डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद सुल्झाउने नेपाल विद्युत् प्राधिकरणको प्रयास यो पटक पनि असफल भएको छ। लामो समयदेखि उद्योगी र प्राधिकरणबीचको महसुल विवाद सुल्झाउन प्राधिकरणले बक्यौता महसुल तिर्न किस्ताबन्दीको सुविधा दिने घोषणा गरे पनि दुई उद्योगले मात्र आवेदन दिएका छन्। आवेदन दिन असार मसान्तसम्म समय दिइएको थियो।
प्राधिकरणका अनुसार १० अर्ब रूपैयाँभन्दा बढी बक्यौता छ। बक्यौता महसुल तिर्न नसक्ने उद्योगलाई महसुल तिर्न किस्ताबन्दी सुविधा लिन प्राधिकरणले आवेदन आह्वान गरे पनि अधिकांशले आवेदन दिएनन्।
सूर्य नेपाल प्रालि र अरिहन्त पोलिम्याक्सले किस्ताबन्दीमा महसुल तिर्न आवेदन दिएका छन्। दुई उद्योगले मात्र किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा लिन आवेदन दिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताए। प्राधिकरणले महसुल नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरेको छ। ‘अरिहन्त र सूर्य नेपालको मात्र आवेदन आएको छ,’ प्रवक्ता तिमल्सिनाले भने, ‘आवेदन नदिने र महसुल नतिर्नेको क्रमशः लाइन काटिन्छ।’
विद्युत् महसुल विवाद न्यायोचित रूपमा सुल्झाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका छाता संस्थाले आग्रह गर्दै आएका छन्। बिजुली लिन आवेदन नै नदिएका, सम्झौता नै नगरेका उद्योगलाई बिल पठाउनु न्यायोचित नहुने परिसंघका अध्यक्ष सतिषकुमार मोरले बताए। ‘विद्युत् प्रयोग गर्न आवेदन दिएर सम्झौता भएका उद्योगले महसुल तिर्नुपर्छ,’ मोरले भने, ‘सम्झौता नै नगरेका र बिजुली नपाएका उद्योगले कसरी महसुल तिर्ने ?’ विधि अनुसार चल्नुपर्ने उनको तर्क छ।
मोरले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवाद सुल्झाउन उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई पनि आग्रह गरेका छन्। ‘अर्थमन्त्रीलाई यसबारे जानकारी गराएका छौं,’ शर्माले भने, ‘विद्युत् उपभोग नगरेका र सम्झौता गरेका उद्योगले तिर्नु पर्दैन भन्नुभएको छ।’
विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता महसुल उठाउन सिफारिस गरे पनि उद्योगीले तिर्न नसक्ने बताउँदै आएका छन्। लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड र ट्रंक लाइनको करिब १० अर्ब रूपैयाँ बक्यौता विवाद लामो समयदेखि अल्झिएको छ।
प्राधिकरणले महसुल बुझाउन ताकेता गरे पनि उक्त रकम बुझाउन नसक्ने उद्योगीले बताउँदै आएका छन्। उद्योगीले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको स्वीकृतिबिना शुल्क निर्धारण गरेकाले तिर्न नसक्ने तर्क गर्दै आएका छन्।
विद्युत् नियमन आयोगले विवादास्पद ट्रंक तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क लिने साबिकको व्यवस्था हटाइसकेकाले यसको औचित्य समाप्त भएको उद्योगीको दाबी छ। नियमन आयोगको अनुमतिबिना महसुल निर्धारण गरेकाले तिर्न नसकिने बताउँदै आएका छन्।
केही उद्योगी अदालत गए पनि अदालतले प्राधिकरणले पठाएको बिलअनुसार महसुल तिर्नुपर्ने आदेश दिएको थियो। त्यसपछि उद्योगीले प्रधानमन्त्री, ऊर्जामन्त्रीलाई भेटेर महसुल तिर्न नसक्ने बताएपछि सरकारले कार्यदल बनाएको थियो।
प्राधिकरणले लोडसेडिङमा पनि २० घन्टासम्म ट्रंक लाइनमार्फत बिजुली उपलब्ध गराएबापत व्यवसायीलाई अतिरिक्त शुल्क तिर्नुपर्ने दाबी गर्दै आएको छ। आफूहरूले माग नगरेकाले प्राधिकरणले पत्र पठाए पनि तिर्न नसक्ने व्यवसायीको तर्क छ।
सार्वजनिक लेखा समितिले ट्रंक र डेडिकेडेट लाइनको बिजुली महसुल उठाउन र त्यसको व्यवस्था गर्न विद्युत् महसुल निर्धारण आयोगलाई समेत निर्देशन दिएको थियो। ट्रंक लाइन बिजुली लिन व्यवसायीले प्राधिकरणमा निवेदन दिनुपर्ने र सञ्चालक समितिले स्वीकृत गर्नुपर्ने व्यवस्था छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा पनि ट्रंक र डेडिकेटेड लाइनको १० अर्ब बक्यौता असुल गर्नुपर्ने उल्लेख छ।
विवादितमध्ये भैरहवा औद्योगिक करिडोरका करिब डेढ दर्जन उद्योगले आन्तरिक लोड व्यवस्थापन गर्ने क्रममा प्राधिकरणले नीतिगत निर्णय नगरी औद्योगिक फिडरलाई ट्रंक लाइनमा लगेको बताउँदै आएका छन्। प्राधिकरणले २०७४ चैतदेखि औद्योगिक फिडरलाई ट्रंक लाइनमा लगेर विद्युत् आपूर्ति गरे पनि डेढ वर्षपछि अतिरिक्त शुल्क तोकेर बिल पठाएको उद्योगीको दाबी छ। प्राधिकरणको आफ्नै कारणले लोड व्यवस्थापन गर्दा औद्योगिक फिडरलाई टं«क लाइनमा परिणत गरेको पञ्चकन्या ग्रुपका देबेन्द्र साहु बताउँछन्। ‘प्राधिकरणले लोड व्यवस्थापन गर्दा फिडर परिवर्तन गरियो,’ उनले भने, ‘अहिले आएर स्पेसल टं«क लाइनको शुल्क तिर्न सक्दैनौं।’
उद्योगलाई जानकारी नदिई स्पेसल ट्रंक लाइन जडान गरी साधारणभन्दा अत्यधिक चर्को दरमा महसुल तिर्न पत्राचार गरेको भन्दै उद्योगीले आपत्ति जनाएका हुन्। भैरहवा औद्योगिक करिडोरमा पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल, सोना प्याकेजिङ, एमआर स्टिल, नवनेपाल प्लास्टिक, शुभलक्ष्मी पोलिमर्स, नेसलन ट्रेड रबर, जयदुर्गा प्लास्टिक, सोना पोलिमर्स, यशोधा फुड प्रालि, प्रिया प्याकेजिङ, एजी हेल्थ उद्योग, एभरेस्ट रोलिङ मिल, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्रालि, लुम्बिनी पिएससी उद्योग छन्। उद्योगले विद्युत् प्रयोग गर्दा साधारण लाइनबाट जडान गरेको उनीहरूको जिकिर छ। मुलुकका अन्य औद्योगिक करिडोरमा पनि यो विवाद छ।
आठ वर्षअघिको विद्युत्को डेडिकेटेड र ट्रंक लाइन विवाद नसुल्झँदा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच जुहारी चल्दै आएको छ। उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आएको छ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रूपैयाँ बक्यौता असुली गर्न अघिल्लो आइतबार सूचना प्रकाशित गरेपछि विवाद फेरि सतहमा आएको छ। प्राधिकरणले ६७ उद्योगी ग्राहकलाई पुरानो महसुल तिर्न भन्दै ताकेता गरेपछि उद्योगी–व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सोमबार ध्यानाकर्षण गराएका छन्। प्राधिकरणले सूचनाअनुसार महसुल नबुझाए विद्युत् लाइन काटिदिने चेतावनी दिएपछि उद्योगीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै महसुल नतिर्ने बताएका छन्। उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले डेडिकेटेड र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी अहिले लाइन नकाट्न निर्देशन दिए। यस विषयमा महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिट्टै टुंगोमा पु¥याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक उद्योगीले बताए।
मुलुकमा लोडसेडिङको समयमा २०७२ असारमा प्रिमियम शुल्क (अतिरिक्त शुल्क) लिएर उद्योगी तथा व्यवसायीलाई विद्युत् उपलब्ध गराउने निर्णय गरेको थियो।
लोडसेडिङ ६ घन्टा वा सो भन्दा बढी कायम भएको अवस्थामा, २० घन्टा वा सोभन्दा बढी समय छुट्टै ट्रंक लाइनबाट निरन्तर विद्युत् आपूर्ति लिने ग्राहकको महसुल डेडिकेटेड ग्राहकको सरह दर कायम गर्ने निर्णय गरेको थियो। लोडसेडिङ भएको तत्कालीन समयमा २० घन्टा वा सोभन्दा बढी विद्युत् उपभोग गर्ने उद्योगीले प्रिमियम शुल्क तिरेका थिए।
प्राधिकरणले २०७५ सालमा आएर ६७ उद्योगीलाई २०७२ सालदेखिकै डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रिमियम शुल्कको महसुल तिर्न भन्दै बिलिङ गरेपछि विवाद सुरु भएको थियो। सो विवाद अहिलेसम्म सुल्झिएको छैन। प्राधिकरणले हचुवाका आधारमा महसुल तिर्न दबाब दिँदै आएको भन्दै उद्योगीहरूले अवज्ञा गर्दै आएका छन्। प्राधिकरणले आफूले गरेको नीतिगत निर्णय, विद्युत् महसुल संकलन विनियमावली २०७३, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयविपरीत ताकेता गरेको आरोप लगाएका छन्।
