१) मुक्तक
बिचरो बबुरो चरो पिंजडाभित्र हुन्छ,
बरा! घरीघरी सम्झिन्छ घरीघरी रुन्छ।
दुनियाँ नै जालभित्र छ, बुझ्दैन मूर्ख,
बिलौनाले मनमुटु कटक्क छुन्छ।
२) मुक्तक
आखिर रित्ता शहर, रित्ता घर कहिलेसम्म,
सधैं जोहो र हुन्छ नै, अभर कहिलेसम्म।
बहिरो भएको रहेछ, यो निम्छरो सरकार,
दिनहुँ नागरिक छन् बेखबर कहिलेसम्म।
३) मुक्तक
बाँचिंदैन सधैं, धर्तीबाट घट्दै जाने हो,
सकेसम्म न बलबुतामा खट्दै जाने हो।
पैसाले आफ्ना हुनेहरू के भन्छन् कुन्नि?
आफू त! जोसँग चित्त बुझ्दैन, टाढा हट्दै जाने हो।
४) मुक्तक
अर्काको थाल चाट्नेले आफ्नो थाल बिर्सिन्छ,
बिर्सिन्छ, सुखको घर दुखको पाल बिर्सिन्छ।
बेचिरहने पसले मात्र शहरमा हजारौं छ्न् यहाँ,
भिखारीले आफ्नै विगत आफ्नै हाल बिर्सिन्छ।
५) मुक्तक
एउटा यस्तो समय, घडी चल्न बिर्सियो भने,
छलिरहने बादलले छल्न बिर्सियो भने।
अनि शून्यतामा हराउँथ्यो होला प्रकृति,
कोपिला लागिरहयो फुल्न बिर्सियो भने।
६) मुक्तक
गाउँमा अचेल झ्याल छ, घरका ढोका छैन,
छैन रोजगार, बेरा छाना बस्ने कोठा छैन।
जब गाउँ पसे, लघुवित्त र बिकासे बैंकहरू,
ऋणमा चुर्लुम्म गाउँले, पानीखाने लोटा छैन।
७) मुक्तक
धित मरुन्जेल रुन पनि आफ्नै चाहिन्छ,
स्पर्शले वा धाप छुन पनि आफ्नै चाहिन्छ।
देखावटी थुप्रै प्रसंशा र प्रमाण छ्न् मसँग,
तेरो म छु, मेरो तँ हुन पनि आफ्नै चाहिन्छ।
८) मुक्तक
नसोच्नु तिमी खेदिरहनु म भागिरहन्छु,
तिमी जस्तै दुख देखाएर सुख मागिरहन्छु।
बाँच्न सिकाइन आमाले परिश्रम सिकाइन,
हरेक रात तिमी निदाउँदा म जागिरहन्छु!
९) मुक्तक
रोप्नुभयो बिसौनीमा पिपल र बर,
छोराछोरी परदेश भयौं, छैन केही भर।
फर्की आउ भन्नुहुन्छ, आजभोलि बाले,
तिर्थभन्दा ठूलो रहेछ, सन्तान र घर।
१०) मुक्तक
ढुङ्गालाई देउता भनी पुज्नु गल्ती थियो
तिमी एउटा संसारमा बुझ्नु गल्ती थियो
रोइरहेँ तिम्रा अघि, खुल्यो आँखा आज,
तिमी भेट्न मन्दिरमा कुद्नु गल्ती थियो!
१) मुक्तक
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,
मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।
सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,
सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ।
२) मुक्तक
जून चुपचाप छ, ताराहरू चुपचाप छ्न्,
बग्दो जुलुस छ, नाराहरू चुपचाप छन्।
अनन्त अविरल बगिरहेको छ जीवननदी,
उदास उदास किनाराहरू चुपचाप छ्न्।
३) मुक्तक
तुलसी थिएँ उपेक्षित झार बनायौ,
सत्तालाई स्वार्थको आधार बनायौ।
निरन्तर अस्तित्वको खोजीमा थिएँ,
हरेक उत्साहलाई निस्सार बनायौ।
४) मुक्तक
मीठो बोल्दै आउँछन् र एकछिन रोक्किएर जान्छन्,
स्वार्थ पूरा नभएपछि बिनाकारण झोक्किएर जान्छन्।
यस्तै हो कलियुगको जमानामा चित्त बुझाउनुपर्छ,
पुतलीहरू आउछन् र बत्तिमा ठोक्किएर जान्छन्।
५) मुक्तक
जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ,
त्यहाँ आँसुले रुझेको एउटा, फूल हुन सक्छ।
जब धमिलिन्छ, सम्बन्धको शान्त र सङ्लो नदी,
त्यहाँ विश्वास भत्किएको पुल हुनसक्छ।
६) मुक्तक
भोकाहरू भोकै छन्,अघाएकालाई कोच्नुपर्छ,
कुम्भकर्णलाई ब्युँझाउन, पटकपटक घोच्नुपर्छ।
आकाङ्क्षाको खोला तर्न कहाँ हुन्छ भने जस्तो,
जिन्दगी हो बाँच्न यहाँ, धेरै कुरा सोच्नुपर्छ।
७) मुक्तक
कहिले चिसो चुल्होमा हुन्छु, कहिले चुहिने छानामा हुन्छु,
कहिले पानीले अक्षर मेटिएको, अनाम ठेगानामा हुन्छु।
ओठमा क्षणिक मुस्कान देख्दैमा खुसी छु भन्ने नठान्नू,
अचेल म हरेक पुस्तकका आँसुले रुझेका पानामा हुन्छु।
८) मुक्तक
विश्वास बोकेको मुटुमा चोटहरू फल्न थालेपछि,
संयमित बस्तीमा भोकको आगो बल्न थालेपछि।
थाहा पाउनेछौ विस्फोटित मनहरूको मौन विद्रोह,
मुर्दाघाटमा अनायास मसानहरू चल्न थालेपछि।
९) मुक्तक
पूजा गर्न पनि यहाँ, विचरा भगवान् किन्न पर्छ,
अनैतिकताको पसलमा स्वाभिमान किन्न पर्छ।
अचेल साँच्चै नै जमाना बदलिएछ कि क्या हो,
निर्लज्ज यहाँ, पुरस्कार र सम्मान किन्न पर्छ।
१०) मुक्तक
विश्वासको भित्तो भत्किएपछि, टाल्न सकिन्न,
कठोर ढुङ्गा भएपछि मुटु ,पगाल्न सकिन्न।
बाँसका जरा हुँदा रहेछन् कुनैकुनै सम्बन्धहरू,
कमलो झारजस्तो फुत्त उखेलेर फाल्न सकिन्न।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।