विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल निम्स दाइको नामले परिचित कीर्तिमानी आरोही निर्मल पुर्जासहित नेपाली तथा अन्य मुलुकका १० पर्वतारोहीको पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी दुःखद निधन भएपछि हिमालमा सुरक्षासम्बन्धी सन्दर्भ बहसको विषय बन्न पुगेको छ।
निर्मल पुर्जाका सहयात्री पुरबहादुर गुरुङ युक्ताले सगरमाथा १० पटक आरोहण गर्नुका साथै विश्वका आठ हजार मिटर अग्ला १२ वटा हिमाल चढिसकेका थिए। यसपालि पनि हिमालमा ज्यानको बाजी थाप्दै कठोर परिस्थितिको सामना गर्दै आएका यी साहसीको प्रकृतिका अघि कुनै जोर चलेन। यो घटनाले विश्वमै हिमाली गतिविधिको केन्द्र मानिएको नेपाल जस्तो मुलुकलाई अझ बढी क्षति पुर्याएको छ।
विगतमा झण्डै आठ वर्ष लगाएर विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरी दक्षिण कोरियाका किम चाङ होले बनाएको विश्व कीर्तिमान छ महिना छ दिनमै भङ्ग गर्न सफल आरोही निर्मल पुर्जाका लागि आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल कुनै नौलो थिएन। उनले १० नेपालीसँगै हिउँदमा पहिलोपटक विश्वको दोस्रो अग्लो शिखर के टू हिमाल चढेर विश्व कीर्तिमान स्थापित गरेका थिए। उनले अन्य थुप्रै विश्व कीर्तिमानहरु समेत बनाइसकेका छन्। त्यस्ता अनुभवी पर्वतारोहीको हिमालमै अवसान हुनु सामान्य प्रसङ्ग होइन। सोही दुर्घटनामा अन्य अनुभवी आरोहीले पनि हिमालमै प्राण त्याग्नुपरेको थियो।
नेपालका हिमालहरु कैयौं दशक अघिदेखि नै विश्वभरिका पर्वतारोही तथा साहसिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्दै आइरहेका छन्। हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी आरोहीहरु विश्वको सर्वोच्च शिखर तथा अन्य विभिन्न हिमाल आरोहणमा संलग्न हुने गरेका छन्।
पर्वतीय पर्यटनबाट मुलुकले उल्लेखनीय आर्थिक लाभ प्राप्त गरिरहेको छ तर हिमालप्रतिको बढ्दो आकर्षणसँगै हिमाली क्षेत्रमा दुर्घटनामा परेर कैयौँ पर्वतारोहीले ज्यान गुमाएका छन्। गत वसन्त ऋतुमा सगरमाथा र मनास्लु हिमालमा गरी सात जनाको निधन भएको थियो। यस्तै मौसमजन्य जोखिम, उद्धारको चुनौती र उचित सुरक्षा व्यवस्था पनि गम्भीर मानिएका छन्। हिमाललाई सुरक्षित गन्तव्यका रुपमा स्थापना गर्न जोखिमप्रतिको सचेतता तथा प्रभावकारी सुरक्षा प्रणाली अपरिहार्य बनेको छ।
सुरक्षाका उपायहरू
हिमालमा पर्वतारोहीको सुरक्षाका लागि योग्यता र अनुभव महत्वपूर्ण मानिएको छ। पर्वतारोहीले पर्वतारोहणसम्बन्धी तालिम अनिवार्य रुपमा हासिल गरेको हुनुपर्ने तथा निश्चित उचाईका हिमाल आरोहण गरेपछि मात्र उच्च हिमाल चढ्ने अनुमति दिने व्यवस्था हुनु आवश्यक छ। प्रस्तावित पर्यटन विधेयकमा सगरमाथा आरोहणका लागि सात हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल आरोहण गरेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। आरोहण अनुमति पाउन स्वास्थ्य अनुमतिपत्र पनि अनिवार्य गरिएको छ।
मौसमको भरपर्दो पूर्वानुमानको व्यवस्था, गुणस्तरीय उपकरणको प्रयोग पनि महत्वपूर्ण मानिन्छ। खोज तथा उद्धार टोलीलाई चौबिसै घण्टा सजग राख्दै सञ्चार प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ। यस्तै सरकारी नीति नियम लागू गर्न सम्बन्धित निकायको सक्रियता पनि आवश्यक पर्दछ। यसक्रममा सुरक्षा मापदण्ड पालना नगर्नेलाई तत्काल कारबाही गर्न पछि पर्न हुँदैन।
‘ट्राफिक जाम’को सन्दर्भ
सगरमाथामा बेलाबखत ‘ट्राफिक जाम’ अर्थात् एकैपटक धेरै आरोहीहरुको भीड हुने गरेको सन्दर्भ पनि उठ्ने गर्दछ। एकै समयमा सगरमाथाको शिखरतर्फ प्रस्थान गर्ने मार्गमा आरोहीहरु भीड लागेको तस्बिर सार्वजनिक भएका छन्। यसै क्रममा सगरमाथालगायतका हिमालको बहन क्षमताबारे पनि चर्चा हुन थालेको छ। गत वसन्त ऋतुमा सम्पन्न पर्वतारोहण गतिविधि सम्बन्धमा केही दिनअघि आयोजित समीक्षात्मक छलफलमा सगरमाथालगायतका हिमालमा एकै याममा कति आरोहीलाई आरोहण गराउन सकिन्छ गहिरो र यथार्थपरक अध्ययनको आवश्यकता रहेको औँल्याइएको थियो।
हिमालमा व्यवस्थापन गर्ने विषयमा विज्ञहरु भूगर्भविद्लगायतको सल्लाह र सुझावमा राज्यले नीति स्पष्ट पार्नुपर्ने अवस्था देखिएको छ। सगरमाथामा निर्धारित समयभित्र ‘रोप फिक्सिङ’ गरी शिखरसम्म जाने बाटो खुल्ला गर्न सकिएमा जति धेरै आरोही भए पनि फरक नपर्ने धारणा पनि सो कार्यक्रममा व्यक्त भएको थियो। हिमाल आरोहणबाट सरकार तथा व्यवसायी एवं श्रमिकहरुलाई फाइदा हुने हुँदा यसलाई ट्राफिक जामसँग तुलना गर्न नहुने तर्क पनि रहेको छ।
हेलिकोप्टरको तयारी
विदेशी आरोहीहरु विभिन्न कीर्तिमान कायम गर्ने लक्ष्यका साथै सुरक्षित हिमाल आरोहणका लागि नेपाल आउन गरेका छन्। नेपालका अनुभवी तथा भरपर्दा पथप्रदर्शकहरु विदेशी आरोहीहरुका लागि प्रमुख आकर्षण बन्दै आएका छन्। नेपालमा आरोहण गर्न आउँदा हिमालमा २३ हजार फिटसम्म कुनै आपत्कालीन अवस्था परेमा हेलिकोप्टरबाट पनि उद्धार गर्न सकिने व्यवस्था भएकाले आरोहण अभियान सञ्चालनकर्ताहरु ढुक्क हुने गरेका छन्। हिमाली भेगमा हेलिकोप्टरबाट उद्धार गरिने ‘लाइफलाइन रेस्क्यू’का लागि सीमित मात्रामा भए पनि उपकरण तथा जनशक्तिको उपलब्धताले पर्वतारोहीहरुलाई राहतको अनुभूति गराउने गरेको छ।
विदेशमा यस्तै उद्धार गरिँदा पचासौँ हजार डलर लागत पर्नेमा नेपालमा सुलभ मूल्यमा उद्धार गर्न सकिने अवस्था रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुईजना पाईलटको व्यवस्था गरेपछि हेलिकोप्टरको क्षमता भएतापनि १८ हजार फिटभन्दा माथि एकजनाको मात्र उद्धार गर्न पाउने अवस्था रहेको छ।
हिमालमै ज्यान गुमाएकाहरू
हिमालमा आरोहणका क्रममा निधन भएका आरोही तथा अन्य सहयोगीहरुको शव अहिले पनि विभिन्न हिमालमा देख्न सकिन्छ। शव उठाउने काम पनि उद्धार नै भएकाले त्यसलाई सहज बनाउनुपर्ने देखिएको छ। यसका लागि स्पष्ट नीतिको आवश्यकता महसुस गरिएको छ। सर्वोच्च अदालतले सगरमाथाको दोस्रो शिविरभन्दा माथिबाट हेलिकप्टरले मानवीय उद्धार मात्र गर्ने गरी आदेश दिएकाले मृतक आरोहीको शव ल्याउन कठिनाई भइरहेको छ। मृत शरीरलाई बेग्लै ढाँचा वा इन्सुरेन्सको प्याकेजबाट ल्याउन पहल गर्नु आवश्यक देखिएको छ।
घट्दो पथप्रदर्शक
नेपालका हिमालप्रति आकर्षित भएर आउने विदेशी आरोहीहरुको सङ्ख्या बढे पनि त्यस्ता आरोहीलाई हिमाल चढ्दा बाटो देखाउने नेपाली पथप्रदर्शकहरुको सङ्ख्या भने दिनहुँ घटिरहेको छ। नेपाली युवाहरुको विदेशप्रतिको आकर्षणले पर्वतारोहण क्षेत्रमा पनि जनशक्ति घट्दै गएको छ।
हिमालमा विभिन्न पेसामा काम गरी विदेश गएकाहरु कैयौँ अन्य पेसामा समेत आबद्ध हुन पुगेको अवस्था रहेको छ भने केही नेपाली पथप्रदर्शकले विदेशका विभिन्न हिमालमा आरोहीहरुलाई मार्गनिर्देशन गर्ने कार्य गर्दै आइरहेका छन्। आगामी दिनमा पर्वतीय पथप्रदर्शकलगायत हिमालमा काम गर्ने अन्य श्रमिकहरु उचित मात्रामा उत्पादन गरेर यो क्षेत्रमा विदेशी श्रमिक भित्रिनसक्ने सम्भावनालाई रोक्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
धेरैपछि तालिम सञ्चालनको पहल
नेपाल पर्वतारोहण सङ्घले लामो समयदेखि पर्वतारोहीहरुका लागि आधारभूत र एडभान्स (विशिष्टीकृत) प्रशिक्षण प्रदान गर्दै आइरहेको थियो। हिमाल चढ्न अभिरुचि राख्नेहरुका लागि ती तालिमहरु अत्यन्त उपयोगी सावित मानिन्थ्यो तर कोभिड महामारीको विश्वव्यापी प्रकोपपछि यस्ता तालिम पुनः सञ्चालन हुन सकेका छैनन्। यसको असर पर्वतारोहणमा समेत पर्न गएको छ। यस्ता प्रशिक्षण नियमित रुपमा सञ्चालन गर्न सरकारले पनि सघाउनुपर्ने देखिएको छ।
विगतमा मनाङमा रहेको पर्वतारोहण प्रशिक्षण स्कुलमा यस्ता तालिम दिने गरिएको थियो। त्यो स्कुलको भवन जीर्ण भएकाले पुनःनिर्माण गरेर फेरि तालिम सञ्चालन गर्न आवश्यक तयारी गरिएको छ। यो वर्ष एउटा तालिम सञ्चालन गरिने लक्ष्य राखिएको छ।
नेपालका हिमालहरु राष्ट्रिय गौरवका आधार हुन् तर हिमालप्रतिको आकर्षणलाई मात्र केन्द्रविन्दुमा राखेर यसको दिगोपन सुनिश्चित हुन सक्दैन। बढ्दो आरोहण गतिविधिसँगै आरोही तथा आरोहणमा संलग्न अन्य सहयोगीहरुको सुरक्षाप्रति सचेत हुनु अत्यावश्यक देखिएको छ। संसारका विभिन्न मुलुकबाट नेपाललाई रोज्दै हिमाल चढ्न आएका आरोहीहरुलाई साहसिक अभियान सम्पन्न भएपछि सकुशल घर फर्काउने जिम्मेवारी समग्रमा नेपालकै हो।
यस्तै आफ्नो ज्यान समेत जोखिममा राखेर अतिथिलाई सघाउँदै आएका साहसी नेपाली सहयोद्धाको सुरक्षा पनि त्यति नै महत्वपूर्ण हुन्छ। यसैले जिम्मेवार पर्यटन संस्कृतिलाई महत्व दिनु समयको माग हो। हिमालले अवसर मात्र नभई जिम्मेवारी पनि साथै ल्याउने तथ्यलाई सबै सरोकारवालाले आत्मसात् गर्नसके मात्र हिमाली पर्यटन सुरक्षित र दिगो बन्न सक्दछ। रासस
यदि आत्महत्या नै समस्याको समाधान हो भने, हरेक दिन असंख्य मानिसहरू अनेकौँ पीडा, संघर्ष र अभावसँग जुध्दै पनि किन पुनः उठ्ने प्रयास गरिरहेका छन्? किन आफ्नो स्वासलाई अझै लामो बनाउने र हिम्मतलाई अझै बलियो बनाउने संकल्प गरिरहेका छन्?
रश्मी रिजालले किन यस्तो दुःखद निर्णय लिनुभयो भन्ने विषय अनुसन्धानले नै स्पष्ट पार्ला। तर उहाँको मृत्युले एउटा गम्भीर प्रश्न भने उठाएको छ—के हाम्रो कर्पोरेट कार्यसंस्कृतिले कर्मचारीहरूलाई असह्य मानसिक दबाबमा त धकेलिरहेको छैन?
आज पनि धेरै कर्मचारीहरू आफ्नो श्रमको उचित मूल्याङ्कन नपाएर, आफ्नो क्षमता बेवास्ता भएको महसुस गर्दै, 'एक दिन मेरो पनि पालो आउला' भन्ने आशामा वर्षौँदेखि इमानदारीपूर्वक काम गरिरहेका छन्। सानिमा क्यापिटलमा कार्यरत रश्मी रिजालको दुःखद निधनपछि यस्तै प्रश्नहरूले मेरो मनलाई निरन्तर घोचिरहेका छन्। के यस घटनाको निष्पक्ष छानबिन हुनेछ? के उहाँले न्याय पाउनुहुनेछ? यही प्रश्नले विगत चार दिनदेखि मन अशान्त बनाइरहेको छ।
उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो। आफ्नो परिवार र सन्तानभन्दा माथि यस्तो कठोर निर्णय किन रोज्नुपर्यो भन्ने प्रश्नले मनलाई झन् धेरै पीडा दिन्छ।
यस घटनालाई केवल व्यक्तिगत कमजोरी वा मानसिक स्वास्थ्यको एउटा मात्र पक्ष भनेर टुंग्याइहाल्नु उचित हुँदैन। कार्यस्थलको चरम दबाब, अस्वस्थ प्रतिस्पर्धा, अन्यायपूर्ण मूल्याङ्कन र व्यवस्थापकीय संस्कृतिले पनि यस्ता घटनामा भूमिका खेलेका छन् कि भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ।
बाहिरबाट आकर्षक, प्रतिष्ठित र व्यवस्थित देखिने बैंकिङ तथा कर्पोरेट संसारभित्र कति तनाव, कति असमानता र कति अमानवीय दबाब लुकेको हुन्छ भन्ने कुरालाई यो घटनाले फेरि एकपटक उजागर गरेको छ। यदि एउटा प्रतिष्ठित संस्थाको उच्च जिम्मेवारीमा रहेकी कर्मचारीले कार्यस्थलको मानसिक दबाब असह्य भएको महसुस गर्नुभयो भने, त्यो केवल एउटा व्यक्तिको कथा मात्र होइन, हाम्रो कार्यसंस्कृतिमाथि उठेको प्रश्न पनि हो।
यही सन्दर्भमा केही वर्षअघिको एउटा अनुभव सम्झना आउँछ।
एक प्रतिष्ठित कर्पोरेट संस्थामा धेरै महिला कर्मचारीहरू घरपरिवार, सन्तान, अध्ययन र जागिरलाई समान रूपमा अघि बढाइरहेका थिए। उनीहरूलाई देख्दा म आफैँ एक महिलाको नाताले गर्व गर्थें। उनीहरूको आत्मविश्वास प्रेरणादायी लाग्थ्यो।
तर समयसँगै मैले बाहिर देखिने चम्किलो छवि र भित्रको वास्तविकता फरक हुन सक्ने अनुभव पनि पाएँ। नेतृत्व, समान अवसर र सम्मानको कुरा गरिए पनि व्यवहारमा सबै कर्मचारीले त्यही सम्मान र न्याय पाउँछन् भन्ने आवश्यक रहेनछ। शक्ति, पहुँच र पदको प्रभावले धेरै अन्यायहरू ओझेलमा परिरहेका हुन्छन् भन्ने अनुभूति पनि भयो।
त्यसैले चिल्ला गाडी, आकर्षक पोसाक वा उच्च पदले मात्र कसैको चरित्र र नेतृत्वको प्रमाण दिँदैन। एउटा संस्थाको वास्तविक मूल्यांकन त्यहाँ कर्मचारीसँग गरिने व्यवहारले निर्धारण गर्छ।
कुनै पनि कर्मचारीले कार्यालयमा आफ्नो समय, ऊर्जा, सीप र इमानदारी समर्पण गरेपछि उसले सम्मान, निष्पक्ष मूल्याङ्कन र आफ्नो क्षमता अनुसारको अवसर पाउनु स्वाभाविक अधिकार हो। केही महिनाअघि ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काको दुःखद मृत्यु, त्यसअघि कुमारी बैंकसँग जोडिएका घटनाहरू र अहिले रश्मी रिजालको घटनाले एउटा साझा प्रश्न उठाएका छन्—के यो केवल एउटा संस्थाको समस्या हो, वा सिंगो कर्पोरेट क्षेत्रले आत्मसमीक्षा गर्नुपर्ने अवस्था हो?
कुनै पनि मानिस रहरले बिहानदेखि बेलुकासम्म दौडधुप गरेर जागिर गर्न जाँदैन। यदि पर्याप्त आर्थिक स्रोत हुन्थ्यो भने धेरैले आफ्नै व्यवसाय रोज्ने थिए। जीविकोपार्जनका लागि जागिर गर्नु कुनै कमजोरी होइन।
दुर्भाग्यवश कतिपय संस्थाहरूले यही बाध्यतालाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यम बनाइरहेका छन्। समयमै तलब वृद्धि हुँदैन, राम्रो कामको उचित मूल्याङ्कन हुँदैन, तर चाकडी, समूहबन्दी र आन्तरिक राजनीतिमा सक्रिय व्यक्तिहरूले सजिलै अवसर पाइरहेका हुन्छन्। जहाँ मेहनतको सम्मान हुँदैन र चाप्लुसीको पुरस्कार हुन्छ, त्यहाँ इमानदार कर्मचारीहरू निराश हुनु स्वाभाविक हो। यही निराशा, निरन्तरको मानसिक दबाब र अन्यायले मानिसलाई भित्रभित्रै कमजोर बनाउँदै लैजान सक्छ।
कर्पोरेट क्षेत्रको अर्को गम्भीर समस्या भनेको पदको दुरुपयोग र हैकमवादी संस्कृतिको विस्तार हो। जुनियर कर्मचारीहरूले गरेको मेहनतको श्रेय माथिल्ला तहले लिने, सक्षम कर्मचारीलाई अवसर नदिने, आफ्नै पद सुरक्षित राख्न अरूको प्रगति रोक्ने प्रवृत्तिले स्वस्थ कार्यसंस्कृति निर्माण हुन सक्दैन।
जब कुनै कर्मचारीले आफ्नो भविष्य देखेको संस्थामै विभेद, अन्याय र बेवास्ता मात्र पाउँछ, तब उसको आत्मविश्वास टुट्न थाल्छ। यही कारणले धेरै कर्मचारीहरू गहिरो मानसिक तनावमा पुग्ने अवस्था सिर्जना हुन्छ। अब हामीले गम्भीर भएर सोच्ने बेला आएको छ—अझै कति रश्मी र पीताम्बरहरूलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली मात्र लेखिरहने?
जबसम्म कर्पोरेट संस्थाहरूले नाफा र लक्ष्यभन्दा माथि उठेर कर्मचारीको जीवन, आत्मसम्मान र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदैनन्, यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम रहिरहन्छ।
नेपाल राष्ट्र बैंक, श्रम मन्त्रालय तथा सम्बन्धित नियामक निकायहरूले कार्यस्थलमा मानसिक स्वास्थ्य, कर्मचारी अधिकार, गुनासो सुनुवाइ र निष्पक्ष छानबिनका प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक छ। कर्मचारीले प्रतिशोधको डरबिना आफ्नो समस्या राख्न सक्ने वातावरण सिर्जना हुनु अत्यन्त जरुरी छ।
रश्मी रिजालको दुःखद अवसानले हाम्रो कार्यसंस्कृतिबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। अब श्रद्धाञ्जलीका शब्दहरू मात्र पर्याप्त छैनन्। कार्यस्थलमा सम्मान, समानता, न्याय र सुरक्षित वातावरण सुनिश्चित गर्ने दिशामा ठोस सुधार आवश्यक छ।
अन्त्यमा, कार्यस्थलको चरम मानसिक दबाब र सम्भावित प्रणालीगत समस्याका बीच असामयिक रूपमा ज्यान गुमाउनुभएकी सानिमा क्यापिटलकी तत्कालीन कम्प्लायन्स अफिसर रश्मी रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
अब कुनै पनि कर्मचारीले आफ्नो कार्यस्थलमै आत्मसम्मान र जीवन गुमाउन नपरोस्। यही हाम्रो साझा प्रतिबद्धता बन्नुपर्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।