सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल
१८ असार २०८३
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ।

यसकै आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको वर्षौंदेखिको नेपालको सम्बन्धलाई सन्तुलित तथा आपसी हितका आधारमा अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने र विश्वासको वातावरणलाई मजबुत बनाउने दिशामा काम भइरहेको छ। सरकार गठनको सय दिनको अवधिमा भएका वैदेशिक भ्रमण र कूटनीतिक भेटवार्ताहरुले आगामी दिनमा नेपालको विदेश सम्बन्धलाई अझ फराकिलो बनाउनुको साथै मुलुकको आर्थिक समृद्धिमा बाह्य सहयोग र सद्भाव अभिवृद्धिमा बल पुग्ने नै छ।

यसबीचमा परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन् भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ। साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूसँग पनि सघन भेटवार्ता हुने क्रम जारी रहको छ। प्रस्तुत छ, यसै सन्दर्भमा परराष्ट्रमन्त्री खनालसँग गरिएको कुराकानी :

वर्तमान सरकारको परराष्ट्र नीति विगतका सरकारहरुले अवलम्बन गरेको नीतिसँग कत्तिको मेल खान्छ ?

नेपालको संविधान, अन्तरराष्ट्रिय प्रतिबद्धता, चुनावी वाचापत्र र सरकार गठनलगत्तै जारी सयबुँदे प्रतिवद्धता पत्रमा प्रष्टसँग उल्लेख गरिएका सुविचारित प्राथमिकताकै आधारमा वर्तमान सरकारले परराष्ट्र नीति अवलम्बन गरेको छ। सय दिने कार्यसूची मुख्यतः शासकीय सुधारमा केन्द्रित भए पनि परराष्ट्र नीतिसँग सम्बन्धित केही प्राथमिकताहरू समेटिएका छन्। हाम्रा प्राथमिकताहरु राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा नै केन्द्रित छन्। विदेशस्थित नेपाली दूतावास र नियोगहरूको सेवा प्रभावकारिता बढाउने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र कन्सुलर सेवा सुधार गर्ने, प्रवासी नेपालीको लगानी भित्र्याउन विशेष संयन्त्र बनाउने, आर्थिक कूटनीतिलाई सक्रिय बनाएर विदेशी लगानी आकर्षित गर्ने, विकास साझेदार तथा छिमेकी राष्ट्रहरूसँग उच्चस्तरीय संवादलाई संस्थागत बनाउने, प्रवासी नेपालीको सीप, ज्ञान, संजाल र लगानी क्षमताको नक्साङ्कन, उपयोग र व्यवस्थापन गर्ने एवम् सौम्य शक्तिको प्रभावकारी परिचालनमार्फत देशको प्रतिष्ठा र छवि प्रवर्द्धन गर्ने लगायतका विषयहरुलाई समेटिएको छ।  

वर्तमान सरकार छिमेकीसहित सबै मित्रराष्ट्रहरू र विकास साझेदारहरूसँग राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सुमधुर सम्बन्ध कायम राख्न चाहन्छ। दुई छिमेकी मित्रराष्ट्र भारत र चीनसहित सबैसँग सन्तुलित सम्बन्ध कायम राख्ने, आर्थिक कूटनीतिमा जोड दिने र सबैसँग सहज सम्बन्ध कायम राख्दै राष्ट्र हित केन्द्रित नयाँ शैलीको कूटनीतिक संवाद अघि बढाउने भन्नेमा नै हाम्रो प्रयास रहनेछ।  

वर्तमान सरकार गठनपछि भएका मुख्य कूटनीतिक उपलब्धिहरु के लाई लिन सकिन्छ ?

नेपालको संविधानले निर्देशित गरेका सिद्धान्त अनूरूप परराष्ट्र नीति सञ्चालन गर्दै सरकारका प्राथमिकता बमोजिम कूटनीतिक कदमहरु चालिएको छ। नयाँ सरकारको वैदेशिक नीतिको विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय जगतमा स्पष्ट संदेश पुगेको छ। राष्ट्रिय हितको संरक्षणमा ‘फस्ट लाइन अफ डिफेन्स’ को रुपमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ। उच्चस्तरीय भेटघाट र सहकार्यलाई बढवा दिने, द्विपक्षीय संयन्त्रका बैठकहरू सुचारु र सक्रिय बनाउने, आर्थिक र सार्वजनिक कूटनीतिलाई प्रभावकारी बनाउने र सेवा प्रवाहलाई सरल र सहज बनाउन कन्सुलर सेवा सहजीकरणका लागि ‘मोफा मित्र’ नामक अनलाइन एपको सञ्चालन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हक र हित लगायत वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवम् समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गरिरहेका छौँ। यसका लागि परराष्ट्र मन्त्रालय र हाम्रो कूटनीतिलाई थप सशक्त र प्रभावकारी बनाउने काम पनि प्राथमिकतामा रहेको छ।  

सरकार गठन भएको छोटो समयमा सरकारको औपचारिक प्रतिनिधित्व गर्दै सम्पन्न भारत र चीनको भ्रमणबाट मैत्रीपूर्ण र बहुआयामिक द्बिपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। छिमेकी मुलुकको भ्रमणको क्रममा पूर्वाधार, ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा उपलब्धिमूलक छलफल भएको छ।

विदेशस्थित नेपाली नियोगहरुको सुदृढीकरण गर्ने, आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर ‘कन्ट्री स्पेसिफिक स्ट्राटेजी’ तयार गर्ने, अन्तरमन्त्रालय समन्वय वैठक गरी हाम्रा वार्ता–केन्द्रित रणनीति र प्राथमिकता तय गर्ने विषयमा महत्वपूर्ण कामहरु भएका छन्। अन्तर्राष्ट्रिय आरोग्य दिवसलगायत नेपालको सौम्य शक्ति (सफ्ट पावर) प्रवद्र्धन कार्यक्रम, नेपाल डायस्पोरा ग्लोवल नेटवर्क स्थापना तथा सञ्चालन, लुम्बिनी फेलोशिपलगायतका नयाँ कार्यक्रमहरु ल्याएका छौँ। यस्तै गोर्खा मुद्दा, युक्रेनमा बन्दी अवस्थामा नेपालीको रिहालगायतका विषयमा सम्बन्धित देशका मन्त्रीज्युसँग भर्चुअल संवाद गरी समस्या समाधानका लागि समन्वय भएको छ। साथै, कूटनीतिक आचारसंहिताको परिपालनामा पनि विशेष जोड दिएका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूको स्तरबाट भएका संयुक्त शिष्टाचार भेटघाटका विषयलाई कूटनीतिक अभ्यासमा नयाँ शैलीका रूपमा पनि हेरिएको छ।

आर्थिक कूटनीति, सौम्य शक्ति प्रवद्र्धनमा वर्तमान सरकारको प्राथमिकता कस्तो रहेको छ?

मैले यसअघि पनि भनिसकेँ कि वर्तमान सरकार गठन भएपश्चात् राष्ट्रिय हित र मुलुकको छवि प्रवद्र्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम भइरहेका छन्। सरकारले आर्थिक कूटनीतिलाई विशेष रूपमा प्रभावकारी बनाउने, नेपालको सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने तथा कन्सुलर सेवा सुदृढीकरणका लागि ‘डिजिटाइजेशन’ र ‘सफ्टवेयर अपग्रेड’का विषयलाई प्राथमिकतामा राखेको छ। सौम्य शक्तिका संस्कृति, सम्पदा, राजनीतिक मूल्यको प्रवद्र्धन र परराष्ट्र नीतिलगायत सबै अवयवमा सरकारले विशेष ध्यान दिएको छ।

नेपालको संविधान, परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई पनि बढवा दिएका छौँ। परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएकाले यस विषयमा सबैको उत्तिकै दायित्व, योगदान र भूमिका रहने गर्दछ। संविधानले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशिलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतालाई नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेका सिद्धान्तहरूको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिँदै आएको छ।

केही दिनअघि यहाँले गर्नुभएको भारत भ्रमणबाट नयाँ शिराबाट भारतसँगको सम्बन्ध विस्तार भएको भन्ने चर्चा भएको थियो । विगतका भ्रमणहरूको तुलनामा यो भ्रमणको महत्व के आधारमा विशिष्ट मान्न सकिन्छ?  

वर्तमान सरकार गठनपछि सरकारको तर्फबाट भारतीय विदेशमन्त्रीको निमन्त्रणामा म भारत भ्रमणमा गएको थिएँ। नयाँ सरकार बनेपछि भएको यो पहिलो उच्चस्तरीय विदेश भ्रमण भएकाले देशभित्र र बाहिर पनि निकै चासो रहेको थियो। नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध मात्र नभई खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धमा आधारित छ। भ्रमणका क्रममा व्यापार, ऊर्जा, लगानी, ‘कनेक्टिभिटी’ र सीमा व्यवस्थापनका विषयमा विषय केन्द्रित र नतिजा उन्मुख छलफल भएको छ।  

विगतका केही वर्षमा सीमा विवाद र राजनीतिक असमझदारीका कारण सम्बन्धमा आएको उतारचढावलाई संवादमार्फत व्यवस्थापन गर्ने कुरामा दुवै पक्षबाट प्रतिबद्धता दोहोर्याउने काम भएको छ। दुई देशबीचको पररम्परागत मैत्री सम्बन्धलाई ‘नयाँ ऊर्जा’ का साथ अगाडि बढाउने बारेमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएका छन्। हाल दुई देशबीचका द्विपक्षीय संयन्त्रहरू सक्रिय र सुचारु भएका छन्। आर्थिक सहकार्यलाई केन्द्रमा राखी काम भइरहेको छ । यसर्थ, यस भ्रमणलाई विशिष्ट मान्न सकिन्छ।  

यहाँको भ्रमणपछि निकट भविष्यमै प्रधानमन्त्रीज्यूको भारत भ्रमणको अवसरमा सीमा, दुईपक्षीय व्यापारलगायतका विषयमा कुनै ठोस सहमतिको अवस्था निर्माण भएको हो ?

नेपालले भारतसँग आर्थिक विकासलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न चाहन्छ। सीमासम्बन्धी विषयलाई नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप, ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्ने दिशामा हामी प्रतिबद्ध छौँ।  

भारत भ्रमणबाट फर्केको लगत्तै यहाँले अर्को छिमेकी राष्ट्र चीनको पनि भ्रमण सम्पन्न गर्नुभएको छ। यो संयोग मात्रै हो कि कूटनीतिक चातुर्यता पनि हो?

मुलुकको अन्तरराष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिको कुरा गर्दा छिमेक सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ। मित्रराष्ट्र चीनसँग हाम्रो घनिष्ठ सम्बन्ध रहिआएको छ। यस सन्दर्भमा, चीन भ्रमणलाई संयोग वा कूटनीतिक चातुर्यता भन्नुभन्दा पनि चीनसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यो भ्रमण सम्पन्न भएको मान्नु उपयुक्त पर्छ। यी भ्रमणहरूबाट द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा आपसी विश्वास, समझदारी र जनस्तरको सम्बन्ध थप मजबुत बनाउने विषयमा महत्वपूर्ण छलफल र समझदारीहरू भएका छन्।  

चीन भ्रमणका क्रममा सहयोगका कुनै सहमतिहरू पनि भए कि ?

चीनका विदेशमन्त्री वाङ यीसँगको वार्तामा द्विपक्षीय सम्बन्ध, लगानी, पूर्वाधार विकास सहकार्यका विषयमा छलफल भएका छन्। चीन भ्रमणमा पूर्वाधार विकास, लगानी, पर्यटन, कृषि, प्रविधि र व्यापार विस्तारका विषयमा छलफल भएको थियो। हामी चीनसँगको सम्बन्धलाई आर्थिक र विकास साझेदारीका रूपमा अघि बढाउन चाहन्छौँ। चीनले पनि नेपालसँग पूर्वाधार निर्माण तथा आर्थिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। चीनले नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड सहकार्य’ अगाडि बढाउने, विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका तथा हवाई सम्पर्कका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। चीनले नेपाललाई ‘ल्याण्डलक्ड’ अवस्थाबाट ‘ल्याण्ड–लिंक्ड’ देशमा रूपान्तरण गर्न सहयोग गर्ने कुरा पुनः दोहोर्याएको छ।  

आगामी दिनमा नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्ने देख्नुहुन्छ ?  

विश्व राजनीति अहिले तीव्र प्रतिस्पर्धा र शक्ति सन्तुलनको नयाँ चरणमा प्रवेश गरिरहेको छ। नयाँ विश्व व्यवस्थाको विषयलाई लिएर निकै रोचक प्रक्षेपण पनि हुने गरेका छन्। साथै, नेपालले सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्ने आवश्यकता झन् बढेको छ। एकातिर आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासले ल्याएका चुनौतीहरूको पनि समाधान खोज्ने गरी दुईपक्षीय र बहुपक्षीय सम्बन्ध कायम राख्नुपर्ने अवस्था छ।

राष्ट्र हितलाई केन्द्रमा राखी सरकारले काम गरिरहेको छ। यसर्थ, बदलिँदो विश्व परिवेशलाई परख गर्दै राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि सुझबुझपूर्ण, प्रभावकारी र विकास केन्द्रित परराष्ट्र नीति नै अबको आवश्यकता हो।

अर्को समाचार
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ
१० साउन २०८३
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ

सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन्।कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन्।

पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।

सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्याएका उनै पादावा शेर्पासँग भएको कुराकानीको सम्पादित अंशः

तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?

मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ।

सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ। त्यो आरोहण निकै कठिन थियो।

अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ। पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ।  

 त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?

त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो। अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो।

साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ। अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन्। उनी एक सामान्य आरोहीका रूपमा आएका थिए।

यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?

यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ।

अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ। अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ। दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ।

 तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?

परिवर्तन त धेरै भएका छन्। पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन। हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ। अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो।

भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?

अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला। खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो। एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ।

यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?

यो दुवैले हो। विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ। विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो।

हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?

खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ।

पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।

हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?

सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन। मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपर्थ्यो। अहिले त्यस्तो छैन।

मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन्। कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ।

हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो। अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो।

कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?

एकपटक एउटा हङ्गेरियन आरोही थियो। ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो। साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो।

अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ। उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो।  

यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?

भीड त बढेकै हो। अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो। तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ।  

तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?

त्यस्तो प्रतिस्पर्धा होइन। मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ।

यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ।  

सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?

पहिलेभन्दा त अहिले धेरै घटेको हो। पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो। पालहरू त्यत्तिकै देखिन्थ्यो। अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन। धेरै सफा गरिएको छ।

हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ। बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन। सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ।

अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन। यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो।

तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?

मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ। उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौँमा कति धेरै प्रदूषण हुन्छ। यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुर्याइरहेको हुन्छ।

तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर के गर्ने विदेशीहरू पनि मान्दैनन्। अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ।

राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला।

राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?

अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन। यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान गर्यो। यो पनि सबैले चाहिँ पाउँदैनन्।

पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?

खासै अन्तर छैन। अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ।

हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै भनौँ न। रोजगारीका लागि अरू पेसा छैन।

तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?

अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन्। खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन्। त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ।

तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?

पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो। अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुर्याउन पाउँदा झन् खुसी लाग्थ्यो।

तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन। खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ।

प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?

मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ। ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु। मैले गनेर राखिनँ। त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन। मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो।

कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?

अब ज्यानले साथ दिएसम्म। यति नै भन्ने छैन। ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न।

भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?

त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ। अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन।

परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?

भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला। ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ।  

तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?

अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन। त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु। अरू खासै केही सोचेको छुइन।  

विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?

सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो। त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ। त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए।

बियर ग्रिल्सलाई पनि भेटेको थिएँ। मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे। म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ।

अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?

सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो। धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन्। अहिलेसम्म त केही भएको छैन। भइदिए हुन्थ्यो भन्ने लाग्छ। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस