गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ
१५ जेष्ठ २०८३
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ

जनआन्दोलन, राजनीतिक सङ्घर्ष र हजारौँ नेपालीको बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई गणतन्त्र घोषणा गरेसँगै राज्य सञ्चालनको केन्द्रमा जनतालाई स्थापित गरेको थियो।

त्यसयता नेपाल सङ्घीय शासन प्रणालीमार्फत समावेशी लोकतन्त्र, जनअधिकार, सामाजिक न्याय र विकासको नयाँ यात्रामा अघि बढिरहेको छ। गणतन्त्र स्थापना भएको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि नागरिकका अपेक्षा, सुशासन, आर्थिक समृद्धि, रोजगारी, विकास निर्माण तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनजस्ता विषय अझै बहसकै केन्द्रमा छन्।

विशेषगरी प्रदेश सरकारको भूमिका, उपलब्धि र चुनौतीबारे जनस्तरमा चासो बढिरहेको अवस्था छ। यही सन्दर्भमा सङ्घीयताको अभ्यास, प्रदेश सरकारका उपलब्धि, विकास निर्माणका प्राथमिकता, जनअपेक्षा, सुशासन, युवा तथा रोजगारी, वर्तमान राजनीतिक अवस्था र आगामी योजनालगायत विषयमा केन्द्रित रहेर बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छः

गणतन्त्र स्थापना भएको यतिका वर्षपछि यसको मुख्य उपलब्धिलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?  

गणतन्त्रको मुख्य उपलब्धि भनेको समान अधिकार, समान अस्तित्वलाई स्वीकार्य र सबैको देश हो भन्ने कुराको महसुस हुने हो। मधेसी, मुस्लिम, अल्पसङ्ख्यक र सीमान्तकृत, दलित सबै किसिमका नागरिकलाई समान अधिकार, समान अस्तित्व चाहिँ गणतन्त्रले स्वीकार गरेको छ, अँगीकार गरेको छ, भूमिका दिएको छ।

आज जुनसुकै जात, समुदायको व्यक्ति पनि मन्त्री हुने पटक अवसर पनि प्राप्त भएको छ। त्यसकारणले यो व्यवस्था अल्पसङ्ख्यकको पनि हो भन्ने कुरा गणतन्त्रले प्रत्याभूत गरेको छ। यो गणतन्त्रको एउटा सुन्दर पक्ष हो।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न प्रदेश सरकारको भूमिका कस्तो रह्यो ?

गणतन्त्र भनेको, सङ्घीयता भनेको नै प्रदेश हो। प्रदेश भनेको पहिचान हो, प्रतिस्पर्धा हो, नेतृत्वको हो, भूगोलको हो । त्यसकारणले गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छ। यसले मात्रै प्रदेशले आफूले गर्नुपर्ने जनताप्रतिको संविधानप्रदत्त अधिकार अनुसार काम गर्न सक्छ। हिजोको हाम्रै नेताहरूले पनि राज्यसत्ता चलाउँदा लोकतान्त्रिक सङ्घीय गणतन्त्रको मर्म र भावना अनुसार चलाएनन्।

लोकतन्त्रको मर्म र भावनाअनुसार उहाँहरूले कर्म गर्नुभएन। त्यो कर्म भनेकै धर्ममा आधारित हुन्छ, त्यो धर्म निभाउनुभएन। त्यसकारणले लोकतन्त्रलाई कमजोर र निराशाको अवस्थामा पु¥याएको छ। लोकतन्त्र, गणतन्त्र, सङ्घीयता भनेको समाजको हितमा लोककल्याणकारी कार्य गर्नको लागि समाज र जनताको हितमा गरिने हो तर समाज र जनताको हितमा व्यवस्था चलाइएन। नचलाएको कारण यो परिस्थिति आयो र पछिल्लो समय आवधिक निर्वाचन समयमा हुनुपर्ने निर्वाचन समयअगावै अकल्पनीय ढङ्गले आयो।  

बागमती प्रदेश सरकारले पछिल्लो अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरू के के हुन् ?

मेरो नेतृत्वमा आएको सरकारले छ वटा सङ्कल्प गरेका थियौँ । हाम्रो मूल उद्देश्य भनेको गरिबमुखी, आयमुखी, न्यायमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी रहेको थियो । गरिबलाई आय होस्, गरिबलाई न्याय होस् र गरिबलाई विकास होस् र त्यो गाउँमुखी होस् र जनमुखी होस् भन्ने हाम्रो मूल उद्देश्य थियो।

त्योअनुसार २०८२ साउनको २० गते मेरो नेतृत्वमा सरकार बन्यो। भदौको २३ र २४ गते नयाँ पुस्ताले गरेको आन्दोलनले अकल्पनीय घटना भयो। २०८४ मा हुनुपर्नेमा निर्वाचन दुई वर्षअगावै भयो। जसका कारण हामी जुन हुटहुटीसहित आएको थियौँँ, त्यो लक्ष्यअनुसारको काममा अवरोध भयो। तथापि, पनि भत्केका, जलेका र विध्वंस भएका बागमती प्रदेशको संरचनालाई तत्काल पुनर्निर्माण गरेर मन्त्रालयदेखि कार्यालयहरू सबै सञ्चालनमा ल्याइयो।

हामीले गरिब, दलितका छोराछोरीलाई डाक्टर र इन्जिनियर पढ्न प्रदेश सरकार अभिभावक बनेको छ। हामीले इन्जिनियरमा जस्तै सिभिल, मेक्निकल, कम्प्युटरलगायत विभिन्न प्राविधिक विषय पढाउने भनेर घोषणा गर्यौँ। त्योअनुसारको कार्यविधि बनाएर अब प्रदेशभरिका त्यस्ता विपन्न परिवारका विद्यार्थीहरूलाई पढाउनको लागि छात्रवृत्ति दिन थाल्यौँ। यो एउटा हाम्रो उल्लेखनीय कुरा हो। 

अर्को कुरा, लामो समयदेखि यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुसार प्रदेशको संरचना बनाउनलाई प्रादेशिक संरचना, यसको मन्त्रालय, संसद् भवन, अहिले त जलेर सबै खरानी भएको छ। संसद् भवन, प्रादेशिक संरचना, अनि मन्त्री निवास, मन्त्रालय, लोकसेवा यी सबै प्रादेशिक संरचना बनाउनलाई जमिन प्राप्ति भएको छ। अब प्रादेशिक संरचना बनाउने योजनामा छौँ।  

प्रदेश सरकार जनताको अपेक्षाअनुसार काम गर्न कतिको सफलता मिलेको छ त ?

जनताको अपेक्षा धेरै हुन्छ। सीमित स्रोत साधनले जनताको अपेक्षालाई अधिकतम् पूरा गराउने प्रयत्नमा छौँ। शिक्षामा, स्वास्थ्यमा, खानेपानीमा पहुँच र जनताको अधिकार यो मौलिक अधिकारहरू जस्तै शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकतामा राखेका छौँ। ‘एक घर एक धारा’  कार्यक्रमलाई जोड दिएका छौँ।  

हरेक नागरिकलाई शिक्षा नपाएर निराश हुनु नपर्ने कुरा र हरेक नागरिकलाई स्वास्थ्यको कारणले उपचार नपाएर मर्नु नपर्ने कुरालाई प्रादेशिक अस्पतालबाट सबै गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ प्रदेश सरकार अग्रसर छ।  

प्रदेश सरकारलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन के–कस्तो संरचना र कानुनी व्यवस्था आवश्यक छ ?

सङ्घीय सरकारले प्रदेश सरकारलाई सबैभन्दा पहिला प्रहरीको अधिकार दिनुपर्यो। संविधानको अनुसूचीमा प्रहरीको अधिकार प्रदेशलाई छ तर हालसम्म प्राप्त भएन्। जबसम्म प्रहरी हुँदैन, मान्छेलाई अनुशासन, मर्यादामा राख्न सकिदैन्। चोरी, डकैती कुरालाई हामीले आफैँले प्रत्यक्ष हेर्न नपाउने, समन्वयकारी मात्रै भूमिका भयो। संविधान प्रदत्त सो अधिकार सङ्घीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन।  

सङ्घीय सरकारले प्रदेशलाई प्रहरीको अधिकार नछोडेको कारणले भदौ २३ र २४ आन्दोलनमा ठूलो क्षति हुँदा पनि प्रदेशले केही गर्न सकेन। अर्को भूमिसम्बन्धी अधिकार र निजामती विधेयकको कुरा पनि छ। निजामतीको कानुन नबनाइदिएर निजामती कर्मचारी समायोजनमा समस्या भएको छ।  

वनको अधिकार, निजामतीको अधिकार अनि भूमिको अधिकार त्यसपछि प्रहरीको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने संविधानमै सुनिश्चित छ तर यी अधिकार हस्तान्तरण नभइदिएको कारणले प्रदेशलाई प्रभावकारी बनाउनलाई असजिलो भएको छ।  

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले कस्ता प्राथमिकता तय गरेको छ ? 

विकासको कुरालाई हामीले हाम्रो प्रदेशमा रहेका ६६ वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेशका गौरवका योजनाहरू, त्यहाँको जनताको खानेपानीको गौरवको योजना के हो, सिँचाइको गौरवको के हो, शिक्षाका लागि प्राविधिक विद्यालय बनाउने, गरिबलाई गरिखाने शिक्षा दिनको लागि त्यो गौरवको योजना, स्वास्थ्यमा त्यहाँ एउटा राम्रो अस्पताल बनाउने कुरालाई जोड दिएका छौँ। तेह्र वटा जिल्लामा प्रादेशिक अस्पताल अहिले निर्माण भएको छ।

हरेक निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडकका गौरवको योजनाहरू अघि बढाएका छौँ। ती सबै निर्वाचनमा ऐतिहासिक, धार्मिक पर्या–पर्यटन प्रबद्र्धन गरेर बागमती प्रदेशलाई पर्या–पर्यटन प्रदेश बनाउने लक्ष्य हाम्रो छ। त्यो लक्ष्य अनुसारको बजेट, बजेट अनुसारको नीति कार्यक्रम त्यस्तो बनाउने, अब आउने र त्यो नीति कार्यक्रम अनुसारको बजेट, बजेट अनुसारको व्यवस्थापन कुरामा हामी दत्तचित्त भएर लागेका छौँ।  

सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले के कस्ता कदमहरू चालेको छ ?

हाम्रो मूल लक्ष्य भनेको सुशासन, पारदर्शी, जवाफदेही, जनउत्तरदायी, निष्पक्ष र सक्रिय र अनुशासित आर्थिक अनुशासनलाई पहिलो मूल्य र मान्यतामा राखेर हामी काम गर्दै आएका छौँ। सुशासन भनेको खर्च कटौती र जनतालाई सेवा बढौती हो। त्यसकारण हामीले अहिले विगतको भन्दा दुई अरब जति त हामीले साधारण खर्च घटाइसकेका छौँ। हामीले १३ वटा मन्त्रालय र मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालयबाट आठ मन्त्रालयमा झार्यौँ। यो सुशासन हो। अब कार्यालयहरू घट्छन्।

अब करिब सात सय कर्मचारी क्रमशः कटौती हुँदैजान्छ, जसले वर्षको रु ५० करोडभन्दा बढी खर्च कटौती हुन्छ। यस्तै हिसाबले अरू अरू सबै कुरा गर्दाखेरि यो वर्ष मात्रै हामीले लगभग लगभग रु अढाइ अरब जति खर्च कटौती गर्ने तयारीमा छौँ। सुशासन भनेको फजुल खर्च घटाउनु पनि हो। अनावश्यक खर्चहरू कटौती गरेर पुँजीगत खर्च बढाएर जनतालाई रोजगारसँग, स्वरोजगारसँग अनुदान उत्पादनमा आधारित अनुदान प्रोत्साहित गर्ने नीतिलाई अङ्गिकार गरेका छौँ।

खाद्यान्न, फलफूल, तरकारी, मासुमा आत्मनिर्भर गर्नको लागि आफैँले उत्पादनमा आधारित अनुदान दिने हैन किसानलाई प्रोत्साहित गर्ने, गरिबलाई गरिखाने बनाउने काममा हामी लागेका छौँ। त्यसकारणले सुशासन भनेकै गरिबलाई गरिखाने बनाउने, उत्पादनमा आधारित अनुदान दिने र पारदर्शी, जवाफदेही बनाउने हो भन्ने हाम्रो बुझाइ छ।

सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई तपाई कसरी हेर्नुहुन्छ ?

सङ्घीय कार्यान्वयनको चुनौती भनेकै संविधानअनुसारको प्रदत्त एकल अधिकार र साझा अधिकारको बाँडफाँटलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा नजाने मानसिकता हो। यो नै सङ्घीयता कार्यान्वयनको मूल बाधक हो।

संविधानले वनको अधिकार, निजामतीको अधिकार अनि भूमिको अधिकार त्यसपछि प्रहरीको अधिकार प्रदेशलाई दिएको छ तर सङ्घीय सरकारले प्रदेशलाई ती अधिकार हस्तान्तरण नगर्दा सही ढङ्गबाट सङ्घीयता कार्यान्वयन हुन सकिरहेको छैन।  

प्रदेशको दीर्घकालीन विकासका लागि सरकारको मुख्य दृष्टिकोण के छ ?

दीर्घकालीन विकासको लागि हामीले ऐतिहासिक, धार्मिक पर्यटनको हिसाबले बागमती प्रदेशको विकास गर्ने एक नम्बर कुरा हो। त्यसपछि प्रदेशका १३ वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने र बागमती प्रदेश चक्रपथ राम्रो सुन्दर सडक बनाउने हाम्रो योजना छ। त्यसपछि प्रदेशमा अहिले भएको विश्वविद्यालयलाई प्राविधिक विश्वविद्यालय रूपमा रूपान्तरण गर्दै लैजाने र गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रिय खेलकुद रङ्गशालाको रूपमा गौरवको आयोजनाको रुपमा अगाडि बढाउने हो।  

कृषिमा प्राङ्गारिक मल कारखाना खोलेर बागमती प्रदेशलाई मलको परनिर्भरताबाट आत्मनिर्भरतिर कृषि र किसानलाई अगाडि बढाउन उत्पादनमा आधारित अनुदान दिने कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ।

प्रदेश सरकारलाई स्थिर, सक्षम र थप कार्यक्षमता बनाउनको लागि चाहिँ के गर्नुपर्ला ?

अब संविधान संशोधन गर्दा निर्वाचन प्रणाली र शासकीय स्वरूपमा विशेषरूपमा ध्यान दिनुपर्छ, सङ्घको पनि प्रदेशको पनि। यो शासकीयस्वरूप र निर्वाचन प्रणालीमा यो अहिलेको मिश्रित निर्वाचन प्रणाली होइन कि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा समावेशी समानुपातिक प्रतिनिधित्व भूगोलमै गराउने प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्यो भने यो चाहिँ स्थायित्व र स्थिर सरकारतर्फ उन्मुख हुन्छ भन्ने कुरा मेरो विश्वास हो। नभए यस्तै सरकार बन्ने र फेरिने अवस्था रही रहन्छ।

गणतन्त्र दिवसको अवसरमा प्रदेशवासी र सम्पूर्ण नेपाली जनतालाई तपाईँको सन्देश केही छ कि ?

सम्पूर्ण प्रदेशवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइलाई गणतन्त्र दिवसको हार्दिक मङ्गलमय शुभकामना छ। यो गणतन्त्र गरिबको व्यवस्था हो। गरिबको व्यवस्थालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लानुपर्ने दायित्व सरकारमा बस्नेहरुको हो। कमी कमजोरीलाई गणतन्त्रमा सुधार गर्न सकिन्छ। कमीकमजोरी गर्नेलाई जनताले परिवर्तन गर्न सक्छन्।

अभिभावकीय हिसाबले पूर्णरूपमा प्रदेशवासीको हितमा, गणतन्त्रलाई बलियो बनाउने कुरामा, सक्षम बनाउने कुरामा, गणतन्त्रमा भरोसा जगाउने कुरामा म निरन्तर काम गर्नेछु र गणतन्त्रको सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु।

अर्को समाचार
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ
१० साउन २०८३
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ

सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन्।कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन्।

पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।

सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्याएका उनै पादावा शेर्पासँग भएको कुराकानीको सम्पादित अंशः

तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?

मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ।

सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ। त्यो आरोहण निकै कठिन थियो।

अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ। पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ।  

 त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?

त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो। अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो।

साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ। अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन्। उनी एक सामान्य आरोहीका रूपमा आएका थिए।

यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?

यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ।

अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ। अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ। दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ।

 तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?

परिवर्तन त धेरै भएका छन्। पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन। हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ। अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो।

भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?

अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला। खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो। एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ।

यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?

यो दुवैले हो। विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ। विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो।

हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?

खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ।

पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।

हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?

सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन। मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपर्थ्यो। अहिले त्यस्तो छैन।

मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन्। कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ।

हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो। अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो।

कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?

एकपटक एउटा हङ्गेरियन आरोही थियो। ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो। साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो।

अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ। उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो।  

यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?

भीड त बढेकै हो। अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो। तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ।  

तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?

त्यस्तो प्रतिस्पर्धा होइन। मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ।

यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ।  

सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?

पहिलेभन्दा त अहिले धेरै घटेको हो। पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो। पालहरू त्यत्तिकै देखिन्थ्यो। अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन। धेरै सफा गरिएको छ।

हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ। बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन। सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ।

अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन। यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो।

तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?

मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ। उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौँमा कति धेरै प्रदूषण हुन्छ। यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुर्याइरहेको हुन्छ।

तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर के गर्ने विदेशीहरू पनि मान्दैनन्। अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ।

राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला।

राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?

अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन। यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान गर्यो। यो पनि सबैले चाहिँ पाउँदैनन्।

पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?

खासै अन्तर छैन। अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ।

हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै भनौँ न। रोजगारीका लागि अरू पेसा छैन।

तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?

अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन्। खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन्। त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ।

तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?

पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो। अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुर्याउन पाउँदा झन् खुसी लाग्थ्यो।

तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन। खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ।

प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?

मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ। ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु। मैले गनेर राखिनँ। त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन। मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो।

कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?

अब ज्यानले साथ दिएसम्म। यति नै भन्ने छैन। ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न।

भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?

त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ। अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन।

परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?

भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला। ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ।  

तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?

अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन। त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु। अरू खासै केही सोचेको छुइन।  

विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?

सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो। त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ। त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए।

बियर ग्रिल्सलाई पनि भेटेको थिएँ। मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे। म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ।

अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?

सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो। धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन्। अहिलेसम्म त केही भएको छैन। भइदिए हुन्थ्यो भन्ने लाग्छ। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस