यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यवसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यवसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचे जति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्।
पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँ स्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ। होटल संघ पोखराले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको आयोजकले बताएको छ। खानाका विविध परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुनेछन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरे। महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना गरिएको छ। महोत्सवका अवसरमा होटलले प्रकाशित कोठाको मूल्यमा २० प्रतिशत छुट प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए।
कोभिड–१९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौँको रोजगारी गुम्दा नकारात्मक रुपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले सुनाए। ‘यो छुटले पोखरामा आन्तरिक पाहुना भित्र्याउन सहज हुने अनुमान छ,’ उनले भने, ‘केही आकारमा भए पनि पाहुना भित्र्याउन सक्ने हो भने पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा हो।’
पोखराका अहिले आन्तरिक पाहुना पनि कम भएको बेला यो छुटले केही पाहुनालाई आकर्षित गर्न सघाउने उनले बताए। व्यावसायीका अनुसार यो बेला पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यो वर्ष भने मुख्य सिजनमा पनि पोखरामा कम संख्यामा पाहुना आएका छन्। यति बेला पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत पुग्नुपर्नेमा विदेशी पाहुना अभावमा होटलको अकुपेन्सी दर २० प्रतिशत हाराहारीमा सीमित रहेको अध्यक्ष सुवेदीले बताए।
अध्यक्ष सुवेदीका अनुसार २० प्रतिशत अकुपेन्सीमध्ये पनि ५ प्रतिशत तेस्रो मुलुक, १० प्रतिशत आन्तरिक र बाँकी भारतीय पाहुना छन्। ‘कम्तीमा ४० प्रतिशत अकुपेन्सी नहुने हो भने व्यवसाय धान्न सकिन्न, कमाउनका लागि त कम्तीमा ५० प्रतिशत अकुपेन्सी हुनैपर्छ,’ उनले भने, ‘अहिले कमाउने होइन, व्यवसायमा टिकिरहने उपाय व्यवसायीले खोजेका छौ।’
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल अगाडि बढाउनुपर्ने भनाई राखे। कोरोना भाइरस सङ्क्रमणपछि देशको आर्थिक अवस्था र पर्यटन क्षेत्र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्ने उनले बताए।
सो अवसरमा होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र संचालन गरिनुपर्ने बताए। ‘पोखराबाट सिधै विदेश उड्ने पोखरेलीको सपना अझै पनि पूरा नहुनु दुर्भाग्य भएको छ,’ उनले भने, ‘पोखराबाट अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहँदा त्यो तयारी नपुग्दा कतै हतारमा पो विमानस्थल उद्घाटन गरियो कि भन्ने आशंका गर्न सकिन्छ।’ यदि त्यसो हो भने अब अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने उनले बताए।
कार्यक्रममा प्रमुख अतिथिको भनाई राख्दै महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउँदै संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताए। यो घोषणसँगै रत्नमन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए।
पोखराको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्ने विषयमा सरकारसँग गम्भीर रुपमा कुरा राखिएको बताउँदै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पनि यस विषयमा संवेदनशील बन्नुपर्ने उनले बताए नक्सा पास नभएका पोखराका घरले अतिरिक्त कर तिर्नुपर्ने नत्र ती घर भत्काइने चेतावनी पनि उनले सो अवसरमा दिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान संचालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराए। पृथ्वीराजमार्गको स्तरोन्नति कार्यलाई शीघ्र रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी उनले दिए। बैंकको चर्को ब्याजले व्यवसायीलाई परेको समस्या समाधान गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा राखिएको उनले बताए।
सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ। यस याममा गर्मी छल्न तथा मनमोहक तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन्।
स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन्। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँछन्।
चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल। हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ। हुन त अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गर्छन्।
त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्छ। साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्छन्। पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका-६ बाट यहाँ पुगेका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए।
‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन। हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ। यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन्।’ उनले भने।
अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको सुनाए। तालको सुन्दरताबाट उनी लोभिएको बताउँछन्।
प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका– ६ का ४७ वर्षीय राधा रजौरेले बताए।
उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे। उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभई छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ। मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ।’
सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन्। त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ।
बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए। उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए।
ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन्।
उनी भन्छिन्,‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ।’ तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताइन्।
कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए। उनका अनुसार यस तालको आफ्नै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो।
कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। तालको क्षेत्रफल भने यकिन छैन। तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन। स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन। देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ।
बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताउँछन्। ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातावरणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए।
प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए। साथै यस वर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाई थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।