शेरा दरबार जग्गाको नापीमै कैफियत
२५ पौष २०८१
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबार जग्गाको नापीमै कैफियत

नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको नापीमै कैफियत औंल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुरु नापीमै कैफियत औंल्याउँदै सरकारको नाममा ल्याउन सिफारिस गरेको हो।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शेरा दरबार क्षेत्रले चर्चेको जग्गा राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाइरहेको बेला सिआइबीले जग्गा नापी प्रक्रियामा औंल्याएका कमजोरी र कानुनी पक्ष तथा अनुसन्धान र सिफारिसलाई आधार मानेको छ।

फार्मिङको नाममा कुनै पनि काम नभएको र सुरुमा जग्गा हदबन्दीमा जाँदा कम्पनीको नाममा जग्गा नापी गर्ने आधार केही पनि नलिएकाले सुरु नापीमै कैफियत रहेको सिआइबीको ठहर हो। ‘केही समयअघि मात्रै हदबन्दीको नाममा नियमन गरी पाऊँ भन्ने निवेदन दिएको पाइएको छ,’ सिआइबीका प्रमुख एआइजी दीपक थापाले भने।

मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरी गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाइएको विषयमा पनि सिआइबीले थप अनुसन्धान गरिरहेको छ। ‘पछिल्लो पटक जो सेयरधनीका रूपमा देखा परे ती व्यक्तिले पनि हबन्दीको जग्गा हो भन्ने राम्रो जानकारी पाएका छन्। मालपोत कार्यालयमै हदबन्दीको सूचना टाँस गरिएको छ,’ एआइजी थापाले भने। उनका अनुसार विकेश श्रेष्ठ र उनको परिवारले पनि कृषि फार्म सञ्चालन गर्छु भनेको पाइएको तर सोअनुरूप भोगचलन नगरेको पाइएको छ।

अहिले भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्था विभागका शेरा दरबार र यसले चर्चेको जग्गा राष्ट्रियकरण गर्नका लागि सरकारको स्वामित्वमा ल्याउने विषयमा दिनहुँ छलफल भइरहेको छ। मन्त्रालय र विभागका अधिकारीहरू दिनभरजसो छलफलमा व्यस्त रहेका छन्। सोमबार मात्रै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो।

सोहीअनुसार मंगलबार भूमि व्यवस्था विभागका अधिकारीले मन्त्रालयमा छलफल गरेका थिए। मन्त्रालयका सचिव अर्जुन पोखरेल, जग्गा प्रशासन महाशाखा प्रमुख श्रवण पोखरेल, भूमि व्यवस्था तथा अभिलेख विभागका प्रमुख शिवप्रकाश रेग्मीबीच आवश्यक परामर्श भएको थियो। उनीहरूले महान्यायाधिवक्ता रमेश बडालसँग पनि परामर्श गरेका थिए। साथै मन्त्रालयका कानुनविद्ले पनि सोमबार आफ्नो राय प्रस्तुत गरेका थिए।

त्यसमा सिआइबीले अनुसन्धान सिध्याएर पेस गरेका विषयहरूमाथि छलफल गरी कानुनी आधार टेकेर सरकारीकरण गर्ने प्रक्रियामा मन्त्रालय अघि बढिसकेको बताइएको छ। ‘सरकारी गर्ने विषयमा दुई मत छैन, अबको केही दिनमा यो विषयले मूर्त रूप लिनेछ,’ मन्त्रालयका एक अधिकारीले भने। उता भूमि व्यवस्था विभागका प्रवक्ता वेदप्रकाश अर्यालले पनि शेरा दरबारको जग्गाबारे विभिन्न चरणमा मन्त्रालयमा छलफल भइरहेको आफूले जानकारी पाएको बताए।

‘मन्त्रालयमा सिआइबीको प्रतिवेदन र मन्त्रालयले तयार पारेका आधारबारे छलफल भइरहेको सुनेको छु, थप विषयवस्तुबारे जानकारी छैन,’ प्रवक्ता अर्यालले भने।

सिआइबीले खासगरी जग्गा सरकारी गर्नुपर्नेमा सुरुमा सरकारकै नाममा रहेको जग्गा पछि हेलन र जयन्ती शाहको नाममा लैजानु र उनीहरूले पनि हदबन्दी बढीको जग्गा कम्पनीको नाप्नका लागि तत्कालीन मालपोत कार्यालयको कुनै पनि स्वीकृति नलिनुले पनि कैफियत रहेको निष्कर्ष निकालेको हो।

हेलन शाह र जयन्तीको नाममा सबै जग्गा नहुनु, हदबन्दीको नाममा जग्गा राखेर हडप्नु, सुरुमै हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्ने अनुमति नलिनु, कम्पनीको नाममा जग्गा राखेर आफू बाहिरिनु, लामो समय जग्गा प्रयोजनविपरीत रहनु, फार्मिङको नाममा सेयर कारोबार शंकास्पद हुनु, हदबन्दीको नियमन गरी पाऊँ भनेर भर्खरै मात्र निवेदन दिनु, सुरुमा जग्गा खरिद नहुनु, कम्पनीको नाममा जग्गा हुनु तर सेयर कारोबार मात्रै जस्ता विषयलाई आधार प्रस्तुत गरिएको छ।

‘सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३ –०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ,’ सिआइबीले दिएको रिपोर्टमा उल्लेछ छ, ‘जग्गा भूमिसुधार ऐनपश्चात् हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेको जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी पत्नी हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङको नाममा नापी गराइनु नै दूषित हो।’

सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङको नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएर सो जग्गा सरकारको नाममा ल्याउन लागेका हुन्।

शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भए पनि फार्मिङको सञ्चालक र सेयरधनी हेलन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ पित भएकामा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ।

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर (केरमेट गरेर) अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहको नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ। ‘यहीँनेर कमजोरी देखिएको छ,’ सिआइबी स्रोतले भन्यो।

२०५२ मा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाको नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ गते सेयर दाखिला खारेजको निणर्यले विकेश श्रेष्ठ सेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशी नाममा अर्को सेयर रहेको छ। सेयर कित्ता संख्या चार लाख ६० हजार ४१० को मूल्य चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाको नाममा ११ करोड, १७ लाख, ९१ हजार रूपैयाँमा सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ।

२०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठ सेयर कित्ता संख्या ९० लाखको मूल्य ९० लाख नयाँ सेयर धनी ल्याइएको थियो। हाल सेयर धनी तीन जना मात्रै रहेका छन्। यसको सेयर कारोबारमा पनि शंकास्पद रहेको सिआइबीको ठहर छ।

सरकारले पुरातात्त्विक महत्त्वको जग्गा र दरबारको विषयमा खोजतलास गर्दा नै शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिको नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गसिसकेको छ। सिआइबीका प्रमुख एआइजी दीपक थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न अख्तियारलाई पनि पत्राचार गरिएको हो।

‘अनुसन्धान बाँकी नै छ’

शेरादरबार क्षेत्रको जग्गा राज्यको नाममा कसरी आउँछ?

यो जग्गा सुरुमा सरकारको नै थियो। पछि मात्रै हेलेन शाह र जयन्ती शाहको नाममा गएको र उनीहरूको नामबाट कम्पनीको नाममा नापी गरिएको देखिन्छ। सुरु नापी नै दूषित छ, यसको अनुसन्धान गरी हामीले सरकारलाई रिपोर्ट बुझाएका छौं। सोही रिपोर्टको आधारमा सरकारले केही निर्णय गर्ला वा अरू प्रक्रिया सुरु गर्ला नि। ऐतिहासिक र पुरातात्त्विक महŒवको दरबार र जग्गा भएकाले यो जग्गा कसरी कम्पनी र व्यक्तिको हातमा पुग्यो भनेर हामीले चार महिना लामो अनुसन्धान गरेका थियौं।

दीपक थापा, सिआइबी प्रमुख
सुरु नापी दूषित हुनुको कारण त केही होला नि?

सिआइबीले अनुसन्धान गरी सबै रिपोर्ट बुझाइसकेको छ। त्यसकारण सबै कुरा यहाँ भनिरहन आवश्यक छैन। अनुसन्धान जारी नै छ। अनुसन्धान टुंगिएको होइन। अख्तियारलाई पनि लेखेर पठाएका छौं।

सिआइबीले जग्गा खरिद प्रक्रिया मात्रै हेर्‍यो कि सेयर कारोबार पनि?

हाम्रो अनुसन्धान जारी नै छ अहिले। सो जग्गा कसरी कम्पनीको नाममा गयो भन्ने मात्र हेरेका थियौं। अब सेयर खरिद, शंकास्पद कारोबार, एक सयको सेयर बढाएर गरिएको कारोबारको विषयमा पनि अनुसन्धान जारी छ। यो विषयमा अनुसन्धान गर्दा हामी चाँडै सम्बन्धित पक्षसम्म पुग्नेछौं।

हदबन्दीबारे नेपाल सरकारको कानुन छ, त्यहीअनुसार अधिकार प्रयोग गर्न पाउँदैनन् र?