उद्योगीले टाइम अफ द डे (टिओडी) मिटरका आधारमा विद्युत् उपभोग गरेका आधारमा महसुल तिर्न तयार रहेको बताउँदै आएका छन्। तर प्राधिकरणले एक पक्षीय रूपमा बिल पठाएपछि विवाद सुल्झिन सकेको छैन। ‘लोडसेडिङको समयमा उद्योगले अतिरिक्त विद्युत् उपभोग गरेको प्रमाण देखाए पैसा तिर्न तयार छौं,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘विद्युत् नै उपभोग नगरी पैसा तिर्ने कुरै भएन।’ सबै उद्योगमा टिओडी मिटर रहेकाले सोका आधारमा महसुल निर्धारण गर्नुपर्ने उनले बताए। प्राधिकरणले तीन वर्षपछि मात्र बिल पठाएको मुरारकाले बताए। उद्योगीका अनुसार २०७५ सालमा लोडसेडिङ मुक्त घोषणा गरेको भए पनि २०७७ असारसम्म डेडिकेटेड र ट्रंक लाइनका नाममा बिलिङ गरेको उद्योगीले बताएका छन्।
प्राधिकरणले २०७५ सालमा आएर ६७ उद्योगीलाई २०७२ सालदेखिकै डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रिमियम शुल्कको महसुल तिर्न भन्दै बिलिङ गरेपछि विवाद सुरु भएको थियो।प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकहरूलाई ३३ केभी ट्रंक लाइन र ११ केभी रिङमेनबाट कम्तीमा २० घन्टासम्म निरन्तर आपूर्ति लिने ग्राहकहरू यसमा पर्छन्। नेपाल विद्युत् प्राधिकरणको महसुल संकलन विनियमावली, २०७३ अनुसार ट्रंक लाइन भन्नाले प्राधिकरणको एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म जोड्ने ३३ केभी वा सोभन्दा माथिको लाइनलाई सम्झनुपर्छ। त्यसैगरी डेडिकेटेड फिडर भन्नाले नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनबाट ग्राहकको घर तथा कम्पाउन्डसम्म विद्युत् आपूर्तिका लागि निर्माण गरिएको लाइनलाई बुझाउँछ।
ट्रंक लाइनबाट आपूर्ति लिइरहेका कुनै ग्राहकले उक्त लाइनबाट २० घन्टा वा सोभन्दा बढी समय डेडिकेटेड फिडरसरह विद्युत् आपूर्ति लिन चाहे डेडिकेटेडसरहको महसुल तिरी लिन सक्ने व्यवस्था थियो। यस्तो सेवा लिने स्वीकृतिका लागि निवेदन पर्न आए डेडिकेटेड लाइनसरह प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत लिनुपर्ने विनियमावलीमा व्यवस्था छ।
डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गर्न पाऊँ भनी निवेदन नै नदिएका उद्योगलाई प्रिमियम महसुलको बिल पठाएकाले तिर्न नसक्ने उद्योगीको अडान छ। आवेदन नै नदिएका उद्योगलाई प्रिमियम शुल्क लगाउँदै बिलिङ गरेको पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले बताए। ‘लोडसेडिङको समयमा विद्युत् उपभोग गरेको भए महसुल तिर्ने हो,’ श्रेष्ठले भने, ‘प्रयोग नै नगरेको विद्युत्को महसुल तिर्ने कुरा भएन।’
विद्युत्को महसुल निर्धारण गर्ने अधिकार विद्युत् महसुल निर्धारण आयोगलाई भए पनि प्राधिकरणले २०७२ असार १२ गते महसुल निर्धारण गरेको थियो। तर आयोगले २०७२ पुस २९ गते मात्र शुल्क निर्धारण गरेको थियो। आयोगले शुल्क निर्धारण गरेको दुई महिनापछि प्राधिकरणले २०७२ फागुनमा सूचना प्रकाशित गरेर खोला÷नदीमा जलस्तर घट्न गई न्यून रूपमा विद्युत उत्पादन भएकाले उद्योगलाई डेडिकेटेडसरह विद्युत् दिन नसकिने बताएको कानुन व्यवसायी रमण कर्णले बताए। ‘प्राधिकरणले आफैंले गरेको निर्णयविपरीत महसुल उठाउन ताकेता गरेको छ,’ कर्णले भने, ‘प्राधिकरणले कानुनविपरीत उद्योगीलाई दबाब दिइरहेको छ।’ प्राधिकरणका निर्णय नै आपसमा विरोधाभास रहेको उनले बताए।
प्राधिकरणले २०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो। लोडसेडिङ अन्त्यपछि पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम शुल्कबापतको बिल पठाउनु न्यायसंगत नभएको उद्योगीले बताएका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् नियमन आयोगले निर्णय नगरेका कारण बक्यौता उठाउने सूचना सार्वजनिक गरेको बताउँदै आएका छन्। यता नियमन आयोगले भने २०७५ सालअघिको विषय भएकाले अहिले निर्णय गर्न नमिल्ने बताउँदै आएको छ। त्यसअघि विद्युत् महसुल निर्धारण आयोग थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।