‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’
२८ जेष्ठ २०८३
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’

सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध अहिले नवप्रवर्तन र आर्थिक साझेदारीको गहिरो चरणमा प्रवेश गरिरहेको छ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि स्विट्जरल्याण्डले नेपालको ग्रामीण पूर्वाधार, प्राविधिक शिक्षा, झोलुङ्गे पुल निर्माण, दिगो कृषि, पर्यटन, संघीयता तथा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकको छ।

पछिल्ला वर्षहरूमा यो सहकार्य व्यापार, लगानी, जलवायु कार्य, श्रम आप्रवासन तथा व्यावसायिक तालिमसम्म विस्तार भएको छ। हालै काठमाडौंमा सम्पन्न नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठकले नेपालमा स्विस सहयोगमा सञ्चालित विकास कार्यक्रमहरूको समीक्षा गर्नुका साथै व्यापार, लगानी, प्रविधि, जलवायु कार्य, श्रम आप्रवासन र प्राविधिक शिक्षामा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको थियो।

रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले उक्त बैठकको सह-अध्यक्षता गर्न काठमाडौं आएका एशिया तथा प्रशान्त क्षेत्रका लागि स्विस सहायक राज्य सचिव राजदूत मार्कुस लाइट्नरसँग नेपाल-स्विट्जरल्याण्ड सम्बन्धको बदलिँदो स्वरूप र भावी सहकार्यका सम्भावनाबारे कुराकानी गरेका छन्।

प्रस्तुत छ उक्त कुराकानीको सार संक्षेपः

नेपाल र स्विट्जरल्याण्डले यस वर्ष कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गर्दैछन्। स्विस दृष्टिकोणबाट हेर्दा यो साझेदारीलाई यति विशेष र दीर्घकालीन बनाउने तत्व के हो ?

यसको सुरुवात १९५० को दशकमा भएको पहिलो सहायता मिसनबाट भएको हो। तर यो सम्बन्ध चाँडै नै विकास सहकार्यको सीमाभन्दा धेरै अगाडि बढ्यो। विकास सहकार्य हाम्रो उपस्थितिको आधार थियो, तर त्यसबाहेक पनि धेरै आयाम थिए।

१९५० को दशकमा सगरमाथा स्विस जनताका लागि विशेष चासोको विषय बन्यो। सन् १९५२ को स्विस अभियानले सगरमाथा आरोहणको पहिलो गम्भीर प्रयासहरू मध्ये एक गरेको थियो, जसले पछि सफल आरोहणका लागि मार्ग प्रशस्त गर्‍यो।

सन् १९५६ मा स्विस टोलीले ल्होत्सेको पहिलो सफल आरोहण गर्‍यो र सगरमाथा पनि सफलतापूर्वक चढ्यो। यी उपलब्धिहरूले स्विट्जरल्याण्डमा ठूलो प्रेरणा जगाए र नेपाललाई स्विस जनमानसमा परिचित गराए। त्यसपछि विश्वास, साझेदारी र प्रगतिका आधारमा हाम्रो सम्बन्ध विस्तार हुँदै गयो।

हालै प्रकाशित ‘ब्रिजिङ नेसन्स-७० इयर्स अफ स्विस-नेपाल फ्रेन्डशिप’ पुस्तकले झोलुङ्गे  पुललाई सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा प्रस्तुत गरेको छ। किन यो झोलुङ्गे पुल नेपाल–स्विस सम्बन्धको यति महत्वपूर्ण अध्याय बन्यो ?

पूर्व अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा यो पुस्तक सार्वजनिक गर्न पाउँदा म निकै खुसी छु। झोलुङ्गे पुलहरू हाम्रो सहकार्यको अत्यन्त सफल उदाहरण हुन्। ती केवल इन्जिनियरिङ संरचना मात्र होइनन्। यी पुलहरूले मानिसहरूको जीवन परिवर्तन गरेका छन, समाजलाई जोडेका छन् र विकासका अवसरहरू सिर्जना गरेका छन्।

झोलुङ्गे पुल हाम्रो व्यापक सहकार्य कार्यक्रमको प्रतीक बनेका छन्, जसमा व्यावसायिक तालिम, ग्रामीण विकास र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम पनि समावेश छन्। सबैभन्दा महत्वपूर्ण कुरा, नेपालले अहिले आफ्नै क्षमताले यस्ता पुल निर्माण गर्न सक्छ। हामीले स्थानीय सीप र ज्ञान विकास गर्न सहयोग गरेका थियौं, र आज नेपाल आफैं सक्षम भएको देख्नु नै साझेदारका रूपमा हाम्रो सबैभन्दा ठूलो सफलता हो।

स्विट्जरल्याण्डले नेपालका दुर्गम र चुनौतीपूर्ण क्षेत्रमा काम गर्दै आफ्नो सहकार्य सुरु गरेको थियो। यसले नेपाल प्रतिको तपाईंहरूको बुझाइलाई कसरी आकार दिएको छ ?

यस्ता क्षेत्रमा काम गर्दा तपाईंले वास्तविक अवस्था बुझ्न सक्नुहुन्छ। प्रभावकारी कामका लागि यही आधार आवश्यक हुन्छ। यसले हामीलाई जमिनको यथार्थसँग जोडेर राख्छ।

स्विट्जरल्याण्ड पनि एक संघीय राज्य हो। विकास केन्द्रबाट मात्र होइन, परिधिबाट पनि उत्पन्न हुन्छ भन्नेमा हामी विश्वास गर्छौं। परिवर्तन ल्याउन स्थानीय तह र क्षेत्रीय समुदायसँग काम गर्नुपर्छ। यही सोचका कारण हामीले नेपालका दुर्गम क्षेत्रमा काम गर्ने निर्णय गरेका थियौं।

टोनी हेगनले नेपाल-स्विट्जरल्याण्ड सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। के यस्ता व्यक्तित्वहरूले दुई देशबीच विशेष भावनात्मक सम्बन्ध निर्माण गर्न मद्दत गरेका हुन् ?

निसन्देह। टोनी हेगन नेपालका लागि स्विट्जरल्याण्डमा र स्विट्जरल्याण्डका लागि नेपालमा एक उत्कृष्ट दूत थिए। उनले जिज्ञासा, विनम्रता र प्राविधिक दक्षता जस्ता स्विस मूल्यहरूलाई प्रतिनिधित्व गरे।

कूटनीतिक सम्बन्ध कागजमा लेखिएका औपचारिक व्यवस्थाले मात्र बन्ने होइन। व्यक्तिहरू, व्यक्तित्वहरू र जनस्तरका सम्बन्धले निर्माण गर्छन्। टोनी हेगन त्यसको उत्कृष्ट उदाहरण हुन्। उनी असाधारण व्यक्ति थिए र हामी उनको योगदानप्रति कृतज्ञ छौं।

नेपाल अहिले आर्थिक, राजनीतिक र जलवायुसम्बन्धी चुनौतीहरूको सामना गरिरहेको छ। आगामी वर्षहरूमा स्विट्जरल्याण्डले कुन क्षेत्रमा गहिरो सहकार्यको सम्भावना देख्छ ?

नेपाल जति विकासतर्फ अघि बढ्छ, हाम्रो सहकार्य पनि त्यहीअनुसार विकसित हुन्छ। त्यसैले हामी सहायताबाट व्यापारतर्फ जान चाहन्छौं।

हामी नेपाली कम्पनीहरूलाई थप प्रतिस्पर्धी बनाउन, युवाहरूलाई बढी दक्ष बनाउन र लगानी आकर्षित गर्ने व्यावसायिक वातावरण निर्माण गर्न सहयोग गर्न चाहन्छौं। यसले रोजगारी सिर्जना गर्नेछ र नेपाललाई व्यापार तथा लगानीको आकर्षक गन्तव्य बनाउनेछ।

विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका क्षेत्रमा पनि सहकार्यको ठूलो सम्भावना रहेको छ। हाम्रा दुवै देश जलवायु परिवर्तनबाट प्रभावित पर्वतीय राष्ट्र हुन्। हिमनदी पग्लिनु, प्राकृतिक प्रकोप बढ्नुजस्ता समस्याहरू हामी दुवैले भोगिरहेका समस्या हुन्।

नेपालले भूकम्प, बाढी र अन्य प्राकृतिक जोखिमको सामना गरिरहेको छ। त्यसैले जलवायु, पर्वतीय सहकार्य र विपद् जोखिम न्यूनीकरण हाम्रो प्राथमिकतामा छन्। हामी इसिमोडको संस्थापक सदस्य हौं र क्षेत्रीय स्तरमा पनि सहकार्यलाई समर्थन गरिरहेका छौं, किनकि यो केवल एक देशको समस्या नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो।

विकेन्द्रिकरण, स्थानीय शासन, प्राविधिक शिक्षा र समुदाय-आधारित विकासमा स्विट्जरल्याण्डले लामो समयदेखि जोड दिँदै आएको छ। नेपालको संघीय लोकतान्त्रिक व्यवस्थामा यी दृष्टिकोणहरू कत्तिको सान्दर्भिक छन् ?

यी सबै दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छन्। विकेन्द्रीकरण स्थानीय क्षमताको विकास, जवाफदेहिता र सबै तहमा समावेशी सेवा प्रवाह सुदृढ गर्ने प्रमुख आधार हो।

स्विट्जरल्याण्ड शान्ति निर्माण र संवाद सहजीकरणका लागि विश्वभर सम्मानित छ। के तपाईं नेपालको लोकतान्त्रिक सुदृढीकरण र संक्रमणकालीन न्याय प्रक्रियामा पनि स्विट्जरल्याण्डको निरन्तर भूमिका रहने सम्भावना देख्नुहुन्छ ?

राजनीतिक परामर्श हुनुभन्दा ठीक अघि स्विस राजदूतले संक्रमणकालीन न्याय कोषमा स्विस योगदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो। यो नेपालको नयाँ सरकार शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेको महत्वपूर्ण संकेत हो।

हाम्रो सहयोग मुख्यतः पीडितहरूलाई मनोसामाजिक सहयोग उपलब्ध गराउनमा केन्द्रित छ। संक्रमणकालीन न्याय शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा हो। हामी यस प्रक्रियामा बिगतमा जस्तै भविष्यमा पनि नेपालसँगै रहनेछौं। यात्रा अझै पूरा भएको छैन, तर महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

स्विट्जरल्याण्डको परराष्ट्र मन्त्रालय अन्तर्गत एशिया-प्रशान्त विभाग प्रमुखका रूपमा, तपाईं समग्र एशिया-प्रशान्त क्षेत्रमा नेपालको रणनीतिक र कूटनीतिक महत्वलाई कसरी हेर्नुहुन्छ ?

नेपाल र स्विट्जरल्याण्डबीच धेरै समानता छन्। हामी दुवै पर्वतीय र भुपरिवेष्ठित देश हौं, र दुवैका महत्वपूर्ण छिमेकीहरू छन्।

नेपालले ठूला शक्तिहरूको बीचमा रहँदै आफ्नो स्वतन्त्रता कायम राख्न सफल भएको छ। आज ठूला शक्तिहरूबीचको प्रतिस्पर्धाले धेरै एशियाली देशहरूलाई प्रभावित गरिरहेको छ। यस्तो अवस्थामा नेपालको अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ, विशेष गरी प्रतिस्पर्धी शक्तिहरूसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा। नेपालले लामो समयदेखि अपनाएको सन्तुलित परराष्ट्र नीति अध्ययन योग्य छ।

आगामी ७० वर्षलाई हेर्दा, तपाईं व्यक्तिगत रूपमा कस्तो प्रकारको नेपाल-स्विट्जरल्याण्ड साझेदारी देख्न चाहनुहुन्छ ? ‘विकास साझेदारी’ भन्ने शब्दभन्दा बाहिर गएर केही शब्दमा नेपाल-स्विस सम्बन्धलाई परिभाषित गर्नुपर्दा कसरी परिभाषित गर्नुहुन्छ ?

अब हामी सहायताबाट व्यापारतर्फ अघि बढिरहेका छौं। यसको अर्थ लगानी र नवप्रवर्तनतर्फ बढी केन्द्रित सहकार्य हो। साथै, सार्वजनिक क्षेत्रबाट निजी क्षेत्रतर्फ पनि क्रमशः केन्द्र सर्दैछ।

भविष्यमा यो साझेदारीलाई निजी क्षेत्रका सक्रिय पक्षहरूले बढी अगाडि बढाउनेछन्, किनकि दुवै पक्षले यसमा प्रत्यक्ष लाभ देख्नेछन्। व्यापार, लगानी र नवप्रवर्तन नै भविष्यका प्रमुख स्तम्भ हुनेछन्।

म आशावादी छु। हामीसँग उपयोग गर्न सकिने धेरै अवसरहरू छन्। हामीलाई आवश्यक कुरा भनेको उपयुक्त नीतिगत र संस्थागत वातावरण निर्माण गर्नु हो, जसले निजी क्षेत्रलाई ठूलो भूमिका खेल्न सक्षम बनाओस् र नेपाल-स्विट्जरल्याण्ड सहकार्यलाई अझ सुदृढ बनाओस्।

अर्को समाचार
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ
१० साउन २०८३
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ

सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन्।कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन्।

पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।

सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्याएका उनै पादावा शेर्पासँग भएको कुराकानीको सम्पादित अंशः

तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?

मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ।

सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ। त्यो आरोहण निकै कठिन थियो।

अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ। पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ।  

 त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?

त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो। अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो।

साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ। अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन्। उनी एक सामान्य आरोहीका रूपमा आएका थिए।

यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?

यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ।

अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ। अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ। दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ।

 तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?

परिवर्तन त धेरै भएका छन्। पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन। हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ। अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो।

भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?

अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला। खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो। एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ।

यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?

यो दुवैले हो। विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ। विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो।

हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?

खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ।

पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।

हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?

सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन। मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपर्थ्यो। अहिले त्यस्तो छैन।

मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन्। कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ।

हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो। अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो।

कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?

एकपटक एउटा हङ्गेरियन आरोही थियो। ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो। साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो।

अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ। उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो।  

यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?

भीड त बढेकै हो। अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो। तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ।  

तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?

त्यस्तो प्रतिस्पर्धा होइन। मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ।

यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ।  

सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?

पहिलेभन्दा त अहिले धेरै घटेको हो। पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो। पालहरू त्यत्तिकै देखिन्थ्यो। अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन। धेरै सफा गरिएको छ।

हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ। बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन। सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ।

अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन। यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो।

तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?

मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ। उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौँमा कति धेरै प्रदूषण हुन्छ। यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुर्याइरहेको हुन्छ।

तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर के गर्ने विदेशीहरू पनि मान्दैनन्। अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ।

राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला।

राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?

अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन। यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान गर्यो। यो पनि सबैले चाहिँ पाउँदैनन्।

पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?

खासै अन्तर छैन। अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ।

हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै भनौँ न। रोजगारीका लागि अरू पेसा छैन।

तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?

अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन्। खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन्। त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ।

तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?

पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो। अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुर्याउन पाउँदा झन् खुसी लाग्थ्यो।

तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन। खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ।

प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?

मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ। ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु। मैले गनेर राखिनँ। त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन। मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो।

कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?

अब ज्यानले साथ दिएसम्म। यति नै भन्ने छैन। ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न।

भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?

त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ। अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन।

परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?

भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला। ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ।  

तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?

अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन। त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु। अरू खासै केही सोचेको छुइन।  

विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?

सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो। त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ। त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए।

बियर ग्रिल्सलाई पनि भेटेको थिएँ। मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे। म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ।

अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?

सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो। धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन्। अहिलेसम्म त केही भएको छैन। भइदिए हुन्थ्यो भन्ने लाग्छ। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस