किशोरावस्थामा मानसिक स्वास्थ्य
१५ कार्तिक २०७९
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
किशोरावस्थामा मानसिक स्वास्थ्य

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको ग्लोबल तथ्यांकले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक ७ जनामध्ये एक व्यक्तिमा मानसिक समस्या देखाएको छ। साथै १५ देखि २९ वर्षे उमेर समूहको कुल मृत्युमा अत्महत्या चौथो स्थानमा छ। परिवर्तित सन्दर्भमा अस्वाभाविक प्रतिस्पर्धा तथा भौतिकवादी दौडमा सफल हुन नसक्दा युवावस्थामा मानसिक समस्या देखिनु स्वाभाविकै ठानिए पनि लाउँलाउँ।।।खाउँखाउँ उमेरका किशोर/किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। अनि किशोरावस्थामा देखिने मानसिक समस्यालाई कुनै भूगोल तथा आर्थिक सम्पन्नता र विपन्नताले निर्देशित गरेको पाइँदैन बरु संसारभर स्कुले उमेरका बच्चामा दिमागी रोग बढेको देखिएपछि सबैले चिन्ता गर्नुपर्ने भयो नै। साथै, विश्व स्वास्थ्य संगठनको आंकडा भन्दा नेपालको तथ्यांक खासै पृथक नभएकाले किशोरावस्थाको दिमागी रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समयमै ध्यान दिनुपर्ने देखिन्छ। किशोरावस्थामा के कारणले दिमागी समस्या देखिन्छ रु अनि के कस्तो रणनीतिक परिवर्तन तथा आनीबानी फेर्दा स्कुले उमेरका बच्चालाई मानसिक समस्याबाट बचाउन सकिन्छ त? भन्ने विषयमा भएका अन्वेषण उल्लेख गर्नु यो आलेखको लक्ष्य हो।  

प्रकाशित दर्जनौँ अध्ययनअनुसार किशोरावस्था जीवनको अन्य पक्ष भन्दा निकै हिसाबले पृथक छ। राम्रो अवसरका लागि स्कुले विद्यार्थीहरू ठूलो जोखिम तथा चुनौतीको सामना गर्न तयार हुन्छन्। धेरै व्यक्तिमा गरिएको ब्रेन इमेजिंगले उत्प्रेरणा र सिक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने मस्तिष्कको लिम्बिक रिजन्स वयस्क र बच्चाको तुलनामा किशोरावस्थामा निकै क्रियाशील हुन्छ। स्कुले विद्यार्थीहरूले नवीन ज्ञान र प्रविधि अन्य उमेर समूहको तुलनामा छिटो सिक्नुको कारण उनीहरूको लिम्बक सिस्टमले न्युरोनल नेटवर्कसँग दरिलो सम्बन्ध राख्न सक्नुलाई मान्छन् न्युरोसाइन्टिस्टहरू। न्युयोर्क विश्वविद्यालयका डा. अग्लिस्का टिमुलाको समूहले सन् २०१२ मा प्रकाशित गरेको अन्वेषणले जीतको संभाव्यता न्युन भएको अवस्थामा समेत किशोरहरू जोखिम लिन हिच्किचाउँदैनन् भन्ने देखायो। त्यस्तै सन् २०१५ मा प्रकाशित अर्को अनुसन्धानले स्कुल उमेरका प्रशिक्षार्थीहरू युवाको तुलनामा आफ्नो ज्ञानलाई समयानुकूल परिमार्जन गर्दै आफूलाई प्रतिस्पर्धी बनाउँछन् भन्ने देखायो। स्मार्टफोन र कम्प्युटरमा भएका अपडेट्स तथा नवीन एप्सहरूलाई हाइस्कुलका विद्यार्थीले अभिभावकको तुलनामा सजिलै आत्मसाथ गर्न सक्नुको कारण उनीहरूको नबिन दिमागी क्षमता देखियो। त्यसैले घरमा कुनै इलेक्ट्रोनिक सामान बिग्रँदा छोराछोरीको मद्दत माग्नु अस्वाभाविक हुँदैन। 

विश्वभर स्कुले विद्यार्थीको सुताइको ढाँचा फेरिएको देखिन्छ। राति ढिलोसम्म जागा बस्ने बानी प¥यो उनीहरूमा। संयुक्त राज्य अमेरिकाका हाइस्कुलका विद्यार्थीमा गरिएको एउटा अध्ययनले सुताइको अवधि र सुखको अनुभूतिबीच अनौठो अन्तरसंबन्ध स्थापित गरेको छ। सन् २००९ देखि झण्डै एक दशकसम्म गरिएको उक्त अध्ययनले पछिल्ला वर्षहरूमा दैनिक ७ घण्टा रात्रि विश्राम नलिने विद्यार्थीको संख्या सालिन्दा बढेको देखायो। सुताइ अवधि घट्दा विद्यार्थीले पढाइमा राति बढी समय खर्चिए अनि उनीहरूले थप विषयगत ज्ञान हासिल गरी आफूलाई शैक्षिकरूपले थप सुरक्षित महसुस गर्नुपर्ने हो। तर यथार्थमा परिणाम पृथक देखिएको छ। जसै राति ७ घण्टा नसुत्ने विद्यार्थीको संख्या बढ्दै गएको छ, हाइस्कुलका विद्यार्थीले आफूलाई थप दुःखी र असहाय महसुस गरेका पाइएको छ। मोलिकुलर लेभलमा गरिएको अर्को अनुसन्धानअनुसार दिनको कम्तीमा ७ घण्टा पनि सुताइ नपाउँदा मानवीय दिमागले दैनिक हासिल गरेको ज्ञानलाई उचित तवरले प्रशोधन गर्न नसक्ने भएकाले पढाइमा धेरै समय खर्चिए पनि उपलब्धि भने ऋणात्मक हुन्छ। पढाइमा खर्चिएको समयको अनुपातमा शैक्षिक उन्नयनको अवसर नपाउँदा विद्यार्थीमा निराशा छाउनु अस्वाभाविक भएन। तसर्थ, पढ्ने विद्यार्थीले उच्च सफलताका लागि सुताइमा पनि ध्यान दिन आवश्यक देखिएको छ।  

विद्यार्थीले राति कम सुत्नुको मतलब उनीहरूले किताबी अध्ययनमा थप समय खर्चिएको भन्ने कुरा मान्न तयार छैनन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस् एन्जलसस्थित सेन्टर फर द डेभलोपिङ एडोलेसेन्टका निर्देशक एन्ड्रियु फुलिग्नी र एन्ड्रियाना ग्याल्भेन। सामाजिक सञ्जालको विस्तारले विद्यार्थीलाई ज्ञान हासिलमा तगारो मात्र नहालेको बरु उनीहरूलाई सुत्ने अवसरबाट समेत वञ्चित गरेको ठान्छन् प्राध्यापकद्वय। सामाजिक सञ्जालमा अत्यधिक लागु हुँदा विद्यार्थीले पढ्ने र सुत्ने दुवै असल क्रियाकलापमा समय दिन नसकी कक्षागत परीक्षामा दयनीय प्रस्तुति गरे। त्यसै कारण स्कुले बच्च थप दुःखी हुन पुगेको ठान्छन् उनीहरू। एक अर्को अध्ययनले आइफोन र स्मार्ट फोनको आगमनसँगै विद्यार्थीको सुताइ अवधि अनि विषयगत दक्षतामा ह्रास हुँदै गएको देखाएको हुँदा फुलिग्नी र ग्याल्भेनको सोसियल नेटवर्क थ्यौरीको आधिकारिकतालाई थप मद्दत गर्‍याे।  

