पोखराको आकाशमा आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेका प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ (एकआपसमा गाभ्ने) तयारी भएको छ। धेरैवटा कम्पनि संचालन हुँदा व्यवस्थापन गर्न कठिन भएको तथा व्यावसायिक मर्यादा समेत कायम हुन नसकेको ठहर गर्दै ‘मर्ज’ गर्ने तयारी गरिएको हो।
नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ कम्पनिलाई मर्ज गर्ने तयारी गरेको हो। प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलका अनुसार पाँचवटा कम्पनि गाभेर एउटा बनाउने गरि प्राधिकरणले प्याराग्लाइडिङ कम्पनिका लागि मर्जको नीति ल्याउँदैछ।
‘प्याराग्लाइडिङ कम्पनिलाई थप व्यवस्थित गर्नका लागि ‘मर्ज’ को नीति ल्याउन थालिएको हो। कम्पनिको संख्या थोरै भएमा व्यवस्थापन गर्न सहज पनि हुन्छ,’ भुलले भने, ‘प्याराग्लाइडिङ कम्पनि स्वयं पनि व्यवस्थित र व्यावसायिक हुनेछन। अहिले कतिपय कम्पनि व्यावसायिक हुन सकेनन। ती कम्पनि आफै पनि सकसमा छन्। संचालन गर्न सहज पनि छैन, बन्द नै गरेर बस्ने अवस्था पनि छैन।’उनका अनुसार पाँचवटा कम्पनि मर्ज गर्दा एउटा कम्पनि बन्नेछ। त्यसो गर्दा स्वयं कम्पनिलाई व्यावसायिकतामा बाँधिन पनि सहयोग हुनेछ। कम्पनिलाई मर्जरमा जानका लागि कम्तिमा ६ महिनाको समय दिने तयारी भएको पनि उनले बताए। कम्पनिले ग्लाइडर दर्ताका लागि ३ महिला र बाँकी ३ महिना मर्जका लागि समय पाउने भुलले बताए।
‘कतिपय कम्पनिले सरकारलाई तिर्नुपर्ने कर समेत तिर्न सकेका छैनन। गैरव्यावसायिक नहोस भनेर यो व्यवस्था गर्न थालिएको हो। जसले व्यावसायिकता बुझेको छ, ती कम्पनि संचालन हुन्छन, जसले व्यवस्थापन जान्दैन, त्यस्ता कम्पनि विलय हुनेछन,’ उनले भने। पोखरामा अहिले ५४ वटा कम्पनि संचालन रहेकोमा ४५ वटाले मात्र सक्रिय रुपमा व्यावसाय गरिरहेका छन। तर, ती सबै कम्पनिले कमाउन सक्ने अवस्था छैन। कमाउन नसक्ने र बन्द पनि गर्न नसक्ने अप्ठेरो अवस्थामा कम्पनि रहेकोले मर्ज गर्दा ती कम्पनिलाई पनि सहज हुने उनले बताए।
प्राधिकरणले पोखरामा सेवा दिईरहेका प्याराग्लाइडिङ कम्पनिलाई मर्ज गर्दै बढीमा १० वटामा झार्ने योजना समेत बनाएको छ। ‘थोरै कम्पनि भएपछि व्यावसायिकता पनि हुनेछ। कम्पनिले पनि कमाउनेछन,’ उनले भने। व्यावसायिक कम्पनिले कर्मचारी, सवारी, सुरक्षा अब्बलता लगायतका कुरामा पूर्णता पाउनेछन भने व्यावसायिक स्वरुप दिन नसक्ने कम्पनिहरु स्वतः हराउँदै जाने भुलले बताए।
‘कतिपय कम्पनिले सुरुमा लगानी गर्दै आउने, केही समय चलाउने अनि बन्द गर्ने गरेका थिए,’ भुलले भने, ‘प्याराग्लाइडिङ कम्पनि संचालन गर्दा पान पसल जस्तो हुनु भएन। आफ्नै पाइलट, आफ्नै ग्लाइडर, सवारी साधन, सुरक्षाको बन्दोबस्ती कर्मचारी लगायतका व्यवस्थापन हुनैपर्छ। टालटुले पारामा चलाएर हुँदैन।’अहिले प्राधिकरणले कुनैपनि प्याराग्लाइडिङ कम्पनिसँग कम्तिमा पनि पाँचवटा ग्लाइडर हुनुपर्ने भनेर तोकेको छ। तर, अधिकतम कतिवटासम्म ग्लाइडर राख्न पाउने भनेर तोकेको छैन। तर, कम्पनि संख्या मर्जपछि घट्ने हुँदा ग्लाइडर संख्या थपिन सक्ने प्राधिकरणको भनाई छ। ‘प्राधिकरणले ग्लाइडर नै दर्ता गराउने तयारी गरेको छ। त्यसपछि कम्पनिलाई मर्जमा जान समय दिनेछ,’ प्राधिकरणका भुलले भने।
कम्पनि संख्या घटाउँदा ग्लाइडरको संख्या पनि कटौती हुनेछन। तर, माग बढेको भन्दै जथाभावि मुल्य लिन समेत नपाउने गरि प्राधिकरणले पर्यटकले प्याराग्लाइडिङमा सयर गर्दा तिर्नुपर्ने शुल्कको सूँची समेत सार्वजनिक गर्न यसअघि नै निर्देशन पनि दिईसकेको छ।
प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख भुलका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई निर्देशन दिँदै प्याराग्लाइडिङ उडान हुँदाको अवधिभर आपतकालिन अवस्थामा उद्धारका लागि फेवातालको किनारमा दुइवटा डुंगा (एउटा मोटरबोट अनिवार्य) राख्नुपर्ने, नियमित रुपमा पाइलटको लागुपदार्थ र मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्नुपर्ने र यात्रुले तिर्नुपर्ने शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने गरि सर्त तोकिदिएको थियो।
‘अहिले प्याराग्लाइडिङ उडानको क्षेत्रमा व्यवासायिकता हुनै सकेन। धेरैवटा कम्पनि रहेकोले व्यवस्थित गर्न सहज पनि छैन,’ उनले भने, ‘त्यसैले नीति बनाएरै काम गर्नुपर्नेछ। अहिले प्याराग्लाइडिङ क्षेत्रमा व्यावसायिकता भन्दा पनि एजेन्ट शैली हावी भएको छ। त्यही नियन्त्रणका लागि पनि मर्ज गरेर कम्पनि संख्या घटाउने र व्यवस्थापन गर्ने तयारी प्राधिकरणले गरेको हो।’अहिले पोखरामा संचालनमा रहेका ५४ वटा कम्पनिमा २ सय ६० जना पाइलट कार्यरत छन। अहिले दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान हुने गरेका छन।
प्याराग्लाइडिङ कम्पनि संचालन गरेका एकजना संचालकले धेरैवटा कम्पनि जर्बजस्त संचालनको अवस्थामा मात्र रहेको बताए। ती संचालकका अनुसार प्राधिकरणले मर्जरमा कडाई गर्ने हो भने कम्तिमा ६० प्रतिशत कम्पनि तत्कालै तयार हुनेछन। ‘कतिपय कम्पनि नाममा मात्र दर्ता छन। व्यावसायिक हुन नसकेका कम्पनिको त अहिले पहिचान नै हराईसकेको छ। तर, दर्ता भएर संचालनमा रहेको देखिएपनि व्यवासाय धान्न ती कम्पनिलाई सकस छ,’ ती संचालकले भने, ‘सधैं घाटामा संचालन हुनु् भन्दा मर्ज हुनु नै बेस हो।’
ती संचालकका अनुसार कम्पनिले व्यवस्थित कार्यालय, कर्मचारी, सवारीसाधन, सुरक्षाका पूर्वाधार लगायतमा अब्बलता देखाउन सकेका छैनन। त्यसो हुनुमा व्यावसायिक नहुँदाको असर रहेको उनले बताए। ‘देखाउनका लागि मात्र कम्पनि चलाएर भएन। अलि व्यवस्थित र व्यावसायिक हुनुपर्छ। आकाशमा उड्ने कुरालाई खेलाँची ठान्न पाइँदैन,’ उनले भने, ‘प्राधिकरणले नीति ल्याउने हो भने मर्जमा जान धेरै कम्पनि तयार हुनेछन।’
प्राधिकरणका अनुसार अहिले देशभरमा झन्डै ८० वटा प्याराग्लाइडिङ कम्पनि दर्ता छन। ती मध्ये ६० वटा मात्र सक्रिय रुपमा व्यावसायमा छन । सक्रिय मध्ये पनि सबैभन्दा बढी कम्पनि पोखरामै छन। तर, अधिकांश कम्पनि नोक्सानमा चलिरहेका छन। प्राधिकरणले व्यवस्थित गरेर चलाउने हो भने देशभरमा २५ वटा कम्पनि नै पर्याप्त हुने आँकलन गरेको छ।