दाहाल प्रधानमन्त्रीकालमै शेरा दरबारमा माओवादीको कुदृष्टि
१२ पौष २०८१
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
दाहाल प्रधानमन्त्रीकालमै शेरा दरबारमा माओवादीको कुदृष्टि

नुवाकोटको विदुरमा शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ। तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा सेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको छ।

२०७३ साउन ९ गते माओवादी अध्यक्ष दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका थिए। उनी प्रधानमन्त्री भएका बेला भूमिसुधार मन्त्रालयमा मोहनकृष्ण सापकोटा सचिव थिए। उनी पनि माओवादीनिकट कर्मचारी हुन्।

सापकोटा २०७२ मंसिर २१ मा भूमिसुधार सचिव भएका थिए। दाहाल प्रधानमन्त्री भएपछि अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश भएको थियो। उनले त्यतिबेला ५ करोड ६७ लाख ५० हजार रुपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयबाट उपलब्ध कागजातमा उल्लेख छ। ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले विकेश श्रेष्ठको नाममा जग्गा दिने निर्णय गराएका रहेछन्,’ भूमिसुधार मन्त्रालयका एक अधिकारीले भने।

सो सम्बन्धमा नागरिक दैनिकमा निरन्तर समाचार प्रकाशन भएपछि पूर्वप्रधानमन्त्री दाहालको स्वकीय सचिव रमेश मल्लले समाचारमा उल्लेख गरिएका व्यक्ति अहिले पार्टीको कुनै पनि जिम्मेवारी र सम्पर्कमा नरहेको जनाएका छन्। ‘समाचारमा जसको नाम उल्लेख भएको छ, उहाँ लामो समयदेखि हाम्रो पार्टीको कुनै पनि भूमिकामा नरहेको स्पष्ट गर्न चाहन्छौं,’ दाहालका स्वकीय सचिव मल्लले भने, ‘शेरा दरबार कब्जामा माओवादीकै संलग्नता शीर्षकमा एक दैनिकमा प्रकाशित समाचारमा सुशासनको नेतृत्व गरिरहनुभएको हाम्रो पार्टी नेतृत्वको नाम जोडेकोमा गम्भीर ध्यानाकर्षण भएको छ। सत्य–तथ्यको अनुसन्धान नगरी गरिने यस्ता प्रचारबाजीले समाचारको विश्वसनीयतामा मात्र प्रश्न उठाउँदैन, त्यसको गलत नियतलाई पनि उजागर गर्छ।’

नुवाकोटको शेरा दरबार र त्यसले चर्चेको क्षेत्रमा बनाइको घर। तस्बिर:  नागरिक
मल्लले दरबारसम्बन्धी विषयको छानबिन गरी संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। तर माओवादीकै अध्यक्ष तेस्रो पटक प्रधानमन्त्री हुँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा परेको उजुरीमाथि छानबिन गर्न खोज्दा रोकिएको थियो। त्यतिबेला सिआइबी प्रमुखमा किरण बज्राचार्य थिइन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए। ‘गृहमन्त्रीले यो विषयमा अनुसन्धानलाई अघि बढाउन खोज्दा पनि प्रधानमन्त्रीले रोकेका थिए,’ स्रोतले भन्यो।

स्रोतका अनुसार दाहाल परिवार नै सो जग्गामा जोडिएको छ। उनका आफन्तहरूसमेतले सो जग्गामा लगानी गरेको स्रोतको दाबी छ। दाहाल पत्नी सीता दाहालसमेत बेलाबखत शेरा फाँट पुग्ने गरेको त्यहाँ रहेको जग्गाको विषयमा चासो राख्ने गरेको माओवादीकै नुवाकोटका नेता–कार्यकर्ता बताउँछन्।

‘बेलाबेलामा सीता दाहाल आउनुहुन्थ्यो। नुवाकोटका हाम्रा साथीहरूले पालेको कालिजसमेत लिएर जानुभएको थियो। कालिज पाल्ने खोर पनि लानुभएको थियो। उहाँलाई बस्न घरसमेत बनाइएको छ,’ माओवादीका ती कार्यकर्ताको दाबी छ।

२०७३ सालमा श्रेष्ठले सेयर लिएपछि नै त्यहाँ अस्थायी र स्थायी संरचना तयार भएको छ। स्रोतका अनुसार दाहाल पत्नीका लागि घरसमेत बनाइएको थियो। २०७४ सालसम्म उनी त्यहाँ आउनेजाने गरेकी थिइन्। २०७४ सालको निर्वाचनताका दाहालपुत्र प्रकाश दाहालको निधनपछि बिरामी परेका कारण सीता दाहाल त्यहाँ जान सकेकी थिइनन्। ‘उहाँ (सीता दाहाल) बिरामी भएपछि आउन सक्नुभएन। त्यसयता केही जग्गा काठमाडौंका मानिसहरूलाई बैना गरेको समेत पाइएको छ,’ नुवाकोटको माओवादीका एक स्थानीय एक नेताले भने।

बारसहितको फार्मिङ कम्पनीका नाममा बनाइएको जग्गामा आवादी तीन कित्ता मात्र छन्। पाँच कित्तामा पर्ती (सरकार) जग्गा, तीन कित्तामा पोखरी, एक कित्तामा केरा र एक कित्तामा बगैंचा रहेको जग्गाधनी स्रेस्ता किताबमै उल्लेख छ।

पर्ती, पोखरी, केरा र बगैंचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भए पनि ती जग्गाहरूसमेत फार्मिङ प्रालिका नाममा नापी भएको पाइएको छ। उक्त स्थानमा नै रानीको दरबारका रूपमा चर्चिएका जग्गाहरू कित्ता नं. ७९, ८० र ८१ (८१ लाई टुक्र्याएर हाल कित्ता नं. १७५२ र १७५३ बनाइएको) भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा करिब २० रोपनी जग्ग्गा बिक्री गरेको पाइएको छ।

उक्त जग्गाका धनीहरूले ८१ नं. को कित्ता टुक्र्याएर वर्षा बस्नेतका दाइ तादी गाउँपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने वसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते नौ आना जग्गा पाँच लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ। ८१ नं. को कित्ताबाट टुक्र्याएपछि बाँकी ६ रोपनी जग्गा बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा कित्ता नं. १७५३ बनाएर राखिएको छ।

नुवाकोटस्थित ऐतिहासिक शेरा दरबारको हदबन्दीभन्दा बढी एक सय ८४ रोपनी जग्गामा स्थायी र अस्थायी प्रकृतिका संरचनाहरू निर्माण भइसकेका छन्। अन्नपूर्ण फार्मिङका नामबाट त्यहाँ स्थायी र अस्थायी प्रकृतिका संरचना निर्माण गरेर कृषि उपजका कुनै पनि खेती गरिएको छैन। जग्गा बढी देखिएपछि कम्पनीका नाममा लगेर बेच्न लागिएको थियो।

कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर त्यसलाई व्यक्तिका नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेको छ। ‘२०६९ सालतिर वा आसपासको समयमा अन्नपूर्ण प्रालिलाई विकेश श्रेष्ठसहितका व्यक्तिले खरिद गरेको र त्यसपछि उनीहरू नै यहाँको जग्गा संरक्षकका रूपमा देखा परेका छन्,’ स्रोतले भन्यो। कागजी रूपमा भने अन्नपूर्ण फार्मिङमा श्रेष्ठ सेयर सदस्यका रूपमा २०७३ सालमा मात्रै प्रवेश भएको देखिन्छ।

श्रेष्ठ सीता दाहालका मामाकी छोरीका पति (नातामा साढुभाइ) भएको भन्ने स्थानीय बासिन्दाबीच चर्चा छ। यद्यपि यो विषयमा कहीँकतैबाट पुष्टि भने हुन सकेको छैन। माओवादी शान्ति प्रकृयामा आएपछि २०६४ र २०६५ सालमा दाहाल प्रधानमन्त्री हुँदा उनी स्वकीय सचिवको जिम्मेवारीमा रहेको र उनले उक्त प्रालि खरिद गरेपछि २०७३–७४ को समयमा सीता दाहाल तीन–चारपटक शेरास्थित जग्गामा आएको पनि स्थानीयले बताएका छन्।

‘जग्गा र भूगोल मन परेको भनेपछि सीता दाहालको आग्रहमा विकेश श्रेष्ठले तीनतले पक्की सुविधासम्पन्न घर निर्माण गरेका थिए तर सीता दाहालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि यहाँ बस्न आउन नसकेको र निर्माण सम्पन्न भएपछि उक्त घर हालसम्म नै उपभोगविहीन छ,’ ती स्थानीयले भने।

यो विषयमा नुवाकोटका सांसद हितबहादुर तामाङले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै नेतृत्वको बचाउ गरेका छन्। उनले यसको सत्यतथ्य अनुसन्धानको माग पनि गरेका छन्। उनले आफू नुवाकोटकै भएकाले कुनै माओवादीले जग्गा कब्जा गरेका भए कारबाही हुने दाबी गरे। साथै नेतृत्वप्रति लाञ्छना लगाएको भन्दै समाचारको खण्डन गरेका छन्।

२०७३ सालमा अन्नपूर्ण फार्मिङको सेयर सदस्यका रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर कतिपय अवस्थामा जग्गाको बैनासमेत लिएका थिए। फार्मिङको नाममा जग्गा लगे पनि प्रयोजनविहीन बनाएर राखिएको थियो। माओवादीको केन्द्रीय सदस्यसमेत भइसकेकाले त्यो जग्गालाई पहुँचका आधारमा प्लटिङ सुरु गरिएको थियो।

जग्गा प्लटिङ गरेको विषयमा भूमिसुधार मन्त्रालय नुवाकोटस्थित मालपोत कार्यालय झस्किएको छ। ‘जग्गा पलटिङ गरेको विषयमा हामीले सरकारी निकायलाई उजुरी गरिसकेका छौं,’ नुवाकोट विदुर नगरपालिका–२ का एक स्थानीयले भने। उनका अनुसार एक सय ८४ मध्ये एक सय ६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा छ।

सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफलको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखमा देखिन्छ।

जग्गा भूमिसुधार ऐन जारी भएपछि हदबन्दीका कारण शेरा दरबार र त्यसले चर्चेका जग्गा राजा महेन्द्रको भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेपछि गौरीशंकर फार्मिङका नाममा नापी गराइएको थियो।

सो दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि सञ्चालक तथा सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङका नामको संस्था मिति २०२७ फागुन २८ मा स्थापना भएकोमा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ।

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ।

२०५२ मा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असारमा तीन सेयर दाखिला खारेजको निर्णयले विकेश श्रेष्ठ शेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य ५ करोड ६७ लाख ५० हजार रुपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा अर्को सेयर छ। सेयर कित्ता संख्या ४ लाख ६० हजार चार सय १० को मूल्य ४ करोड ६० लाख ४१ हजार किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठ, सेयर कित्ता संख्या ४५, हजारको मूल्य ४५ लाख रुपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिक कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाका नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिद–बिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठका छोरा मनोबल श्रेष्ठ सेयर कित्ता संख्या ९० हजारको मूल्य ९० लाखमा नयाँ सेयर धनी ल्याइएको थियो। हाल  सेयर धनी तीनजना मात्र छन्। श्रेष्ठद्वय बाबुछोरा हुन्।

यो पनि पढ्नुहोस्

शेरा दरबारको १८४ रोपनी कम्पनीको कब्जामा

यो पनि पढ्नुहोस्

शेरा दरबार कब्जामा माओवादीकै संलग्नता

अर्को समाचार
शेरा दरबारको जग्गा फर्काउन किन ढिलाइ?
१७ वैशाख २०८२
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबारको जग्गा फर्काउन किन ढिलाइ?

नुवाकोटस्थित ऐतिहासिक शेरा दरबार क्षेत्रको एक सय ६४ रोपनी जग्गा सरकारमातहत ल्याउन आलटाल गरिएको छ। दुई मालपोत अधिकृत फेरिँदा पनि सो जग्गा सरकारको नाममा फिर्ता आउन सकेको छैन। राजनीतिक दबाबका कारण त्यो जग्गा फिर्ता ल्याउने प्रक्रियामै अवरोध आएको छ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयद्वारा खटाइएका कर्मचारीले सो जग्गा सरकारीकरण गर्न आलटाल गरिरहेका छन्। खासगरी जग्गा भोगचलन गरिरहेको पक्ष अन्नपूर्ण फार्मिङबाट जग्गा फिर्ता ल्याउनमा भूमि व्यवस्था मन्त्रालय उदासीन देखिएको छ।

ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउने क्रममा अन्नपूर्ण फार्मिङलाई सात दिने म्याद जारी गरिएको दुई महिना बितिसकेको छ। फार्मिङका तर्फबाट समयमै जवाफ फर्काएको थियो। तर मालपोत अधिकृतले आफ्नो कानुनी दायरा पूरा गर्न सकिरहेका छैनन्।

नुवाकोट मालपोत कार्यालयले अन्नपूर्ण फार्मिङका सञ्चालक विकेश श्रेष्ठलाई सरकारका नाममा हुनुपर्ने जग्गा के–कति कारणले फार्मिङको नाममा गएको हो र कसरी भोगचलन गरिएको हो भन्दै भूमिसुधारसम्बन्धी संक्षिप्त कार्यविधिअनुसार सात दिनको म्याद दिएपछि श्रेष्ठले जवाफसमेत दिइसकेका छन्। तर सरकारले एक सय ६४ रोपनी जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन। ‘हामीले प्रक्रिया सुरु गरेका छाैं। यसका लागि केही समय लाग्छ। यसका आफ्नै विधि र कानुन छन्। मालपोत कार्यालयले काम गरिरहेको छ,’ नुवाकोट मालपोत अधिकृत देवीबहादुर भण्डारीले भने।

शेरा दरबारको जग्गा कम्पनीका नाममा गएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो। यसपछि सरकारले सो जग्गा फिर्ता ल्याउने प्रतिबद्धता गर्दै आएको छ। जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनकै लागि भूमि व्यवस्था मन्त्रालयले दुई जना मालपोत अधिकृतलाई खटाएको थियो। भण्डारीभन्दा अघि गएका मीनबहादुर भट्टराईले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै सरुवा मागेर हिँडेका थिए। त्यसपछि उनका ठाउँमा मन्त्रालयले भण्डारीलाई पठाएको हो। भण्डारीले जसोतसो प्रक्रिया त अघि बढाए तर आफू असुरक्षित भएको जानकारी मन्त्रालयलाई गराइसकेका छन्।

भण्डारीले पनि अन्नपूर्ण फार्मिङलाई १८ दिनमा हाजिर हुन आउने समय दिएका थिए। फार्मिङले तोकिएकै अवधिभित्र हाजिर पनि जनायो। त्यसपछि कुनै पनि प्रक्रिया अघि बढाइएको छैन। ‘जग्गा फिर्ता नगराउन मालपोत अधिकृतदेखि सबै तहका कर्मचारीलाई धम्की दिने गरिन्छ।

मालपोत अधिकृतलाई झन् ठुलो धम्की दिने गरिएको छ। त्यसकारण अहिले जग्गा फिर्ताको प्रक्रिया अघि बढ्ने अवस्था छैन,’ नुवाकोट मालपोत कार्यालयका एक कर्मचारीले भने।

नुवाकोटस्थित शेरा दरबारले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा ल्याउन प्रक्रिया थाल्न लामो समय लागेको छ। सरकारका नाममा जग्गा ल्याउन नदिने राजनीतिक दबाबका कारण कर्मचारीहरूलाई काम गर्ने वातावरणसमेत तयार नहुँदा मालपोत अधिकृतको सरुवासमेत भएको थियो। ‘अघिल्लो मालपोत अधिकृतलाई सो जग्गा सरकारका नाममा ल्याउन नदिन सक्रिय तत्त्वहरूले राजनीतिक दबाब दिएका थिए। अहिले पनि चर्को दबाब परिरहेको नुवाकोट मालपोत कार्यालयका ती अधिकारीले भने।

सरकारले सो जग्गा फिर्ता ल्याउन मालपोत कार्यालयलाई जिम्मा दिएको छ। नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहालका पूर्वस्वकीय सचिवसमेत रहेका विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङ कृषि प्रयोजनका लागि भन्दै सो जग्गा आफ्नो नाममा बनाएका छन्। जो जग्गा प्रकरणमा दाहाल परिवारको संलग्नता रहेको चर्चासमेत चलेको थियो। आफ्नो कुनै संलग्नता नरहेको भन्दै दाहालले स्पष्टीकरणसमेत दिइसकेका छन्। उनले सो जग्गा राज्यका नाममा फिर्ता ल्याउन सहयोग गर्ने जनाएका थिए। अहिले माओवादी केन्द्रकै नेतृत्व तहबाट कर्मचारीलाई धम्काउन थालिएको ती कर्मचारीको दाबी छ।

शेरा दरबारले चर्चेको एक सय ६४ रोपनी जग्गाको विषयमा राजनीतिक रूपमा समेत तरंगित हुन थालेको छ। सो जग्गाको किनबेच गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालको समेत नाम चर्चामा आएको छ। पछिल्लो पटक २०७९ पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो जग्गाको अनुसन्धान गर्ने क्रममा तत्काली प्रधानमन्त्री दाहालले नै रोकेका थिए।

राष्ट्रवादी युवा समूहका नामबाट सिआइबीले उजुरी लिएर अनुसन्धान थालेको थियो। सो अनुसन्धानपछि सिआइबीले एक सय ६४ रोपनी जग्गा सरकारका नाममा ल्याउन सिफारिस गरेको छ भने सो जग्गा कम्पनीका नाममा पठाउने र किनबेच गराउने समूहको थप अनुसन्धानका लागि प्रक्रिया पनि अघि बढाएको छ। सरकारले सिआइबीको अनुसन्धानलाई समेत बेवास्ता गरेको छ।

तर सो जग्गालाई राज्यका नाममा ल्याउने क्रममा यसअघिका मालपोत अधिकृतलाई अनुसन्धान नगर्न दबाब दिएपछि उनी सरुवा मागेर हिँडेका थिए। शेरा दरबारको जग्गा फिर्ता ल्याउने विषयमा मालपोत कार्यालयका कर्मचारीहरू बोल्न चाहन्नन्। ‘यो जग्गा सरकारका नाममा ल्याउन कर्मचारी तहबाट कठिन बनाइएको अवस्था छ। कर्मचारीलाई काम गर्ने वातावरण नै छैन,’ नुवाकोट मालपोत कार्यालयका एक अधिकृतले भने।

सुरु नापीमै कैफियत गरी सरकारी जग्गा अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो। सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा आएको स्रोतको दाबी छ।

२०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ता जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो। सो जग्गा भूमिसुधार ऐन लागु भएपछि हदबन्दीको व्यवस्था हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो।

त्यसपछि हदबन्दीका कारण सो जग्गा व्यक्तिका नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। सो फार्मिङ २०२७ सालमा स्थापना भएको थियो। त्यसपछि २०५२ सालमा सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठसहित चारजनाका नाममा सेयर हस्तान्तरण भएको थियो। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएका थिए।

२०५२ सालमा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ र साहिनी श्रेष्ठ गरी चारजनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठको नाममा पाँच लाख ६७ हजार पाँच सय कित्ता सेयर पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा पनि सेयर रहेको छ। उनका नाममा चार लाख ६० हजार चार सय १० कित्ता सेयर चार करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ। यी चारजनाको नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत् रही विकेशका छोरा मनोबल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हाल यसका सेयरधनी तीन जना मात्र छन्।

२०२१ सालमा भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गालाई गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो। सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले खोतलेको थियो।

शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। २०२७ फागुन २८ मा स्थापित गौरीशंकर फार्मिङ नामक संस्था २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। २०५२ सालसम्म विजयाराज्यलक्ष्मी शाहको नाममा रहेको उक्त कम्पनीको सेयर जयन्ती शाहका नाममा गएको देखिन्छ।

सरकारले शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो। सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गसिसकेको छ। त्यतिबेला सिआइबी प्रमुख रहेका र हालका प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरिएको जानकारी दिए।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस