्तर घोचिरहेका छन्। के यस घटनाको निष्पक्ष छानबिन हुनेछ? के उहाँले न्याय पाउनुहुनेछ? यही प्रश्नले विगत चार दिनदेखि मन अशान्त बनाइरहेको छ।

उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो। आफ्नो परिवार र सन्तानभन्दा माथि यस्तो कठोर निर्णय किन रोज्नुपर्‍यो भन्ने प्रश्नले मनलाई झन् धेरै पीडा दिन्छ।

यस घटनालाई केवल व्यक्तिगत कमजोरी वा मानसिक स्वास्थ्यको एउटा मात्र पक्ष भनेर टुंग्याइहाल्नु उचित हुँदैन। कार्यस्थलको चरम दबाब, अस्वस्थ प्रतिस्पर्धा, अन्यायपूर्ण मूल्याङ्कन र व्यवस्थापकीय संस्कृतिले पनि यस्ता घटनामा भूमिका खेलेका छन् कि भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ।

बाहिरबाट आकर्षक, प्रतिष्ठित र व्यवस्थित देखिने बैंकिङ तथा कर्पोरेट संसारभित्र कति तनाव, कति असमानता र कति अमानवीय दबाब लुकेको हुन्छ भन्ने कुरालाई यो घटनाले फेरि एकपटक उजागर गरेको छ। यदि एउटा प्रतिष्ठित संस्थाको उच्च जिम्मेवारीमा रहेकी कर्मचारीले कार्यस्थलको मानसिक दबाब असह्य भएको महसुस गर्नुभयो भने, त्यो केवल एउटा व्यक्तिको कथा मात्र होइन, हाम्रो कार्यसंस्कृतिमाथि उठेको प्रश्न पनि हो।

यही सन्दर्भमा केही वर्षअघिको एउटा अनुभव सम्झना आउँछ।

एक प्रतिष्ठित कर्पोरेट संस्थामा धेरै महिला कर्मचारीहरू घरपरिवार, सन्तान, अध्ययन र जागिरलाई समान रूपमा अघि बढाइरहेका थिए। उनीहरूलाई देख्दा म आफैँ एक महिलाको नाताले गर्व गर्थें। उनीहरूको आत्मविश्वास प्रेरणादायी लाग्थ्यो।

तर समयसँगै मैले बाहिर देखिने चम्किलो छवि र भित्रको वास्तविकता फरक हुन सक्ने अनुभव पनि पाएँ। नेतृत्व, समान अवसर र सम्मानको कुरा गरिए पनि व्यवहारमा सबै कर्मचारीले त्यही सम्मान र न्याय पाउँछन् भन्ने आवश्यक रहेनछ। शक्ति, पहुँच र पदको प्रभावले धेरै अन्यायहरू ओझेलमा परिरहेका हुन्छन् भन्ने अनुभूति पनि भयो।

त्यसैले चिल्ला गाडी, आकर्षक पोसाक वा उच्च पदले मात्र कसैको चरित्र र नेतृत्वको प्रमाण दिँदैन। एउटा संस्थाको वास्तविक मूल्यांकन त्यहाँ कर्मचारीसँग गरिने व्यवहारले निर्धारण गर्छ।

कुनै पनि कर्मचारीले कार्यालयमा आफ्नो समय, ऊर्जा, सीप र इमानदारी समर्पण गरेपछि उसले सम्मान, निष्पक्ष मूल्याङ्कन र आफ्नो क्षमता अनुसारको अवसर पाउनु स्वाभाविक अधिकार हो। केही महिनाअघि ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काको दुःखद मृत्यु, त्यसअघि कुमारी बैंकसँग जोडिएका घटनाहरू र अहिले रश्मी रिजालको घटनाले एउटा साझा प्रश्न उठाएका छन्—के यो केवल एउटा संस्थाको समस्या हो, वा सिंगो कर्पोरेट क्षेत्रले आत्मसमीक्षा गर्नुपर्ने अवस्था हो?

कुनै पनि मानिस रहरले बिहानदेखि बेलुकासम्म दौडधुप गरेर जागिर गर्न जाँदैन। यदि पर्याप्त आर्थिक स्रोत हुन्थ्यो भने धेरैले आफ्नै व्यवसाय रोज्ने थिए। जीविकोपार्जनका लागि जागिर गर्नु कुनै कमजोरी होइन।

दुर्भाग्यवश कतिपय संस्थाहरूले यही बाध्यतालाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यम बनाइरहेका छन्। समयमै तलब वृद्धि हुँदैन, राम्रो कामको उचित मूल्याङ्कन हुँदैन, तर चाकडी, समूहबन्दी र आन्तरिक राजनीतिमा सक्रिय व्यक्तिहरूले सजिलै अवसर पाइरहेका हुन्छन्। जहाँ मेहनतको सम्मान हुँदैन र चाप्लुसीको पुरस्कार हुन्छ, त्यहाँ इमानदार कर्मचारीहरू निराश हुनु स्वाभाविक हो। यही निराशा, निरन्तरको मानसिक दबाब र अन्यायले मानिसलाई भित्रभित्रै कमजोर बनाउँदै लैजान सक्छ।

कर्पोरेट क्षेत्रको अर्को गम्भीर समस्या भनेको पदको दुरुपयोग र हैकमवादी संस्कृतिको विस्तार हो। जुनियर कर्मचारीहरूले गरेको मेहनतको श्रेय माथिल्ला तहले लिने, सक्षम कर्मचारीलाई अवसर नदिने, आफ्नै पद सुरक्षित राख्न अरूको प्रगति रोक्ने प्रवृत्तिले स्वस्थ कार्यसंस्कृति निर्माण हुन सक्दैन।

जब कुनै कर्मचारीले आफ्नो भविष्य देखेको संस्थामै विभेद, अन्याय र बेवास्ता मात्र पाउँछ, तब उसको आत्मविश्वास टुट्न थाल्छ। यही कारणले धेरै कर्मचारीहरू गहिरो मानसिक तनावमा पुग्ने अवस्था सिर्जना हुन्छ। अब हामीले गम्भीर भएर सोच्ने बेला आएको छ—अझै कति रश्मी र पीताम्बरहरूलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली मात्र लेखिरहने?

जबसम्म कर्पोरेट संस्थाहरूले नाफा र लक्ष्यभन्दा माथि उठेर कर्मचारीको जीवन, आत्मसम्मान र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदैनन्, यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम रहिरहन्छ।

नेपाल राष्ट्र बैंक, श्रम मन्त्रालय तथा सम्बन्धित नियामक निकायहरूले कार्यस्थलमा मानसिक स्वास्थ्य, कर्मचारी अधिकार, गुनासो सुनुवाइ र निष्पक्ष छानबिनका प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक छ। कर्मचारीले प्रतिशोधको डरबिना आफ्नो समस्या राख्न सक्ने वातावरण सिर्जना हुनु अत्यन्त जरुरी छ।

रश्मी रिजालको दुःखद अवसानले हाम्रो कार्यसंस्कृतिबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। अब श्रद्धाञ्जलीका शब्दहरू मात्र पर्याप्त छैनन्। कार्यस्थलमा सम्मान, समानता, न्याय र सुरक्षित वातावरण सुनिश्चित गर्ने दिशामा ठोस सुधार आवश्यक छ।

अन्त्यमा, कार्यस्थलको चरम मानसिक दबाब र सम्भावित प्रणालीगत समस्याका बीच असामयिक रूपमा ज्यान गुमाउनुभएकी सानिमा क्यापिटलकी तत्कालीन कम्प्लायन्स अफिसर रश्मी रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।

अब कुनै पनि कर्मचारीले आफ्नो कार्यस्थलमै आत्मसम्मान र जीवन गुमाउन नपरोस्। यही हाम्रो साझा प्रतिबद्धता बन्नुपर्छ।

अर्को समाचार
श्रावणका रङ, परम्परा र पहिचानः आस्था, प्रकृति र समाजको समाजशास्त्रीय विश्लेषण
१९ साउन २०८३
११ मिनेट पाठ
संग्रह
Email
ईमेल
श्रावणका रङ, परम्परा र पहिचानः आस्था, प्रकृति र समाजको समाजशास्त्रीय विश्लेषण

श्रावण सुरु हुनासाथ नेपाली समाजको दैनिकीमा एउटा छुट्टै रौनक थपिन्छ। बजारका पसलहरू हरिया सारी, कुर्ता, पोते र चुराले सजिन थाल्छन्। मेहेन्दी लगाउनेहरूको चहलपहल गल्लीदेखि सपिङ मलसम्म फैलिन्छ। बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनहरूको लामो लाइन देखिन्छ। काँधमा जल बोकेर ‘बोलबम’ यात्रामा निस्किएका तीर्थयात्रीहरू राजमार्गदेखि गाउँका बाटोसम्म भेटिन्छन्। काठमाडौंको पशुपतिनाथदेखि देशका साना–ठूला शिवमन्दिरसम्म श्रावणले आस्था, संस्कृति र सामूहिक सहभागिताको विशेष वातावरण निर्माण गर्छ।

यी दृश्यहरू नेपाली समाजका लागि नयाँ होइनन्। वर्षैपिच्छे दोहोरिने भएकाले हामीले तिनलाई जीवनको स्वाभाविक अङ्गका रूपमा स्वीकार गरिसकेका छौँ। तर यिनै परिचित दृश्यभित्र केही गहिरा प्रश्नहरू लुकेका छन्।श्रावणमा हरियो चुरा किन लगाइन्छ ? मेहेन्दी किन यही महिनामा सर्वाधिक लोकप्रिय हुन्छ ? श्रावणलाई शिवजीको महिना किन मानियो ? सोमबारको व्रतको धार्मिक मात्र होइन, सामाजिक अर्थ के हो ? के यी सबै अभ्यास धर्मग्रन्थले तोकेका अपरिवर्तनीय नियम हुन्, वा प्रकृति, कृषि जीवन, लोकसंस्कृति र समाजको लामो यात्राले निर्माण गरेका सांस्कृतिक अभ्यास ?

यी प्रश्न उठाउनु आस्थामाथि शंका गर्नु होइन, बरु संस्कृतिलाई अझ गहिरो रूपमा बुझ्ने प्रयास हो। कुनै पनि परम्परा त्यसको बाहिरी अभ्यासले मात्र टिक्दैन, त्यसले बोकेको इतिहास, अर्थ, मूल्य र सामाजिक सन्दर्भले पनि त्यसलाई निरन्तरता दिन्छ। यही कारण श्रावण आज धार्मिक आस्था, प्रकृति, लोकजीवन र सांस्कृतिक पहिचानलाई एउटै सूत्रमा गाँस्नेमहत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।

धर्मभन्दा पहिले प्रकृतिको जग

हामी प्रायः श्रावणलाई भगवान् शिवको महिना र धार्मिक अनुष्ठानहरूको समयका रूपमा सम्झन्छौँ। तर यसको प्रारम्भिक आधार मन्दिर वा कर्मकाण्डभन्दा धेरै अघि प्रकृति र कृषि सभ्यतामा खोज्नुपर्छ।हिन्दू पात्रोअनुसार श्रावण वर्षायामको मुख्य महिना हो। असारको कठिन रोपाइँपछि यही समयमा खेतबारी हराभरा हुन्छन्, वनस्पतिमा नयाँ पालुवा पलाउँछ, नदी–नालाहरू भरिन्छन् र वातावरणमा नयाँ जीवनको अनुभूति फैलिन्छ। कृषिमा आधारित समाजका लागि वर्षा केवल मौसमको परिवर्तन थिएन, त्यो अन्न, जीवन र समृद्धिको आधार थियो। त्यसैले वर्षायामसँग सम्बन्धित धेरै सांस्कृतिक अभ्यासहरू प्रकृतिप्रतिको कृतज्ञता र समृद्धिको कामनाबाट विकसित भए।

हरियो रङ नयाँ जीवन, उर्वरता, आशा र पुनर्जागरणको प्रतीक बन्यो। पहेंलो रङलाई पवित्रता, ऊर्जा र शुभताको प्रतीक मानियो। समयसँगै यी रङहरू धार्मिक अभ्याससँग जोडिए, तर तिनको प्रारम्भिक अर्थ प्रकृतिसँग गाँसिएको थियो। यस दृष्टिले हेर्दा श्रावणको सांस्कृतिक जग प्रकृतिमा रहेको देखिन्छ, जसलाई पछि धार्मिक विश्वास, पौराणिक कथा र आध्यात्मिक दर्शनले थप अर्थ प्रदान गरे। त्यसैले श्रावणलाई केवल धार्मिक पर्वका रूपमा मात्र बुझ्दा यसको सम्पूर्ण आयाम समेटिँदैन। यो मानिस र प्रकृतिबीचको सम्बन्ध, वातावरणप्रतिको सम्मान र जीवनप्रतिको कृतज्ञतालाई अभिव्यक्त गर्ने सांस्कृतिक परम्परा पनि हो।

शिव–परम्परा र जलाभिषेकको सामाजिक अर्थ

प्रकृतिले श्रावणको प्रारम्भिक आधार निर्माण गर्यो भने हिन्दू धार्मिक तथा पौराणिक परम्पराले त्यसलाई भगवान् शिवको आराधनाको विशेष समयका रूपमा अर्थ दियो। पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विष भगवान् शिवले ग्रहण गरेपछि उहाँको ताप शान्त पार्न देवताहरूले निरन्तर जल अर्पण गरेका थिए। यही विश्वासबाट श्रावण महिनाभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा विकास भएको मानिन्छ।

तर यस अभ्यासको अर्थ केवल पौराणिक कथासम्म सीमित छैन। यस परम्परामा जल शीतलता, शुद्धता, करुणा र आत्मसमर्पणको प्रतीक मानिन्छ। शिवलाई त्याग, धैर्य, आत्मसंयम र लोककल्याणका प्रतीकका रूपमा हेरिन्छ। त्यसैले श्रावणमा शिवको आराधना गर्नु धार्मिक कर्मकाण्ड पूरा गर्नु मात्र होइन, व्यक्तिलाई संयम, सहिष्णुता, जिम्मेवारी र मानवीय मूल्यलाई आफ्नो जीवनमा पुनः आत्मसात् गर्ने अवसर पनि हो।

यसैले श्रावणका धार्मिक अभ्यासहरू केवल व्यक्तिगत मोक्षको खोजीमा सीमित छैनन् तिनले सामाजिक जीवनमा नैतिकता, अनुशासन र सहअस्तित्वका मूल्यलाई सुदृढ गर्ने सांस्कृतिक भूमिका पनि निर्वाह गर्छन्।

रङ, श्रृङ्गार र परम्पराको सामाजिक निर्माण

श्रावण महिनाको आगमनसँगै नेपाली समाजमा देखिने सबैभन्दा स्पष्ट परिवर्तन हरियो र पहेंलो रङको बाहुल्य हो। हरियो चुरा, पोते, सारी, कुर्ता र मेहेन्दीले श्रावणलाई दृश्यात्मक रूपमा छुट्टै पहिचान दिन्छन्। तर यी सामग्री केवल सौन्दर्यका लागि प्रयोग गरिएकाहोइनन्समयसँगै समाजले तिनलाई विशिष्ट सांस्कृतिक अर्थ दिएको छ।

शास्त्रीय हिन्दू धर्मग्रन्थहरूमा श्रावण महिनाको धार्मिक महत्व शिवपूजा र सोमबारको व्रतबारे विस्तृत उल्लेख पाइए पनि हरियो चुरा, हरियो पहिरन वा मेहेन्दीलाई अनिवार्य धार्मिक नियमका रूपमा स्वीकार गरिएको देखिँदैन। यसले यी अभ्यासहरूको लोकप्रियता धर्मशास्त्रभन्दा लोकसंस्कृति, स्थानीय अभ्यास र सामूहिक अनुभवबाट बढी विकसित भएको संकेत गर्छ।

यही सन्दर्भमा समाजशास्त्री हर्बर्ट ब्लुमरको प्रतीकात्मक अन्तरक्रियावाद(सिम्बोलिक इन्टरएक्सनिज्म) विशेष रूपमा सान्दर्भिक देखिन्छ। ब्लुमरका अनुसार कुनै पनि वस्तुको सामाजिक महत्वत्यसको भौतिक स्वरूपमा होइन, मानिसहरूले त्यसलाई दिएको साझा अर्थमा निर्भर हुन्छ। यही कारण हरियो चुरा वा पोते केवल गहनाहोइनन्समाजले तिनलाई आशा, समृद्धि, शुभता र सांस्कृतिक पहिचानसँग जोडेकाले ती विशेष सांस्कृतिक प्रतीक बनेका हुन्।

मेहेन्दीको इतिहासले पनि सांस्कृतिक अभ्यास समयसँगै कसरी विकसित हुन्छन् भन्ने देखाउँछ। प्रारम्भिक समयमा यसलाई शरीरलाई शीतलता दिने प्राकृतिक वनस्पतिको रूपमा प्रयोग गरिन्थ्यो। विस्तारै यो सौन्दर्य, शुभता, उत्सव र सांस्कृतिक उत्साहसँग जोडियो। यसले देखाउँछ कि धेरै परम्पराहरू केवल धार्मिक मान्यताबाट होइन, वातावरणीय ज्ञान, स्थानीय अनुभव र समाजको दीर्घकालीन अन्तरक्रियाबाट पनि निर्माण हुन्छन्।

परम्पराको केन्द्रमा महिला, तर सहभागिताको विस्तार

नेपाली समाजमा परम्परागत रूपमा महिलाहरूलाई परिवार र समुदायको सांस्कृतिक निरन्तरताका प्रमुख संवाहक मानिएको छ। व्रत, पूजा, चाडपर्व र संस्कारका अभ्यासहरू मुख्यतः उनीहरूमार्फत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन्। यस अर्थमा महिलाहरूले केवल परम्परा पालन गरेका छैनन् उनीहरूले समाजको सांस्कृतिक स्मृतिलाई पनि जोगाएका छन्।

तर संस्कृति स्थिर हुँदैन, समाजसँगै यसको स्वरूप पनि परिवर्तन हुँदै जान्छ। आज विवाहित महिलामात्र होइन, अविवाहित युवतीहरूले पनि हरियो चुरा, मेहेन्दी र हरिया पहिरनलाई धार्मिक कर्तव्यभन्दा बढी सांस्कृतिक उत्सव र पहिचानका रूपमा अपनाइरहेका छन्। त्यस्तै, श्रावणका सोमबारमा पुरुषहरूको सहभागिता पनि पहिलेभन्दा बढेको देखिन्छ। व्रत बस्ने, शिवालयमा जल चढाउने, काँवर बोकेर ‘बोलबम’ यात्रामा सहभागी हुने तथा सामूहिक धार्मिक कार्यक्रममा सक्रिय रूपमा जोडिने पुरुषहरूको सहभागिता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको देखिन्छ।

यसले एउटा महत्वपूर्ण तथ्य उजागर गर्छ–संस्कृति कुनै जड संरचना होइन। समय, समाज र पुस्तासँग निरन्तर संवाद गर्दै यसले समयअनुसार नयाँ अर्थ पाउँदै जान्छ। नयाँ पुस्ताले परम्परालाई त्यागेका छैनन् बरु आफ्नै समय, अनुभव र जीवनशैलीसँग मिलाएर त्यसको पुनव्र्याख्या गरिरहेका छन्।

बजार, पुँजीवाद र आस्थाको बदलिँदो स्वरूप

आजको श्रावणलाई केवल मन्दिर, व्रत र धार्मिक अनुष्ठानभित्र सीमित गरेर बुझ्न सकिँदैन। आधुनिक बजार, फेसन उद्योग, डिजिटल प्रविधि र सामाजिक सञ्जालले यसको स्वरूपलाई गहिरो रूपमा प्रभावित गरेका छन्।श्रावण सुरु हुनासाथ ‘श्रावण विशेष’ छुट, हरियो फेसन, मेहेन्दी अफर, फोटोसुटका प्याकेज र अनलाइन प्रचारको लहर सुरु हुन्छ। सामाजिक सञ्जालमा हरिया पहिरन, शिवालय भ्रमण र बोलबम यात्राका तस्बिर तथा भिडियो साझा गर्ने प्रवृत्ति पनि तीव्र रूपमा बढेको छ। यसले परम्परा र बजारबीचको सम्बन्धलाई अझ जटिल बनाएको छ।

यही सन्दर्भमा कार्ल माक्र्सको दृष्टिकोण सान्दर्भिक देखिन्छ। माक्र्सका अनुसार पूँजीवादी व्यवस्थाले वस्तुको सांस्कृतिक अर्थभन्दा त्यसको व्यापारिक मूल्यलाई प्राथमिकता दिन्छ। यही कारण आज मेहेन्दी, चुरा, पोते वा धार्मिक सामग्री केवल सांस्कृतिक पहिचानका माध्यम मात्र नभई ठूलो व्यापारिक बजारका वस्तु पनि बनेका छन्।  परम्पराले अर्थ दिनुपर्ने ठाउँमा कतिपय अवस्थामा बजारले मूल्य निर्धारण गर्न थालेको छ।

यसको अर्थ आधुनिकता वा बजार आफैँमा नकारात्मक छन् भन्ने होइन। बजारले स्थानीय उत्पादनलाई अवसर दिएको छ, रोजगारी सिर्जना गरेको छ र सांस्कृतिक सामग्रीको पहुँच पनि विस्तार गरेको छ। तर समस्या तब सुरु हुन्छ, जब संस्कृतिको सारभन्दा प्रदर्शनमहत्वपूर्ण बन्न थाल्छ, जब आस्थाभन्दा आकर्षक तस्बिरको खोजी अगाडि आउँछ, वा जब परम्परा अनुभवभन्दा उपभोगको विषय बन्छ। त्यसैले आधुनिक परिवर्तनलाई स्वीकार्दै पनि संस्कृतिको मूल अर्थ ओझेलमा पर्न नदिनु नै आजको सबैभन्दा ठूलो चुनौती हो।

समाजशास्त्रीय दृष्टिले श्रावण

यही परिवर्तन र निरन्तरताको सन्दर्भलाई समाजशास्त्रले अझ फराकिलो दृष्टिबाट हेर्छ। कुनै पनि सांस्कृतिक अभ्यासलाई समाजशास्त्रले न अन्धविश्वास भन्दै सहजै अस्वीकार गर्छ, न त प्रश्नै नगरी स्वीकार गर्छ। बरु यस्ता अभ्यासको उत्पत्ति, समाजमा तिनको भूमिका र समयसँगै तिनको अर्थ कसरी परिवर्तन हुँदै गयो भन्ने बुझ्ने प्रयास गर्छ।

समाजशास्त्री एमिल दुर्खाइमका अनुसार धर्म र सांस्कृतिक अनुष्ठानहरू केवल ईश्वरप्रतिको आस्था व्यक्त गर्ने माध्यम मात्रहोइनन्तिनले समाजका सदस्यहरूबीच साझा चेतना र सामाजिक एकता निर्माण गर्छन्। जब हजारौँ मानिस एउटै उद्देश्यका साथ शिवालयमा भेला हुन्छन्, एउटै विश्वासका साथ जलाभिषेक गर्छन् वा बोलबम यात्रामा सहभागी हुन्छन्, त्यहाँ व्यक्तिगत अनुभवभन्दा ठूलो सामूहिक अनुभूति निर्माण भइरहेको हुन्छ। यही सामूहिक अनुभूतिले समाजका सदस्यहरूबीचको सामाजिक बन्धनलाई अझ बलियो बनाउँछ।

यसैगरी, हर्बर्ट ब्लुमरको दृष्टिकोणले हरियो चुरा, पोते वा मेहेन्दीजस्ता प्रतीकलाई समाजले दिएको सांस्कृतिक अर्थ बुझ्न सहयोग गर्छ भने कार्ल माक्र्सको विश्लेषणले ती प्रतीकहरू समयसँगै बजार र उपभोगसँग कसरी गाँसिँदै गएका छन् भन्ने देखाउँछ। यी तीन फरक समाजशास्त्रीय दृष्टिकोणलाई एकैसाथ हेर्दा श्रावण केवल धार्मिक पर्व नभई प्रकृति, संस्कृति, समाज, अर्थतन्त्र र आधुनिक जीवनशैलीबीचको अन्तरसम्बन्ध बुझ्नेमहत्वपूर्ण सन्दर्भका रूपमा देखिन्छ।

परिवर्तनसँगै परम्पराको नयाँ अर्थ

हरेक पुस्ताले आफ्ना परम्परालाई नयाँ सन्दर्भमा पुनव्र्याख्या गर्छ। आजका युवापुस्ताले श्रावणलाई धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान, सामाजिक भेटघाट र सामुदायिक उत्सवका रूपमा पनि हेर्न थालेका छन्। यसलाई केवल परम्परा निभाउने महिनाका रूपमा होइन, आफ्नो सांस्कृतिक जरोसँग पुनः जोडिने अवसरका रूपमा बुझ्न थालेका छन्।

यद्यपि यही परिवर्तनसँग केही चुनौतीहरू पनि जोडिएका छन्। सामाजिक सञ्जालले कतिपय अवस्थामा संस्कृतिलाई प्रदर्शनको माध्यम बनाइदिएको छ। बाहिरी श्रृङ्गार, फेसन र तस्बिरमा केन्द्रित हुँदा परम्पराको मूल मर्म ओझेलमा पर्ने जोखिम रहन्छ। अर्कोतर्फ, केही मानिसले यस्ता अभ्यासलाई कुनै प्रश्न नगरी अन्धअनुसरण गर्छन् भने केहीले पर्याप्त बुझाइबिना पुरानो भन्दै अस्वीकार गर्ने प्रवृत्ति पनि देखिन्छ। यी दुवै अतिवादले संस्कृतिको वास्तविक अर्थ बुझ्न कठिन बनाउँछन्।

त्यसैले आवश्यक कुरा परम्परालाई जस्ताको तस्तै दोहोर्याउनु वा पूर्ण रूपमा त्याग्नु होइन, त्यसको ऐतिहासिक पृष्ठभूमि, सामाजिक भूमिका र समकालीन अर्थलाई बुझेर सचेत रूपमा अभ्यास गर्नु हो। जब परम्परा बुझाइ र चेतनासँग जोडिन्छ, तब मात्र त्यसको अर्थ र सान्दर्भिकता दीर्घकालसम्म कायम रहन्छ।

निष्कर्ष

श्रावणको वास्तविक सौन्दर्य केवल बजारमा देखिने हरियो रङमा सीमित छैन। त्यो वर्षासँगै प्रकृतिमा आउने नयाँ जीवन, हरियाली र आशासँग जोडिएको छ। त्यो मेहेन्दीको रङमा मात्र होइन, त्यससँग गाँसिएको लोकसंस्कृति, परम्परा र सामूहिक स्मृतिमा पनि छ। त्यो शिवालयको भीडमा मात्र होइन, त्यहाँ निर्माण हुने सामूहिक विश्वास, आत्मसंयम, सामाजिक सद्भाव र साझा पहिचानमा पनि प्रतिबिम्बित हुन्छ।

हरियो चुरा, पोते, मेहेन्दी, सोमबारको व्रत, शिवलिङ्गमा जलाभिषेक वा बोलबम यात्रा–यी सबै अभ्यास एउटै समय वा एउटै कारणले जन्मिएका होइनन्। केही प्रकृतिप्रतिको कृतज्ञताबाट विकसित भए, केही कृषि सभ्यताको अनुभवबाट, केही धार्मिक विश्वास र पौराणिक परम्पराबाट, केही लोकसंस्कृतिको निरन्तरताबाट, र केहीले बदलिँदो समाजसँगै नयाँ अर्थ पाए। यही विविध ऐतिहासिक, सांस्कृतिक र सामाजिक तहहरूको सङ्गम नै आजको श्रावण हो।

यसैले परम्पराको बाहिरी स्वरूप मात्र जोगाएर पुग्दैन, त्यसको भित्री अर्थ, इतिहास, वातावरणीय चेतना र सामाजिक मूल्यलाई पनि जोगाउन आवश्यक छ। अर्थविहीन रूपमा दोहोरिने परम्परा विस्तारै औपचारिकतामा सीमित हुन सक्छ, तर आफ्नो अर्थ र सान्दर्भिकतासहित बाँचेको संस्कृतिले मात्र समाजलाई आफ्नो जरोसँग जोडि राख्न सक्छ।

श्रावणले हामीलाई पूजा गर्न मात्र सिकाउँदैन, यसले प्रकृतिप्रति कृतज्ञ हुन, समाजसँग जोडिन, सामूहिक उत्तरदायित्वको अनुभूति गर्न र आफ्नै सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म अर्थपूर्ण रूपमा हस्तान्तरण गर्न पनि प्रेरित गर्छ। यसले विगतसँग हाम्रो सम्बन्धलाई जीवन्त राख्छ, वर्तमानलाई अर्थ दिन्छ र भविष्यका पुस्तासम्म सांस्कृतिक निरन्तरतालाई अघि बढाउने प्रेरणा दिन्छ।

जब हामी आफ्ना रीतिरिवाजलाई केवल दोहोर्या‍उँदैनौँ, बरु तिनको उत्पत्ति, उद्देश्य र समाजसँगको सम्बन्ध बुझेर अभ्यास गर्छौँ, तब संस्कृति केवल विगतको सम्झना भएर रहँदैन। त्यो हाम्रो सोच, व्यवहार र सामूहिक पहिचानलाई निरन्तर समृद्ध बनाउने आधार बन्छ। त्यसैले परम्परालाई जोगाउनु भनेको केवल संस्कार जोगाउनु होइन, हामी कहाँबाट आएका हौँ, हामी को हौँ र समाजसँग हाम्रो सम्बन्ध के हो भन्ने सामूहिक चेतनालाई जोगाउनु हो।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस