‘पाहुना पर्वको नेपाली समाजमा उमंग’
१० पौष २०८१
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘पाहुना पर्वको नेपाली समाजमा उमंग’

उनका बुवाआमा बुद्ध धर्मालम्बी हुन् भने ससुरालीचाहिँ हिन्दु। उनले १४ वर्षदेखि इसाई (क्रिस्चियन) धर्म मान्दै आएका छन्। कुनै धर्म मन नपरेर होइन, इसाई धर्म अलि बढी मन परेर अँगालेको उनी सुनाउँछन्। ‘मलाई कुनै धर्म मन नपरेको होइन, क्रिस्चियन धर्म अँगाल्न मन लाग्यो’, क्रिसमसको तयारीमा जुट्दै गरेका जित तामाङले भने, ‘मैले हरेक धर्ममा मानवता र आफ्नोपन पाएको छु।’ दोलखा कालिञ्चोक घर भएका उनी हाल कागेश्वरी मनोहरामा बस्छन्। 

उनी धर्मले समाजलाई विभाजित गर्ने नभई एक बनाउने धारणा राख्छन्। ‘सबै आफ्नो धर्मको मागअनुसार चल्ने हो भने समाज झनै सुन्दर बन्छ’, उनले भने, ‘एकले अर्काको धर्मको सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ।’ 

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ पनि बुद्ध धर्मावलम्बी परिवारकै हुन्। २०३१ सालमा इसाई धर्म अँगालेका उनको पनि ससुराली हिन्दु धर्मावलम्बी हुन्। तर एकअर्काप्रतिको सद्भावमा कुनै कमी नआएको उनी बताउँछन्। ‘धर्म फेर्नेभन्दा पनि मानिस भित्रैदेखि धार्मिक भयो भने कुनै समस्या छैन’, उनले भने, ‘धार्मिक मानिस जुनसुकै धर्मको भए पनि सबैको साझा हुन्छ।’ धार्मिक मानिसको समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक हुने र उसले समग्र मानव जातिको कल्याण चाहने उनले बताए।

तस्बिरमा जित तामाङ 
नेपालमा शताब्दीऔंदेखि धार्मिक सद्भाव रहँदै आएको छ। फरकफरक धर्म र आस्था राख्नेहरू पनि जित र हनोक जस्तै एकै छतमुनि बसेका छन्। उनीहरू एक अर्काको धर्मलाई सम्मान गर्दै अगाडि बढेका छन्। यसैले नेपाल धार्मिक सहिष्णुता भएको देशका नामले पनि चिनिन्छ।

भक्तपुरकी निशा थापा र पर्वतकी मीना बरालको मित्रता बसेको १२ वर्षभन्दा बढी भयो। थापा इसाई धर्मावलम्बी हुन् भने बराल हिन्दु। तर उनीहरूबीचको मित्रतामा धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाडपर्वमा हातेमालो गर्दै रमाउँदै आएको सुनाउँछन् उनीहरू।

क्रिसमसको रमाइलो हेर्न मंगलबार साथीसँगै ललितपुरको भनिमन्डलस्थित क्याथोलिक चर्चमा आएकी बरालले तिहारको दिन साथी थापा आफ्नो घर आएको सुनाइन्। ‘धर्म फरक भए पनि उत्सवको रमाइलोले सबैलाई खुसी दिन्छ’, उनले भनिन्, ‘हामी क्रिसमस सँगै मनाउने योजनामा छौं।’ आफ्नो पर्व क्रिसमसमा साथीले पनि साथ दिएकोमा थापा पनि खुसी छिन्। एक दशकदेखि नै इसाई धर्म मान्दै आएकी उनले आफू पनि हिन्दु धर्म मान्ने साथीको चाडपर्वमा रमाउने गरेको बताइन्। 

‘क्रिसमसमा ऊ (साथी) मेरो पाहुना हो,’ उनले भनिन्, ‘दसैंमा म उसको पाहुना हुँ।’ थापा र बरालजस्तै इसाई तथा गैरइसाई दुवै क्रिसमसमा देशभर रमाउँदै छन्। राजधानी काठमाडौंका सपिङ मलमा आयोजित क्रिसमस रमाइलोमा इसाईसँगै गैरइसाईहरू पनि देखिन्थे। टाउकोमा क्रिसमस टोपी र गालामा सान्ता क्लजको चित्र कोरिएका युवाको हँसिलो अनुहारले राजधानीका सपिङ मल तथा रेस्टुरेन्टमा क्रिसमसको उज्यालो छरिएको छ। हुन पनि हो, हरेक धार्मिक उत्सवले अर्थतन्त्रलाई पनि चलायमान पार्छन्। 

अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु
नेपाली समाजमा जस्तो एकले अर्काको धर्मलाई सम्मान गर्ने चलन संसारमै विरलै भेटिने अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु बताउँछिन्। उनी इस्लाम धर्मावलम्बी हुन्। इस्लाम धर्मले सबैलाई आदर गर्न सिकाउँछ भन्दै उनले अन्य धर्ममा पनि त्यस्तै भाव भेटिएको बताइन्। 

‘हामीले मुलुकमा धार्मिक सद्भाव बढाउने कार्य गर्दै आएका छौं’, उनी भन्छिन्, ‘धार्मिक सहिष्णुता र सद्भावका हिसाबले नेपाल गर्वलायक छ।’ इद पर्वका अवसरमा पनि अन्य समुदाय रमाएको सुनाउँदै अन्य समुदायको पर्वमा पनि आफूहरू रमाउने गरेको उनले सुनाइन्। ‘सबै चाडपर्वमा सबै समुदाय रमाउने अवसरले निरन्तरता पाओस्’, उनले भनिन्। क्रिसमसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु।’

गौतम बुद्ध हुन् या जिसस क्राइस्ट सबै आध्यात्मिक चेतनाका जन्मदाता भएको मनोसामाजिक परामर्शदाता एवं हिन्दुधर्मावलम्बी डा. नम्रता पाण्डेको धारणा छ। उनका अनुसार सबै सबैको लक्ष्य मानव शान्ति र करुणा हो। ‘धार्मिक उत्सवले सबै धर्मावलम्बीलाई जीवनप्रति सकारात्मक बोध गराउँछ’, उनले भनिन्, ‘त्यही भएर नेपाली समाज हरेक धार्मिक र समाजको उत्सवमा रमाउने गर्छ।’

बढ्दै इसाई धर्मावलम्बी 
झन्डै पाँच दशकअगाडि आफूले इसाई धर्म अँगाल्दा नेपालमा इसाईको संख्या सयौंमा रहेकोमा अहिले लाखौंमा पुगेको नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङले बताए। २०१७ सालमा स्थापना भएको मण्डलीहरूको छाता संगठनका अध्यक्ष तामाङ हाल मुलुकभर करिब १२ हजार चर्च र २० देखि २५ लाखको हाराहारीमा इसाई धर्मावलम्बी रहेको अनुमान गर्छन्। कतिपयले इसाई धर्मावलम्बीको संख्या ४० लाखको हाराहारीमा रहेको दाबी गर्छन्। 

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ
राष्ट्रिय मण्डली संगतिका अध्यक्ष तामाङ भने दुवै तथ्यांकलाई सही मान्न तयार छैनन्। ‘न जनगणनामा देखिएको जस्तो कम छ न कतिपयले दाबी गरेजस्तो अत्यधिक बढी नै’, उनले भने, ‘मेरो अनुमानमा नेपालमा इसाई धर्म मान्ने २० देखि २५ लाख हाराहारीमा छन्।’ 

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको झन्डै तीन करोड जनसंख्यामा इसाई धर्मावलम्बीको संख्या पाँच लाख १२ हजार तीन सय १३ छ, जुन कुल जनसंख्याको १.७६ प्रतिशत हुन आउँछ। २०६८ को जनगणनामा यो प्रतिशत १.४ थियो। २०५८ सालको जनगणनामा इसाई धर्मावलम्बीको संख्या एक लाख थियो।

तामाङ धर्म मान्नेको संख्या जति भए पनि मानिस कति धार्मिक भयो भन्ने कुराले मात्र अर्थ राख्ने सुनाउँछन्। ‘धार्मिकताको भाव भयो भने त्यो सार्थक रहन्छ’, उनी भन्छन्, ‘नत्र संख्याले मात्र खासै केही अर्थ राख्दैन।’ 

सबै धर्मले मानवतालाई नै अँगालेको उनको बुझाई छ। ‘क्रिसमसले दिने सन्देश भनेको असत्यमाथि सत्यको विजय, अँध्यारोमाथि उज्यालोको जित अनि अशान्तिमाथि शान्तिको विजय हो’, उनी भन्छन्, ‘धर्म र जातका नाममा कहिल्यै अशान्ति नछाओस्।’ 

बधाई र उपहार साटासाट
इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमस बुधबार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा धुमधामसाथ मनाइँदै छ। अहिले सहरी क्षेत्रका चर्च तथा सपिङ मल, होटल, सुपर मार्केट तथा अन्य पर्यटकीय बजारमा क्रिसमसको रौनक छ। क्रिसमसका लागि भन्दै राजधानीका ठुला सपिङ मल तथा होटलमा साताअघिदेखि नै ‘क्रिसमस ट्री’ बनाइएका छन्। 

‘गिफ्ट सप’मा क्रिसमसको उपहार किन्नेको भिड लागेको छ। इसाई तथा गैरइसाई दुवैले एकअर्कालाई क्रिसमसको बधाई दिँदै उपहारसमेत साटासाट गरिरहेका छन्। सूचना प्रविधिको विकाससँगै पछिल्ला दिनमा नेपाली समाजमा पनि क्रिसमस लोकप्रिय हुँदै गइरहेको छ। ललितपुरस्थित एजम्पसन चर्च, ज्ञानेश्वरस्थित नेपाल इसाई मण्डली, पुतलीसडक, दाखबारीलगायत काठमाडौं उपत्यकाका सयौं चर्चमा रौनकता छाएको छ।

अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्म भएको मानेर क्रिसमस मनाउने गरिन्छ। २०६३ सालमा तत्कालीन व्यवस्थापिका (संसद्) बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसमा पनि सार्वजनिक बिदा दिन थालिएको छ। 

नेपाल राष्ट्रिय मण्डली परिषद्का महासचिव डा. केबी रोकाया धर्म, विज्ञान र दर्शन कुनै जातजातिको नभई सबैको साझा सम्पत्ति भएको बताउँछन्। भूमण्डलीकरणका कारण पछिल्लो समय नेपाली समुदायमा गैरइसाई धर्मावलम्बीले पनि यो पर्व मनाउन थालेको उनको बुझाइ छ। ‘क्रिसमस मनाउन कुनै धार्मिक विधि, निश्चित ठाउँमा जानु पर्दैन’, उनले भने, ‘त्यही भएर सर्वसाधारण यो पर्वमा रमाउन थालेका छन्।’ पर्वहरूमा एकापसमा घुलमिल हुँदा समाजमा सद्भाव बढ्ने उनले सुनाए। ‘यस्ता घुलमिलले समाजमा भ्रातृत्व, समझदारी र भाइचारा बढाउँछ’, उनी भन्छन्।

के हो क्रिसमस?
कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल्य इलाकामा मनाइने क्रिसमस पर्व अहिले विश्वभरि मनाइन्छ। क्रिसमस डिसेम्बर २५ का दिन मनाउने गरिन्छ। क्रिसमस इसाई समुदायको मुख्य चाड हो। 

‘क्रिसमस’ अंग्रेजी शब्द ‘क्राइस्ट मास’ बाट बनेको हो। जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने हुन्छ। मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘द गोल्डेन बज’ मा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो, ठिक त्यसै दिनदेखि क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको लेखेका छन्।

इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डिसेम्बर २५ का दिन संसारभरि ‘क्रिसमस डे’ धुमधाम साथ मनाउने गरिन्छ। क्रिसमसको पूर्व सन्ध्यालाई ‘क्रिसमस इभ’ भनिन्छ। यो इभ परिवारमा हर्षोल्लास र खुसीका साथ बिताउने एक उत्तम समय हो।

नेपालमा २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रूपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको मानिन्छ। त्योभन्दा अघि नेपाली इसाई क्रिसमस मनाउन भारततिर जाने गर्थे। त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज थियो।

क्रिसमसमा पर्वमा आआफ्नो रुचि अनुसारका मिठामिठा परिकार बनाएर खाने र खुवाउने गरिन्छ। क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा, शुभकामना र उपहार आदानप्रदान, प्रेम प्रकट गर्दै शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ। 

त्यस्तै क्रिसमस महोत्सव आयोजना गर्ने, घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने, प्रार्थना गर्ने, केक काट्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लजबाट उपहार लिने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन्। केही दशक अघिसम्म पाहुना उत्सव मानिने क्रिसमस अहिले नेपाली समाजको अंग बनिसकेको छ। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागका प्रमुख प्राध्यापक विनोद पोखरेल पछिल्लो समय समाज ‘ग्लोबल भिलेज’को रूपमा विकसित हुँदै गएको र यसले सबै धर्म र जातका संस्कृतिलाई स्विकार्न थालेको बताउँछन्। ‘आयातित भन्ने कुरा हटिसकेको छ, सबैले सबैका पर्वलाई स्विकार्न थालेका छन्’, उनले भने, ‘भूमण्डीलकरणसँगै समाजमा स्वीकारभाव विकसित भएको छ।’ 

अर्को समाचार
विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा
१४ मंसिर २०८१
३२ मिनेट पाठ
संग्रह
Email
ईमेल
विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

- ‘ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन्’

- झारफुकका लागि अनुमतिपत्र दिन विज्ञको सुझाव

- भविष्यको अनिश्चितताले झारफुकमाथि विश्वास  

- जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब मानिस जादू/टुनातिर बढी आकर्षित हुन्छन् : विज्ञ

पछिल्ला दशकमा ह्वात्तै बढेको बसाइँ सराइले राजधानी काठमाडौँ हरेक भाषा, संस्कृति र धर्मको संगम बनेको छ । कारण अनेक छन्, विश्वास र आस्था फरक छन् तर राजधानीमा परम्परादेखि  चल्दै आएको धामी, झाँक्री र माताहरूले गर्ने झारफुक र उपचारप्रति सर्वसाधारणको अगाथ आस्था कायमै छ । औषधि र चिकित्सा विज्ञानको क्षेत्रमा विश्वमा चामत्कारिक र नयाँ–नयाँ खोज-अनुसन्धान अघि बढिरहेका बेलासमेत परम्परागत र ग्रामीण परिवेशमा रहेको झारफुकप्रति कंक्रिटको जंगल मानिने सहरका मानिसको आकर्षण बढ्नु चाखलाग्दो विषय बनेको छ ।  

यो पुरातन विश्वासप्रति शिक्षित र युवा जमातसहित हरेक तह र तप्काका मानिसको झुकाव र विश्वासका कारण  राजधानी काठमाडौँ झारफुक (अर्बान समानिज्म) को केन्द्र बनेको छ । चाखलाग्दो के छ भने, सबै भन्दा बढी पढेलेखेका तथा राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरूसमेत झारफुकका लागि धामी÷झाँक्री केन्द्र धाउने गरेका पाइएको छ ।  

परीक्षामा राम्रो अंकका लागि विद्यार्थी, सत्ता र शक्तिका लागि राजनीतिकर्मी, कार्य सफलताका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी मात्र होइन, पत्रकार, पाइलट, नेता, इन्जिनियरलगायतका बौद्धिक व्यक्तित्वसमेत समस्याको गाँठो फुकाउन लुकीछिपी भए पनि धामी÷झाँक्री गुहार्ने गरेको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका छन् ।  

जमिन खरिदका लागि माटो देखाउने वा हराएका चिजविज खोजीका लागि विश्वास गरिएका ठाउँमा पुग्नु सामान्य भैहाल्यो । यस्तै, किशोरावस्थामा पुगेका आफ्ना सन्तानमा भइरहेको मनोसामाजिक र शारीरिक परिवर्तनबाट उब्जिएको समस्याको समाधान खोज्नसमेत डाक्टर भन्दा माता र धामी-झाँक्रीकै भर पर्ने गरेका अभिभावकसमेत भेटिएका छन् ।

यसैगरी ग्रह, नक्षत्र र ज्योतिषिमा विश्वास गर्नेहरूले जीवनमा आउने उतारचढावका गुनासासमेत माताकहाँ पोख्ने गरेको अध्ययनका क्रममा भेटिए । यतिसम्म कि आफ्नो नागरिकता हराएको रिपोर्ट प्रहरीकोमा नदिएर धामीकहाँ फुकाउन आएको र फुकेपछि नागरिकतासमेत भेटिएको दाबीकर्ता पनि फेला परे ।

त्यसो त, विज्ञका अनुसार नेपाल तन्त्र विद्याद्वारा बाँधिएको राष्ट्र हो  । यहाँ हुने कतिपय पूजापाठ तान्त्रिक विधिबाटै हुने गरेको तर्क उनीहरूको छ ।  नेपाल  एकीकरणको जग पनि गुरु गोरखनाथसँग जोडिएको संस्कृतविद् बताउँछन् । पछिल्लो समय, गुरु र धामी÷झाँक्री मात्र होइन, विशेषगरी मातासँग झारफुक गराउनेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आधुनिक चिकित्सा विज्ञानबाट उपचार गराउँदा निको नभएपछि पुगेको र झारफुकले निको भएपछि त्यसप्रति विश्वास र आस्था बढेको प्रतिक्रिया कतिपयको थियो । अर्काथरी चिकित्सा विज्ञानबाट उपचार पनि गर्ने र औषधि लिएर धामी, झाँक्री र माताकहाँ पुगेर औषधि र बिरामी दुवै फुकाउने पनि भेटिए । यस्तै कोही धामी-झाँक्री र माताकोमा मात्र विशवास गरी फुकाउन पुग्ने गरेका छन् त कोही भने यस्ता झारफुकप्रति विलकुलै विश्वास नगर्नेहरू पनि रहेका देखिएको छ । झारफुकप्रति आफ्नो दृढ विश्वास र आस्था रहेको बताउनेहरू काठमाडौँ महानगर सहरी क्षेत्रमै धेरै भेटिए ।

यो पनि पढ्नुहोस्

खेलकुदमा महिला : अन्तर्राष्ट्रिय साख बचाउँदै खेलाडी

कतिबेला उत्तम ?  

धामी, झाँक्री र माताका अनुसार झारफुक गर्ने उत्तम प्रहर बिहानी हो । त्यसपछि साँझलाई राम्रो मानिन्छ । झाँक्रीले  दिउँसो १२ बजेपछि भूतप्रेत भगाउने प्रहरका रूपमा मान्ने गर्दा रहेछन् भने माता र धामीले भगवानको विश्राम गर्ने समयका रूपमा व्याख्या गरेका छन् । झारफुकका लागि शनिबार, आइतबार, बिहीबार र मंगलबार मंगल दिनका रूपमा मानिएको पाइयो भने बुधबारलाई अमंगल मानिने काठमाडौँ डल्लुस्थित धामी उमेश राजभण्डारीको भनाइ रह्यो  । माताहरूको तथ्यांक नरहे पनि धामी झाँक्रीहरू संगठित हुन संघसमेत खोलेका छन् ।  

एकिन तथ्यांक अभाव

नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ । तस्बिर : रुबी रौनियार/नागरिक
नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङका अनुसार हालसम्म नेपाल सरकारसँग आधिकारिक तथ्यांक नरहे पनि संघमा तीन सय धामी दर्ता छन् । तर राज्यको यसप्रति कुनै कानुन नभएकाले यसको नियमन र ब्यवस्थापनमा चुनौती थपिँदै गएको छ भने अर्कोतर्फ झारफुक सेवा दिने झाँक्री, धामी र माताहरूले लुकीछिपी सेवा दिइरहेको अवस्था छ । कतिपय राष्ट्रमा झारफुक गर्नेहरू समाजमा खुलेरै डाक्टरका रूपमा काम गर्छन् भने नेपालमा झारफुकसम्बन्धी नीति÷नियम र हालसम्म कुनै कानुन नबनेकाले  लुकीछिपी झारफुक सेवा जारी छ । यही कारण कुनै समस्या आइपरे कुन निकायमा जाने भन्ने एकिन पनि छैन ।

.........

डाक्टरी उपचारमा थाकेपछि झारफुक  

विशेषगरी अधिकांश स्वास्थ्य समस्याको समाधान खोज्न झारफुकमा जाने गरेका देखिएको छ । डाक्टरी औषधि उपचारले काम नगरेपछि ४२ वर्षीया सविना कार्की बिहानै स्वयम्भू धिमिलोमा रहेको माता गुरु बालिकाको आसनमा पुगिन् । आफूले रोगको उपचार चिकित्सा विज्ञानअनुसार डाक्टर कहाँ गराउँदा निको नभएपछि गुरुकहाँ झारफुक गराउन पुगेको उनले सुनाइन् ।  

उनी पुग्दा गुरु बालिका पूजामा व्यस्त थिइन् । केहीबेरको पर्खाइमा गुरु बालिका आफ्नो आसनमा बसिन् र  धूप बालेर काम्दै मन्त्र उच्चारणका साथ सविनालाई फुक्न थालिन् । शरीरमा रातो सारी र गलामा रुद्राक्षको माला पहिरिएकी गुरु बालिकाको निधारमा कलेजी रंगको विन्दी र शिरमा रातो फूल सजिएको थियो । अनुहारमा शृंगार र हातमा रातो चुरासहितको पहिरनमा सजिएर आसनमा विराजमान  गुरु बालिकाले केहीबेर कामेपछि  सविनालाई फुकिन् र जलमा खरानी मिसाएर औषधि बनाएर पिउन दिइन् । विश्वासको कुरा न हो, केहीबेरमै सविनाले आफूलाई स्वस्थ महसुस गरिन् र मुस्कुराइन् पनि । केहीबेर अघिसम्म मलिन अनुहारमा देखिएकी सविनाले त्यसपछि सहज महसुस गरिन् ।

खासमा सविनालाई जीवनमा कहिल्यै यस्ता झारफुकमाथि विश्वास लाग्दैनथ्यो । तर उनको जीवनमा घटित एक घटनाले सविनाको विश्वास झारफुकमाथि बढाइदिएको उनी मुस्कुराउँदै सम्झन्छिन् । ‘६ महिनाअघिसम्म मलाई यस्ता माता, गुरु वा धामी-झाँक्रीहरूमाथि कत्ति पनि विश्वास लाग्दैनथ्यो । तर एक दिन बिहान उठ्दा मेरो घाँटी बाँगियो’, सविनाले त्यो घटना सम्झिन् र थपिन्– म काठमाडौँको धेरै डाक्टर र क्लिनिकमा उपचारका लागि पुगेँ । डाक्टरले दिएको औषधिले झनै रोग च्याप्यो । घाँटी सिधा भएन । दुखाइ बढ्यो, त्यसपछि गुरु बालिकाकहाँ पुगेँ ।  

गुरु बालिकाकहाँ पुगेपछि सविना बडो आश्चर्यमा परिन् । ‘गुरुको शरीरमा मेरो सासूआमा चढेर बोल्न थाल्नुभयो कि पानी र दही खान मन लगेको छ । घरमा गएपछि मैले सासूको नाममा पानी र दही चढाएपछि मेरो घाँटी सिधा भयो । गुरुले खरानी फुकेर पानीमा मिसाएर खान दिनुभयो, मैले खाएँ । हेर्नूस्, मलाई आफँै विश्वास गर्न गाह्रो भयो कि केहीबेर अघिसम्म चलाउनै नसक्ने घाँटीको दुखाइले पीडित म त्यसपछि एकदमै ठीक भएँ । यो कसरी भयो ? म आफैँसँग प्रश्न गर्न थालेँ ।’ उनलाई त्यसपछि झारफुकमाथि विश्वास नलाग्ने कुरै भएन ।  

उनको  स्नातक पढ्ने छोरो, १२ पढ्ने छोरी र विदेशमा बस्ने श्रीमान्लाई समेत केही समस्या आउँदा सब भन्दा पहिले उनी गुरुकैमा पुग्छिन् । पुग्छिन् मात्र हैन, निकोसमेत हुने गरेको बताउँछिन् ।

सविना बिरामी वा स्वास्थ्य समस्या मात्र होइन, केही सामान हराएमा वा बालबच्चाको ग्रह नक्षत्रमा कुनै दोष छ कि भन्ने जोखना देखाउनसमेत माताकोमै उपाय खोज्न पुग्छिन् । यति मात्र होइन, सविनाको छोराको बिहे गरेको ५ वर्ष भइसक्दा पनि सन्तान भएनन् । डाक्टरी उपचारले समेत काम गरेको थिएन । तर गुरु बालिकाले खास मन्त्र र विधिसहित फुकेर दिएको जल खाएपछि उनकी बुहारीले सन्तान जन्माएको उनले गर्वसाथ सुनाइन् । ‘गुरुले सम्भावित रोग पनि पत्ता लगाइ दिनुहुन्छ । डाक्टरकहाँ जानुपरे सल्लाह दिनुहुन्छ’– उनी कति विश्वस्त छिन् भन्ने देखाउँछ उनको यो भनाइले पनि ।

सविना मात्र होइन, पंक्तिकारले काठमाडौँका धेरैजसो धामी, झाँक्री र माताकहाँ बिहान, दिउँसो र साँझ तीनै प्रहर पुगेर सेवाग्राही र झारफुक गर्नेसँग भेट्दा त्यहाँ आउने हरेकको यस परम्पराप्रति विश्वास र आस्था अगाध रहेको पाइयो । धामी, झाँक्री, माताहरूले गर्ने उपचारमा एक प्रकारको दैवी शक्ति रहेको आभाष हुने गरेको अनुभव उनीहरूले सुनाए ।  

उता, धामी, झाँक्री माताहरूले झारफुकको शक्तिको भिन्दाभिन्दै कारण रहेको बताए । गुरु बालिकाले आफू बिरामीले सिकिस्त भएको बेला उनलाई बचाएकै गुरुले आशीर्वाद दिएर आफू गुरु बालिका बनेको रोचक कथा सुनाइन् ।  

.................

२९ वर्षिया पविता श्रेष्ठ शरीरभरि आएको खटिराले आजित भएर काठमाडौँका छाला रोग विशेषहरूकहाँ धाइन् । दिसा, पिसाब, रगत परीक्षणका साथै शरीरको छालासमेत काटेर डाक्टरले ल्याब परीक्षण गरेको र त्यहीअनुसारको औषधि दिएको सुनाइन् । तर औषधिको कुनै असर उनको शरीरमा देखिएन रे । औषधिले शरीरको खटिरा निको हुनुको साटो झनै बल्झिँदै गयो । त्यसपछि आफन्तको सल्लाहमा उनी साँखुको एक धामीकहाँ गइन् । विगतमा स्वास्थ्य स्वयंसेविका रहिसकेकाले पनि उनलाई सुरुमा धामीमाथि खासै विश्वास थिएन तर जब धामीले फुकेर केही खरानीमा केही औषधि मिसाएर दिएको खाएपछि उनको खटिरा हराउँदै गयो । त्यसपछि पविताको विश्वास धामीप्रति बढ्दै गयो ।

यो पनि पढ्नुहोस्

लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्‍भावना

‘लाखौँ रुपैयाँ खर्च गरेँ । कति डाक्टर धाएँ, कति परीक्षण गरियो तर शरीरभरि फैलिएको खटिरा निको भएन’, दुई सन्तानकी आमा पविताले झारफुकप्रति बढेको विश्वासबारे बताइन्, 'तर जब धामीकहाँ गएँ, धामीले अण्डामाथि झारफुक गर्नुभएपछि त्यो अण्डा नै कालो भयो । मेरो शरीरमा कसैले बिगार गरिदिएको धामीले बताउनुभयो । मन्त्र पढेर झारफुक गरिदिएपछि मेरो शरीरको खटिरा हराए । अनि भन्नुहोस् त कसरी विश्वास नगर्ने ?’– उनको प्रतिप्रश्न थियो ।  

..........

४० वर्षिया अस्मिता प्रधानकी जेठी छोरी युवावस्थामा पुगेसँगै शारीरिक परिवर्तन बढेपछि केही हड्बढाउन थालिन् । त्यसपछि उनले छोरीलाई डाक्टरकहाँ लगिन् । तर केही सुधार भएन । त्यसपछि उनी परिवारको सल्लाहअनुसार पहिले माताकोमा गइन् । भाइको सल्लाहअनुसार धामीकहाँ पनि गइन् । यसरी छोरीलाई फुकाएपछि अहिले समस्या हटेको उनले सुनाइन् ।

माता सरस्वतीदेवी । तस्बिर : रुबी रौनियार/नागरिक
बल्खुमा माता सरस्वतीदेवीकहाँ कम्मरको दुखाइ भएर पुगेकी अस्मिताले छोरीलाई फुकाएर ठीक भएपछि आफू त्यसपछि केही समस्या आयो कि सबै भन्दा पहिले माताकहाँ आउने गरेको सुनाइन् । ‘जेठी छोरी ९ कक्षा पुगेपछि उसलाई अचनाक राति सपनामा तर्सिने, डराउने, हड्बढाउने हुन थाल्यो । के भयो भनेर हामी डाक्टरकहाँ जचाउन गयौँ । चार पाँच डाक्टर देखायौँ । पछि मनोवैज्ञानिककहाँ पनि लग्यौँ तर कुनै पनि डाक्टरको औषधिले काम गरेन । रुपैयाँ त धेरै खर्च भयो तर छोरी ठीक भइनन्’, अस्मिताले पीडा पोखिन्, ‘छोरीको अवस्था झनै बिग्रँदै गएपछि आमा र भाइको सल्लाहमा धामी देखाएँ  । झारफुकपछि अहिले छोरी पहिले जस्तै स्वस्थ छिन् । छोरी र हामी दुवै खुसी छौँ । कक्षा ११ मा पढ्दैछिन् ।’ माताकहाँ कम्भर दुखेर फुकाइरहेकी अस्मिताले नागरिकसँग भनिन्, 'अहिले त हाम्रो परिवारमा कोही अस्वस्थ भयो या केही हरायो वा कुनै शुभ काम गर्नुपरेमा हामी माताकहाँ नै आउने गरेका छौँ ।'

डाक्टर र झारफुक दुवैमा विश्वास

अध्ययनका क्रममा डाक्टर र माता दुवैकहाँ धाउने गरेका कैयन् सर्वसाधारण भेटिए । डल्लुमा धामी उमेश राजभण्डारीकहाँ साँझ सात बजे पुग्दा त्यहाँ प्रहरी, सेना, व्यापारी, पत्रकार, नेता, शिक्षक र कर्मचारीलगायतका सबैखाले व्यक्ति समस्या लिएर समाधानको खोजीमा आएका भेटिए ।  

त्यहाँ आउनेहरू स्वास्थ्य, पारिवारिक र सामाजिक समस्या लिएर समाधानको उपायको खोजीमा पुगेका थिए । कतिपय डाक्टरकहाँ जचाएर सिधै फुकाउन पनि आएका भेटिए । कोही नागरिकता हराएको रिपोर्ट प्रहरीमा गरेर धामी राजभण्डारीकहाँ पनि हराएको नागरिकता खोजी गर्न फुकाउन आएकासमेत भेटिए ।

डाक्टरलाई जाँच गराएर औषधिसहित छोरो लिएर धामी उमेशकहाँ पुगेका प्रकाश दर्जीले औषधिका साथै झारफुक पनि गराएर आफ्नो छोरो निको हुने विश्वासमा पुगेको सुनाए । ‘डाक्टरकहाँ जचाएर औषधि लिएर आएको छु’, प्रकाशले भने, 'डाक्टरको औषधिका साथै धामीकहाँ पनि फुकाउँदा बाबु छिटै निको हुने विश्वासका साथ गुरुकहाँ आएको छु । मलाई डाक्टर र धामी दुवैमाथि विश्वास लाग्छ ।'

धामी उमेशकैमा भेटिएका व्यापारी दम्पती नागरिकता हराएको भन्दै फुकाउन आएका थिए । धामी उमेश राजभण्डारीले मन्त्र उच्चारण गरी फुक्दै जाँदा घरमै काम गर्नेले लुकाएर राखेको भनिदिए । पछि ती दम्पती घर पुगेर सोधपुछ गरेपछि धामी राजभण्डार्रीले भने जस्तै काम गर्नेबाटै नागरिकता फेला परेको सुनाए ।  

............

स्वयम्भूमा बिहान भेटिएकी एरोविक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले पनि स्वास्थ्यमा समस्या आइपर्दा माता र डाक्टर दुवैकहाँ जाने गरेको बताइन् । उनले आफूमाथि विगतमा स्वास्थ्य समस्या आउँदा माताकोमा गएर रोग पहिचान भएपछि डाक्टरकोमा गएको रोचक प्रशंग उल्लेख गरिँन् ।  

‘दुई वर्षअघि मलाई हातखुटा चिलाउने, फोका उठ्ने, हातको औला बाँगिएर गाह्रो हुने समस्या थियो । नियमित एरोविक गरिरहेकी म एक्कासि अस्वस्थ भएँ । हातखुटा चल्न छाड्यो । डाक्टरकहाँ गएँ । पूरै शारीरिक परीक्षण गराएँ । औषधि सेवन गरेँ’, प्रशिक्षक स्थापितले नागरिकसँग भनिन्– ‘तर स्वस्थ भएको महसुस भएन । साथीभाइले एकपटक माता देखाउन सुझाउनुभयो । मैले कुरा मानेर माताकहाँ गएँ । माताले फुकिदिनुभयो । केही ग्रहदशा पनि खराब रहेको भन्नुभयो । माताको सुझावअनुसार नागको पूजा गरेँ ।  त्यसपछि स्वस्थ हुँदै गएँ । त्यहीँ माताले मलाई बाथ रोग लागेको रहेछ भन्नुभयो,’ उनले आश्चर्य मान्दै थपिन्, 'माताको मुखबाट यस्तो कुरा सुनेर म आफैँ अचम्भ भएँ । माताले मलाई फुक्नुभयो र डा. विनित वैद्यकहाँ जान पनि भन्नुभयो । हेर्नूस् त राम्रो सेवा दिने माताले त सत्य कुरा भन्नुहुदोरहेछ नि । अनि म फेरि डा. विनित वैद्यकहाँ गएँ । अहिले स्वस्थ भएर एरोविक सिकाइरहेकी छु । यस कारण म माता र डाक्टर दुवैमा उत्तिकै विश्वास गर्छु ।'

..................

अशोक मगायाँ स्वयम्भूमा सधैँ भगवान् बुद्धको दर्शन गर्न आउने गर्छन् । उनले स्वयम्भू मठमन्दिर, गुम्बा र तन्त्रमन्त्रकै क्षेत्र रहेको बताए । स्वयम्भूकै स्थानीय बासिन्दा अशोकका अनुसार स्वयम्भू क्षेत्र वरिपरि धामी, झाँक्री र माताको साम्राज्य रहेको मानिन्छ । परिवारमा परम्परादेखि नै सबैजना डाक्टर र झारफुक दुवै ठाउँमा जाने भएकाले अशोक पनि झारफुक र डाक्टर दुबैमा विश्वास रहेको सुनाउँछन् । 

‘सानैदेखि हजुरबा-हजुरआमाले भन्नुभएअनुसार पहिले डाक्टर खासै थिएनन् । त्यतिखेर हाम्रो घरमा कोही गर्भवती हुँदा नेवार समुदायमा अजी भन्ने उहाँहरू घरमै आएर सुत्केरी गराउनुहुन्थ्यो । घरको कुनै सदस्यलाई कुनै रोग लागेमा वा केही भएमा झारफुक गरिन्थ्यो । अहिले हाम्रो पालामा चाहिँ कोही कसैलाई सानो बिरामी भए पनि हामी डाक्टरकहाँ जान्छौँ, त्यहाँ निको भएन भनेचाहिँ डाक्टरले नै हामीलाई धामी, झाँक्री, माता, गुर्जुलगायतकहाँ गएर झारफुक गराउनूस् भन्नुहुन्छ । हेर्नूस् त, डाक्टरसमेतले मलाई एकपटक यस्तै फुकाउन सल्लाह दिनुभयो’, उनले अनुभव सुनाए, 'आफू बिरामी हुँदा पहिले अस्पताल र डाक्टरकोमै जचाउनुपर्छ । तर उहिलेदेखि गरिरहेको परम्पराअनुसार चामल पन्छाउने, माता, गुर्जु वा झाँक्री आफूलाई कोमाथि विश्वास लाग्छ, फुकाउनु पनि पर्छ । झारफुक र ओषधि उपचार दुवै गर्नुपर्छ ।'

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

..........

झारफुकमाथि विश्वास छैन  

अर्कोथरी जमात भने धामी, झाँक्री र माताले गर्ने झारफुकमाथि विश्वास नै नगर्ने छन् । अर्थात् यस्ता झारफुक गर्नेहरूबाट ठगिएर यसप्रति विश्वास नगर्नेहरूले झारफुक भन्दा डाक्टरलाई नै विश्वास गर्न सुझाउँछन् ।  

काठमाडौँस्थित वनस्थलीका प्रमानन्दप्रसाद पण्डित घरछेउमै धामीले ढ्याङ्ग्रो ठोकेर उपचार गर्ने गरेको उनी दिनहुँ देख्छन् । धेरै ब्यक्ति झाँक्रीकहाँ आएर उपचार गराइरहेका र निको भएर फर्केका सधैँजसो देखे पनि उनी यस्ता झारफुकमाथि कहिल्यै विश्वास नभएको सुनाउँछन् । ‘मैले मेरो घरैछेउको झाँक्रीकहाँ विश्वास लिएर आएका र उपचार गराएर फर्केका मानिस दिनहुँ देख्छु तर म विश्वास गर्दिन’, अविरल वर्षाका बाबजुद पनि मर्निङवाकमा निस्केका पण्डित भन्छन्, 'मलाई स्वास्थ्यसम्बन्धी केही समस्या भएमा डाक्टरकहाँ जान्छु ।'

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक
..............

जुस व्यवसायी राधा ढुंगानालाई पनि झारफुकमाथि फिटिक्कै विश्वास छैन । किनभने उनी यस्तै धामी, झाँक्री र माताबाट विगतमा ठगिएकी रहिछिन् । काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी राधाले विगतमा पारिवारिक र स्वास्थ्य समस्याका लागि धामी, झाँक्री र माताकोमा पुगेर हजारौँ रुपैयाँ खर्च गरे पनि कुनै लाभ नभएपछि विश्वास उडेको बताइन् । ‘समस्या पर्दा धामीकहाँ गएर ७० हजार रुपैयाँ खर्च गरेँ । पारिवारिक र स्वास्थ्य समस्या निकै थियो तर केही लाभ भएन’, राधाले आफू ठगिएको पीडा सुनाइन्, 'धेरै धामीकहाँ धाएँ । कतिले यस्तो गर, उस्तो गर, नत्र तेरो घरका मान्छेको मृत्यु हुन्छ भन्दै मलाई तर्साए । यसरी म ठगिएँ । त्यसपछि कहिल्यै गइन । यो अन्धविश्वास हो । त्यसपछि मलाई सामान्य घाउ, चोटपटक लाग्दा पनि डाक्टरकहाँ जान्छु । केही हराएमा पुलिसकहाँ जान्छु ।'

...........

किमडोलमा भेटिएका हरिश कल्पितलाई पनि झारफुकमाथि विश्वास लाग्दैन । उनी केही वर्षअघि समस्या पर्दा परिवारको करकापमा एक दुईपटक झारफुकका लागि धामी र माताकहाँ गए पनि विश्वास भने कहिल्यै नलागेको बताए । ‘म सञ्चो नभएर एक दुईपटक धामी–झाँक्रीकहाँ गएँ । तर त्यहाँ गएपछि जहिले पनि केटीले बिगारेको छ मात्र भन्थ्यो । खासमा ट्रेकिङबाट फर्कँदा भिटामिन बीको कमीका कारण म बिरामी परेको रहेछु । हातखुट्टा चलेको थिएन । परिवारले माताकहाँ, धामी, झाँक्रीकहाँ लगे । एकदिन कीर्तिपुरमा एक गुभाजुकहाँ पनि लगे परिवारले’, हरिशले थपे, ‘त्यहाँ मलाई कुच्चैकुच्चाले बेस्सरी हान्यो । कस्तो दुखेको थियो भन्ने अझै याद छ । अनि केटीले बिगारेको छ भन्यो । जुन धामीकहाँ गए पनि केटीले बिगारेको मात्र भन्थे । यो सुन्दा मलाई हाँसो लाग्थ्यो ।’ लेखक एवं साहित्यकारसमेत रहेका हरिशले हाँस्दै भने, 'होइन, केटीको अरू काम हुँदैन जबकि मलाई बिगार्दै मात्र हिँडून् ? पछि डाक्टरकहाँ जचाउँदा पो भिटामिन बीको कमीले हातखुट्टा नचलेको थाहा पाएँ । त्यसपछि डाक्टरी औषधिले ठीक भएँ ।  

............

झारफुकमाथि मात्र विश्वास  

एकथरी जमात यस्तो छ जसलाई जस्तोसुकै समस्याको उपचार खोज्न पनि झारफुककै मात्र भर लाग्छ । बल्खुमा माता सावित्रीदेवीकहाँ पुग्दा त्यहाँ आएकी सीता बयलकोटी आफूलाई स्वास्थ्य र अन्य कुनै समस्या पर्दा अन्यत्र कतै नजाने बताइन् । ‘मलाई रिंगटा लागेर विसञ्चो भएर सावित्री माताकहाँ फुकाउन आएको हुँ’, सीताले भनिन्, 'मलाई माताकोमै विश्वास लागेर यहाँ वर्षौँदेखि आउने गरेकी छु । मलाई यहीँ फुकाएपछि सञ्चो हुन्छ । डाक्टरकहाँ त कहिल्यै पनि जान्न ।'

........

यस्तै बालाजु पुल शंकर मन्दिरमा रहेका झाँक्री चेतबहादुर थिङकहाँ दिउँसो झारफुकका लागि पुगेका सेतो सर्ट धारी पनि अस्वस्थ भएर उपचार गराउन आएका थिए । झाँक्रीमाथि मात्र विश्वास लाग्ने हुनाले समस्याको समाधान खोजीमा उनी झाँक्री गुरु थिङकोमा आएको बताए । झाँक्री चेतबहादुरले चामलले फुकेर उपचार गरिदिएपछि शरीर हल्का भएको महसुस हुँदै गएको उनले बताए । 

झाँक्री चेतबहादुरले चामलले फुक्दा सेतो सर्टधारीलाई जंगली र काँचो मसान लागेकाले उपचारको विधि बताएअनुसार सोहीअनुसार उपचारमा लागे । केहीबेरको झारफुकपछि सेतो सर्ट पहिरिएकाले भने, 'कतिपय रोगको उपचार डाक्टरले गर्न सक्दैन । त्यसका लागि धामी र झाँक्री आवश्यक पर्छ । मेरो रोग यस्तै हो । यस कारण म झाँक्रीकहाँ मात्र आउँछु  । निको पनि हुन्छ ।'

.............

कसरी बन्छन् धामी, झाँक्री र माता ? अनि कसरी हुन्छ झारफुक ?

अध्ययनका क्रममा धामी, झाँक्री र माता कसरी बन्छन् भन्ने विषयमा पनि बडो रोचक तथ्य पाइयो । विशेषगरी माताहरू आफैं बिरामी भएपछि वा भनौँ संघर्षबाट जुधेर पछि शक्ति प्राप्त गरेको भनाइ पाइयो । माताहरूले घरमै आसनमा बसेर झारफुक गर्ने गरेका पाइयो । आफू केही नभएको तर आसनमा बस्दा उनीहरूको शरीर प्रयोग गरी देवी देवताहरूले सबै गर्ने गरेको दाबी पाइयो । धामी, झाँक्रीहरू भने आसनमा बसेर र आवश्यकताअनुसार बाहिरफेर गएर पनि झारफुक गर्ने गरेका देखियो । माता, धामी र झाँक्री यी सबैको गुरु भने हुने रहेछन् । अधिकांशले गुरुबाट लिएको विद्याबाट झारफुक गर्ने गरेको बताए ।  

उपचारका क्रममा चामल र बाटेको धूपको विशेष प्रयोग हुने गरेको देखियो । यसैगरी अण्डा पनि झारफुकको एउटा दरिलै माध्यम रहेको पाइयो । झारफुक गर्ने तरिका भने एउटै अर्थात् आसनमै बसेर मन्त्र जप्दै गर्ने गरेको पाइयो । हुन पनि, यो एउटा विश्वास र आस्थामा टिकेको परम्परागत सेवा रहँदै आएको छ । तर यसप्रति सरकारी तर्फबाट कुनै नियम, कानुन र प्रष्ट दृष्टिकोण नभएकाले कतिपय अवस्थामा झारफुक सेवा लुकिछिपी भइरहेको छ । कोहीले पानीमा फुकेर ओषधि दिने रहेछन् त कोहीले भने चामलमै खरानी मिसाएर फुकेर दिने रहेछन् । कोही समस्या समाधान गर्न अरू उपाय गर्न लाउने रहेछन् । काठमाडौँ महानगरभित्र झारफुक सेवा दिनेहरू गल्ली र चोक–चोकमा छन् । माताहरू प्रायः महिला हुन्छन् भने धामी झाँक्रीमा चाहिँ महिला कम छन् ।  

.........

झारफुकबाट उपचार गर्ने गुरु बालिका । तस्बिर : रुबी रौनियार/नागरिक
समस्यामा परेपछि माता बनेँ

स्वयम्भूमा गुरु बालिकाकोमा बिहान सबेरै पुग्दा उनी आफ्नो नित्य पूजामा व्यस्त थिइन् । पूजा सकेर उनी आसनमा बसिन् । उनीकहाँ आएको बिरामीलाई धूप बालेर मन्त्र पढेर झारफुकबाट उपचार गरिन् । गुरु बालिकाले यसरी झारफुकबाट बिरामीहरूको विभिन्न रोगको उपचार गरी निको पार्ने गरेको र यसबाट निको नहुने देखिए डाक्टरकोमा पठाइदिने गरेको बताइन् ।  

उनले बिरामी मात्र नभएर अन्य सामाजिक समस्या लिएर आएकाहरूको समेत झारफुकबाटै समाधानको उपाय बताउने गरेकोसमेत सुनाइन् ।  गुरु बालिकाको वास्तविक नाम उर्मिला शाही हो । १० वर्षअघि उर्मिला सिकिस्त बिरामी परिन् । उनको परिवारले डाक्टरकोमा उपचार गराए पनि निको नभएको र गुरु शिव शर्माकोमा पुगेपछि झारफुक गरी उपचार गरेपछि बल्ल निको भएको बताइन् । यहीबीच गुरुको मृत्यु भयो । यसको चार वर्षपछि उर्मिला फेरि निकै सिकिस्त बिरामी भइन् । डाक्टरको उपचारले काम गरेन । पछि फेरि उर्मिलाले गुरु शिव शर्माको फोटोमा ढोगेर पूजा गरेपछि उनको शरीरमा गुरु चढेको र सोही दिनदेखि उनको नाम गुरु बालिका बनेको उनले आसनबाटै नागरिकलाई बताइन् ।

यो पनि पढ्नुहोस्

चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल

त्यसपछि आफू झारफुकबाटै सामाजिक सेवामा १० वर्षदेखि निरन्तर लागिरहेको पनि उनले सुनाइन् । कुराकानीका क्रममा समेत उनको शरीरमा गुरु चढेको अनुभव भइरहेको थियो । गुरु बालिका घरि शरीर कमाउँथिन्, घरि आँखामा आँसु भरी भावुक बन्थिन् । ६० वर्षिया उनले आफू आसनमा बसेपछि मात्र झारफुकको शक्ति आउने गरेको ‘रहस्य’ समेत खुलाइन् । सुरुका दिनमा शरीरमा शिव भगवान चढ्दा शरीर काम्ने, रुने, कराउने गर्दा परिवारमा त्रास थियो । ‘सुरुमा मेरो छोराले म धेरै बिरामी भएकाले रिसाएर मेरो गुरुलाई नानाथरी भन्यो । गुरुलाई गालीगलौज गरेपछि मेरो छोरो पनि बिरामी भयो । तर पछि मैले र मेरो श्रीमान्ले  गुरुसँग क्षमा माग्यौँ । मेरो शरीरमा गुरु आउनुभयो । मैले पानीमा फुकेर दिएपछि मेरो छोरो पहिले जस्तै स्वस्थ भयो’, गुरु बालिकाले आफू झारफुकमा प्रवेश गरेको सुरुवाती दिनको प्रसंग सुनाइन्– यसपछि मेरो परिवारले मलाई विश्वास गर्न थाल्यो । नाति बिरामी पर्दा पनि फुकेर ठीक पारेँ । यसरी परिवारका सदस्यहरू मेरो झारफुकबाट निको हुँदै गएपछि यो कुरा घरबाहिर पनि फैलियो । अनि म गुरु बालिका बनेँ ।  

उनले आसनमा काम्दै भनिन्, ‘मेरो गुरुले सही काममा प्रयोग गर्न मात्र मन्त्र दिनुभएको हो । मैले गुरुको आज्ञाअनुसार झारफुक सेवा गरिरहेकी छु । मकहाँ डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, कर्मचारी र विदेशबाट समेत भक्तजनहरू रुँदै समस्या लिएर आउनुहुन्छ । समाधान भएपछि हाँस्दै फर्कनुहुन्छ । यो सेवा विश्वास र आस्थामै टिकेको छ ।

............

पुस्तान्तणसँगै झाँक्री, ढ्याङ्ग्रो ठोक्दैमा क्राँक्री बन्दैन  

एक दिन दिउँसो बालाजुस्थित शिवमन्दिरमा रहेका झाँक्री गुरु चेतबहादुर थिङको आश्रममा पुग्दा त्यहाँ पनि झारफुक सेवाग्राहीको भिड थियो । थिङका अनुसार झाँक्री संस्कृति प्राचीन कालदेखि नै चलिआएको हो । यो बोन संस्कार हो । उनका अनुसार पुर्खामा कोही झाँक्री छन् भने मृत्युपछि पूर्वजहरू नाति, पनाति वा आफूले रुचाएको व्यक्तिको शरीरमा आएर सबै शक्ति दिन्छन् । र झारफुक गर्ने, भूतप्रेत भगाउनेलगायतका बिरामी निको पार्ने शक्ति सर्दोरहेछ ।

डाक्टर नभएको प्राचीन युगमा बोन संस्कार र सभ्यतादेखि चलिआएको झाँक्री संस्कृति हो । सोही दिन पनि उनी विश्वास गरी आउनेहरूलाई रोगअनुसारको चामलमा मन्त्र जप्दै झारफुक गरिरहेको भेटिए । ‘झाँक्रीले प्रकृतिको पूजा गर्छन् । र, प्राकृतिकरूपमै उपचार गर्छन् । हात भाँचिदा बासको काम्रो बनाएर भाँचिएकामा बाँधेर गर्ने  धामी, झाँक्रीको उपचार पद्धतिबाट आज वैज्ञानिक उपचार पद्धतिको विकास भएको हो’, आफ्ना जिजु बाजे झाँक्री रहेको र उनैबाट झाँक्री विद्या सिकेका थिङले नागरिकसँग भने, 'बोन संस्कृतिको झाँक्री सेवा म १३ वर्षको उमेरदेखि नै बाजेबाटै सिकेर गरिरहेको छु । अहिले म ३१ वर्ष पुगेँ। जिजु बाजे झाँक्री थिए । पुर्ख्यौली सेवा हो जुन ममा सर्‍यो । बाजे मेरो शरीरमा धारण गर्नुभयो र म झाँक्री बनेँ ।'

उनले थपे– ‘बिरामी अउनासाथ हामी बिरामीको जोखना हेरेर अस्पतालमा जाने हो कि धामी झाँक्री लगाउनेबारे छुट्याएर मात्र उपचार गर्छौँ । पुर्खाले सिकाएको जडीबुटी औषधि दिन्छौ‌ं । प्राचीनकालको डाक्टर, इन्जिनियर नै हामी धामी, झाँक्री हो । विगतमा अस्पतालको विकास नहुँदा र इन्जिनियर नभएको समयमा हाम्रा बाउबाजेले धामी, झाँक्री नै डाक्टर र इन्जिनियरको काम गर्नुहुन्थ्यो । यति मात्र होइन, पूर्वसमयमा घर बनाउँदा हामी धामी, झाँक्रीकहाँ माटो देखाउने, घर बनाउने शुभसाइत देखाउने, घरभित्र शौचालय, कोठा, भान्छा, मूल ढोका कुन दिशामा राख्ने जस्ता वास्तुकलाका सबै काम धामी झाँक्रीले गर्थे । पुर्वजले दिएका उपायअनुसार नै घर बनाइन्थ्यो ।'

पछिल्लो समय ढ्याङ्ग्रो मात्र ठोकेर फटाहा कुरा गरेर प्रचारका लागि मात्र धामी, झाँक्री बन्ने विकृति पनि उत्तिकै देखिएकोमा राज्यका निकायले यसमा ब्यवस्थापनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ । ‘भक्तजनले बोलाउनुभयो भने हामी बाहिर गएर पनि उपचार गर्छौँ’, उनले थपे– सेवा गर्न चाहनेलाई गुरु मन्त्र दिएर झाँक्री पनि बनाउने गर्छौँ तर यसका लागि सिक्न चाहने व्यक्तिको शरीरमा देवता आउने र काम्न भने सक्नुपर्छ । उनको आश्रममा काम्दै गरेकी एक महिलालाई झाँक्री बनाउने क्रियाकलाप पनि कुराकानीकै क्रममा देख्न पाइयो ।

...........

वन झाँक्रीको आशीर्वादले धामी सेवा

साँझको करिब सात बजे काठमाडौँको डल्लुमा रहेको उमेश राजभण्डारीकहाँ पुग्दा झारफुक गर्ने आसन भएको कोठा सेना, प्रहरी, व्यापारी, बच्चासहित आएका अभिभावक, शिक्षकले भरिभराउ थियो । शनिबार झारफुकका लागि उत्तम दिन भएकाले पनि निकै भिड थियो । डाक्टर त कुनै एक रोगको विशेषज्ञ हुन्छन् तर विश्वास र आस्था राख्नेका लागि धामी, झाँक्री र माता त हरेक समस्याको समाधान खोजिदिने सबै थोकको विशेषज्ञ हो जस्तो भान हुन्थ्यो । उमेशकहाँ समस्या लिएर आएको एक जोडीलाई देखेर उनले मुस्कुराउँदै भने, ‘के हो आज शनिबार भएको बिदाको मौकाको फाइदा उठाउँदै फौजी दम्पती नै आएका रहेछन् त ।’, त्यसपछि कोठामा उपस्थित फौजी दम्पतीको एकै स्वरमा जवाफ आयो, ‘के गर्ने गुरु, बिदाको समय पारेर दुवैजना आयौँ । समस्या आयो । समाधानको उपाय खोजिदिनुपर्‍यो ।’ यसरी गुरु उमेश हरेकथरीका सेवाग्राहीलाई समस्याअनुसारको मन्त्र जप्दै उपचार गर्दै थिए ।

५४ वर्षीय उमेशलाई २०४४ सालमा वन झाँक्रीले उठाएर लगेको र बनमा उनलाई १४ महिना राखेर धामी ज्ञान दिएर फर्काएपछि आफू धामी सेवामा लागेको दावी गरे । उनका अनुसार धामी विद्या अर्थात् झारफुक सेवा विद्या र ज्ञान भएकाले यो विज्ञानसँग समेत जोडिएको छ । ‘परापूर्व कालमा कुनै डाक्टर नभएको समयमा धामी झँक्रीले नै सबै रोग र समस्याको समाधान गर्थे । यस कारण झारफुक तन्त्रमन्त्र विज्ञनसँग जोडिएको छ’, उमेश भन्छन्, 'म आफ्ना भक्तजनको विश्वास र आस्थामा काम गरिरहेको छु ।'

उनी थप्छन्, ‘मेरा लागि झारफुक व्यवसाय होइन । मेरो सेवाको कुनै दर तोकिएको छैन । भक्तजनले आफुखुसीले सक्दो दान-दक्षिणा दिनुहुन्छ । दिए पनि नदिए पनि ठीक छ । आजसम्म कसैलाई अन्तर्वार्ता दिएको छैन । नागरिकलाई पहिलोपटक अन्तर्वार्ता दिँदैछु । म कामले प्रचार हुनुमा विश्वास गर्छु तर केही गलत प्रवृत्तिका व्यक्तिका कारण यो सेवामा विकृति फैलिएकोेमा भने चिन्ता लागेको छ । सही र सत्यतथ्यमा आधारित तरिकाले गरिने झारफुक सेवा खुलारूपले चल्नुपर्छ । यसका लागि राज्यका सम्बन्धित निकायले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा दिनेहरूको क्षमता पहिचान गर्न सक्ने संयन्त्र निर्माण गरी नियम र व्यवस्थापन गर्नुपर्छ ।'

‘भगवानको आशीर्वाद र तपस्याले माता’  

बल्खुको सतीदेवी सरस्वती माताकहाँ साँझ पुग्दा विभिन्न रोग देखाउन आएका बिरामीले कोठा भरिएको थियो । कोही रातभरि वान्त भएको बच्चालाई लिएर आएका थिए त कोही छोरीलाई ज्वरोले च्यापेर ल्याएको बताउँथे । कोही शारीरिक दुखाइ असह्य भएर आएका थिए त कोही भने अपच भयो र आँखा लागेको भन्दै आएका भेटिए । यतिसम्म कि उनको कोठा भरिएकाले धेरै बिरामी भर्‍याङमा समेत बसेर पालो कुरिरहेका थिए । उनको फुक्ने पद्धति भने सबैलाई उही थियो । बाटेको धूप बालेर काम्ने अनि मन्त्र पढ्दै पन्छाउने । पन्छाएपछि उनले सबैलाई सात दाना चामल फुकेर कचौरामा पिँधेर औषधि बनाएर पिउन दिन्थिन् । यति मात्र होइन, उनी अलि कडा रोग भएका बिरामीलाई फुकेपछि भने केहीबेर काम्थिन् पनि ।

४९ वर्षिया यी माताको शरीरमा सरस्वती माता आउने भएकाले उनको झारफुक गर्दाको नाम सतीदेवी सरस्वती भएको हो । खासमा उनको वास्तविक नाम सावित्रीदेवी रहेछ । तर सबैले माता भन्ने गर्छन् । हुन त सात वर्षको उमेर हुँदा उनको शरीरमा सरस्वती माता आउने गरेको र काम्ने गरेको पनि सुनाइन् । सपनामा माता आउने र आशीर्वाद दिएकै कारण बाल्यकालमै आफूले जडीबुटीसमेत पहिचान गर्न सक्ने भएको उनको दाबी छ ।

‘झारफुक विद्या आएपछि मैले परिवारमा मात्र फुक्ने गर्थेँ तर भुइँचालोपछि सेवाका रूपमा गर्न थालेँ । विश्वास लिएर आउनेहरूको मेरो झारफुकले निको हुँदा उनीहरूको खुसी नै मेरो खुसी बन्यो । मकहाँ धेरैजसो बच्चा फुक्ने, रुन्चे  र  भूतप्रेत लागेको पन्छाउनेहरू आउनुहुन्छ । सेवाले फाइदा हुन्छ । खुसी भएर जानुहुन्छ’, दुई छोराकी आमा सावित्री थप्छिन्, 'पारिवारिक समस्या समाधानका लागि, पतिपत्नीको सम्बन्ध राम्रो बनाइदिन र कतिपयचाहिँ मोहनी लाउन भन्दैसमेत आउनुहुन्छ । सक्ने काम झारफुकबाट समाधान गरिदिन्छु । नसक्ने अवस्थामा डाक्टरकहाँ पठाइदिन्छु ।'

के भन्छन् विज्ञ ?

संस्कृतविद् प्रा.डा. जगमान गुरुङ । तस्बिर : रुबी रौनियार/नागरिक
खुलारूपमै झारफुकका लागि अनुमति दिनुपर्छ  

संस्कृतविद् प्रा.डा. जगमान गुरुङका अनुसार झारफुक सेवा हो । तर अन्धविश्वास र जडसूत्रवादी चिन्तनले नेपालका माता, धामी र झाँक्रीहरूले यो सेवा लुकिछिपी गर्नुपर्ने अवस्था छ । यसकारण योग्यता र क्षमताको परीक्षण गरी अनुमति दिने र खुलारूपमा सेवा गर्ने ब्यवस्था राज्यले गरिदिनुपर्नेमा उनको जोड छ । झारफुक गर्न सक्नेलाई विदेशमा पनि ‘विच डाक्टर’ भन्दा रहेछन् । राज्यले दिने सबैखाले सुविधा तिनले पाउँछन् । यसकारण नेपाल सरकारले पनि यस्ता सेवा गर्नेलाई खुला गरिदिए विकृति हट्ने उनको ठहर छ ।  

कसरी मिल्छ झारफुक गर्ने शक्ति ?  

प्रा. डा. गुरुङले साधना र भगवानको आशीर्वाद गरी दुई किसिमबाटै झारफुकका लागि शक्ति प्राप्त हुने अनुभव सुनाए । तर यसमा पनि कुटज्ञान र सद्ज्ञान गरी दुई प्रकारको ज्ञान हुने गरेको उनले स्पष्ट पारे । नेपालका गुरुङहरूमा प्रचलित चिनियाँ तिब्बती ज्योतिषशास्त्रमा विद्यावारिधि गरेका गुरुङले कुुटज्ञानमा आधारित झारफुक जसमा मारणमोहनको शक्ति हुने र सद्ज्ञान प्राप्त गरी धामी, झाँक्री र माता बनेकाहरूले बिरामीलाई निको पार्ने र बचाउने सेवामा ज्ञान प्रयोग गर्ने उनले बताए ।  

तन्त्रमा बाँधिएको राष्ट्र नेपाल

प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत भइसकेका गुरुङले चिना हेर्ने, झारफुक गर्ने र सकेका बिरामी निको पार्ने झारफुकको ज्ञान आफ्ना जेठो बाबाट पाएको सुनाए । नेपाली संस्कृति झारफुकमै अडिएको उनको दाबी छ । ‘धार्मिक र सांस्कृतिक मान्यताअनुसार देवी-देवताको धामसँग सम्बन्धित धामी हुन्छ । देवी देवता चढेर जुन झाँग आउँछ त्यो झाँक्री हुन्छ’, संस्कृतिविद् गुरुङले नागरिकसँग भने, 'यो हरेक जाति समुदायमा हुन्छ । नाम मात्र फरक हो । नेपाल तन्त्रद्वारा बाँधिएको राष्ट्र हो । नेपालको पुनः एकीकरणको जग नै गुरु गोरखनाथसँग जोडिएको छ । काठमाडौँकै कुरा गर्ने हो भने यो देवी देवताको शहर हो । यस कारण नेपालमा झारफुक परापुर्वकालदेखि स्थापित सेवा हो । म अहिले पनि चिना हेर्ने काम गर्छु ।'

झारफुक विज्ञानमा आधारित  

नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा स्वर्ण पदक पाएका ७८ वर्षीय गुरुङले श्री १०८ स्वामी देवानन्द वेदान्त केसरीबाट देवीको दीक्षा, रुद्रागिरी गुरुबाट पञ्चाश्री मन्त्रसमेत हासिल गरेका छन् । ‘सत्य युगमा धामी, झाँक्रीको माध्यमबाट देवी देवता र मानिसबीच कुराकानी हुन्थ्यो । कली युगमा पाप बढ्यो, हुँदैन । पहाडमा धामी झाँक्री भन्छ । तराईमा थारू समुदायमा झाँक्री पनि हुन्छ र सोखा पनि हुन्छ । मुस्लिम समुदाय र क्रिस्चियनमा मात्र होइन, विश्वमै धामी, झाँक्री र बोक्सी पनि हुन्छ । यो विज्ञानमा आधारित सेवा हो,’उनको भनाइ छ ।

उनले उदाहरण दिँदै थपे, 'म १६ वर्षको थिएँ । कसैले मलाई भनिदियो कि दाँत दुखेको निको पार्न नाँगै भएर खुर्सानीको जरा खनेर बुटी बनाएर लगाएमा निको हुन्छ । म भन्दा पाँच वर्ष कान्छाको दाँत दुखेको थियो । परीक्षण गर्न म बारीमा गएँ । उसको सबै कपडा खोलेँ । कसैले पनि देखेन । खुर्सानीको जरो उखेलेर बुटी बनाएर लगाइदिएँ । निको भयो । यसकारण यसमा विज्ञान जोडिएको छ । यस कारण पनि यो सेवाको सबैले संरक्षण गर्नुपर्छ ।'

‘आदि अनादि कालदेखि डाक्टर नभएको समयमा धामी, झाँक्री र झारफुक गरेरै सबै रोगको उपचार गरिन्थ्यो । हात खुट्टा भाँचियो भने प्राकृतिक जडीबुटी दिने अनि बाँसको काम्रो बाँधेर धामी, झाँक्रीले फुकेर उपचार गर्थे र गर्छन् ।’ यस कारण यो विज्ञानसँग जोडिएको उनको दाबी छ ।  डाक्टरले निको पार्न नसकेको बिरामी फुकेर निको हुने भएकाले झारफुक सेवा विज्ञानसँग जोडिने उनको तर्क छ । केही रोग त उनी आफैंले पनि फुकेर निको पार्ने दाबीसमेत गरे । ‘मैले दाँते कीरा झार्ने मन्त्र आफ्नो सासूबाट सिकेँ । मन्त्र त आचावाचा होला भनेको त, फस्स न फुस्स पो रहेछ । र, यो मन्त्र ठीक छ कि छैन भनेर गाउँमा टेस्ट नै गरेँ । निको भयो । त्यसपछि गाउँभरि जगमानले झारफुक गर्छ भन्ने हल्ला चल्यो ।  

उनी आफैँले फुकेर दाँते कीरा निको पारेको ५६ वर्षअघिको वृतान्त यसरी सुनाए, 'मेरो गाउँमा नाता पर्ने प्रधानपञ्चको श्रीमतीलाई दाँते कीराले निकै थला पारेको थियो । मलाई बोलाउनुभयो । मैले स्लेटमा खरीले मन्त्र लेखेर फुक्नुपर्ने तर गाउँमा स्लेट र खरी दुवै पाइएन । त्यसपछि फलेकमा रातो माटोले मन्त्र लेखेर झारफुक गरिदिएर घर फर्केँ । त्यसपछि उनकी श्रीमती त निको भएर घरमा भात पकाइरहेको र खाएको पनि देखेँ । यो के हो ? विज्ञान त हो नि ।'

‘म आफैँ यसको उदाहरण हो’, उनले सुनाए, 'तर कली युगमा घरैपिच्छे धामी, झाँक्री र पछिल्लो समय माता भएका छन् । ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन् । अहिले सहरका गल्ली-गल्लीमा बग्रेल्ती देखिने धामी, झाँक्रीले सेवाका नाममा गलत काम गरेका पनि देखिएको छ । विदेशमा त ‘बोक्सी डाक्टर’ नै भनिन्छ । लाइसेन्स पाउँछन् । उनीहरूले ठूला मल र यातायातमा छूट पाउँछन् । नेपालमा पनि अब यस्ता आदिकालदेखि चलिआएको धामी, झाँक्री, तन्त्रमन्त्र र माताको सेवा संरक्षण गर्नुपर्छ । संस्कृति मन्त्रालयले दक्षता र क्षमता परीक्षण गर्ने संयन्त्र बनाएर लाइसेन्स दिनुपर्छ । अनि मात्र झारफुक सेवा व्यवस्थित र मर्यादित बन्छ ।'

मानव उत्पत्तिको विकासक्रमसँग जोडिएकाले संरक्षण आवश्यक  

मानवशास्त्री जनक राईका अनुसार किरात समुदायमा धामी महत्त्वपूर्ण संस्था हो । जन्मदेखि मृत्यु संस्कारसम्मको कार्य गर्न धामी अति आवश्यक पर्ने उनले बताए । मानव उत्पत्ति र यसको विकासक्रमसँग धामी, झाँक्री जोडिएकाले यो सेवालाई सबैले संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक
धामी, झाँक्री झारफुक विश्वास, परम्परा र प्रथा हो  

मानवशास्त्री राईका अनुसार १९७० को दशकदेखि नै स्वदेशी र विदेशी विज्ञहरूले धामी, झाँक्रीबारे अध्ययन गरिरहेका छन् । यो धामी, झाँक्री नेपालमा मात्र होइन, विश्वका हरेक ठाउँमा विश्वास र धर्म/संस्कृतिसँग जोडिएको परम्परा हो ।  

‘धर्म र मानिसको स्वास्थ्य बुझ्ने फरक किसिमको विश्वास प्रथा र परम्परा हो धामी झाँक्री’, उनले थपे, 'हिन्दु र गैरहिन्दु सबैमा यो विश्वास परम्परा कायम छ । आदिवासी÷जनजाति समुदायमा धामी महŒवपूर्ण हो । म किराँती संस्कृतिको भएकाले हाम्रा लागि जन्मदेखि मृत्यु संस्कारसम्म धामी महŒवपूर्ण हो । धामी परम्पराबाट चलिआएको एउटा संस्था हो । पछिल्लो समय धामी, झाँक्री र माता फरक फरक किसिमले आएका छन् । मातामा महिला मात्र हुन्छन् भने धामी, झाँक्रीमा चाहिँ पुरुष र महिला दुवै हुनु रमाइलो पक्ष पनि हो । जहाँ चिन्ता बढेको हुन्छ, भविष्य अनिश्चित हुन्छ, अर्थतन्त्र र कारोबारमा गिरावट हुन्छ, त्यहाँ त्यहाँ जादू, टुना र झारफुक जोडिएको हुन्छ ।'

झारफुक संसारका विभिन्न ज्ञानमध्ये एउटा  

राईका अनुसार सुदूरपश्चिम र कर्णालीमा धामी परम्परा एकदमै प्रचलनमा छ । संसारका विभिन्न किसिमका ज्ञानमध्ये एउटा विज्ञान हो । यस कारण केलाई अन्धविश्वास मान्ने भन्ने कुरा उठ्छ । जहाँ विश्वासको कुरा आउँछ त्यहाँ अन्धविश्वास र विज्ञानको मानक बनाउन मुस्किल पर्छ ।

यस कारण सबैलाई एउटै डालोमा हालेर हेर्नुहुँदैन । विश्व प्रसिद्ध किताब ‘ह्यारीपोर्टर’, ‘स्पाइडर म्यान’, ‘सुपर म्यान’, यी सबै महाशक्तिमा आधारित छन् । राज्यको निकायमा बस्नेले यो प्रथाले कुनै हिंसा, दण्डहीनता वा विभेद बढाएको छ भने कानुनी उपचार गर्नुपर्छ । तर धार्मिक परम्परासँग जोडिएको विषयलाई अपराधसँग जोडेर हेर्न मिल्दैन । उनको प्रश्न छ– यस कारण राज्यका सम्बन्धित निकायले यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । तर यसो गर्दा बुझेर मात्र अघि बढ्नुपर्छ । आफू सातवटा औँठी लगाएर सार्वजनिक कुर्सीमा बस्नेले यो झारफुक सेवालाई अन्धविश्वास भन्न मिल्छ ?  

‘मानव सांस्कृतिक प्राणी हो । उसमा विश्वास र आस्था पहिलेदेखि नै हुने विभिन्न अध्ययनले देखाएका छन् । मरेको मान्छे किन सपनामा आउँछ ? राम्रो र नराम्रो सपना किन देखिन्छ । यसका लागि पनि मान्छे विश्वास लिएर धामी, झाँक्रीकहाँ जान्छन् । हाम्रा पुर्खाले यसबारे पनि सोचे । यस्ता धेरै विषय छन् जो मानव संस्कृतिको विकासक्रमसँगै चलिरहेको छ,’ राईको आफ्नै तर्क छ ।

भविष्य अनिश्चितताले झारफुकमाथि विश्वास  

मानवशास्त्री राईका अनुसार मानिस सामाजिक प्राणी हो । मान्छेको छनोटको अधिकार हो धामी, झाँक्री, डाक्टर वा वैद्य कसकहाँ जाने भन्ने कुरा । देउतालाई विश्वास गर्ने हो भने अन्य शक्तिलाई किन विश्वास नगर्ने भन्ने पनि प्रश्न छ । अर्कोतिर जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब तब मानिस जादू टुनातिर बढी आकर्षित हुने गरेका मानवशास्त्रका विभिन्न अध्ययनले देखाएका छन् ।  

‘सहरीकरण बढ्दै गएपछि गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम बढ्दो छ । परिवारबाट विछोड हुने क्रममा पीडा र चिन्ता हुन्छ । भविष्य अनिश्चित बनेपछि यस्तो अवस्थामा जोखना देखाउने, देवताको पूजापाठ गर्ने, झारफुकप्रति विश्वास लाग्न थाल्छ मानवशास्त्रीय आँखाले धामी, झाँक्री र माताको झारफुकलाई ‘फेथ हिलर्स’ भन्छ । जोखना हेर्ने चलन पहिले पनि थियो र हालसम्म निरन्तरता पाएकै छ,’ राईको भनाइ छ ।

झारफुक सेवाप्रति मन्त्रालयको चासो  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा मानिसको आस्था र विश्वाससँग जोडिए पनि यो व्यवस्थित हुन नसकेको स्वीकार गरे । पूर्वानुमान र अनुमान मिल्ने विषय संयोग हो कि विज्ञान ? यसतर्फ गहन अनुसन्धान हुनुपर्ने मन्त्री पाण्डेको भनाइ छ । ‘झारफुकप्रति मानिसको गहिरो आस्था छ । यही आस्थाका आधारमा मानिस झारफुक गराउन जान्छन् । केही कुरा मिलिरहेकै पनि हुन्छन्,’ उनले सुनाए ।  

मन्त्री पाण्डेले नागरिकसँग भने, 'यो मनोविज्ञान वा कुनै विज्ञानमा आधारित हो ? पूर्वानुमान र अनुमान मिल्ने संयोग हो कि विज्ञान हो ? खोज अनुसन्धान गर्नुपर्छ । मन्त्रालयमा संस्कृति महाशाखा छ । धामी, झाँक्री, माता आदिले गर्ने झारफुकको अवस्था के÷कस्तो छ भन्ने मन्त्रालयकै लागि पनि छलफलको विषय हो । अब यसलाई व्यवस्थित गर्न मन्त्रालयले पहल गर्नेछ ।'

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस