साहित्यका अनेक विधालाई अझै श्रीवृद्धि गर्न सघाउने खालका प्रसिद्ध रचनाका साधकहरूले पनि शोक, मोह, पीडा र वेदनालाई नै साहित्य सिर्जनाको स्रोत मानेको पाइन्छ।
वाल्मीकि रामायणको रचना महर्षि वाल्मीकिले क्रौन्च पक्षीको हृदयविदारक वेदना र पीडालाई देखेर द्रवीभूत हुँदै सिर्जना गरेको मानिन्छ। त्यस्तै तुलसीकृत रामायणको रचना पनि उनले आफ्नी पत्नीको अपमानजनक व्यवहारबाट पीडित भएर सिर्जना गरिएको मानिन्छ।
वर्तमान युगमा पनि राष्ट्रकवि माधव घिमिरेले पत्नीशोकले अस्थिर भएका बेला आममानिसको मनमस्तिष्कलाई छुन सक्ने काव्य ‘गौरी’ को रचना गरेको पाइन्छ। यति ठुला साहित्य साधकले पनि यस्ता महान् कार्यको कारण शोक, मोह र वेदनालाई नै मानेको पाइयो भने साधारण मायाबद्ध जीवमा त शोक र मोह हुने नै भयो।
‘मेरो कविता यात्रा’ (कवितासंग्रह) का लेखक गोविन्दशरण ढुंगानाले पनि छोरो ‘सुस्त मनस्थितिको हुँदा’ शीर्षकको लघु काव्य रचना गरी कविता यात्रा प्रारम्भ गरेका रहेछन्। त्यस्तै कवि ढुंगानाले दोस्रो खण्डकाव्य आहत मातृहृदयको रचना गरेका रहेछन्। जुन काव्य पढ्दा पाठकका आँखामा आँसु डब्किन थाल्छ।
सम्पूर्णानन्द संस्कृत विश्व विद्यालय वारणासीबाट साहित्य शास्त्री गरेका कवि ढुंगानाले ८० वसन्त पार गरिसकेका छन्। बैंकिङ क्षेत्रको दीर्घसेवापछि निवृत्त भएर कहिले चताराधामस्थित गुरुकुल र कहिले शताक्षी धामको गुरुकुलका विद्यार्थीहरूलाई शिक्षादीक्षाका लागि समय खर्चिरहेका कविले यस संग्रहमा २०१६ को पहिलो कविता ‘नेपाली!’ र २०७८ सालमा लेखिएको ‘हे नेता!’ कविता समावेश गरेका छन्। यस अर्थमा यो कवितासंग्रहलाई कविको जीवनक्रमसँगै अगाडि बढेको काव्य कृति मान्न सकिन्छ किनभने कविले अनेक अनुभव र अनुभूतिलाई कवितामार्फत प्रस्तुत गरेका छन्।
प्रस्तुत ‘मेरो कविता यात्रा’ (कवितासंग्रह) मा कविले ७२ वटा कविता प्रस्तुत गरेका छन्।
‘कीर्ति नेपालको विश्वमा फैलियोस्’ श्रग्विणी छन्दमा लेखिएको कविता हो (पृष्ठ ५४)। यस कवितामा उनी लेख्छन्,
धर्मले, कर्मले, शीलले, शान्तिले
शूरता–वीरता, मित्रता, कान्तिले
चन्द्रसूर्य ध्वजा व्योममा चम्कियोस्
कीर्ति नेपालको विश्वमा फैलियोस्।
यसै संग्रहमा रहेको ‘सञ्जालप्रति’ र ‘प्रेमले साथ लागौं’ कविता मन्दाक्रान्ता छन्दमा लेखिएको छ। प्रेमले साथ लागौं कवितामा कविले लेखेका छन्ः
हामी जागौं, जगतगुरुका प्रेमले साथ लागौं
थालेका ती जनहित हुने कर्मलाई सपारौं
कोही केही धन दिन सकौं, शक्ति लाऔं कसैले
उचा पारौं बहुजन मिली राष्ट्रलाई सबैले।
यस्तै ‘सन्तको बिदाइ’ शीर्षकको कविता पञ्चचामर छन्दमा लेखिएको छ (पृष्ठ ८७)। यसै कविताभित्रको एक अंशः
फुटाउने, चुँडाउने हुँदैन सन्तको मति
मिलोस् सन्त दर्शनै बिलाइ जान्छ दुर्गति
हजुर आउँदा यहाँ भयो सुरम्य संगत
फिरेर जान लाग्नुभो हुँदैछ चित्त आहत।
यस संग्रहका अधिकांश कवितामा कवि सहज र सरल सुनिन्छन्। कविको काव्य शिल्प, विचार र प्रस्तुतिमा मिठास पाइन्छ। देश आफ्नो नबिर्स (पृष्ठ ७५) शीर्षकको कवितामार्फत आजका तरुण पुस्तालाई सम्बोधन गर्दै उनी लेख्छन्ः
बिर्स्याैं राम्रा अभिनव कुरा नीतिका शास्त्र बिर्स्याैं
बिर्स्याैं श्रद्धा विनय समता ज्ञान आध्यात्मक बिर्स्याैं
बिर्स्याैं आफ्नोपन तर तिमी हाय आमा नबिर्स
नेपालीकै तनमन भए देश आफ्नो नबिर्स।
कविले यस कवितामार्फत जुनसुकै कारणले बिदेसिनुपरेको भए पनि आफ्नो मातृभूमि र जिम्मेवारीलाई नबिर्सन आग्रह गरेका छन्। हरेक दिन बिदेसिइरहेका तरुण पुस्ताले सबै कुरा बिर्सिए पनि आफ्नो दायित्व भुल्न हुँदैन भनेर सम्झाएका छन्।
प्राज्ञ दधिराज सुवेदीले यस कृतिबारे भूमिका खण्डमा लेखेका छन्, ‘ढुंगाना राष्ट्र, राष्ट्रियता, मानवता र लोकतन्त्रका निमित्त काव्य सिर्जना गर्ने कवि हुन्।’
कविले आफ्नै सन्तानको शारीरिक अशक्ततालाई हरेक दिन बेहोरेको हुँदा शारीरिक पूर्णता नभएका सबैको मनोबल बढाउनु कति महत्त्वपूर्ण छ भनेर ‘अपांग समर्थ हुन्छन्’ कवितामार्फत पाठकको ध्यान आकृष्ट गरेका छन् (पृष्ठ ७७):
राख्ने संसारमा कृति छ, सामथ्र्य अपांगमा
मौका मिलोस् राख्नेछन्, पैताला शैल शिरमा
कवि ढुंगानाले नेपालको राजनीतिक फाँटमा देखिएको विकृतिलाई पनि छड्के नजर लगाएर व्यंग्य गरेका छन्। ‘हे नेता !’ शीर्षकको कवितामार्फत गरिएको व्यंग्यमा हिजोका राजाले भन्दा आजका नेताले देशको हुर्मत लिएको विषयलाई उतारेका छन्। एउटा राजा हुँदा थोरै हुर्मत लिन्थे तर नेता धेरै हुँदा त्यसको मात्रा निकै बढेको भन्दै कविता नेताहरूप्रति यसरी कटाक्ष गरेका छन्ः
उनै एउटा राजा सकलजनका रक्षक थिए
सयौं राजा ऐले गरिब जनका शोषक भए
बढायौ धेरै नै विकृतिपन यो राष्ट्रभरिमा
झुकायौ है नेता! अबुझ मतिले राष्ट्र गरिमा।
समग्रमा कवि राष्ट्रिय चिन्तनमा लपक्क नुहेका छन्। प्रवृत्ति र पुरुषार्थ सबै कवितामा अटाएका छन्।
संग्रहमा प्रस्तुत केही कविता पढ्दा उनी आध्यात्मिक कवि हुन् भन्ने पुष्टि हुन्छ। यस्तै कतिपय कविता उन्दा छन्दमा नबाँधिई उन्मुक्त हुने प्रयत्न गर्दा स्वर, लय, यति, गति आदिमा क्रमभंग भएको पाइन्छ
(हे नेता ! पृष्ठ –९७)। उदाहरणः
गरेनौ क्यै सुकृत तिमीले राष्ट्र हितमा
गरी टुक्रा जिल्ला अबुझ बनी बाँड्यौ, भन किन?
लियौ कात्रो किन्दा पनि जनकको छिः कमिसन
ती दाताको सामु कसरी तिमी जान्छौं अब भन।
यो कविता कृतिबाहेक कविले एकादशी महात्म्य नेपाली अनुवाद), दिव्य भजन माला, शिरणीका साइबाबा (अनुवाद), जगत्गुरु वृत्तान्त (खण्डकाव्य)लगायतका कृतिहरू सिर्जना गरिसकेका छन्।
‘आफूलाई चिनौं’ कवितामार्फत कविले गरेको अनुरोध मननीय लागेको छ। उनले लेखेका छन्ः
यति समय बितेको रैछ थाहै नपाइ
भर परि अरूमा नै रैछ हाम्रो हिँडाइ
अब पनि नबुझे को गर्छ हाम्रो भलाइ?
सहजसित चिनौ लौ आफूले आफूलाई।
विनयी स्वभावका धनी कवि ढुंगानाले ८० वसन्त पार गरिसक्दा पनि उत्तिकै सक्रियता देखाएका छन्। ११२ पृष्ठको पछिल्लो कवितासंग्रह शिक्षाप्रद हुनुका साथै उत्तिकै उपदेशात्मक पनि छ।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्।
भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।
त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।
यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।
उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।
वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।
शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।
लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।