नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुली?’ भन्न थालेका छन्।
पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। दुई–तीन दिनयता उपत्यकामा छिन–छिनमा बिजुली जाने समस्या देखिएको हो। बिजुली जाने र आउने निश्चित नभएसँगै जाडोमा उपत्यकाबासी अँध्यारोमै बस्न बाध्य छन्। यसले नियमित रूपमा भरपर्दाे तथा गुणस्तरीय बिजुली आपूर्ति गर्न प्रयत्नशील रहेको प्राधिकरणको दाबी फिका हुँदै गएका छ।
दुई दिनयता काठमाडौंसहित मुलुकभर पानी परिरहेको छ। पानी परेको बेला बिजुली माग घटे पनि आपूर्तिमा समस्या हुँदा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको हो।
अहिले कतै कतै त दिनमा १०–१२ पटकसम्म बिजुली जाने समस्या छ। प्राधिकरणले भने समस्या समाधान गर्न सकिरहेको छैन। बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने बानेश्वर, कोटेश्वर महादेवस्थान क्षेत्रमा विगत तीन दिनदेखि विहान–बेलुका लगातार लोडसेडिङ भइरहेको छ। यतिबेला राजधानीका अधिकांश क्षेत्रका उपभोक्ताको समस्या उस्तै छ– जति बेला पनि बिनासूचना बत्ती जाने।
पेप्सीकोला टाउन प्लानिङको एक भागमा बुधबार साँझ ६ बजेदेखि २४ घन्टासम्म बिजुली नआएको स्थानीय टेकराज ज्ञवालीले जानकार दिए। उनले यसबारेमा प्राधिकरणमा पुगेर बुझ्दा ट्रान्सफर्मर तयार भइरहेको जानकारी पाएको बताए।
काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित महादेव स्थानका शालिक शर्माले दिनदिनै बिजुली काटिँदा आजित भएको बताए। ‘अहिले कोटेश्वर क्षेत्रमा साँझमा अघोषित लोडसेडिङ जस्तै भइरहेको छ। बुधबार साँझदेखि गएको बिजुली बिहीबार बिहानमात्रै आयो। बिहीबार दिउँसो पनि बिजुली जाने–आउने समस्या कायमै छ,’ उनले भने, ‘बिजुली कुन बेला आउँछ र कुन बेला जान्छ निश्चित छैन। लोडसेडिङ गर्ने नै हो भने निश्चित समय तोकेर गरे भइहाल्यो नि!’
शर्मा मात्रै होइन, अधिकांश राजधानीबासी पटक–पटक विद्युत् अवरुद्ध हुने समस्याबाट आजित छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई ओभरलोडको कारणले झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भइरहेको बताउँछन्। ‘कतै ट्रान्सफर्मरहरू ओभरलोडेड भएका छन्,कतै एमसिजी गएका छन्। कतै कन्डक्टर ड्यामेज भएर पनि झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भइरहेको हो,’ उनले भने, ‘विगतको तुलनामा काठमाडौं उपत्यकामा ७०–८० मेगावाट माग बढेकाले पनि बिजुली अवरुद्ध हुने समस्या भएको हो।’
प्राधिकरणका अनुसार पहिला उपत्यकामा पिक आवरमा ३८० देखि ४०० मेगावाट माग हुने गथ्र्याे। अहिले चार सय ५० मेगावाटभन्दा धेरै माग छ। प्रवक्ता भट्टराईले पुरानो बिजुलीका संरचनामा फिडर, ट्रान्सफर्मर र एमसिबी सर्टसर्किट हुँदा समस्या आएको बताउँछन्। प्राधिकरणका अनुसार पछिल्लो समय इन्टरनेट सेवा प्रदायक कम्पनीका तारमा सर्टसर्किट भएर पनि समस्या थपिँदै आइरहेको छ।
प्रवक्ता भट्टराई अहिले दैनिक ५–७ वटा ट्रान्सफर्मर ओभरलोडले पड्किने गरेको दाबी गर्छन्। ‘समस्या आएपछि मर्मतसम्भार गर्न कति समय लाग्छ भन्ने ठेगान हुँदैन,’ उनले भने। प्राधिकरणका अनुसार वर्षा हुनुअघिसम्म बिजुली माग दैनिक १७ सय मेगावाट रहेको थियो।
वर्षाका कारण बिजुलीको माग घटेर साढे १५ सय मेगावाट भएको छ। अहिले भारतबाट दैनिक सरदर ६ हजार मेगावाट आवर बिजुली आयात भइरहेको छ।
प्राधिकरणका अनुसार अहिले पिक आवरमा करिब १६ सय ९९ मेगावाट माग छ। प्राधिकरणको तथ्यांक अनुसार प्राधिकरण मातहतका आयोजनाबाट दैनिक ८९०१ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीबाट ४५ सय १४ मेगावाट आवर, निजी क्षेत्रको प्रवद्र्धक कम्पनीबाट ९४ सय ५ मेगावाट आवर र भारतबाट आयात ७१ सय ९ मेगावाट आवर आपूर्ति छ। अहिले ३५ मेगावाट आवर बिजुली अवरुद्ध भइरहेको छ। कुल इनर्जी डिमान्ड २९ हजार ८ सय ६५ मेगावाट आवर छ।
जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।
बिजुली नहुँदा जेनेरेटर चलाएर भए पनि जेनतेन अक्सिजन बेडसम्म पुर्याइरहेका छौँ, प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भने,‘बुस्टर कम क्षमताको भएको कारणले सिलिण्डर भर्न सकिएको छैन। बुस्टर खरिदको लागि टेण्डर भइसकेको छ। केही दिनभित्र यहाँ अक्सिजन सिलिण्डर भर्ने व्यवस्था हुनेछ।’
अक्सिजन प्लान्टबाट सिलिण्डर भर्नको लागि आवश्यक पर्ने बुस्टर खरिद प्रक्रिय अघि बढिसकेको छ। एक दुई दिनभित्र ३ देखि ४ सय अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी भइरहेको रजिष्ट्रार काफ्ले बताउँछन्। कर्णाली प्रदेश सरकार र केन्द्र सरकारले दिएको बजेटले खरिद प्रक्रिया अघि बढिरहेको हो।
जुम्लामा रहेको अक्सिजन प्लान्टले यहाँको तीन सय बेडलाई धान्छ। तर अहिलेको मुख्य समस्या भनेको बिजुली हो। रजिष्ट्रार काफ्लेले भने,‘बिजुली भए मात्र जुम्लालाई अक्सिजनको समस्या हुँदैन। अहिले बिजुली अभावका बावजुद १ सय ५० बेडमा अक्सिजन पुगिरहेको छ।’
चौविसै घण्टा जेनेरेटर चलाउँदा प्रतिष्ठानले खर्चको भार थेक्न सक्ने अवस्था रहदैन। बिजुली र बुस्टर जडानपछि चौविस घण्टामा ६० सिलिण्डर भर्ने लक्ष्य रहेको छ। अहिले जेनेरेटर चलाएर अक्सिजन उत्पादन गर्दा १० देखि १२ लाख रुपैयाँ मासिक खर्च आउँछ। बिजुली बिना अक्सिजन प्लान्ट चलाउन गाह्रो छ। उनले भने,‘बैकल्पीक उपायको पनि खोजि भइरहेको छ। जुम्लामा अक्सिजन अभाव हुन दिँदैनौँ।’
बिद्युत् व्यवस्थापनको लागि बिद्युत् प्राधिकरण शाखा कार्यालय जुम्लासंग समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ। ‘प्राधिकरण शाखा जुम्लाको हाकिम सावले फोन गर्नु भएको थियो। यहाँ १ सय ५० किलोबाट बिजुली छ। सर्वपक्षीय बैठक बसेर कर्णाली प्रतिष्ठानलाई प्राथमिकतामा राखेर बिजुली व्यवस्थापन गरौँ भनेर भन्नु भएको छ, रजिष्ट्रार काफ्लेले भने,‘२४ घण्टामा १२ घण्टा बिजुली प्रतिष्ठानलाई दिन सकिएको खण्डमा निकै राहत हुनेछ। १२ घण्टा बिजुली उपलब्ध गर्नको लागि पहल भइरहेको छ।’
‘अहिले बेडमा राखिएका बिरामीलाई अक्सिजनको समस्या छैन। प्लान्टकै अक्सिजनले काम गरेको छ। सिलिण्डर भर्न बुस्टर चाहिन्छ। खरिद प्रक्रिया अघि बढिसकेको छ। बुस्टर जडान हुने वित्तिकै अक्सिजन सिलिण्डर जुम्लामै भरिन्छ। अनि सजिलो भइहाल्छ,’ रजिष्ट्रार काफ्लले भने।
अहिलको बुस्टरले २४ घण्टामा ८ अक्सिजन सिलिण्डर भर्छ। राष्ट्रिय प्रशारण लाइन कालिकोटसम्म पुगेको छ। जुम्ला पुगेपछि अक्सिजन अभाव हुने छैन। बिजुली अभावले मात्र समस्या भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।