शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि थाती रहेका शिक्षा र खेलकुद क्षेत्रका विवाद, माग र नीतिगत समस्यालाई वार्ता तथा संवादमार्फत समाधान गर्ने प्रयासलाई तीव्र बनाएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेदेखि नै शिक्षा क्षेत्रमा विद्यमान नीतिगत तथा प्रणालीगत समस्याको पहिचान गर्दै तिनको दीर्घकालीन समाधान खोज्ने पहल अघि बढाएका छन्। व्यक्तिगत वा संस्थागत रूपमा आउने समस्याको तत्कालीन समाधानभन्दा नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने मान्यताका साथ मन्त्रालयले सरोकारवालासँग छलफल र संवादलाई प्राथमिकता दिएको छ।
पछिल्ला केही सातामा डा गोविन्द केसीको अनसन, इन्टर्न चिकित्सकको आन्दोलन, शैक्षिक परामर्श संस्था तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गरिरहेका कलेजका समस्यालगायत विषयमा नीतिगत समाधान खोज्ने काम अघि बढेको छ।
शिक्षा नियमावलीदेखि नयाँ शिक्षा ऐनसम्म
शिक्षा नियमावलीको नवौँ संशोधनमा रहेका समस्या समाधान गर्न शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ ल्याइएको छ। शिक्षामन्त्रीले पदभार सम्हालेको १०० दिनभित्रै उक्त नियमावली ल्याइएको छ।
दशकौँ पुरानो शिक्षा ऐनलाई संशोधन गरी नयाँ ऐन ल्याउने तयारीसमेत भइरहेको छ। ऐनको मस्यौदा अहिले छलफलको क्रममा रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी नियमावलीलगायतका कानुनी तथा नीतिगत व्यवस्था अघि बढाइएको छ। मन्त्रालयले शिक्षा क्षेत्रमा रहेका समस्यालाई सम्बन्धित सरोकारवालासँग छलफल गरी सहमतिका आधारमा समाधान गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
डा केसीसँग सात बुँदे सहमति
पछिल्लोपटक सरकारले डा गोविन्द केसीसँग सात बुँदे सहमति गरेपछि उनले ११ दिनदेखि जारी अनसन अन्त्य गरेका थिए। साउन १३ गतेदेखि अनसनरत डा केसीसँग भएको सहमतिअनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
एमबीबीएसलगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राध्यापक, प्राविधिक जनशक्ति तथा पूर्वाधार व्यवस्थापनको कामसमेत सुरु भएको बताइएको छ। डा केसीसँगको सहमतिपछि मन्त्रालयले इन्टर्न चिकित्सकको आन्दोलन समाधानका लागि पनि सक्रिय पहल गरेको थियो। साउन २० गते मन्त्रीको निर्देशनमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित मन्त्रालयको टोली आन्दोलनस्थल पुगेर आन्दोलनरत पक्षसँग प्रत्यक्ष संवाद गरेको थियो।
त्यस्तै, साउन २१ गते मन्त्रालयले श्वेतपत्र सार्वजनिक गर्दै आन्दोलनरत चिकित्सकलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको थियो। त्यसको भोलिपल्ट साउन २२ गते अनसनरत डिल्ली हरिजनसँग पाँच बुदे सहमति भएपछि उनले पनि अनसन अन्त्य गरेका थिए।
इन्टर्न चिकित्सकलाई ५० प्रतिशत निर्वाह भत्ताको प्रस्ताव
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसीप कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा साउन २८ गते विस्तृत छलफल हुने भएको छ।
उक्त छलफलमा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विभिन्न विश्वविद्यालय, निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि तथा आन्दोलनरत इन्टर्न चिकित्सक सहभागी हुनेछन्। छलफलबाट प्राप्त निष्कर्षलाई चिकित्सा शिक्षा आयोगको बैठकमा प्रस्तावका रूपमा प्रस्तुत गरिने सहमति भएको छ।
त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम आयोगको बैठकमा ‘स्टाइपेन्ड अभियान’का प्रतिनिधिलाई अनिवार्य रूपमा सहभागी गराउने विषयमा पनि सोही दिन छलफल गरिने भएको छ।
इन्टर्न चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय भने केही महिनाअघिदेखि नै मन्त्रालयको प्राथमिकतामा रहेको थियो। वैशाख १ गते आन्दोलनरत पक्षले आफ्ना माग शिक्षामन्त्रीसमक्ष राखेपछि वैशाख ७ गते मन्त्रीको संयोजकत्वमा विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा अन्य सरोकारवालाको बैठक बसेको थियो।
बैठकले सुझाव दिन कार्यदल गठन गरेको थियो। कार्यदलले वैशाख ३० गते बुझाएको प्रतिवेदनमा एमबीबीएस तथा बीडीएस इन्टर्नसीप चिकित्सा शिक्षाको अभिन्न अंग भएकाले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहका आवासीय चिकित्सकको प्रारम्भिक तलब स्केलको ५० प्रतिशतबराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो।
त्यसपछि चिकित्सा शिक्षा आयोगको २४औँ बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाअनुसार आवश्यक निर्देशन दिने अधिकार आयोगका उपाध्यक्षलाई प्रत्यायोजन गरेको थियो। सोही आधारमा असार ४ गते सबै विश्वविद्यालयलाई प्रतिवेदन कार्यान्वयनका लागि परिपत्र पठाइएको मन्त्रालयले जनाएको छ।
विश्वविद्यालय सुधार प्राथमिकतामा
मन्त्रालयले विश्वविद्यालय सुधारलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ। विश्वविद्यालयका उपकुलपति तथा अन्य पदाधिकारीको नियुक्तिलाई पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धामूलक बनाउने, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा शैक्षिक प्रशासनलाई थप उत्तरदायी बनाउने दिशामा काम भइरहेको मन्त्रालयको भनाइ छ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश-२०८३ मार्फत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त भएपछि केही समय काम प्रभावित भए पनि रिक्त पदपूर्तिका लागि नयाँ कार्यविधि बनाएर पारदर्शी र निष्पक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको छ।
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत अन्य पदाधिकारी नियुक्त हुन बाँकी छन्। काठमाडौं विश्वविद्यालयमा पनि पदाधिकारी छनोट प्रक्रिया जारी रहेकाले केही नीतिगत निर्णय कार्यान्वयनमा समय लाग्ने मन्त्रालयले स्पष्ट पारेको छ।
परीक्षा प्रणाली सुधार
हालै सार्वजनिक भएको एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र चुहावट प्रकरणमा मन्त्रालयले तत्काल हस्तक्षेप गरेको जनाएको छ। मन्त्रीको निर्देशनपछि सम्बन्धित निकायले २४ घण्टाभित्रै आरोपितलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याएको थियो। घटनापछि परीक्षा प्रणालीलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा गृहकार्य अघि बढाइएको बताइएको छ।
यसैबिच विद्यार्थीले उठाएका एमबीबीएस कार्यक्रमको ब्यारियर प्रणाली, अतिरिक्त शुल्क फिर्ता तथा पारदर्शी शुल्क निर्धारणलगायतका विषयमा पनि मन्त्रालयको सचिवालयमार्फत निरन्तर संवाद भइरहेको मन्त्रालयले जनाएको छ।
संवादलाई पहिलो प्राथमिकता
शिक्षामन्त्री पोखरेलले मन्त्रालयले आन्दोलनलाई अन्तिम विकल्पका रूपमा नभई संवादलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनके अनुसार शिक्षा तथा चिकित्सा शिक्षा क्षेत्रमा वर्षौँदेखि थुप्रिएका समस्या एकैपटक समाधान गर्न सम्भव नभए पनि क्रमिक रूपमा नीतिगत तथा संरचनागत सुधारका काम अघि बढिरहेका छन्।
कानुनी जटिलता, नीतिगत अस्पष्टता र विभिन्न निकायबिचको समन्वय अभावका कारण कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ हुँदै आएको मन्त्रालयले जनाएको छ। अहिले अन्तरमन्त्रालय समन्वय, सरोकारवालासँग नियमित छलफल तथा सचिवालयको सक्रिय पहलमार्फत ती समस्या समाधान गर्ने प्रयास भइरहेको छ।
पछिल्लो समय शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शैक्षिक परामर्श संस्थाका प्रतिनिधि, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, सञ्चारमाध्यमका प्रमुख, शिक्षा बिटका पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गर्दै शिक्षा सुधारका एजेन्डामा सुझाव संकलन गरिरहेका छन्। मन्त्रालयले शिक्षा तथा खेलकुद क्षेत्रका समस्या वार्ता, संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै नीतिगत तथा संरचनागत सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सिबी अधिकारी/रासस
पेन्सनको माग राखेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना बसेको ११९ दिन भइसक्दा पनि सम्बन्धित निकायले मागको सुनुवाइमा कुनै चासो नदेखाएको भन्दै त्रिविका शिक्षक तथा कर्मचारी आक्रोशित बनेका छन्।
समान तहमा काम गर्ने विश्वविद्यालयभित्रका प्राध्यापक तथा कर्मचारीमध्ये कसैलाई पेन्सन दिने र कसैलाई नदिने गर्दा आफूहरूलाई विभेद भएको धर्नारत उप्रा डा. नन्दकिशोर सिंहले बताए। ‘त्रिविमा कार्यरत शिक्षक कर्मचारीमध्ये ७० प्रतिशतले पेन्सन पाउँदैनन्’, उपप्रा. सिंहले नागरिकसँग भने, ‘सरकारले पेन्सनका लागि त्रिविलाई रकम दिँदैन। त्रिविले सरकारबाट एकमुष्ट रकम पाउँछ।’
आफूहरूको वृद्धवस्था असुरक्षित बनेको भन्दै शिक्षक कर्मचारीले चिन्ता व्यक्त गरेका छन्।
त्रिविले २०६८ सालअघि स्थायी भएकाहरूलाई भने पेन्सनको व्यवस्था गर्दै आएको छ। २०६४ सालमा त्रिवि सेवामा स्थायी भएका सहप्राध्यापक प्रदिपकुमार साहले आफू अवकाश भएदेखि निरन्तर पेन्सन पाइरहेको बताए। ‘एउटै प्रक्रियाबाट स्थायी भएका शिक्षक कर्मचारी २०६८ अघिकाले पेन्सन पाउने र त्यसपछिकाले पेन्सन नपाउने व्यवस्था आफैंमा गलत हो’, सहप्राध्यापक साहले नागरिकसँग भने, ‘समाजलाई शिक्षत बनाउने शिक्षकको अवकाशपछि पेन्सन नपाउँदा सामाजिक प्रतिष्ठामा आँच आउँछ नै, तर सामाजिक असुरक्षा पनि बढ्छ।’
त्रिवि र राज्य दुवै पक्षले त्रिविका शिक्षक र कर्मचारीलाई पेन्सन व्यवस्था अनिवार्य गर्नुपर्छ।’ २०६६ साल भदौ २६ मा बसेको त्रिवि सभा र २०६६ फागुन २३ को त्रिवि कार्यकारी परिषद्को निर्णयले २०६६ भदौ २६ पछि स्थायी नियुक्ति पाएका प्राध्यापक तथा कर्मचारीलाई योगदानमा आधारित उपदानको व्यवस्था गरी पेन्सन व्यवस्था हटाएको थियो।
जबकि यो व्यवस्था सरकारले निजामतीलगायत अन्य क्षेत्रमा २०७५ साउन १ पछि स्थायी भएकाहरूको हकमा मात्र लागु गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयमा पनि त्रिविमा जस्तै पहिल्यै पेन्सनको व्यवस्था हटाइएकोमा २०७५ असार मसान्तसम्म स्थायी हुनेका लागि पुनः पेन्सनको व्यवस्था गरेर सरकारको निर्णयअनुरूप एकरूपता गरेको थियो। ‘त्रिविमा पेन्सन पाउने पदाधिकारीले अरूलाई पेन्सन नदिने निर्णय गर्दा आफूहरूलाई अप्ठ्यारो पर्छ भनेर २०६६ भदौ २६ को निर्णयलाई दुई वर्षसम्म गोप्य राखी २०६८ कात्तिक २८ मा मात्र सार्वजनिक गरेका थिए’, आन्दोलनरत शिक्षक सिंहले विगतका घटना सुनाए, ‘आफ्नो निर्णयलाई थप मजबुत बनाउन त्रिवि पदाधिकारीले सरोकारवालालाई थाहै नदिई २०७१ वैशाख २ मा अर्थ मन्त्रालयबाट पत्र लेखाएको समेत भेटिएको छ।’
पेन्सनका लागि भनेर अर्थ मन्त्रालयले त्रिविलाई सुरुदेखि नै कहिल्यै रकम नपठाउने गरेको उपप्राध्यापक डा. नन्दकिशोर सिंहले बताए। २०६६ भदौ २६ पछि स्थायी भएका प्राध्यापक तथा कर्मचारीले थाहा पाएदेखि नै त्रिविमा पेन्सन हटाउने निर्णयको विरोध गर्दै आएका छन्। आफ्ना माग बुँदागत राख्दा सर्वप्रथम पेन्सनको माग २०७६ सालमा तात्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासमक्ष उठाइएको समेत उनले जनाए।
कोरोनाकालमा आफ्ना मागलाई सशक्त उठाउन नसकेपछि थन्किएको मागलाई उपकुलपति प्रा.डा. केशरजंग बरालसमक्ष पुनः राख्दा तत्कालीन त्रिवि कार्यकारी परिषद्ले प्रा.डा .विनोद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी पेन्सनको सम्भाव्यता अध्ययन गरिएको थियो। त्यस समितिले स्रोतसमेत देखाई विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारीलाई पेन्सन दिन सकिने सुझाव दिएको धेरै समय भइसक्दा पनि त्रिवि कार्यकारी परिषद्ले पेन्सन दिने निर्णय गरेको छैन। यसकारण त्रिविमा दबाब दिन बाध्य भएर आफूहरूले आन्दोलनको बाटो अपनाउनुपरेको आन्दोलनरत शिक्षक कर्मचारी बताउँछन्।
प्राध्यापक तथा कर्मचारीहरू दैनिक एक घन्टा अनिश्चितकालीन धर्ना बस्नुपरेको उपप्राध्यापक डा. सन्तबहादुर थापाको गुनासो छ। ‘जेनजी आन्दोलनको जगमा खडा भएको वर्तमान सरकार बनेपछि नियुक्त उपकुलपति प्रा.डा. भोला थापासमक्ष पद बहाली भएको पहिलो दिनमै आफ्ना माग राखी धर्नालाई निरन्तरता दिएको पनि धेरै दिन गुज्रिसक्यो’, आन्दोलनस्थलबाटै उपप्रा.डा. थापाले नागरिकसँग भने, ‘विगतमा विश्वविद्यालयले आफैं व्यवस्था गर्दै आएको र कार्यदलले सुझाव दिएअनुसार थोरै आर्थिक व्यावस्थापन गर्दा बाँकीका लागि पनि पेन्सनको व्यवस्था हुन्छ।’
विश्वविद्यालयले आफैं आर्थिक व्यवस्थापन गर्न सक्ने हुँदा पेन्सनका कारण सरकारले थप आर्थिक भार व्यहोर्नु नपर्ने उपप्राध्यापक डा. तिलकबहादुर खत्रीको भनाइ छ तर पनि मिटरब्याज पीडितलगायत आन्दोलनरत थुप्रै समूहका मागलाई तत्काल सम्बोधन गर्दै आएको यो सरकारले त्रिविका शिक्षक र कर्मचारीको मागप्रति ध्यान नदिएको उपप्रा खत्रीको गुनासो छ। धर्नारत त्रिविका प्राध्यापक तथा कर्मचारीको सरकार र त्रिवि पदाधिकारीलाई एउटै प्रश्न छ– हाम्रो न्यायोचित पेन्सनको माग कहिलेसम्म सम्बोधन होला?
कार्यवाहक रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले त्रिवि शिक्षक कर्मचारीको पेन्सन आन्दोलनबारे जानकार रहेको र सकेसम्म छिटो समस्या समाधान गर्न लागिपरेको बताए। उनले त्रिविका पदाधिकारीहरू शिक्षक र कर्मचारी पेन्सन समस्याबारे संवेदनशील रहेको र समाधानको मोडेलबारे छलफलसमेत गरिरहेको जनाए। ‘सरकारको पनि समय र परिस्थितिअनुसार नीतिगत व्यवस्था हुँदै आएको छ। विशेष परिस्थितिमा नीति फरक हुन्छ’, रजिस्ट्रार चालिसेले नागरिकसँग भने, ‘हामी छिटै आन्दोलनरत शिक्षक र कर्मचारीसँग छलफल गरी समस्या कुन मोडेलबाट समाधान गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्ने छौं।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।