मालपोत ऐनअनुसार हदबन्दीको विषय होला। त्यसबारे पनि सिआइबीको राय छ।

जग्गा जतिबेला नापी त्यतिबेला र यो सेयर खरिद गर्दाको बखत हदबन्दीभन्दा बाहिर भनेर लेखिएकै छ। जतिबेला नापीले हदबन्दीभन्दा बाहिर भएको जग्गा छुट्याएपछि तुरुन्तै स्वीकृति लिनुपर्ने थियो। त्यसकारण सुरु नापी दूषित छ, यसमा दुईमत छैन। सरकारको जग्गा हो भन्नेमा सिआइबीको अनुसन्धानले प्रस्ट आधार र कारण दिएको छ। त्यसकारण गलत कामलाई यतिबेला उतिबेला भनेर आलटाल गर्नुभन्दा तत्कालै सुधार गर्नुपर्छ यो वा त्यो बहनाबाजी हुँदैन। सिआइबीले राजनीतिक कारण भनेको छैन, कानुनी आधारलाई प्रस्ट टेकेको छ।

अर्को समाचार
बल्ल शेरा दरबार पुग्यो सरकार
२९ पौष २०८१
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
बल्ल शेरा दरबार पुग्यो सरकार

नुवाकोटको विदुरस्थितस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको नापीमै कैफियत औंल्याइएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको टोली नुवाकोट पुगेको छ। शेरा दरबार र त्यसले चर्चेको जग्गाको थप प्रमाण र विवरण लिन मन्त्रालयको तीन सदस्यीय टोली नुवाकोट पुगेको हो।

‘मन्त्रालयले यतिबेला शेरा दरबारबारे अध्ययन गरिरहेको छ। सबै प्रमाण अध्ययन गर्दा केही समय लागेको हो। मन्त्रालयको टोली पनि नुवाकोट पुगेको थियो,’ भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टले भने।

उनका अनुसार सो टोलीले गरेको अध्ययन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दिएको सिफारिसअनुसार मन्त्रालयमा छलफल भइरहेको छ। ‘शेरा दरबारको ऐतिहासिकताको विषय र त्यसले चर्चेको जग्गाको विषयमा मन्त्रालयमा छलफल चलिरहेको छ,’ उनले भने।

सिआइबीले सुरु नापीमै कैफियत औंल्याउँदै शेरा दरबारले चर्चेको जमिन सरकारका नाममा ल्याउन सिफारिस गरेपछि मन्त्रालयले थप अध्ययनका लागि मालपोत कार्यालय नुवाकोटबाट कागजपत्र लिएको थियो। ‘भूमि व्यवस्था मन्त्रालयले शेरा दरबार क्षेत्रले चर्चेको जग्गा राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि मन्त्रालयले अन्तिम तयारी गरिरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो।

मन्त्रालयबाट दुई अधिकृत नुवाकोट पुगेका थिए। नुवाकोट मालपोत कार्यालयले पनि मन्त्रालयबाट दुई कर्मचारी आएको पुष्टि गरेको छ। सिआइबीले जग्गा नापी प्रक्रियामा औंल्याएका कमजोरी र कानुनी पक्ष तथा अनुसन्धान र सिफारिसलाई आधार मानेको छ।

फार्मिङका नाममा कुनै पनि काम नभएको र सुरुमा जग्गा हदबन्दीमा जाँदा कम्पनीकै नाममा जग्गा नापी गर्ने आधार केही पनि नलिइएकाले सुरु नापीमै कैफियत रहेको सिआइबीको ठहर थियो।

मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरी गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाइएको विषयमा पनि सिआइबीले थप अनुसन्धान गरिरहेको छ। ‘पछिल्लो पटक जो सेयरधनीका रूपमा देखा परे, ती व्यक्तिले पनि हबन्दीको जग्गा हो भन्ने राम्रो जानकारी पाएका छन्। मालपोत कार्यालयमै हदबन्दीको सूचना टाँस गरिएको छ,’ सिआइबीका प्रमुख एआइजी दीपक थापाले भने।

उनका अनुसार विकेश श्रेष्ठ र उनको परिवारले पनि कृषि फार्म सञ्चालन गर्छु भनेको पाइएको तर सोअनुरूप भोगचलन नगरेको पाइएको छ। मन्त्रालयले पनि यही विषयमा थप अनुसन्धान गर्न सिआइबीलाई आग्रह गरिसकेको छ।

यसअघि भूमी व्यवस्था मन्त्री बलराम अधिकारी आफैं शेरा दरबार क्षेत्रको अवकोलनका लागि नुवाकोट पुगेको खुलेको छ। ‘मन्त्री आफैं पनि आउनुभएको थियो। नुवाकोट मालपोत कार्यालयको निरीक्षण भ्रमणमा आएको बहानमा उहाँले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे चासो राख्नुभएको थियो,’ नुवाकोट मालपोत कार्यालयका एक कर्मचारीले भने।

कात्तिक ४ गते मन्त्री बलराम अधिकारी शेरा दरबार घुमेका थिए। हेलन शाहले नेपाली सेना बस्न बनाएको क्वार्टरमा पुगेर मन्त्री अधिकारीले ब्रिफिङ सुनेका थिए। ‘मन्त्री बलराम अधिकारी आएर यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो,’ मालपोत कार्यालय नुवाकोटका ती अधिकारीले भने। मन्त्री अधिकारी फर्केपछि नै सिआइबीले अनुसन्धानलाई द्रुत गतिमा टुंग्याएको पाइएको छ।

अहिले भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्था विभागमा शेरा दरबार र यसले चर्चेको जग्गा सरकारको स्वामित्वमा ल्याई राष्ट्रियकरण गर्ने विषयमा दिनहुँ छलफल भइरहेको छ। मन्त्रालय र विभागका अधिकारीहरू दिनभरजसो सोही विषयको छलफलमा व्यस्त छन्।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय भइसकेको छ। सोहीअनुसार भूमि व्यवस्था विभागका अधिकारीहरूले मन्त्रालयमा छलफल गरेका थिए। मन्त्रालयका सचिव अर्जुन पोखरेल, जग्गा प्रशासन महाशाखा प्रमुख श्रवण पोखरेल, भूमि व्यवस्था तथा अभिलेख विभागका प्रमुख शिवप्रकाश रेग्मीबीच आवश्यक परामर्श भइरहेको छ।

उनीहरूले महान्यायाधिवक्ता रमेश बडालसँग पनि परामर्श गरेका छन्। साथै मन्त्रालयका कानुनविद्ले पनि आफ्नो राय प्रस्तुत गरिसकेका छन्। त्यसमा सिआइबीले अनुसन्धान सिध्याएर पेस गरेका विषयहरूमाथि छलफल गरी कानुनी आधार टेकेर सरकारीकरण गर्ने प्रक्रियामा मन्त्रालय अघि बढिसकेको बताइएको छ।

खासगरी जग्गा सरकारी गर्नुपर्नेमा सुरुमा सरकारकै नाममा रहेको जग्गा पछि हेलन र जयन्ती शाहका नाममा लैजानु र उनीहरूले पनि हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्न तत्कालीन मालपोत कार्यालयको कुनै पनि स्वीकृति नलिनुले पनि कैफियत रहेको निष्कर्ष सिआइबीले निकालेको छ।

हेलन र जयन्तीका नाममा सबै जग्गा नहुनु, हदबन्दीको नाममा जग्गा राखेर हडप्नु, सुरुमै हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्ने अनुमति नलिनु, कम्पनीको नाममा जग्गा राखेर आफू बाहिरिनु, लामो समय जग्गा प्रयोजनविपरीत रहनु, फार्मिङका नाममा सेयर कारोबार शंकास्पद हुनु, हदबन्दीको नियमन गरी पाऊँ भनेर भर्खरै मात्र निवेदन दिनु, सुरुमा जग्गा खरिद नहुनु, कम्पनीका नाममा जग्गा हुनुजस्ता विषयलाई आधारका रूपमा प्रस्तुत गरिएको छ।

‘सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ,’ सिआइबीले दिएको रिपोर्टमा उल्लेछ छ, ‘जग्गा भूमिसुधार ऐनपश्चात हदबन्दीका कारण शेरा दरबार र शेरा दरबारले चर्चेको जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङका नाममा नापी गराइनु नै दूषित हो।’

सुरुमै सरकारका नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएर सो जग्गा सरकारको नाममा ल्याउन लागिएको हो।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस