नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् ।
काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थाविरुद्धको कदम चाले ।’ नेपालले संघीयता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थालाई कुनै हालतमा पनि संकटमा पर्न र संशोधन गर्न नदिने बताए । उनले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको उल्लेख गर्दै संविधानविरोधी कदम अदालतले खारेज गरिदिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओली र प्रतिनिधिसभा विघटनकोे विरोधमा सडक संघर्षमा रहेको नेकपा दाहाल–नेपाल समूहले विभिन्न राजनीतिक दलसँग सामूहिक अन्तक्र्रिया गरेको हो । दाहाल–नेपाल समूह केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रतिनिधिसभा विघटन र राजनीतिक ‘कु’ नामक अन्तक्र्रिया राखिएको थियो । अन्तक्र्रियामा सहभागी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि गएर
‘कु’ गरेको बताए । प्रधानमन्त्रीले संविधान र व्यवस्थामाथि नै ‘कु’ गरेको तर्क उनले गरे । उनले प्रधानमन्त्री ओलीले गरेको ‘कु’ २०१७ सालमा राजा महेन्द्र र २०६०/६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ जस्तै भएको उनले बताए । ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना भयो पुस ५ गते, यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजा महेन्द्रले जुन कु गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन कु गरे, त्यसैको हाराहारीको यो कु हो । यो संवैधानिक कु होइन, संवैधानिक कु त संविधानअन्तर्गत हुन्छ । यो त संविधानमाथिको कु हो, व्यवस्थामाथिको कु हो । त्यसो हुनाले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौं,’ भट्टराईले भने ।
नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न आफूहरू तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ थियो । ‘हाम्रो स्पष्ट धारणा छ, ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलनमा हाम्रो साथ रहन्छ,’ सिंहले भने । उनले व्यक्तिको निहित स्वार्थमा उठाइएको विघटनको कदम खारेजयोग्य रहेको भन्दै मुलुकमा निम्तिएको संकटविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला आएको बताए ।
अन्तक्र्रियामा वामपन्थी नेताहरू सिपी गजुरेल र सिपी मैनाली, साझ पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दल आ–आफ्नै हिसाबले आन्दोलनका कार्यक्रम लिएर सडकमा पुगेका छन् । सबै दलले विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक कदम भने पनि आन्दोलन आ–आफ्नै तरिकाले अघि बढाएका छन् । दाहाल–नेपाल समूह अहिले दोस्रो चरणको आन्दोलनका कार्यक्रम लिएर सडक संघर्षमा छ । उसले कांग्रेससहितका दलसँगको सहकार्यमा सडक संघर्षमा जान खोजे पनि त्यो सफल हुन सकेको छैन ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) बाट मिश्रित सुझाव आएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा एमिकस क्युरीका रूपमा आएका चारजना कानुन व्यवसायीमध्ये दुईजनाले विघटनविरुद्ध, एकजनाले पक्षमा र एकजनाले दुवै पक्षसँग मिल्नेगरी आफ्ना तर्क प्रस्तुत गरेका छन्।
नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन्। त्यसैगरी सर्वोच्च बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले सुझाव दिए। वैद्य र घिमिरेले विघटनविरुद्ध सुझाव दिए भने मल्लले विघटनको पक्षमा राय दिइन्। केसीले दुवै पक्षलाई मिल्नेगरी सुझाव दिएका छन्।
वरिष्ठ अधिवक्ता केसीले विश्वासको मत लिनु प्रधानमन्त्रीको संवैधानिक बाध्यता भएको बताए। ‘संविधान पालना गर्नैपर्ने र धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ श्रीमान्’, उनले भने। विश्वासको मत नलिई प्रधानमन्त्री हुन सक्ने कि नसक्ने भन्ने विषयमा उनले प्रधानमन्त्रीको संवैधानिक दायित्व र नैतिक दायित्व छुट्याउनुपर्ने बताए। ‘संवैधानिक वा नैतिक दायित्व अदालतले छुट्याउनुपर्छ। नैतिक दायित्व हो भने अदालत प्रवेश गर्न सक्दैन। संवैधानिक दायित्व हो भने संविधान छल्न मिल्दैन’, उनले भने।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको भएकोमा उनले समर्थन जनाए। आधार प्रस्तुत गरेमा नियुक्त गर्नसक्ने भनिए पनि आधार नखुलाइएको उनले बताए। ‘आधार राष्ट्रपतिले हेर्ने कुरा हो तर हाम्रो संविधानमा छैन। नियुक्ति गर्दा विश्वासको मत लिन्छ कि लिँदैन, हेर्नुपर्छ। विवादास्पद छ भने राष्ट्रपतिले हेर्नुपर्छ’, उनले भने।
राष्ट्रपतिलाई प्रधानमन्त्री स्वीकार र अस्वीकार गर्ने अधिकार हुने उनको तर्क छ। उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न भने अदालतले नमिल्ने तर्क गरे। संविधानले दलीय व्यवस्था गरेकाले दलका सदस्यलाई ह्विप लाग्ने उनको भनाइ छ। ‘स्वतन्त्र सांसदलाई दलको ह्विप लाग्दैन। दलको व्यवस्था छ, राजनीतिक दलसम्बन्धी ऐन छ, त्यसैले ह्विप लाग्छ’, उनले भने। त्यसै क्रममा इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधे, ‘मलाई इजलास तोक्ने अधिकार छ तर तोक्दिनँ भन्न पाइन्छ त ?’ त्यसको जवाफमा वरिष्ठ अधिवक्ता केसीले त्यो अवशिष्ट अधिकार भएको र बेन्च तोक्दा मलाई नै तोक भन्न न्यायाधीशले नमिल्ने बताए। कुनै दुराशय नराखी स्वविवेक र न्यायपूर्ण ढंगले इजलास तोक्नुपर्ने जबाफ उनको थियो।
त्यसैगरी वरिष्ठ अधिवक्ता वैद्यले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि नेतृत्व गर्न नमिल्ने बताए। ‘एकचोटि हारिसकेपछि नेतृत्व छोडेर राजीनामा गरी बाटो खाली गरिदिनुपथ्र्यो। फेरि प्रधानमन्त्रीमा नियुक्ति गरिनु गलत हो’, उनले भने। पूर्वमहान्याधिवक्तासमेत रहेका वैद्यले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरे। ‘जीवन्त संविधान बनोस्, भोलिका पुस्ताले गर्व गर्नेगरी फैसला आओस्’, यसो भन्दै उनले बहस टुंग्याए।
वरिष्ठ अधिवक्ता पाठकले भने रिट निवेदन खारेज हुनुपर्ने तर्क गरिन्। एमिकस क्युरीले स्वतन्त्र ढंगले आफ्ना सुझाव अदालतमा प्रस्तुत गर्ने भए पनि उनले विपक्षका वकिलले जस्तै गरी रिट खारेजीको माग गरिन्। अन्य एमिकस क्युरी भने रिट सदर र बदरको पक्षमा बोलेनन्।
वरिष्ठ अधिवक्ता पाठकले धारा संविधानको ७६ (५) बमोजिम राजनीतिक दलबाहिर गएर स्वतन्त्र सांसद हुने व्यवस्था संविधानमा कल्पना नगरिएको बताइन्। ‘दलभन्दा बाहिर गएर सांसद स्वतन्त्र हुन् भनेर व्याख्या गर्न मिल्दैन। सांसद दलभित्र पर्ने भएकाले स्वतन्त्र हैसियत दिइएको छैन’, उनले भनिन्, ‘राजनीतिक दलबाट निर्वाचित सांसद दलका कुनै व्यक्तिविरुद्ध जान सक्छन् तर आफ्नै दलको प्रधानमन्त्रीविरुद्व जान सक्दैनन्।’ स्वतन्त्र हैसियत भएका सांसदले मिलीजुली सरकार बनाउन सक्छन् भन्दै उनले थपिन्, ‘तर धारा ७६ (५) लाई अपव्याख्या गरिनुहुँदैन।’
आफ्नै दलको नेतृत्वमा भएको सरकारविरुद्व जानु भनेको जनादेशविरुद्ध गएको र आफ्नो दलभन्दा बाहिर गएर समर्थन गर्नु दलीय व्यवस्थाविरुद्ध भएको उनको तर्क थियो। एउटा दलबाट निर्वाचित सांसदले अर्का दलका नेतालाई समर्थन गर्न पाइन्न भन्दै उनले थपिन्, ‘निर्वाचन घोषणा गरेको बेला अब उचित र मनासिब निकास निर्वाचनले नै दिने हो। रिट निवेदकको मागबमोजिम रिट खारेज गर्नुपर्छ।’
वरिष्ठ अधिवक्ता घिमिरेले कुनै पनि प्रधानमन्त्री जनताले विश्वास नगरेको खण्डमा एक मिनेट पनि सत्तामा बस्न नहुने तर्क गरे। उनले निर्दलीय प्रधानमन्त्री हुँदैमा बहुदलीय सिद्धान्त नखल्बलिने बताए। विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने र मन्त्रीसम्म पनि हुन नपाइने उनको जिकिर थियो।
‘धारा ७६ (५) मा नियुक्ति हुनुपर्ने दलको समर्थन पनि भए राम्रो हो तर दलको सदस्यमात्रै हुनुपर्छ भन्ने होइन’, घिमिरेले भने, ‘पार्टीहरूलाई धारा ७६ (१), (२) र (३) मा प्रशस्त फाइदा दिइसकेको छ। फाइदा लिन नसकेपछि उपधारा (५) ले पार्टीभन्दा बाहिर गएर भए पनि सरकार बनाऊ भनेको हो’, उनले भने। ‘धारा ७६ (२) र (३) बमोजिमको सरकारले (४) अनुसार विश्वासको मत मागे पाइँदैन ? विश्वासको मत दिने जुन धाराबाट पनि प्रतिधिसभा सदस्य नै हुन्’, प्रधानन्यायाधीश जबराले सोधे।
जवाफमा वरिष्ठ अधिवक्ता घिमिरेले धारा ७६ (३) मा विश्वास गुमाएका प्रधानमन्त्री उपधारा (५) मा आउन नपाउने बताए। ‘विश्वासको मत गुमाएको व्यक्ति आउन पाइँदैन। टेस्ट भैसकेको होइन, नयाँ आउने हो। हावादारी मान्छे आउन मिल्दैन। उपधारा ३ को प्रधानमन्त्रीमा आउन ढोका लगाएकै हो’, उनले भने। सर्वोच्च अदालतले गम्भीर संवैधानिक मुद्दा भएकाले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट गरी ४ जना वरिष्ठ अधिवक्तालाई सुझावका लागि एमिकस क्युरी माग गरेको थियो। सोही मागअनुसार आएका चारजनाले सुझावस्वरूप बहस गरेका हुन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।