सामाजिक सञ्जाल र स्मार्ट प्रविधिले विद्यार्थीलाई सकारात्मक भन्दा नकारात्मक परिणाम दिएको देखिए पनि आधुनिक प्रविधिबाट किशोर/किशोरीलाई पृथक राख्न संभव छैन। त्यस्तो प्रतिकूल अवस्थामा नवीन ज्ञान हासिल गर्ने लगाव, जोखिम उठाउन सक्ने विलक्षण क्षमता अनि सधैँ नयाँ परीक्षणमा रुचि राख्ने किशोरावस्थालाई कसरी सकारात्मक ऊर्जाका साथ उपयोग गर्ने त भन्ने विषयमा विशेषज्ञको सल्लाहप्रति ध्यान दिन आवश्यक देखिएको छ।  

न्युयोर्कस्थित माउन्ट सेनाइ मेडिकल कलेजका अनुसन्धानकर्ताले जामा पेडिएट्रिक्समा सन् २०१३ मा प्रकाशित गरेका एक क्लिनिकल ट्रायलले किशोर/किशोरीलाई प्राथमिक तहका विद्यार्थीको कक्षामा स्वयम्सेवकको दायित्व दिँदा साइटोकाइन इन्टरल्युकिन सिक्स भन्ने रासायनिक पदार्थको उत्पादन घटेको पाइएको छ। साइटोकाइन इन्टरल्युकिन सिक्सले शरीरमा पीडा अनुभूति गराउने भएकाले उक्त केमिकलको उत्पादन घट्नेबित्तिकै किशोरले खुसीको अनुभूति गरे थिए। यसरी तल्लो कक्षाका विद्यार्थीलाई सहयोग गर्नेहरू ग्रुप अर्को समूहको तुलनामा अधिक आत्मसन्तुष्ट देखिएका थिए। प्रसन्नताले व्यक्तिलाई चिन्ता मुक्ति दिने भएकाले उनीहरूमा मानसिक रोगको संभाव्यता न्यून हुने वैज्ञानिक निष्कर्ष रह्यो। आफू भन्दा साना स्कुले बच्चालाई सहयोग गर्दा किशोर/किशोरीको मानसिक स्वास्थ्यमा सुधार हुने स्वीकार गर्‍याे।  

सन् २०१४ मा चाइल्ड डिभलोपमेन्टमा प्रकाशित एक फरक अध्ययनअनुसार कौतुहलताको ऊर्जा बोकेका हाइस्कुलका विद्यार्थीलाई रुचिअनुसारको अतिरिक्त क्रियाकलापमा संलग्न गराई स्वयम् उत्खननको अवसर दिन सके उनीहरूको ज्ञान तिखार्न सकिन्छ। हाजिरजवाफ, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप, अनि विज्ञान तथा सामाजिक अभियानमा विद्यार्थीलाई प्रेरित गरी उनीहरूको रुचिअनुसारको विषयमा सहभागी गराउनु उपलब्धिमूलक देखिएको छ। साथै, उक्त उमेर समूहकाले योगदानमा आफ्नो भूमिका खोज्ने भएकाले उक्त पक्षमा समेत ध्यान दिनुपर्ने हुन्छ। सभाकक्षमा म्युजिकल प्रस्तुति दिन अराउनु भन्दा उनीहरूको गानाबजानाले हजुरबा/आमा पुस्ताको दुःख हरण गर्न मद्दत गर्छ भन्ने व्याख्याले उनीहरूलाई आफ्नो क्रियाकलापप्रति आत्मसन्तुष्टि दिन्छ। आत्मस्वाभिमानले किशोर मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने देखिएको छ।  

डिभलोपमेन्टल साइकोलोजीका गुरुहरूको विचारमा युवा युवतीहरू आफ्नो कामले अर्को व्यक्ति तथा समाजलाई के कस्तो योगदान गर्‍याे भन्ने विषयमा अधिक चासो राख्छन्। घरायसी धन्दामा आमालाई सघाउँदा पाएको स्याबासी अनि गाउँ टोलको सडक सफाइमा आफूले खेलेको भूमिकाले समेत युवालाई मानसिक समस्याबाट टाढा राख्ने ठान्छन् विज्ञहरू। त्यसैले युवाहरूको भोलिन्टिएर एक्टिभिटिज समाजका लागि मात्र फाइदाजनक नहुने बरु किशोर दिमागलाई भड्कन नदिन सहायकसिद्ध हुने देखिएको छ।  

अस्ट्रेलियन अनुसन्धान समूहले सन् २००५ मा प्रिभेन्सन साइन्समा प्रकाशित गरेको अनुसन्धानले किशोर/किशोरीको आफ्नो अभिभावकसँगको सम्बन्धले उनीहरूको मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे चिरफार गरेको छ। आफ्ना बा/आमासँग सुमधुर संबन्ध स्थापित भएका विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्छन्। माता/पितासँगको सुमधुर स्वस्थले ब्रेनको महत्वपूर्ण भाग एमिग्डेलाको परिपक्वतामा सकारात्मक भूमिका खेल्ने भएकाले सहज पारिवारिक वातावरणमा हुर्किएका बच्चाहरू मानसिक रोगको सिकार हुने संभावना न्यून हुन्छ। सधैँ पारिवारिक कलहमा हुर्किएका बच्चाको ब्रेन डिभलोपमेन्ट राम्रो हुन नसक्ने भएकाले उनीहरूको मानसिक थकान कालान्तरमा दिमागी रोग बन्न सक्ने देखिन्छ। त्यसैले बच्चाको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै माता/पिताले आफूबीचको संबन्ध सन्ततिको दिमागी कुशलताका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझ्न आवश्यक छ। संबन्ध बिच्छेदको दर अधिक भएको देशका बच्चामा मानसिक समस्या अत्यधिक देखिनु केबल संयोग मात्र होइन बरु माता/पिताको स्वस्थ सम्बन्ध र सन्ततिको आत्महत्या दरका बीचसमेत प्रत्यक्ष संबन्ध छ भन्ने बुझ्नुपर्छ।  

किशोरावस्थामा मानसिक रोगको आकडा उकासिनु कुनै पनि परिवार, समाज र राष्ट्रका लागि शुभ संकेत होइन। तसर्थ, यो महारोगको इलाजका लागि सबैले हातेमालो गर्न आवश्यक छ। पारिवारिक सुमधुरता र विद्यार्थीलाई पर्याप्त सुताइको वातावरण बनाउने दायित्व माता/पिताको रह्यो भने किशोरलाई सामाजिक स्वयम्सेवकको अवसर प्रदान गर्ने काम स्थानीय निकायको काँधमा छ। सामाजिक सञ्जाल र इलेक्ट्रोनिक मिडियाको कुलतले युवाको दिमागलाई विषाक्त बनाउने क्रम दिनानुदिन बढ्दै गएकाले राज्य स्तरबाटै आवश्यक कदम चालिनु आवश्यक छ। किशोरको दिमागलाई स्वस्थ राख्न सबै पक्षले आआफ्नो क्षेत्रबाट योगदान गरौँ। युवाको मानसिक स्वास्थ्य सुधार्न सबैले योगदान गरौँ।

लोकप्रिय
अर्को समाचार
बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य
२१ वैशाख २०७७
१९ मिनेट पाठ
संग्रह
Email
ईमेल
बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य

कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीको अवस्थामा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित भएका छन् । अन्योल, छटपटी र डरको यो अवस्थाले प्रभावित हुने बालबालिका, स्वास्थ्य समस्या भएका वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ । टिनएजर्स भनिने किशोर/किशोरीको समूह कोरोना भाइरस संक्रमणको कम जोखिममा रहेको, उमेरगत कारण घर/परिवारमा पनि एक्लिएर बस्न रुचाउने भएकाले पनि त्यो उमेर समूहको समस्याका विषयमा कम चर्चा भएको हुन सक्छ । तर जीवनको एउटा अप्ठेरो मानसिक, शारीरिक र भावनात्मक उथलपुथल लिएर आउने समय भनेकै किशोरावस्था हो । अझ यो बन्दाबन्दीको अवस्थामा ती भावनात्मक उथलपुथल र एक्लोपनको मनोभावनाले उनीहरूको मानसिक अवस्थालाई अझ जटिल बनाइरहेको हुन्छ । त्यसैले किशोर/किशोरीमा देखिने त्यस किसिमको मानसिक अवस्थाका साथै घर/परिवार र उनीहरू स्वयंले मानसिक स्वास्थ्यलाई के कसरी हेरचाह गर्न सक्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ । 

किशोर/किशोरीमा वेचैनी

बन्दाबन्दी सुरु भएपछि किशोरावस्थाका छोराछोरीबारे अभिभावकले बताएका कुरा धेरैमा लागु हुन सक्छ । अभिभावकहरूका भनाइमा किशोरावस्थामा छोराछोरी मोबाइल वा टिभीमा झन् धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने गर्छन् । किशोर/किशोरीबाट अभिव्यक्त दिक्दारीहरूमा पनि समानता भेटिन्छ । ‘पढौँ कति पढ्ने, नपढुँ पछाडि परिएला’ भन्ने अन्योल, विदेश गएर पढ्ने इच्छाको भविष्य, अन्योलले निम्त्याएको अत्यास र घरमा अभिभावकले निरन्तर पढ् भनेर दिने दबाब वा साथीहरूसँग भेट्न नपाउँदाका पीडाले ल्याएको दिक्दारी नै उनीहरूले अभिव्यक्त गरेका हुन्छन् । बुझ्नुपर्ने तथ्य के हो भने यी दिक्दारीमध्ये कतिपय तात्कालिक अवस्था र परिवेशले ल्याएको भावनात्मक बहमात्रै हो भने कतिपयचाहिँ मानसिक समस्याको संकेत हो । 


किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् । 


किशोरावस्थामा प्राकृतिकरूपमै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने, विचार र भावना साट्ने, जीवनका विभिन्न कुरालाई अथ्र्याउन खोजेर आफ्नो पहिचान खोज्ने कोसिस गरिरहेका हुन्छन् । त्यो समयमा अनायास आइपरेको बन्दाबन्दीको अवस्थाले उनीहरूको दैनिकी फेरिएको छ । विद्यालय वा कलेज जान पाएका छैनन् जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका छैनन् भने खेलकुद पनि छुटेको छ । शैक्षिक वर्षको अन्त्यमा प्राप्त हुने परीक्षाको नतिजाको घोषणासँगै विद्यालय/कलेजमा हुने बिदाइ, स्वागत, अभिभावक दिवस वा त्यस्तै अन्य कार्यक्रम उनहिरूका लागि साथीहरूबीच आफ्नो क्षमता वा कला देखाउने र मनोबल उच्च राख्ने कोशेढुङ्गा हुन् जुन अनुभवलाई धेरैले आत्मसात नै गर्न पाएका छैनन् । विभिन्नखाले सम्बन्धमा रहेका विपरीत लिङ्गीसँगको कुराकानी कम भएका वा रोकिएका छन् । यो विशेष परिस्थिति हामी सबैका लागि समय अड्किएको जस्तै हो जसले गर्दा बाँकी काम÷योजना सक्नुपर्छ भन्ने बाध्यता पनि छैन । 

एसइइ दिन लागेका किशोर/किशोरीको परीक्षा सुरु हुन लागेका बेला अघिल्लो दिन मात्रै रोकिएको हो । हाम्रो शैक्षिक प्रणालीमा फलामे ढोका भनिएको एसइइको नतिजालाई धेरै नै महत्व दिने गरिन्छ जसले गर्दा पनि ती किशोर÷किशोरीमा एक किसिमको वेचैनी भएको हुनुपर्छ तैपनि उनीहरूका लागि परीक्षाको मिति कुर्नुको विकल्प छैन । यसले उनीहरूमा परीक्षाको मानसिक बोझ त हटेको छैन नै, साथै अनिश्चितताको तनाव बेहोर्न पनि बाध्य छन् । अझ त्यो उमेर समूहका धेरैसँग मोबाइल पनि छैन, साथीभाइसँग सम्पर्क गर्ने वा प्रविधिमा व्यस्त रहन अरू जस्तो सहज पनि छैन । कोरोना भाइरसको न्यून फैलावटका कारण उनीहरूले एकातिर बेकारमा बन्दाबन्दीमा परेको अनुभव गरिरहेका छन् भने अर्काेतिर भाइरस सर्ने/सार्ने त्रास पनि उत्तिकै छ । यस्तो अवस्थामा बालबालिकालाई झैं उनीहरूलाई जतिखेर पनि ध्यान दिइराख्नुपर्दैन तर अभिभावकहरूले उनीहरूको भावना, विचार र व्यवहारमा भने ध्यान दिनैपर्छ । केही समस्या देखिए त्यसलाई संवेदनशील तरिकाले सम्बोधन गर्न पनि उत्तिकै जरुरी छ । बन्दाबन्दीका कारण सिर्जित तनावमा उनीहरूले उचित मार्गनिर्देशन खोजिरहेका हुन्छन्/छन् । अभिभावकहरूले यो पक्षमा ध्यान दिन आवश्यक छ ।  

अभिभावकको सहयोग कसरी ?

अभिभावकले आफ्ना किशोरावस्थाका छोराछोरीलाई कसरी सहयोग गर्न सक्छन् त ? सबैभन्दा पहिलो आवश्यकता भनेको सही तरिकाको कुराकानी हो । त्यसका लागि अभिभावकले राम्रोसँग सुन्ने बानी विकास गर्नुपर्छ । किशोर÷किशोरीको कुरा राम्ररी सुन्ने, चित्त नबुझेका कुरामा पनि तुरुन्तै प्रतिकूल प्रतिक्रिया नदिने र आफूलाई शान्तरूपमा प्रस्तुत गर्ने व्यवहारले उनीहरूलाई आफ्ना समस्या राख्न उत्प्रेरित गर्छ । सानो कुरा नमिल्दा वा बिग्रँदा पनि निराश हुने वा रिसाउने किशोरावस्थाका भावहरू अभिभावकले बुझ्न सक्नुपर्छ र त्यसैगरी ग्रहण गर्न सक्नुपर्छ । 

उनीहरूका विचार र भावनालाई महत्व दिने मात्रै होइन, त्यसकै आधारमा उनीहरूका बारेमा धारणा नबनाउने बानी विकास गर्नुपर्छ जसले गर्दा उनीहरूलाई विचार र भावना बाँड्न सहज होस् । यसको अर्थ यो पनि होइन कि उनीहरूका सबै कुरा ठीक भन्नुपर्छ । तर उनीहरूलाई निर्देशन दिने वा ठीक र बेठीक भन्नेभन्दा पनि आफ्ना अनुभवका आधारमा सल्लाह दिनुपर्छ जुन कुरा उनीहरूका लागि प्रेरणादायी सिकाइ बनोस् । र, उनीहरूमा अरूका कुरा पनि सुन्नुपर्छ भन्ने भावना विकास होस् । 

उनीहरूलाई सामाजिक दूरीमा रहँदा आफूलाई मात्रै नभई आफ्नो परिवार र समुदायलाई सहयोग गरिरहेको कुरामा आश्वस्त बनाउनुपर्छ । यसको अर्थ कोरोना भाइरसबारे उनीहरूको बुझाइका कुरा गर्नेदेखि उनीहरूलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका मिथ्या सूचनाहरूबाट जोगाउने र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न सिकाउने हो । यसका साथै उनीहरूको मोबाइल प्रयोगका बारेमा याद गर्दै  त्यसलाई दुव्र्यसनका रूपमा नभई साथीहरूसँग सम्पर्क र सञ्चारको माध्यमका रूपमा प्रयोग गर्न अभिप्रेरित गर्नुपर्छ । 

त्यसो त कतिपय किशोर/किशोरीले बन्दाबन्दीको समयमा परिवारसँगको आत्मीयता बढेको सकारात्मक अनुभव गरेका छन् । घरमै परिवारसँग मिलेर विभिन्न परिकार बनाउँदा खाना पकाउने रुचि बढेको, फूलबारीको काम गर्न थालेको, सिर्जनात्मक क्षमता सिकेको र सङ्गीत, गायन एवं नृत्यतर्फ समय दिएको कुरा सामाजिक सञ्जालमा राख्ने किशोर÷किशोरीको संख्या पनि उल्लेख्य छ । त्यति हुँदाहुँदै पनि उनीहरूले आफ्नै उमेरका अझ विशेषगरी विपरित लिङ्गीका साथीहरूसँग भेटघाट गर्न पाएका छैनन् जसले गर्दा एकअर्काका भावना र विचार साटासाट गर्न पाएका छैनन् । यो अवस्थामा अभिभावकले साथीसँग कुराकानी गर्ने वातावरण, समय र गोपनीयताको विषयलाई पनि ख्याल गरिदिनुपर्छ । र, त्यसै किसिमको वातावरण बनाइदिनुपर्छ । 

सिर्जनात्मक काममा प्रेरित गरौँ  

प्रतिकूल परिस्थितिका बाबजुद पनि सामान्य अवस्थामा फर्कन सक्ने क्षमता किशोर÷किशोरीमा बढी हुन्छ जुन उनीहरूलाई भविष्यमा प्रतिकूल परिस्थितिको सामना गर्ने सिकाइ पनि हो । अभिभावकहरूले उनीहरूलाई त्यस्ता अनुभव र कथा पनि सुनाउन सक्छन् । सन् २०१५ को भूकम्पपछि किशोर÷किशोरीले सहयोग गर्न देखाएको सक्रियता जस्ता कुरालाई उनीहरूको परिस्थितिसँग जुझ्न सक्ने कलाका रूपमा लिन सकिन्छ । अन्तर्मुखी स्वभाव त्यो उमेरको प्राकृतिक विशेषता भएकाले उनीहरू कम बोल्छन् तर भावना र विचारहरूमा खेल्छन् र ती विचारलाई लेखेर अभिव्यक्त गर्छन् । लेख्न प्रोत्साहित गर्नाले पनि उनीहरूमा रहेको भावना सहज हिसावले अभिव्यक्त हुन्छ ।

अर्को भनेको यो उमेरमा उनीहरू निकै ऊर्जावान, सिर्जनात्मक र प्रयोग गर्न रुचाउने भएकाले विभिन्न चुनौतीपूर्ण काम गर्न प्रेरित गर्न सकिन्छ । सामान्य अवस्थामा लामो समय पढाइमा बिताउनुपर्ने अवस्थामा त उनीहरूले आफ्ना सौख र खेलकुदका लागि समय निकालिरहेका हुन्छन् भने अहिले त फुर्सदिला भएका छन् । सिर्जनात्मक चुनौतीहरू समाधान गर्न खोज्ने प्राकृतिक व्यवहारका कारण उनीहरूलाई त्यस्ता काममा प्रेरित गर्न सकिन्छ । उदाहरणका लागि पुराना तस्बिरलाई सिर्जनात्मक ढङ्गबाट मिलाएर राख्ने काम दिन सकिन्छ । (आखिर हामी धेरैले फुर्सदको समयमा पुरानो अल्बमहरू पल्टाएकै छौँ ।)

उनीहरू प्रविधिसँग नजिक भएका कारण सिप विकास गर्न सक्छन् । परिवारको भिडिओ बनाउने वा रुचिअनुसार ब्लग वा भिडिओ ब्लग तयार पार्न सक्छन् जसले उनीहरूलाई नयाँ कुरा सिकाउँछ, व्यस्त राख्छ र केही कुरा सम्पन्न गरेकामा सन्तुष्टि र खुसी मिल्छ जुन मानसिक स्वास्थ्यका लागि उपयोगी हुन्छ । तर उनीहरूलाई व्यस्त राख्ने नाममा रुचि नभएको विषयमा जबर्जस्ती दबाब दिने र उनीहरूका अन्य उमेर समूहका नातेदार वा अन्यसँग दाँजेर ‘अरूले गर्छन् तिमीले गर्दैनौ’ भन्नेखालका कुरा गर्नुचाहिँ उचित हुँदैन । त्यसले उनीहरूमा उल्टै निराशा र नकारात्मक भाव मात्रै पैदा हुन सक्छ । 

यसकारण सतर्क हुन आवश्यक 

समग्रमा भन्ने हो भने किशोर÷किशोरीहरूको विशेष क्षमताका कारण अहिलेको प्रतिकूल परिस्थितिमा पनि आत्तिइहाल्नुपर्ने अवस्था कमै मात्रामा देखिएको छ । तर उनीहरूलाई भविष्यमा मानसिक समस्याहरू नआओस् भनेर सतर्कता अपनाउन भने जरुरी छ । यो बन्दाबन्दी कति लम्बिने हो, हाम्रो देशमा कोरोना भाइरसको संक्रमण अवस्था कस्तो हुने हो र बन्दाबन्दी खुकुलो भए पनि विद्यालयहरू कहिले खुल्ने भन्ने अन्योल कायमै छ । यो उमेरमा एकान्त खोज्नु सामान्य हो तर अभिभावकहरूले उनीहरूले निकै एक्लोपन महसुस त गरिरहेका छैनन् भनी याद गर्नुपर्छ । एक्लोपनमा हुने मानिसक द्वन्द्व र तनावको अवस्थाले उनीहरूलाई जोखिमपूर्ण व्यवहारतर्फ आकर्षित गराउँछ । धूमपान, मद्यपान, गलत यौन व्यवहार वा इन्टरनेट दुव्र्यसन जस्ता नकारात्मक व्यवहारतर्फ आकर्षित हुन सक्छन् । लामो समय यस्तो अवस्था रहँदा अनिन्द्रा वा अतिनिन्द्रा वा एक्लोपना हुन सक्छ । यस्तो अवस्थामा मनोविद् वा मनोचिकित्सक वा मनोवैज्ञानिकको सहायता खोज्न ढिलाइ गर्न हुँदैन । अहिले भेटघाटबाट मनोपरामर्श सम्भव नभए पनि धेरैले टेलिफोन वा इन्टरनेटमार्फत दूरमनोपरामर्श सेवा प्रदान गरिरहेका छन् । 

अझ सबैभन्दा बढी सतर्क विद्यालय÷कलेज खुलेपछि हुनुपर्छ । लामो समय बन्दाबन्दीको अवस्थाबाट विद्यालय फर्कँदा उनीहरूको विभिन्नखाले व्यवहार र भावनालाई उचित ढङ्गबाट सम्बोधन गर्न विद्यालय, शिक्षक÷शिक्षिका र अभिभावक विचारशील हुनुपर्छ । अहिले विभिन्न माध्यमबाट किशोर÷किशोरीले फरक ढङ्गले विभिन्न कुरा सिकिरहेका छन् र त्यसलाई साथीहरूको वृत्तमा बाँड्न पाएका छैनन् । यस्तो अवस्थामा विद्यालय खुल्नेबित्तिकै हतार गरेर पाठ्यक्रम सिध्याउनेभन्दा पनि पहिले किशोर/किशोरीलाई एकअर्कासँग छलफल र समय बिताएर मानसिकरूपमा पढाइका लागि तयार हुने समय दिनुपर्छ जसले गर्दा पढाइका लागि सहज वातावरण बनोस् । विद्यालयहरूले यो पक्षमा ध्यान दिन जरुरी छ । किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् । हामीले किशोरावस्थाका छोराछोरीलाई दिने त्योभन्दा राम्रो उपहार बिरलै हुन्छ । 

(मनोविद्)

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस