नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधान सभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो। त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए।
गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय प्रणालीको शासन व्यवस्था कार्यान्वयन हुँदै गयो, प्रथम राष्ट्रपति डा यादवकै हातबाट २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो। गणतन्त्रको घोषणा भएको दिनको स्मरणमा शुक्रबार१९ औँ गणतन्त्र दिवस मनाइँदैछ।
गणतन्त्र प्राप्तिको १८ वर्ष पूरा भएर १९ औँ गणतन्त्र मनाइँदै गर्दाको सन्दर्भमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवसँगको संवादको सम्पादित अंश प्रस्तुत छः
सङ्घर्षको मैदानबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेर यहाँसम्म आइपुग्दा कस्तो अनुभूति गर्नुभएको छ ?
विसं २००७ मा प्राप्त भएको प्रजातन्त्रविरुद्ध २०१७ सालमा प्रतिगमन भयो। त्यसबेला हामी विद्यार्थी आन्दोलनबाट सङ्घर्षमा लाग्यौं, २०३६, २०४६, २०६२/६३ सालको जनआन्दोलनपछि जुन प्रणालीबाट लोकतन्त्रको पुनःवहाली भयो, त्यसपछि भएको परिवर्तनको जगमा मलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुने अवसर मिल्यो। देशमा जुन संविधान छ, त्यो संस्थागत हुँदै जाओस्। देशलाई राम्रो हुँदै जाओस्। तीन करोड नेपालीको समृद्धिको यात्रामा सफता मिलोस् भन्ने कामना गर्दछु।
नेपालमा गणतन्त्रको आवश्यकतालाई कसरी हेर्नुहुन्छ ?
त्यसबेला जुन राजसंस्था थियो, बारम्बार संविधानलाई कुल्चिएर आफ्नो स्वेच्छाचारी शासन गरिरहेको थियो। २०१७ सालमा, २०५९ सालमा संविधानको मर्मलाई कुल्चिएर जनताको भावनाविपरीत शासनसत्ता हातमा लिने काम भयो, यसले गर्दा राजतन्त्रले जनताको अधिकारलाई संरक्षण गर्छ, लोकतन्त्रको रक्षा गर्छ भनेर जनतालाई विश्वास भएन। बारम्बार जनताको अधिकारमाथि आक्रमण गर्छ, जनताको अपेक्षालाई सम्मान गर्दैन भन्ने भयो।
त्यसकारणले राजतन्त्र फाल्ने र गणतन्त्रको स्थापना गर्न जनताहरुले वलिदानी दिए, आन्दोलन र सङ्घर्ष गरे, गणतन्त्रको स्थापना गरे। हाम्रो देशको पुरानो इतिहास सम्झने हो भने राणाकाल, शाहकालमा हुकुमी शासनको व्यवस्था थियो, तपाइँहरुलाई पनि थाहै होला, विगतका ती दिनहरुमा शासन चलाउनेहरुले जनताका अधिकारहरु आफ्नो मुठ्ठीमा लिन्थे र जनताले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्नुपर्थ्यो।
२००७ सालको सङ्घर्ष त्यसैको उपज हो, त्यो सङ्घर्षपछि जनताले आफ्नो अधिकार स्थापित गरे। २०१७ सालमा राजाले जनताको अधिकार खोसे, फेरि राजाले खोसेको अधिकार फिर्ता गर्न जनताले लामो समय सङ्घर्ष गर्नुपर्यो, ३० वर्षको सङ्घर्षले २०४६ सालमा जनताले आफ्नो अधिकार पाए तर फेरि २०५९ सालमा राजाले जुन कदम चाले, जनताले राजनीतिक दलहरुसँग मिलेर सङ्घर्ष गरे, आफ्नो अधिकार स्थापित गरे।
मुलुकमा गणतन्त्र स्थापना भएको पनि झण्डै दुई दशक पुग्न लाग्यो, गणतन्त्रले जनता र देशलाई के दियो भन्ने लाग्छ ?
गणतन्त्रले जनतालाई देशको मालिक बनायो, जनता आफैँ देशको मालिक हुन्। जनताको अधिकार जनतामा गयो, जनताले स्थापना गरेको प्रणालीमा गणतन्त्र छ, दुई वटा संविधानसभाबाट संविधान बनाएर हामीले जनतालाई अर्पण गर्यौंँ, त्यही संविधानअनुसार देशमा लोकतान्त्रिक पद्धति छ, सङ्घीयता, समावेशी, विधिको शासनको व्यवस्था छ, जनताद्वारा, जनताको सहभागितामा, जनताका लागि सञ्चालन गरिने वैधानिक शासन व्यवस्था छ, आवधिक निर्वाचन र जनताले आफ्नो प्रतिनिधि आफैँ चयन गर्ने व्यवस्था छ।
जनता सार्वभौम भए, जनताद्वारा चुनिएको शासन व्यवस्था छ, लोकतन्त्रको सैद्धान्तिक आधार छ, जनताद्वारा चुनिएको प्रतिनिधिसभा छ, जनताको प्रतिनिधिले सरकार बनाउँछ, सरकारले जनताको भावना अनुसार र प्रतिनिधि सभाको निर्णयअनुसार देशको व्यवस्था चलाउँछ, जनताको हीतमा सरकार हुन्छ, यो संसारको उन्नत व्यवस्था हो।
२०७२ सालमा संविधान जारी गर्दैगर्दा संविधानलाई ढोग्नुभएको थियो, त्यो वेला संविधानलाई ढोग्ने सोच कसरी आयो ?
मैले संविधान घोषणा गर्ने बेलामा हस्ताक्षर गरेर जनताको सामुन्ने लोकतन्त्रको मन्दिरबाट जनतालाई जुन नासो दिइरहेको थिएँ, त्यो त अत्यन्तै महत्वपूर्ण थियो। किनकी त्यो संविधानसभाले बनाएको संविधान थियो, राजनीतिक दलहरुको सहभागिता थियो, संवैधानिक व्यवस्थाअनुसार जनतासामु अर्पण गर्ने मेरो जिम्मेवारी र दायित्व थियो।
मलाई त्यतिबेला मनोभावनाले भन्यो कि यत्रो लामो सङ्र्घष हजारौं जनताले बलिदान गरेका छन्, नेपाली जनताले आफ्नो राजनीतिक अधिकार, आर्थिक अधिकार, सामाजिक न्यायका लागि यत्रो सङ्घर्ष गरेको छ, त्यसको उपलब्धि जुन दुई वटा संविधानसभाबाट संविधान बनेको छ, त्यो तीन करोड नेपाली जनता र मातृभूमिप्रति अर्पण गर्ने जिम्मेवारी मलाई दियो, त्यही भावनालाई आत्मसात गर्दै लोकतन्त्रको मन्दिर संविधानसभाबाट ढोगेर देशको मूल कानून जनतालाई अर्पण गरेको हुँ, त्यो मेरो कर्तव्य थियो।
अहिले जेनजी आन्दोलनपछि गणतान्त्रिक व्यवस्थामा जस्तो अवस्था देखिएको छ, यसबाट तपाइँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
गणतन्त्र स्थापनापछि यो १७ –१८ वर्षको अवधिमा गणतन्त्रलाई संस्थागत गर्न काँग्रेस, एमाले, माओवादी, मधेशवादी दलदेखि अरु राजनीतिक दलहरु सबैको योगदान छ। मुख्य योगदान नेपाली काँग्रेस, एमाले र माओवादीको छ, तर पनि जनतामा विश्वासको वातावरण बन्न सकेन, यी बीचमा जुन दलहरुको सरकार बन्यो, तिनले जनताको विश्वास जित्न सकेनन्, चुनाव भएर लोकतान्त्रिक प्रणाली अगाडि बढिरहेको थियो तर जुन शासन प्रशासनमा शुद्धता हुन्छ, जनताको विश्वास आर्जन गर्ने सन्दर्भमा कमी आयो।
यसले गर्दा युवाहरुमा समयसापेक्ष परिवर्तन, सुशासन, पारदर्शितामा कमजोरी देखे, भ्रष्ट्राचारको विरुद्धमा आवाज उठाए। आजको डिजिटल दुनियाँमा सामाजिक सञ्जालको प्रभाव बढ्दो छ, त्यसमा युवा पुस्ता अभ्यस्त भइरहेको छ, त्यो युवा पुस्ताका लागि रोजगारीको वातावरण बन्न सकेन, युवाहरु बाहिरिन थाले, व्यपार व्यवसायमा समस्या पैदा भयो, देशमा काम गर्ने वातावरणको सुनिश्चितताका लागि आवाज उठाए, परिवारमा शान्तिपूर्ण बस्न पाउने वातावरण बनेन।
यी विभिन्न कारणहरुले खासगरी युवा पुस्तामा आक्रोस उत्पन्न भयो। त्यही आक्रोसले आन्दोलन भयो। यसले के पनि देखाउँछ भने शासनसत्ताले जनजभावनालाई बुझेनन् भने यस्ता आन्दोलन र उथलपुथल बीचबीचमा भइरहन्छ। जनताले आफ्नो अधिकार खोज्छन्, सरकारले बुझेन भने परिवर्तनको माग उठ्छ।
नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो यसलाई थप सुदृढ गर्न सरकार र राजनीतिक दलले अब के गर्नुपर्छ ?
आज हामी १९ औं गणतन्त्र दिवस मनाइरहेका छौं, यो नेपाली जनताको लागि सर्वाधिक महत्वको दिन हो, लोकतान्त्रिक गणतन्त्र संसारको उत्कृष्ट व्यवस्था हो। राष्ट्रपति, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लोकतन्त्रको महत्वपूर्ण अङ्गहरु हुन्, यी मातहातका शासन प्रशासन र निकायहरु चुस्तदुरुस्त हुनुपर्छ, सभ्य लोकतान्त्रिक व्यवस्था बनाउन यी सबै कुराहरु कार्यान्वयन हुनुपर्छ।
लोकतान्त्रिक व्यवस्थामा यी चारैवटा संस्था सम्मानीत संस्था हुन्, एकले अर्कोलाई सम्मान गर्ने परम्परामा सञ्चालित हुनुपर्छ। गणतन्त्रमा संवैधानिक पदाधिकारीहरुले एकअर्काको सीमामा रहनुपर्छ। विधि, कानून र स्थापित परम्पराअनुसार जानुपर्छ। चेतनशील नेपालीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवारी दिएका छन्, अब उसले अरु पार्टीलाई विश्वासमा लिएर गणतन्त्र, लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै शासन प्रणालीलाई व्यवस्थित गर्नुपर्छ।
अन्त्यमा देशवासीलाई केही भन्न चाहनुहुन्छ कि ?
म जस्तो जेष्ठ नागरिक जो पचासौं वर्ष लोकतन्त्रका लागि योगदान गरेको छ, मेरो शुभकामना छ, अहिले निर्वाचन भएर सरकार बनेको छ, यस सरकारले पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानेछ। विगतमा जनताको भावनाअनुसार शासनसत्ता सञ्चालन नभएकाले परिवर्तनको आवाज उठेको हो, बहुदलीय व्यवस्थामा जनताको निर्णय शिरोधार्य हुन्छ, संसदमा भएका दलहरुले कार्यशैली सुधार गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सकेनन् भने अर्को आन्दोलन हुनसक्छ।
लोकतन्त्रका लागि अब पनि नेपाली जनताले अर्को आन्दोलन गर्न नपरोस् भन्ने नै मेरो कामना छ। १९९७ सालमा योगदान गर्ने शहीद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्ममक्त माथेमा र दशरथ चन्दको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहान्छु। त्यसभन्दा पछि २००७, २०१७, २०३६, २०४६, २०६२÷६३ सालको आन्दोलन र पछिल्लो पटकको जेनजी आन्दोलनका क्रममा बलिदान दिनेहरुप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन्।कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन्।
पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।
सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुर्याएका उनै पादावा शेर्पासँग भएको कुराकानीको सम्पादित अंशः
तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?
मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ। त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ।
सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ। त्यो आरोहण निकै कठिन थियो।
अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन। हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ। पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ।
त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?
त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो। हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो। अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो।
साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ। अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन्। उनी एक सामान्य आरोहीका रूपमा आएका थिए।
यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?
यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ।
अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ। अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ। दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ।
तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?
परिवर्तन त धेरै भएका छन्। पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन। हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ। अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो।
भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?
अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला। खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो। एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ।
यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?
यो दुवैले हो। विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ। विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो।
हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?
खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ।
पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।
हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?
सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन। मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपर्थ्यो। अहिले त्यस्तो छैन।
मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन्। कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ।
हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो। अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो।
कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?
एकपटक एउटा हङ्गेरियन आरोही थियो। ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो। साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो।
अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ। उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो।
यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?
भीड त बढेकै हो। अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो। तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ।
तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?
त्यस्तो प्रतिस्पर्धा होइन। मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ।
यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ।
सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
पहिलेभन्दा त अहिले धेरै घटेको हो। पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो। पालहरू त्यत्तिकै देखिन्थ्यो। अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन। धेरै सफा गरिएको छ।
हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ। बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन। सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ।
अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन। यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो।
तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?
मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ। उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौँमा कति धेरै प्रदूषण हुन्छ। यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुर्याइरहेको हुन्छ।
तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?
मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ। तर के गर्ने विदेशीहरू पनि मान्दैनन्। अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ।
राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला।
राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?
अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन। यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान गर्यो। यो पनि सबैले चाहिँ पाउँदैनन्।
पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?
खासै अन्तर छैन। अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ।
हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भनौँ न। रोजगारीका लागि अरू पेसा छैन।
तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?
अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन्। खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन्। त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ।
तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?
पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो। अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुर्याउन पाउँदा झन् खुसी लाग्थ्यो।
तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन। खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ।
प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?
मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ। ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु। मैले गनेर राखिनँ। त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन। मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो।
कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?
अब ज्यानले साथ दिएसम्म। यति नै भन्ने छैन। ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न।
भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?
त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ। अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन।
परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?
भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला। ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ।
तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?
अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन। त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु। अरू खासै केही सोचेको छुइन।
विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?
सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो। त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ। त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए।
बियर ग्रिल्सलाई पनि भेटेको थिएँ। मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे। म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ।
अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?
सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो। धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन्। अहिलेसम्म त केही भएको छैन। भइदिए हुन्थ्यो भन्ने लाग्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।