नेपालबाट उच्च शिक्षा, वैदेशिक रोजगारी तथा आप्रवासनका लागि अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) दिने विद्यार्थी तथा प्रोफेसनलको संख्या निरन्तर बढिरहेको छ। यसकारण परीक्षण प्रणालीलाई थप प्रविधिमैत्री, सहज र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने प्रयासले पनि तीव्रता पाएको छ।
विगतमा कागजमा आधारित मात्र परीक्षा सञ्चालन गरिरहेको ब्रिटिस काउन्सिल पछिल्लो समय कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने निर्णय गरी अगाडि बढिरहेको छ। यसले विद्यार्थीलाई कुनै एउटा सिपबाट परीक्षा दिने व्यवस्थालगायतका नयाँ सेवा विस्तार पनि गरिरहेको छ। त्यस्तै, एलेभल, एसिसिए टिवाइएफ कर्पोरेट इंग्लिस सलुसनजस्ता कार्यक्रममार्फत शिक्षा, सिप विकास र दक्ष जनशक्ति निर्माणमा पनि काउन्सिलले आफ्नो भूमिका फराकिलो बनाइरहेको छ। यिनै सन्दर्भमा ब्रिटिस काउन्सिल नेपालकी परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीसँग नागरिककर्मी रुबी रौनियारले गरेको कुराकानीको सम्पादित अंश :
१. ब्रिटिस काउन्सिलले नेपालका उत्कृष्ट आइइएलटिएस साझेदारलाई सम्मान गर्यो, नेपाली विद्यार्थीमाझ अन्तर्राष्ट्रिय शिक्षा र अवसरमा पहुँच विस्तार गर्न यी साझेदारी कत्तिको महत्वपूर्ण छन् ?
हाम्रा बिटुबी साझेदार र शैक्षिक परामर्शदाता हाम्रा लागि महत्वपूर्ण छन्। उनीहरूले हामी र सम्भावित आइइएलटिएस परीक्षार्थीबिच सेतुको भूमिका निर्वाह गर्छन्। हामीकहाँ दर्ता हुने अधिकांश परीक्षार्थी यिनै साझेदारमार्फत आउँछन्। यी साझेदारीलाई बलियो बनाउन तथा परीक्षार्थीको आवश्यकता प्रभावकारी रूपमा सम्बोधन गर्न हामीले निरन्तर लगानी र सहकार्य गर्दै आएका छौं। अधिकांश साझेदारसँग प्रत्यक्ष तथा केहीसँग सम्बन्धित संघसंस्थामार्फत सहकार्य भइरहेको छ। यसैमार्फत हामी आइइएलटिएस अभिमुखीकरण कार्यक्रम, मोक टेस्ट, शिक्षा मेला तथा अन्य कार्यक्रम सञ्चालन गरी परीक्षार्थीसँग प्रत्यक्षरूपमा जोडिन सक्षम भएका छौं।
साथै साझेदारको सहयोगमा आइइएलटिएस प्रशिक्षकसम्म पुगेर आइइएलटिएस शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिरहेका छौं। गुणस्तरीय तयारीका लागि प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले यो कार्यक्रमले पनि परीक्षार्थीलाई परोक्षरूपमा लाभ पुर्याइरहेको छ।
२. नेपालमा आइइएलटिएस परीक्षा पेपरमा हुँदै आएको छ; हाल कम्प्युटरमा आधारित परीक्षा गर्ने निर्णय पनि भएको छ, यसले परीक्षार्थीलाई के फाइदा पुर्याउँछ ?
यसबाट परीक्षार्थीले आफ्नो आवश्यकता र सहजताअनुसार परीक्षा दिने विकल्प पाएका छन्। साथै कुनै एक मोड्युलमा मात्र अपेक्षित अंक सुधार गर्न आवश्यक परे वन स्किल रिटेक सुविधा पनि उपलब्ध छ। अहिले यो परिवर्तन विशेषरूपमा महत्वपूर्ण हुनुका प्रमुख कारण यी हुन्। विश्वभर आइइएलटिएस परीक्षा सञ्चालन प्रणालीमा आधुनिकीकरण हुँदै आएको छ। धेरै देशले पूर्णरूपमा कागजमा आधारित परीक्षाबाट कम्प्युटरमा आधारित प्रणालीतर्फ रूपान्तरण गरिरहेका छन्। संक्रमणको यस चरणमा परीक्षार्थीको फरकफरक आवश्यकता र रोजाइलाई सम्बोधन गरिएको छ। केही परीक्षार्थीले कम्प्युटरमा परीक्षा दिनु छिटो र सहज ठान्छन् भने टाइप गर्न असहज हुनेलाई पेपरमा अझ सहज लाग्छ।
हामीले आइइएलटिएस रेडी प्रिमियम (आइआरपी) पनि उपलब्ध गराएका छौं; जसमा ४० वटा अभ्यास परीक्षा र एआई आधारित प्रतिक्रियासहित २५ वटा मोक टेस्ट समावेश छन्। यसले परीक्षार्थीलाई वास्तविक परीक्षाका लागि प्रभावकारी तयारी गर्न सहयोग पुर्याउँछ। यो परिवर्तन अहिले महत्वपूर्ण हुनुको कारण विश्वभर आइइएलटिएस प्रणाली डिजिटल बन्दै जानु, परीक्षार्थीको आवश्यकताअनुसार कम्प्युटर वा कागजमा लेख्ने विकल्प उपलब्ध हुनु तथा विश्वविद्यालय भर्ना, भिसा र रोजगारीका लागि छिटो नतिजा आवश्यक पर्ने अवस्थालाई सम्बोधन गर्नु हो। यद्यपि परीक्षा प्रणाली, मूल्यांकन र अन्तर्राष्ट्रिय मान्यता भने पहिले झैं समान रहनेछन्। मुख्यगरी विदेशमा उच्च शिक्षा हासिल गर्न र विदेश जानेका लागि आइइएलटिएस परीक्षा आवश्यक हो।
३. नेपाली विद्यार्थी तथा प्रोफेसनलमा अन्तर्राष्ट्रिय अवसरतर्फ बढ्दो रुचि देखिएको छ, तपाईंले उनीहरूका आकांक्षामा कस्ता प्रवृत्ति देख्नुभएको छ ?
नेपाली विद्यार्थी तथा प्रोफेसनलहरूले अन्तर्राष्ट्रिय शिक्षा, दक्ष आप्रवासन तथा विश्वव्यापी करियरलाई दीर्घकालीन लगानीका रूपमा हेर्न थालेका छन्। उद्देश्य फरक भए पनि अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्ने चाहना निरन्तर बढिरहेको छ।
अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्डलगायत अंग्रेजीभाषी मुलुकमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी नै अझै पनि आइइएलटिएस परीक्षार्थीको ठूलो हिस्सा छन्। त्यससँगै दक्ष प्रोफेसनलले अन्तर्राष्ट्रिय रोजगारी, व्यावसायिक दर्ता तथा आप्रवासनका लागि पनि आइइएलटिएस प्रयोग गर्ने क्रम बढेको छ। विश्वका १३ हजार संस्थाले आइइएलटिएसलाई मान्यता दिएको छ। परीक्षार्थीहरू छिटो नतिजा, डिजिटल सेवा तथा लचिलो परीक्षा तालिकाको अपेक्षा गर्न थालेका छन्। साथै, आधिकारिक तयारी सामग्री, डिजिटल सिकाइ स्रोत र मोकटेस्टको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ। अहिलेका परीक्षार्थी अध्ययनपछिको रोजगारी, दीर्घकालीन आप्रवासन तथा आफ्नो शैक्षिक लगानीको प्रतिफलसमेत विचार गरी निर्णय गर्छन्।
४. ब्रिटिस काउन्सिलले आइइएलटिएसबाहेक एसिसिए/एलेभललगायत विभिन्न शैक्षिक योग्यताको प्रवर्द्धन गर्दै आएको छ। यिनीहरूले नेपालको शिक्षा प्रणाली, सिप विकास र दक्ष जनशक्ति निर्माणमा कस्तो योगदान पुर्याउँछन् ?
ब्रिटिस काउन्सिलले प्रवर्द्धन गर्ने बेलायतका अन्तर्राष्ट्रिय शैक्षिक योग्यताले नेपालको शिक्षा र सिप विकास प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। एलेभलले विद्यार्थीमा आलोचनात्मक सोच, विश्लेषणात्मक क्षमता तथा विषयगत दक्षताको विकास गर्छ। यसको अन्तर्राष्ट्रिय मान्यताका कारण नेपाली विद्यार्थीले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गर्नुका साथै नेपालको शिक्षा क्षेत्रमा पनि गुणस्तरीय अध्यापन र मूल्यांकनलाई प्रोत्साहन मिलेको छ।
त्यस्तै, एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्ट्स – एसिसिएजस्ता व्यावसायिक योग्यताले वित्त तथा लेखा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्याइरहेका छन्। यसले शैक्षिक अध्ययन र उद्योगको आवश्यकताबिचको दूरी कम गर्दै रोजगार र योग्यता अभिवृद्धि गर्छ।
यी योग्यताले रोजगारयोग्य सिप, अन्तर्राष्ट्रिय अवसर, शैक्षिक संस्थाको गुणस्तर सुधार तथा डिजिटल साक्षरता, नवप्रवर्तन र परिवर्तनअनुकूल क्षमता विकासमा समेत योगदान पुर्याइरहेका छन्। समग्रमा यिनले नेपालको मानव पुँजी विकास र आर्थिक समृद्धिमा टेवा पुर्याउने आधार तयार गरिरहेका छन्।
५. ब्रिटिस काउन्सिलले आफ्नो कर्पोरेट इंग्लिस सलुसन्स कार्यक्रम विस्तार गरिरहेको छ। नेपालको परिवर्तनशील अर्थतन्त्रमा अंग्रेजी भाषा सिपले रोजगारी र दक्ष जनशक्ति निर्माणमा कस्तो भूमिका खेल्छ ?
नेपालको अर्थतन्त्र विश्व बजारसँग थप जोडिँदै जाँदा अंग्रेजी भाषा अब केवल शैक्षिक विषय नभई कार्यस्थलमा आवश्यक पर्ने व्यावहारिक सिपका रूपमा स्थापित हुँदै गएको छ। अंग्रेजी भाषाले राम्रो रोजगारी, अन्तर्राष्ट्रिय व्यापार, ज्ञान र तालिममा पहुँच, वैदेशिक रोजगारी तथा आप्रवासनका अवसर विस्तार गर्न सहयोग गर्छ, तर अंग्रेजी भाषा मात्र पर्याप्त हुँदैन। रोजगारदाताले प्राविधिक दक्षता, डिजिटल साक्षरता, समस्या समाधान गर्ने क्षमता, टोलीमा काम गर्ने सिप तथा प्रभावकारी सञ्चार क्षमतालाई पनि उत्तिकै महत्व दिन्छन्।
त्यसैगरी ग्रामीण तथा स्रोतसाधन सीमित भएका क्षेत्रका विद्यार्थीले गुणस्तरीय अंग्रेजी शिक्षामा समान पहुँच पाउन अझै चुनौती रहेको हाम्रो अध्ययनले देखाएको छ। साथै नेपालजस्तो बहुभाषिक समाजमा नेपाली र स्थानीय भाषाको दक्षता पनि उत्तिकै महत्वपूर्ण छ। सफल प्रोफेसनल तिनै हुन्, जसले अंग्रेजीसँगै स्थानीय भाषामा पनि प्रभावकारी रूपमा संवाद गर्न सक्छन्।
६. आगामी दिनमा नेपालमा ब्रिटिस काउन्सिलको परीक्षा तथा मूल्यांकनसम्बन्धी कार्यको केकस्तो परिकल्पना छ ? यसले नेपाली युवाका लागि थप अवसर कसरी सिर्जना गर्नेछ ?
हाम्रो लक्ष्य नेपालका युवाहरूलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षा र शैक्षिक योग्यतामा पहुँच सुनिश्चित गर्नु हो; जसले उच्च शिक्षा, रोजगारी, उद्यमशीलता तथा विश्वव्यापी करियरका अवसर खोल्न सकोस् भन्ने ब्रिटिस काउन्सिलको लक्ष्य हो।
आगामी दिनमा परीक्षा तथा मूल्यांकन प्रणालीलाई अझ सहज, लचिलो र भविष्यमुखी बनाउने हाम्रो योजना छ। डिजिटल परीक्षा विस्तार गर्ने, परीक्षार्थीको अनुभव सुधार गर्ने तथा स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हुनेछ।
हामी विद्यालय, विश्वविद्यालय, व्यावसायिक संस्था, सरकार तथा शिक्षा क्षेत्रका साझेदारसँग सहकार्यलाई अझ सुदृढ बनाउँदै मूल्यांकनको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय मापदण्डका शैक्षिक योग्यताको प्रवद्र्धन तथा नेपाली युवाको ज्ञान र सिपप्रति विश्वास अभिवृद्धि गर्न निरन्तर काम गर्नेछौं। आजको विश्वमा सफलता केवल शैक्षिक उपलब्धिबाट मात्र सम्भव छैन; प्रभावकारी सञ्चार, आलोचनात्मक सोच, डिजिटल साक्षरता, सहकार्य र परिवर्तनअनुकूल हुने क्षमता पनि उत्तिकै आवश्यक छन्। त्यसैले हाम्रो परीक्षा अंग्रेजी भाषा सेवा तथा शिक्षा कार्यक्रममार्फत युवालाई यी जीवनोपयोगी सिपमार्फत सशक्त बनाउने प्रयास जारी रहनेछ। बलियो साझेदारीमार्फत हामी दक्ष, आत्मविश्वासी र विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली युवा पुस्ता निर्माणमा योगदान पुर्याउन प्रतिबद्ध छौं।
७) पछिल्लो समय विद्यार्थीलाई अंग्रेजी भाषा परीक्षणका लागि आइडिपी अस्ट्रेलिया पनि विकल्पका रूपमा आएको छ, यसले काउन्सिलले सञ्चालन गर्दै आएको आइइएलटिएसको आकर्षणमा कुनै फरक परेको छ ?
अहिले हामी फ्री मार्केटमा प्रतिस्पर्धी युगमै छौं। स्वस्थ प्रतिस्पर्धाले सधैं सकारात्मक भूमिका खेल्छ। प्रतिस्पर्धाले थप गुणस्तर वृद्धि गर्न जोड दिन्छ। आइइएलटिएस रजिस्टर गरेपछि विद्यार्थीले धेरै सेवासुविधा प्राप्त गर्नेछन्। ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने आइइएलटिएसको आकर्षण पछिल्लो समय झनै बढेको छ। नेपालमा बर्सेनि एक लाख बढी विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिएको छ। त्यसमाध्ये ९० प्रतिशत विद्यार्थीले काउन्सिलकै आइइएलटिएस गर्ने गरेका छन्। आजको दिनमा अंग्रेजी बोल्ने देशमा जानेका लागि विश्वमै आइइएलटिएसको महत्व बढेको छ। विश्वका १३ हजार मान्यताप्राप्त संस्थाले आइइएलटिएसलाई मान्यता दिएका छन्। यही हाम्रा लागि महत्वपूर्ण हो।
८) नेपालमा काउन्सिलको सम्बन्धनमा कति शैक्षिक संस्था सञ्चालनमा छन् ?
आइइएलटिएस पढाउन सम्बन्धन दिने होइन, सहयोग मात्र गर्ने हो। शिक्षा मन्त्रालयमा दर्ता भएका १४ सय कन्सल्टेन्सी छन्। यसमा नविकरण गर्नेहरू करिब आठ सय छन्। हामीले नजिकबाट काम गर्ने शैक्षिक परामर्श दातृ निकाय पाँच सयजति छन्, तर एसोसिएसनमार्फत काम गर्दा यो बढी छ। एलेभल पढाउने पार्टनर स्कुल १६ वटा छन्।
सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन्।कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन्।
पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।
सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्याएका उनै पादावा शेर्पासँग भएको कुराकानीको सम्पादित अंशः
तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?
मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ।
सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ। त्यो आरोहण निकै कठिन थियो।
अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ। पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ।
त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?
त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो। अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो।
साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ। अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन्। उनी एक सामान्य आरोहीका रूपमा आएका थिए।
यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?
यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ।
अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ। अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ। दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ।
तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?
परिवर्तन त धेरै भएका छन्। पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन। हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ। अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो।
भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?
अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला। खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो। एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ।
यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?
यो दुवैले हो। विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ। विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो।
हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?
खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ।
पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।
हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?
सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन। मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपर्थ्यो। अहिले त्यस्तो छैन।
मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन्। कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ।
हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो। अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो।
कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?
एकपटक एउटा हङ्गेरियन आरोही थियो। ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो। साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो।
अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ। उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो।
यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?
भीड त बढेकै हो। अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो। तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ।
तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?
त्यस्तो प्रतिस्पर्धा होइन। मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ।
यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ।
सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
पहिलेभन्दा त अहिले धेरै घटेको हो। पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो। पालहरू त्यत्तिकै देखिन्थ्यो। अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन। धेरै सफा गरिएको छ।
हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ। बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन। सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ।
अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन। यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो।
तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?
मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ। उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौँमा कति धेरै प्रदूषण हुन्छ। यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुर्याइरहेको हुन्छ।
तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?
मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर के गर्ने विदेशीहरू पनि मान्दैनन्। अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ।
राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला।
राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?
अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन। यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान गर्यो। यो पनि सबैले चाहिँ पाउँदैनन्।
पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?
खासै अन्तर छैन। अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ।
हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भनौँ न। रोजगारीका लागि अरू पेसा छैन।
तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?
अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन्। खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन्। त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ।
तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?
पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो। अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुर्याउन पाउँदा झन् खुसी लाग्थ्यो।
तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन। खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ।
प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?
मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ। ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु। मैले गनेर राखिनँ। त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन। मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो।
कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?
अब ज्यानले साथ दिएसम्म। यति नै भन्ने छैन। ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न।
भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?
त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ। अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन।
परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?
भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला। ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ।
तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?
अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन। त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु। अरू खासै केही सोचेको छुइन।
विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?
सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो। त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ। त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए।
बियर ग्रिल्सलाई पनि भेटेको थिएँ। मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे। म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ।
अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?
सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो। धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन्। अहिलेसम्म त केही भएको छैन। भइदिए हुन्थ्यो भन्ने लाग्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।