सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ। सरकारले प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख गर्दै नयाँ निर्वाचन भई आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ,’ भन्ने उल्लेख गर्दै प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल लम्बाउन खोजेको थियो।
केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत संसदको कार्यकाल लम्बाउन खोजेपछि भएपछि सरकारको आलोचना सुरु भएको थियो। व्यापाक आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कानुनमन्त्री गोविन्द प्रसाद कोइरालालाई विधेयकको व्यवस्था हटाउन निर्देशन दिएका थिए।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपछि प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री कोइरालाले विधेयकमा रहेको कार्यकाल बढाउने व्यवस्थालाई संशोधनमा माग भए बमोजिम हटाइएको बताएका थिए। सोमबारसम्म ११ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो। जसमा सत्तारुढ दलकै सांसदहरू रामकुमारी झाक्री, प्रकाश रसाइली, रंगमती शामी र अमृता थापाले विधेयकको दफा १३,,१४ र १५ हटाउनुपर्ने संशोधन दर्ता गरेका थिए।
प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री कोइरालाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेको बताए। उनले प्रतिनिधिसभाको कार्यकालको अन्योलता हटाउनका लागि मात्रै यस्तो विधेयक ल्याएको भन्दै सरकारको बचाउन गरेका थिए। दफा १३ मा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (२) मा रहेको आयोगले भन्ने शब्दपछि ‘सोको अभिलेख राखी’ भन्ने शब्दहरू थपिएका थिए।
दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ। दफा १५ मा प्रदेशसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रदेशसभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते घोषणा भइसकेको अवस्थामा संसदको कार्यकाल लम्बाउन लागेपछि आलोचना भयो। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले विधेयक फिर्ता लिन सहमति भएपछि नै सत्तारुढ दलका सांसदहरूले संशोधन हालेको कुरा कानुनमन्त्रीले कोइरालाले नै बताएका थिए। संसद्को कार्यकाल कहिलेबाट सुरु हुन्छ र कहिले सकिन्छ भन्ने विषयमा अन्योल भएपछि सरकारले पवित्र उद्देश्य बोकेर विधेयक ल्याएको, तर, संसद् नै नभएको आफूले तलब भत्ता खान ल्यायो भनेर प्रचार गरिएको पनि उनले बताए।
प्रतिनिधिसभाको कार्यकालबारे ‘दिन गन्ती’ सुरु भएपछि अब प्रतिनिसधसभाले गर्नुपर्ने काम धेरै बाँकी रहने भएका छन्। संसद्मा रहेका दर्जनौ विधेयकहरू निस्क्रिय बन्ने भएका छन्। प्रतिनिधिसभाले अब निरन्तर छलफल गरेपनि धेरै विधेयक पारित गर्ने अवस्था नदेखिएको संसद सचिवालयले जनाएको छ। २०७४ देखि प्रतिनिधिसभामा उत्पत्ति भएका ९० वटा विधेयक प्रमाणीकरण भएका थिए। राष्ट्रियसभामा गरी १ सय ५२ विधेयक दर्ता भएका थिए। सरकारले ल्याएका ११ विधेयक फिर्ता भएका थिए।
चालु अधिवेशनमा प्रतिनिधिसभामा २१ विधेयक पारित भए पनि १२ विधेयक प्रतिनिधिसभाले पारित गर्ने तयारी छ। सबै पारित गर्न नसकेपछि पारित गर्न बाँकी रहेका मध्ये बेपत्ता पारितएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन लाई संशोधन गर्न बनेको विधेयकलाई भने फास्टट्र्याक मै पारित गर्ने तयारी छ। अहिले यो विधेयक कानुन तथा मानवअधिकार समितिमा छलफलमा छ।
कोरम नपुगेपछि बैठक स्थगित
केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने बेलामा सांसदहरूको गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभा को दोस्रो बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो। पहिलो बैठकमा कोरमको प्रश्न उठेपछि सांसदहरूको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। कुल ६९ जना रहनु पर्नेमा ५८ जना सांसद मात्रै बैठकमा उपस्थित रहेका थिए।
गणपूरक संख्या पुग्न एकचौथाइ सांसद हुनुपर्ने संविधानको व्यवस्था छ। संसद्मा धेरैपटक कोरम नपुगेर बैठक स्थगित भइरहेका छन्।
सरकारले प्रतिनिधिसभाको कार्यकाल थप्ने गरी संशोधन गर्न संसद्मा विधेयक ल्याएपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ। सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सरकारले परामर्शबिना प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको अवस्थामा विधेयक संशोधन गर्न नमिल्ने जनाएको छ।
आयोगले संविधानमा समेत प्रतिनिधिसभा तथा प्रदेशसभा सभामुख तथा उपसभामुखको कार्यकाल निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म कायम रहने विषयमा यसअघि नै सरकारको ध्यानाकर्षण गराएको थियो। ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाई आयोगले दिएको परामर्शका आधारमा निर्वाचन मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको सम्बन्धमा कानुन संशोधन गर्नु वाञ्छनीय देखिँदैन,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘प्रतिनिधिसभा वा प्रदेशका अन्य सदस्यहरूको सोही पदका लागि हुने निर्वाचनमा मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म रहने गरी कानुन संशोधन गर्नु उपयुक्त देखिँदैन।’
संविधानको धारा ८५ तथा धारा १७७ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६१ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६१ मा पहिलो निर्वाचित हुने प्रणालीतर्फ निर्वाचन परिणाम प्रकाशन भएको मितिलाई तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलको उम्मेदवार निर्वाचित घोषणा भएको मितिलाई मान्ने व्यवस्था छ। ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरकफरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने देखिएकाले सोही आधारमा आयोगले परामर्श दिई सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्न मिति घोषणा गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यसमा अगाडि भनिएको छ, ‘संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (क) तथा धारा १८२ को उपधारा (६) को खण्ड (क) मा प्रतिनिधिसभा वा प्रदेशसभा विघटन भएको अवस्थामा समेत सभामुख र उपसभामुख अर्को निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेबाट निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरू सोही पदको निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त देखिँदैन।’
संविधानको धारा २९६ को उपधारा (१) मा संविधानसभाबाट व्यवस्थापिका संसद्मा रूपान्तरण भएको सदनको कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम हुने व्यवस्था गरेको भए पनि सोही उपधाराको प्रतिबन्धात्मक वाक्यांशले कार्यकाल पूरा हुनुअगावै प्रतिनिधिसभाको निर्वाचन हुने भएमा मनोनयन पत्र दाखिला हुने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहने व्यवस्था भएको आधारमा २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीबमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका संसद् कायम रहेको विगतको अनुभव भएको आयोगले जनाएको छ ।
आयोगले संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग समेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता–२०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको स्मरण गराएको थियो। आचारसंहितामाथि उल्लिखित सिद्धान्त, अभ्यास तथा प्रतिनिधिसभा तथा प्रदेशसभाका सभामुख र उपसभामुखको पद बहाल सम्बन्धमा भएको संवैधानिक व्यवस्थासमेतको आधारमा संसद् सदस्य, प्रदेशसभा सदस्य, गाउँसभा सदस्य वा नगरसभाको सदस्य पदमा बहाल रहेको व्यक्ति संसद्को सदस्य वा प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयन पत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः मुक्त हुने व्यवस्थासमेत गरिएको आयोगले जनाएको थियो।
संविधानको धारा २४६ मा आयोगले संविधान र संघीय कानुनको अधीनमा रही निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने र आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानुनबमोजिम हुने प्रावधान रहेको सन्दर्भमा निर्वाचन आयोगसँग सम्बन्धित तथा आयोगबाट कार्यान्वयन हुने कानुन निर्माण तथा संशोधनको प्रक्रियामा आयोगको सहभागिता रहने तथा परामर्श गर्ने अभ्यास रहँदै आएको आयोगले जनाएको थियो। ‘आयोगको सहभागिता वा परामर्शबिना विधेयकको मस्यौदा पेस भएको बुझिएकाले कार्यकाल सम्बन्धमा गरिने नयाँ व्यवस्थाबाट थप अन्योल उत्पन्न हुनुका साथै यसबाट निर्वाचनको स्वच्छता र निस्पक्षतामा समेत प्रश्न उठ्नसक्ने भएको र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ लाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले तर्जुमा गरेको आचारसंहिता तथा निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयनमा समेत असहजता सिर्जना हुने अवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रस्तुत सन्दर्भमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ लगायत निर्वाचनसम्बन्धी कानुन निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाउँदा आयोगसँग परामर्श र समन्वय हुने व्यवस्था हुनसमेत हुने आयोग अनुरोध गर्दछ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।