कोशी प्रदेशको प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गरी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको छैठौं बैठक २०८० साल जेठ ३१ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।
यस अघि प्रदेशसभाको बैठक जेठ २३ गते अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेश सभा बैठक स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने आशंका गरिएको थियो। सरकारलाई अध्यादेशबाट बजेट नल्याउन दबाब दिँदै कोशी प्रदेशका प्रतिपक्ष ४ दलले आइतबार नै विज्ञप्ति जारी गरी अध्यादेशबाट बजेट ल्याए मान्य नहुने जनाएका थिए। संविधान अनुसार असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर, कोशी प्रदेश सरकारले हालसम्म नीति कार्यक्रमसमेत ल्याएको छैन। प्रदेश सरकारले ३१ गते प्रदेशसभा बैठक राखेर प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम वाचन गर्न लगाउने र सोही दिन बजेट अधिवेशन अन्त्य गर्ने योजना रहेको प्रतिपक्षी दलका नेताहरूले बताएका छन्।
प्रदेश प्रमुखले सम्बोधन नै नगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न नमिल्ने भएकाले सरकारले प्रदेशसभा बैठक राखेको नेकपा माओवादी केन्द्रका संसदी दलका नेता इनद्रबहादुर आङ्वोले बताए।
‘बजेट अधिवेशन अन्त्य गर्ने प्रपञ्चका लागि प्रदेशसभा बैठक बोलाइएको हो’ उनले भने‘ बजेट सार्वजनिक गर्ने दुई दिन अघि प्रदेशसभा बैठक बोलाएर अल्पमतको सरकारले संसद्को बजेट अधिवेशन अन्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने उद्देश्य राखेको स्पष्ट देखिन्छ।’आङ्वोले अध्यादेशबाट बजेट ल्याईए अमान्य हुने प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका ४ दलले विज्ञप्तिमार्फत जानकारी गराईसकेको बताए। संसद्को चालु अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने संविधानमासमेत व्यवस्था नभएको आङ्वोको भनाई छ। उनले जवर्जस्ती अलोकतान्त्रिक विधिबाट संविधान विपरीत बजेट ल्याइए नयाँ सरकारले निर्मम ढंगले प्रतिस्थापन गर्ने चेतावनी दिए।
उनले भने ‘अलोकतान्त्रिक विधिबाट बजेट ल्याए नयाँ सरकारले निर्मम रुपमा प्रतिस्थापन गरेर बजेट ल्याउँछ।’यसअघि प्रदेशको नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने तयारी सरकारले गरे पनि सत्ता साझेदार सबै भन्द ठुलो दल माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बिहीरिएपछि हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।
सरकार अल्पमतमा परेपछि प्रदेशसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। तर, बजेट ल्याउने दुई दिन अघि प्रदेशसभा बैठक राखिएपछि प्रतिपक्षी दलहरूले भने संसय व्यक्त गरेका छन्। कोशी प्रदेशसभाका ९३ जना सांसद छन्।
जसमध्ये एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ जना सांसद मात्रै सत्तापक्षमा छन्। प्रतिपक्षमा भने नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४७ जना सांसद प्रतिपक्षमा छन्। कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।
