खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा केही समयअघि एउटा विवाह सम्पन्न भयो । विश्वभर कोभिड–१९ को महामारी फैलिरहेका बेला सम्पन्न बिवाहपछि एन्टीजेन परीक्षण गर्दा सो विवाहमा सहभागी धेरैजसोमा संक्रमण देखियो । सो विवाहमा दुलही लिन तराईबाट दुलहा जन्ती लिएर आएका थिए ।
विवाहका लागि काठमाडौं लगायतका शहरमा बसोबास गरिरहेका आफन्त पनि आउने नै भए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङले सकेसम्म थोरै संख्यामा धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्नका लागि सूचना जारी गरेको केही समयपछि भएको सो विवाहमा त्यस विपरित शहर बजार र गाउँका मान्छे एक ठाउँमा भेला भए ।
केही समयपछि एन्टीजेन परीक्षण गर्दा विवाहमा सहभागीमध्ये धेरैजसो व्यक्तिमा संक्रमण पुष्टि भएको देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘बढीजसो विवाह र भोजभतेरमा सहभागी भएका व्यक्तिलाई संक्रमण भएको देखिएको छ । त्यसमा पनि १८ वर्षभन्दा माथिका र ५० वर्षभन्दा मुनिका व्यक्तिलाई संक्रमण भएको पाइएको छ,’ मेयर राईले भने, ‘पहाडका बेहुला वा बेहुली र तराईतिरका बेहुला वा बेहुली भएको अवस्थामा जोखिम बढी देखिएको छ । यही बेला शहरबाट हुने आवागमनले पनि संक्रमण फैलिन सघाउ पुर्याएको देखिएको छ ।’ हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या २८ नाघेको छ ।
यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको एउटा गाउँमा ५ जनालाई संक्रमण देखियो । संक्रमित हुनेमा धेरैजसो आफ्नो गाउँभन्दा बाहिर नगएका स्थानीय छन् । ‘गाउँमा कसरी संक्रमण भित्रियो’ भन्ने विषयमा अध्ययन गर्दा इटहरीबाट आएका एक स्थानीयबाट सिंगो गाउँमा संक्रमण छिरेको अनुमान गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
अहिले गाउँ–गाउँमा कोभिड–१९ को संक्रमण फैलिएको देखिएको छ । एन्टीजेन परीक्षण वा पिसिआर परीक्षणका क्रममा कहिल्यै गाउँ नछाडेका स्थानीय समेत कोभिड–१९ बाट आक्रान्त बनिरहेको पाइएको छ । यसले समुदायस्तरमै कोभिड–१९ फैलिसकेको पुष्टि गर्छ । स्वास्थ्य संकट निम्त्याउने संकेत गर्छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) र जिल्लाका १० वटै स्थानीय सरकारले स्वास्थ्य सुरक्षामा मापदण्ड पालनका लागि पटक–पटक सूचना जारी गर्दैआएको छ । तर, त्यसको गम्भीरतापुवर्क पालना गरिएको छैन । थोरैभन्दा थोरै संख्यामा बिवाह, ब्रतबन्ध, भोजभतेर गर्न भनिए पनि त्यसलाई अधिकांशले बेवास्ता गरेको देखिन्छ ।
स्वास्थ्य सुरक्षाको पालनामा भएकै बेवास्ताको कारण हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा प्रवेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल बताउँछन् । ‘जिल्ला बाहिरका जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट संक्रमण भित्रिएको देखिन्छ । त्यस्तै विवाह र भोजभतेरमा जम्मा हुनेमा संक्रमण हुने दर बढी देखिएको छ,’ मेयर रिजालले भने, ‘हाम्रो नगरपालिकामा हालसम्म ५८ जनालाई संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७ जना निको भइसकेका छन् । ५८ जनाको हिस्ट्री अध्ययन गर्दा विवाहमा सहभागी हुनेहरुलाई नै बढी संक्रमण भएको देखिन्छ ।’
साकेला गाउँपालिकाका २३ जना संक्रमितमध्ये २ जनाले कोरोना जितिसकेका छन् । अहिलेसम्मको संक्रमितको हिस्ट्रीका बारेमा अध्ययन गर्दा काठमाडौं, चितवन जस्ता ठाउँबाट आएका व्यक्तिबाट कोभिड–१९ को संक्रमण फैलिएको पाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृन रबिन मगरले बताए । ‘जिल्लाभन्दा बाहिरबाट आएका व्यक्तिबाट जोखिम देखिएको छ,’ मगरले भने, ‘व्यक्तिबाट क्रमशः उसको परिवार, छरछिमेक हुँदै समुदायमा संक्रमण फैलिएको छ । यही बेला गाउँघरमा हुने विवाहमा त्यही संक्रमित पुग्दा एकैपटकमा धेरैलाई संक्रमण फैलिरहेको पाइएको छ ।’
बागलुङको वडिगाड गाउँपालिका–४ जलजलाको एकघरमा वैशाख ११ गते विवाह थियो । विवाहपछि भोलिपल्ट भोजभतेर समेत आयोजना हुँदा गाउँले र आफन्तसमेत जुट्दा झन्डै एकसयजनाको जमघट त्यो घरमा भएको थियो ।
घरका मुलि थिए ८६ वर्षिय वृद्ध । उनै वृद्धका नातीको विवाह धुमधामसँग भएको थियो । विवाहमा बेहुलाका ठुलाबुबा भैरहवादेखि सहभागि हुन आएका थिए । काका पनि गाडी चलाउने हुँदा बुटवल आउजाउ गरिरहन्थे । उनै गाडी चलाउने व्यक्ति वैशाख पहिलो सातादेखि रुघाखोकीले बिरामी थिए । त्यही बेला विवाह आयोजना हुँदा घरमा टाढाटाढाबाट आएका आफन्त र छिमेकीको जमघट बाक्लै भएको थियो ।
विवाहको त्यही जमघट र भोजभतेर नै अहिले गाउँमा कोरोना फैलाउन कारक बनेको र कोरोनाले गर्दा घरमुलि ८६ वर्षिय वृद्ध र उनका दुईछोरा ५५ र ४१ वर्षकाको ज्यान गएको वडाअध्यक्ष प्रेम गलामीले जानकारी दिए । उनका अनुसार एकसाताको अन्तरमा एकैघरका तीनजनाको कोरोनाले ज्यान गएको हो । ८६ वर्षिय बाबु र ४१ वर्षिय छोराको बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल तथा अर्का ५५ वर्षिय छोराको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अध्यक्ष गलामीले बताए ।
‘कोरोनाले एकैघरका तीनजनाको ज्यान गएको छ । त्यही विवाह र भोजभतेरमा सहभागि भएका अरु २५ जना बिरामी परेका छन,’ उनले भने, ‘गाउँका हरेकजसो घरमा एक–दुईजनाका दरले बिरामी परेका छन् ।’ उनका अनुसार विवाहपछि दुलाहा दुलाही समेत बिरामी परेका छन् । विवाहमा सहभागि हुन आएर घर फर्केका आफन्त पनि बिरामी परेको आशंका छ ।‘गाउँमा कहाँबाट कोरोना भित्रियो भन्ने यकिन त भएन । तर, विवाहको जमघटले गाउँभर कोरोना फैलाउन भने पक्कै सघायो,’ उनले भने, ‘गाउँका धेरै व्यक्ति बिरामी छन् । उनीहरु सबैको पीसीआर परीक्षण पनि हुन सकेको छैन । भोजभतेरले सबैतिर सखाप पारेको छ ।’ लामो समयसम्म विवाह, ब्रतबन्ध, पुजाआजा रोकिएका थिए र वैशाख पहिलो सातादेखि सबैतिर सामाजिक र सांस्कृतिक गतिविधि एकाएक हुँदा भीडभाड र जमघट बढाएको उनले बताए ।
कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर भएको थियो । त्यही अटेर अहिले गाउँमा कोरोना फैलाउने मुख्य कारक बनेको स्थानीय तहका पदाधिकारी बताउँछन् । उनीहरुका अनुसार केहीदिन अघिसम्म पनि गाउँमा भोजभतेर आयोजना हुँदै आएका थिए ।
गोरखाको भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल भन्छन, ‘गाउँमा यो सिजनमा धेरै नै विवाह, ब्रतबन्ध, चौरासी जस्ता जमघट बढाउने गतिविधि भए । त्यसले गर्दा गाउँमा संक्रमण फैलाउन सहज भयो ।’ उनका अनुसार गाउँमा सांस्कृति जमघट केहीदिन अघिसम्म पनि नियमित थिए । फाट्टफुट्ट अहिले पनि हुने गरेका छन् । अहिले भने सहभागिता केही कम हुन थालेको छ ।
‘एकै वडाभित्रको एउटा टोलमा ५०–६० जना संक्रमित भेटिँदा त्यही वडाको अर्काे टोलमा विवाह भोज चलिरहेको थियो,’ खनाल भन्छन ‘गाउँमा भोजभतेर, विवाह, पुजाआजा रोक्न सकिएन । गाउँका ती कार्यक्रममा प्रयाप्त आफन्त र गाउँले जुट्दा संक्रमण पनि चारैतिर फैलिएको थियो । गाउँका ती कार्यक्रममा स्वास्थ्य मापदण्ड सबैभन्दा बढी हेलचेक्रयाँइ गरिने उनले बताए ।‘आफन्त नै त हुन् भनेर मास्क पनि लगाएनन् । आखिर त्यही जमघट र वेवास्ता नै कोरोना फैलाउने कारक बनेको छ,’ खनाल भन्छन, ‘स्वास्थ्यका मापदण्ड पालनामा पटक्कै ध्यान दिइएन ।’ सहरी क्षेत्रमा प्रहरी प्रशासनको डरले भीडभाडका गतिविधि कम भएपनि ग्रामिण क्षेत्रमा भने फुक्काफाल ती गतिविधि भएका थिए । सहरका पार्टीप्यालेस र होटलमा गतिविधि रोकिँदा गाउँमा भने भोजभतेर खुलमखुला भएको उनले बताए ।
पर्वतको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा पनि गाउँमा भोजभतेरले कोरोना फैलाउन सघाएको बताउँछन् । धार्मिक तथा वैवाहिक कार्यक्रमको निरन्तरताले एकाघरका भेला भए र त्यसैमा गाउँले पनि थपिँदा संक्रमण चारैतिर फैलाउन सघाएको उनले बताए । ‘गाउँका भोजभतेर रोक्नै सकिएन । विवाह, व्रतबन्ध जस्ता सामाजिक कामले एकाएक आउजाउ र भीडभाड बढायो,’ शर्माले भने, ‘जसले गर्दा संक्रमण फैलाउन सघाएको हो । संक्रमित नै गाउँ डुल्दै हिड्ने अवस्था हुँदा पनि रोक्ने आँट कतै छैन ।’
उनका अनुसार तीनदिन अघिसम्म पनि गाउँमा भोजभतेरको तयारी हुँदै गर्दा रोक लगाइएको थियो । ‘यतिधेरै विवाह, ब्रतबन्ध, चौरासी पुजा भए की सबैतिरका गाउँमा यो बेला चहलपहल थियो । त्यही चहलपहल नै कोरोना संक्रमणलाई सार्ने माध्यम बन्यो,’ उनले भने । पछिल्लो समय गाउँमा भएका यस्तै गतिविधिका कारण कोरोना पनि गाउँगाउँमा फैलिएको छ । कतिपय गाउँमा त सहरमा भन्दा बढी डरलाग्दो अवस्था निम्तिनुमा यस्तै कारण रहेको स्थानी तहका पदाधिकारीले बताए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।