‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’
भएको यत्ति हो। तर, इमानसिंहको मस्तिष्कमा भने यो शब्द, शब्दका रूपमा पुगेन, गोली समान भएर वर्षियो। एकाएक झट्का लाग्यो। उनी लर्याकलुरुक भएर त्यही क्षण भुईँमा ढले। त्यो पल केवल उनको शरीर मात्र ढलेन, मन र आत्मा पनि ढल्यो। आशा बोकेर बुनिएका सबै सपना ढले।
अहिले फर्किएर हेर्दा उनको जीवन नै त्यही क्षण ढलेको थियो।
यो कथा लमजुङको दोर्दी गाउँपालिका–९ हिले टक्सार माझगाउँका ५४ वर्षीय इमानसिंह गुरुङको हो। घटना भने उनी १८ वर्ष हुँदाको हो।
त्यहीँ घटनापछि इमानसिंहको जीवन असामान्य बन्यो। उनको जीवनमा त्यसपछि कहिल्यै उज्यालो आएन। सपना, आशा र खुसीका कुनै रङ्ग उनीसम्मुख झुल्किएनन्। उनले जीवनका ३२ वर्ष पशु सरह बिताए, कठोर यातना झेले।
इमानसिंहको जीवन न त स्वतन्त्र थियो, न त मानवतूल्य। उनी आफ्नै घरको खम्बामा साङ्लोले ३२ वर्ष बाँधिए। न राम्ररी खुला आकाश हेर्न पाए, न त मान्छेसँग संवाद गर्न पाए। गोठजस्तो अँध्यारो कोठामा नारकीय जीवन गुजारे।
इमानसिंहका साथी थिए त केवल परेवा, कुकुर र झिँगा। उनीहरूसँगै इमानसिंहले एउटै थालमा खाना र पानी खाएर आफ्नो भोकप्यास मेटाए, पीडा बाँडे। दिनभर परेवाले गुँड लगाएको, बच्चा कोरलेको र उड्दै गरेको हेरिरहे। तर, साङ्लामा बाँधिएका इमानसिंह आफैँ कहिल्यै उड्न सकेनन्।
अपराध कर्ममा जन्मकैदको सजाय पाएको व्यक्तिले पनि २० वर्षपछि स्वतन्त्रता पाउँछ। तर इमानसिंहले कुनै अपराध नै नगरी ३२ वर्ष घरमै जेलजीवन बिताउनुपर्यो।
तेजस्वी बाल्यकाल र त्यो लाहुरे सपना
विसं २०२७ सालमा बुवा वीर सुब्बा गुरुङ र आमा गोमाया गुरुङको कान्छा छोराका रूपमा इमानसिंह जन्मिएका हुन्। सानैदेखि उनी खेलकुदप्रति असाधारण रुचि राख्थे। गाउँमा आयोजित मेला महोत्सवका खेलकुद प्रतियोगितामा भाग लिन उनी सधैँ उत्साहित रहन्थे। खेल हुने दिन बिहानै वार्मअपका लागि दौडनु उनको दिनचर्या जस्तै थियो।
इमानसिंहका भतिज कृष्ण गुरुङ पनि प्रायः इमानसँगै खेल्न जान्थे। ‘इमानसिंह नाताले मेरो काका हो। उमेरले भने हामी सँगसँगैका हौँ। उहाँको बुवा र मेरो बुवा दाजुभाइ,’ बाल्यकालका यादहरू सुनाउँदै कृष्णले भने, ‘स्कुल सँगै जान्थ्यौँ, फुटबल, भलिबल खेल्थ्यौँ। मेला महोत्सवमा रमाइलो गर्न जान्थ्यौँ।’
खेलकुदमा इमानको अद्भुत लगाव थियो। विशेषगरी हाई जम्प र लङ जम्पमा उनी गाउँकै उत्कृष्ट खेलाडी थिए। उनको फुर्ती देखेर गाउँलेहरू उनलाई ‘यो त लाहुरे हुन्छ’ भनिदिन्थे। त्यही कुराले इमानसिंहमा ‘लाहुरे बन्ने सपना देख्न’ प्रेरित गरेको हो।
इमानसिंहको उमेर १८ वर्ष पुगिसेको थियो। उनी ८ कक्षामा पढ्दै थिए। एक दिन घरमै बसिरहेका बेला भेना नाता पर्ने व्यक्ति घरमै आएर सुझाव दिए, ‘घरमै बसेर के हुन्छ इमान ? लाहुरे जानु पर्छ पैसा कमाउन।’ सँगै उनी आफै पनि जाने भएकाले ‘जाने हो ?’ भनी प्रश्न तेर्स्याए। इमानका लागि त्यो क्षण ‘ढुङ्गा खोज्दा देउता भेटेको’ जस्तै थियो।
त्यसपछि इमानले आफूलाई लाहुरे बनेर आमाबाबुलाई सुख दिने सपना देख्न थाले। त्यतिबेला घरमा उनको बिहेको चर्चा सुरु भइसकेको थियो। तर, इमानसिंह भने ‘लाहुरे सपना’ पूरा गरेर मात्रै बिहे गर्न चाहन्थे। लाहुरे बनेर बुबाआमा पाल्ने, सँगै बिहे गर्ने र छोराछोरी जन्माएर उनीहरूको सुनौलो भविष्य कोर्ने सपना इमानसिंहले बुनिसकेका थिए।
अनि, इमानसिंह घरमा समेत थाहा नदिई ती भेनासँगै जंगल, भन्ज्याङ हुँदै देशको सीमा पार गरेर भारततर्फ प्रस्थान गरे।
***
भारत पुगेपछि इमानसिंह प्रारम्भिक अभ्यासमा सहभागी भए। त्यहाँ भारतीय गोर्खा रेजिमेन्टमा भर्ती हुन इमानसिंह पुगेका थिए। आवेदन दिइसकेका थिए।
छनोटको दिन आयो। गाउँमा हुने खेलकुद, दौडधुप, शारीरिक स्फुर्ती सबै कुरामा तेजतर्रार इमानसिंहमा आफू छनोट हुनेमा ढुक्क थिए। सँगै उनका मनमा एक आम नेपाली युवामा तैरिरहने जस्तै भविष्यका सपनाहरू तैरिरहेका थिए।
ठ्याक्कै त्यहीँबेला जाँचकर्ताले भनेका हुन्, ‘तेरो हाइट पुगेन। आउट !’
त्यो ‘आउट’ भन्ने शब्द कुनै संगीन गोलीझैँ इमानसिंहको दिल र दिमाग छेडेर पड्कियो। उनी बेहोस भएर भुईँमा ढले।
होसमा आउँदा उनी गाडीमा थिए। कसैले उनलाई गाडीमा चढाइदिएका रहेछन्। तर, त्यो ‘आउट’ भन्ने शब्द फेरीफेरी उनको दिमागमा बज्रिरहन थाल्यो। उनी आफूलाई सम्हाल्नै सकिरहेका थिएनन्। गाडीमै रहँदा इमानसिंहले आत्महत्याको कोसिस समेत गरे। गुडिरहेको गाडीबाट हाम फाल्ने खोजे। खलासीले रोकेर घरसम्म पुर्याइदिए।
एकातिर सपनाको अवसान हुँदा इमानसिंह आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, अर्कातिर आफू घरबाट नभनी हिँडेको दिनदेखि आमा बिरामी परेको कुरा घर पुगेपछि थाहा पाउँदा थप स्तब्ध बने। बिरामी आमा छोरालाई देखेपछि जुरुक्क उठिन्। तर ‘लाहुरे सपना’ टुटेका छोरा इमानसिंह भने मानसिक रूपमा उठ्नै नसक्ने भइसकेका थिए।
इमानसिंह घर फर्किएपछि परिवारले बिहे गरिदिन खोजेको थियो। तर, उनले मन पराएकी केटीले अर्कैसँग बिहे गरिन्। त्यसपछि उनी झनै विक्षिप्त हुँदै गए।
इमानसिंहको मानसिक विक्षिप्तता झन्झन् बढ्दै गयो। उनी आफैलाई कष्ट दिन थाले। कहिले खोलामा हाम फाल्न थाले, कहिले घाँटीमा पासो लगाउन थाले। खोलामा हाम फाल्दा माझीले बचाए, पासो लगाउँदा घाँस काट्नेले डोरी काटिदिए।
एकदिन गाउँ नजिकै खर बारीमा इमानसिंह कृष्ण र उनका साइँला दाइ कर्णसँग गाई चराउन गएका थिए। ‘त्यस दिन उहाँ जङ्गलको एक कुना बसिरहनु भएको थियो। उहाँले साइँलो दाइलाई हातको इसाराले बोलाउनु भयो,’ त्यसदिनको घटना कृष्ण सम्झन्छन्,‘त्यतिखेर उहाँको हाउभाउ बदलिएको थियो। उहाँका कुराहरू अनौठा थिए।’ कृष्ण खै के काम परेर अर्कै ठाउँ गएका रहेछन्। ‘बेलुका खाना खाने बेलामा पो थाहा भयो। इमान काकालाई त बोकेरै घर ल्याउन परेको रैछ। त्यही दिनदेखी हामीले उहाँको अवस्थाबारे थाहा पायौं। उहाँको मानसिक अवस्था धरै बिग्री सकेको रहेछ’, कृष्ण सम्झन्छन्।
त्यसपछि परिवारले झाँक्री देखाए, पण्डित बोलाए, तर सीप लागेन। अन्ततः उनलाई उपचारका लागि काठमाडौं पुर्याइयो। उनका साइला र माहिला दाइले मानसिक अस्पतालमा भर्ना गराए। नियमित औषधि सेवनको दुई महिनापछि उनको अवस्थामा थोरै भए पनि सुधार आयो।
त्यसपछि गाउँ फर्किए, केही दिन पुरानै लयमा पनि फर्किए। आफ्ना साथीभाइसँगै पुनः खेलमा रमाउन थालेको पनि कृष्ण बताउँछन्। त्यसैबीचमा गाउँमा भएको एक फुटबल प्रतियोगितामा इमानसिंहले टिम कप्तान बनेर प्रतियोगिता नै जितेको कृष्ण स्मरण गर्छन्।
इमानसिंहले नियमित औषधि खानुपर्थ्यो। उनी आफूले खाने औषधि लिन आफै काठमाडौं आउजाउ गर्थे। एकाएक राम्रो हुँदा हुँदै पनि उनले बिचमा औषधि खान छाडिदिएछन्। औषधि छाड्न उनको मानसिक अवस्था पुनः बल्झियो।
कृष्णकाअनुसार रूढीग्रस्त समाजका कारण इमानले औषधि खान छाडेका हुन्। गुम्बाका ठूला लामाहरूले ‘दिएको बली नखाने यस्तो औषधि खाने’ भन्न थालेपछि उनले औषधि छाडेका थिए। ‘यती बेलासम्म उहाँको बाबुआमा जीवित हुनुहुन्थ्यो। उहाँहरूले थप उपचारका लागि भारतको राँची समेत लैजानु भयो,’ कृष्ण भन्छन्, ‘तर ढिला भइसकेको थियो। हर सम्भव कोसिस गर्दा पनि काकालाई पुरानै अवस्थामा फर्किनबाट रोक्न सकिएन।’ अब भने इमानसिंहले आफ्नो पुरै होस गुमाइसकेका थिए। बच्चाहरू उनलाई पागल भन्दै लखेट्थे। जवानहरूले बहुला भन्दै कुट्थे।
छिमेकीहरू पागल भनेर हेप्थे। आमाले छोरालाई यसो नभनिदिन बिन्ती गर्दा उल्टै ‘बोक्सी बुढी’ भन्दै हकार्ने गरेको कृष्णले देखेका छन्।
..अनि साङ्लामा बाँधिए
समयले इमानसिंहलाई बहुला बनायो। मानसिक सन्तुलन गुमेपछि उनको व्यवहार खतरनाक बन्दै गयो। परिवारमाथि आक्रमण गर्ने, जे देख्यो त्यही भत्काउने, घरको सामान फाल्ने उनको स्वभावले गाउँ नै त्रसित बनायो। गाउँलेहरूले उनीलाई घरमै बाँधेर राख्न दबाब दिए। त्यसपछि सुरु भयो उनको ३२ वर्षे पशुवत् जीवन।

त्यसपछि इमानसिंहले सामान्य जीवन जिउने अवसर कहिल्यै पाएनन्। कहिले खाना खाइदिन्थे, कहिले भोकै बसिदिन्थे। भात राखिदिए झिँगासँगै खान्थे, पानी राखिदिए कुकुरसँगै खाने उनको दैनिकी बन्यो।
इमानले ३२ वर्षसम्म मान्छेसँग संवाद गरेनन्। उनलाई कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले कुकुर बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखियो।
आमाबुबाले मृत्यु भएपछि इमानसिंहको हेरचाहको जिम्मा जेठो दाई बेनीराम र जेठी भाउजू दबलकुमारीको काँधमा पुग्यो। उनीहरूले नै त्यसपछिका दुई दशक इमानसिंहलाई सम्हाले।
‘उपचारका सबै बाटा बन्द भइसकेका थिए। सक्दो गरिसकेका थियौँ। केही सीप नलागेर बाँधेर राख्नुपरेको थियो,’ भाउजू दबलकुमारी सम्झन्छिन्, ‘उहाँलाई बाँधेर राख्नुपर्दा दिनहुँ विरक्त लाग्थ्यो। हामीसँग अर्को कुनै विकल्प पनि थिएन।’
अन्धकारबाट उज्यालोतर्फ
२०७७ मंसिर १८ गते मानव सेवा आश्रमको लमजुङ शाखाले एक समाचारका माध्यमबाट इमानसिंहको दर्दनाक अवस्थाबारे थाहा पायो। त्यसपछि जिल्ला प्रशासन र प्रहरीको समन्वयमा आश्रमका अभियन्ताहरू उनको अवस्था बुझ्न गए।
मानव सेवा आश्रमको टोली घर पुग्दा बेनीरामका पतिपत्नी घरमा थिए। इमानसिंह उहीँ दर्दनाक अवस्थामा बाँधिएका थिए।
‘उहाँ उभिन समेत सक्नुभएको थिएन। वर्षौँसम्म कुँजिएर बस्नुपरेकाले खुट्टाले काम गर्दैनथ्यो,’ आश्रमकी प्रदेश संयोजक अनिता अधिकारी भन्छिन्, ‘घुँडाहरू पनि सिधा हुँदैनथे। शरीरका कुनै अङ्गले सामान्य काम गर्न सक्दैनथ्यो।’
इमानसिंहलाई उद्धारपछि लमजुङस्थित मानव सेवा आश्रममा राखियो। त्यहाँ ल्याएर स्वास्थ्य परीक्षण गरी उपचार थालियो। औषधिको प्रभावले स्वास्थ्य अवस्था सुधारोन्मुख देखियो।
‘उहाँलाई फिजियोथेरापी र औषधिको सहायताले बिस्तारै उभिन र हिँड्न सक्ने बनायौँ। लगभग दुई वर्ष लमजुङमै उपचार गरायौँ। केही औषधिहरू पनि चलायौ,’ अधिकारीले भनिन्।
हेटौंडामा रहँदा इमानसिंहको जीवनमा उल्लेखनीय परिवर्तन भयो। ‘उहाँ शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो। फिजियोथेरापीका लागि र मानसिक स्वास्थ्य सुधारका लागि हेटौंडा ल्याइएको हो,’ आश्रमका अध्यक्ष रामजी अधिकारीका भन्छन्, ‘हाम्रो मुख्य कार्यालयको वातावरण र जमिन फराकिलो भएकाले उहाँको मानसिक र शारीरिक सुधारमा यसले ठूलो सहयोग गर्यो।’
घरको माया
स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएपछि इमानसिंहलाई लमजुङ फर्काइयो। अब भने इमानसिंहलाई घरको सम्झना आउन थाल्यो। उनले आश्रमका सदस्यसँग जाने इच्छा जाहेर गर्न थाले।
दाइ भेट्न आएपछि इमानसिंहमा घरको माया अझैँ झन् उद्वेलित भयो। त्यसपछि उनी कसैलाई थाहा नदिएर अचानक आश्रमबाट हिँडे। उनका पाइला घरतर्फ लम्किएका थिए। यता आश्रममा भने त्यसको पत्तो थिएन, आश्रमले खोजी गर्यो, तर उनी कतै भेटिएनन्।
उता इमानसिंह भने घरतर्फ हिँडेका थिए। ‘उहाँ गाउँ आउने पुरानो बाटो खोज्दै आउनु भएको रहेछ। पुरानो बाटोमा अहिले पहिरो गएको छ, बाटो पनि अप्ठ्यारो थियो,’ उनकी भाउजू दबलकुमारी भन्छिन्, ‘रातभरि खै कहाँकहाँ सुत्नुभएछ। बिहान रोडमा सुतिरहेको अवस्थामा रहेछन्।’ उनले घर जाने बाटोको मेसो नै नपाएर त्यहीँ सुतेका थिए।
सहकारी संस्थामा काम गर्ने एक महिलाले बिहान कार्यालय जाँदा सुतेको देखिन। ‘रक्सी खाएको मान्छे होला’ भनेर वास्ता नगरी हिँडिन्। साँझ अफिस सकिएर फर्किँदा पनि इमानसिंहलाई त्यही देखिएपछि भने गएर ‘तपाईं को हो ?’ भनेर सोधिन्। इमानसिंहले जवाफ दिए, ‘म त कर्णको भाइ हो।’ कर्ण इमानसिंहका साइला दाइ हुन्।
त्यसपछि ती महिला र गाउँका केटाहरूले इमानसिंहलाई स्कुटरमा हालेर घरसम्म पुर्याए।
इमानसिंह सन्चो भएर घरको आँगनमा टेक्दा दाजु र भाउजू हर्षविभोर बने। लामो समयपछि परिवारसँग पुनर्मिलन भएको यो क्षण विशेष थियो। इमानसिंह घर पुगेको खबर आश्रमसम्म पुग्यो। आश्रमको टोली औषधि लिएर घरसम्म पुग्यो।
‘ठट्टा गर्दा डर लाग्छ’
इमानसिंह अहिले भने सामान्य जीवन बिताइरहेका छन्। उनी मानिसहरूसँग खुलेर कुरा गर्छन्, ठट्टा गर्छन्। मानसिक अवस्था बिग्रिएर बाँधेर राखिएको समय उनलाई झल्याँस्स सम्झना आउँछ। उनलाई आफू कति समय बाँधिएर बिताए भन्ने कुरा भने ठ्याक्कै थाहा छैन।


बुवाआमामा पनि भविष्यमा सुधार हुने आसा रहेको बेनीराम बताउँछन्। उनी भन्छन्, ‘आमाले सधैँ भन्नुहुन्थ्यो–जीवनमा दुःख मात्रै हुँदैन, सुख पनि आउँछ। आज आश्रमको सहयोगले भाइलाई नयाँ जीवन मिलेको छ।’
इमानसिंह अहिले दाजुभाउजुलाई घरायसी काममा सघाउन पनि थालेका छन्। तर, कहिलेकाहीं उनलाई अत्यधिक बोल्न थालेपछि फेरि पुरानै समस्या दोहोरिने हो कि भन्ने डर लाग्ने उनकी भाउजू दबलकुमारी बताउँछिन्।
इमानसिंहले मानसिक रोगका लागि नियमित औषधि सेवन गर्दै आएका छन्। आश्रमकी प्रदेश संयोजक अधिकारीको बुझाईमा उनले अब नियमित औषधि खाइराख्दा समस्या हुँदैन। ‘यहाँ (आश्रममा) हुँदा उहाँले औषधि पनि नियमित खानुभएको थियो। यो निरन्तरता उहाँले कायम गर्नुपर्छ,’ उनले भनिन्, ‘औषधि खाइरहे पुरानो समस्या बल्झिदैन।’
मानव सेवा आश्रमको एक प्रयासले इमानसिंहको ३२ वर्षे नारकीय जीवनको अन्त्य भएको छ। यो उदाहरणले मानसिक रोगीलाई हेला र तिरस्कार नभएर उचित माया र उपचार गरे पुनर्जिवन सम्भव छ भन्ने गतिलो पाठ दिएको छ।
पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य समस्या गम्भीर चिन्ताको विषय बन्दै गएको छ। मानव सेवा आश्रमको सहयोगमा इमानसिंहले नयाँ जीवन पाए पनि तथ्याङ्कहरूले इमानसिंह जस्तै लाखौं मानिस मनोरोगबाट ग्रसित रहेको देखाएको छ।
विभिन्न अध्ययनहरूले नेपालको कुल जनसङ्ख्याको करिब ३० प्रतिशत अर्थात् ८५ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको देखाउँछन्। यी मध्ये कतिपय सामान्य त कतिपय कडा खाले मानसिक रोगबाट गुज्रिरहेका छन्।
मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्तप्रसाद अधिकारीका अनुसार नेपालमा इमानसिंह जस्तै कडा खाले मानसिक रोगी कुल जनसङ्ख्याको एक प्रतिशत अर्थात् झन्डै तीन लाख छन्।
‘अस्पतालमा उपचारका लागि आउनेमध्ये ३० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोग लिएर आउनुहुन्छ,’ डा. अधिकारी भन्छन्, ‘मानसिक रोग विभिन्न कारणले हुनसक्छ। बाल्यकालको बेवास्ता, उचित मायाममता तथा संरक्षण नपाएमा, एक्लोपन वा बेसहारा महसुस भएमा, तनाव, सामान्य अप्ठ्यारा तथा बेरोजगारी, आर्थिक संकट, र स्वास्थ्य सेवाको अभाव, लागूपदार्थ सेवन, जुवातास जस्ता कारणले मानिसहरूको मानसिक स्वास्थ्य थप कमजोर बनाएको छ।’
सन् २०२० मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२०’ अनुसार नेपालमा १८ वर्षभन्दा माथिका १० प्रतिशत वयस्क र १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोर किशोरीमा कुनै न कुनै प्रकारका मानसिक स्वास्थ्य समस्याबाट पीडित छन्।
सर्वेक्षणमा १० प्रतिशत वयस्क आफ्नो जीवनकालमा कम्तीमा एकपटक मानसिक मानसिक रोगबाट गुज्रिएको देखाएको छ। सर्वेक्षणको समयमा पनि ४.३ प्रतिशत कुनै न कुनै किसिमको मानसिक रोगमा थिए। यस्तै ५ जनामध्ये एक किशोर किशोरी कुनै न कुनै समय मानसिक रोगमा थिए।
सो सर्वेक्षणले ६ दशमलव ५ प्रतिशतले आत्महत्याबारे सोच्ने गरेको पाइएको छ। १ दशमलव १ प्रतिशतले त आत्महत्याको कोसिस नै गरिसकेको देखिन्छ। यस्तै थप ० दशमलव ३ प्रतिशत भविष्यमा आत्महत्याको कोसिस गर्न सक्ने सर्वेक्षणले औँल्याएको छ।
यस्तै, मानसिक रोगको उपचार गराउनेहरूले औसतमा एकजनाले वार्षिक १६ हजार खर्च गर्ने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२२ मा गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले चिन्ता र तनाव (डिप्रेसन) जस्ता समस्याहरूको स्थिति पनि केलाएको थियो। जस अनुसार २२ प्रतिशत व्यक्तिहरू उच्च स्तरको चिन्ताबाट पीडित रहेका छन् भने डिप्रेसनको दर १८ प्रतिशत रहेको पाइएको छ।
पछिल्ला केही वर्षयता बढ्दै गएका आत्महत्या सम्बन्धी तथ्याङ्क हेर्ने हो भने अधिकांश आत्महत्या गर्नेहरू कुनै न कुनै मनोरोगबाट ग्रस्त देखिन्छन्।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा हरेक दिन २० जनाले आत्महत्या गर्छन्। आव २०८०/८१ मा नेपालमा कुल ७ हजार २२३ ले आत्महत्या गरेको देखाउँछ। पाँचवर्षअघि ०७५/७६ मा दैनिक औसत १६ जनाले आत्महत्या गर्थे। 

‘८४ प्रतिशत मरोरोगी उपचार नै पाउँदैनन्’
मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अधिकारीका अनुसार नेपालका करिब ८४ प्रतिशत मनोरोगी अनुकूल उपचार नै पाउन्नन्। १० मध्ये ८ जना मनोरोगीसम्म मनोपरामर्श र औषधिको पहुँच नै पुग्दैन्।
नेपालमा मनोरोग विशेषज्ञ २५० हाराहारीमा मात्रै छन्। जुन नेपालको समस्यालाई हेर्ने हो भने पर्याप्त होइन। नेपालमा १३ वटा सरकारी अस्पतालका १३० शय्यामा मानसिक रोगीको उपचार हुँदै आएको छ।
नेपालमा यो समस्या जटिल भए पनि समाधान सम्भव छ। समयमै उपचार, नीति निर्माण र कार्यान्वयन, तथा सामाजिक समर्थनका माध्यमबाट जस्तो सुकै मनोरोगीहरूको जीवन सहज बनाउन सकिन्छ।
‘मानसिक स्वास्थ्यको उपचारका पद्धतिहरू धेरै छन्। जसमध्ये मनोपरामर्श पनि एउटा हो,’ डा. अधिकारी भन्छन्,‘अलिकति कम गहन खालका विक्षिप्तता उत्पन्न नभइसकेका, एञ्जाइटी, रिलेटेड, माइल्ड खालको डिप्रेसन, तनाव जन्य समस्याहरुलाई मनोपरामर्शले पनि धेरै हदसम्म उपचार गर्न सकिन्छ।’
यसको उपचारबारे नेपाली समाजमा ठूलो भ्रम छ। आम मानिसले मानसिक रोग एकपटक लागे जीवनभर रहन्छ भन्ने बुझ्छन्। उपचार पद्धति खासै प्रभावकारी नहुने, औषधीले लठ्याउँछ, सुस्त बनाउँछ भन्ने भ्रम छ। त्यो गलत धारणा रहेको विज्ञहरू बताउँछन्।
सफल उपचारपछि बिरामीले पहिलेझैँ आफ्नो काम गर्नसक्छन्। समुदाय, परिवारमा पुनः स्थापित भएर सहज जीवनयापन गर्न सक्छन्।
तर, नेपालमा मानसिक समस्या देखिए त्यसको समयमै निदान र उपचारमा सहज पहुँच नहुँदा व्यक्तिको जीवन बर्बाद त हुने गरेको छ नै, परिवारको आर्थिक तथा सामाजिक अवस्था पनि भत्किने गरेको छ। राज्यलाई ठुलो हानी भइरहेको छ।
यसका लागि राज्यले नै गम्भीर भएर ध्यान दिनुपर्ने मानसिक अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन्। ‘नेपालमा धेरैजसो मानिसले मानसिक स्वास्थ्य समस्या लुकाउने र उपचार खोज्न ढिलो गर्ने प्रवृत्तिले विकराल बन्दै छ’, उनले भने, ‘यसमा राज्य गम्भीर र जिम्मेवार हुनुपर्छ।’ प्रादेशिक अस्पतालसम्म पर्याप्त पूर्वाधारको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको संख्या थप्ने, सचेतनाका कार्यक्रम ल्याउनेसम्मका काम राज्यस्तरबाट हुनुपर्ने उनी बताउँछन्।
महिलाको अस्तित्व र मूल्य उनको गर्भाशय वा बच्चा जन्माउने क्षमताले होइन, बरु उनले संसारलाई सिँचित गर्ने प्रेमले निर्धारण गर्छ तर समाजले कतिपय अवस्थामा यो सत्य स्वीकार्य गरेको छैन ।
अमेरिकाको टेक्सासमा बस्ने स्लेसा र निरञ्जनसँग जीवनका सबै सुख÷सुविधा थिए– सफल करियर, आरामदायी अपार्टमेन्ट र सप्ताहन्तका रमाइला यात्राहरू । तर घरका बन्द ढोकापछाडि उनीहरूसँग एउटा गहिरो अभाव थियो, एक निस्शब्द पीडा, जसले उनीहरूको मनलाई लगातार ठुँगिरहन्थ्यो ।
बाँकी समाचार पढ्न नागरिक दैनिकको सदस्यता लिनुहोस्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।